सन्तोष रावत
(दुलियाजान, असम, भारत)
मोटर गाडीले मान्छेको जीवनलाई कति सजिलो पारेको छ। थरी थरीका मोटर गाडीका लागि चिल्ला चौडा बाटाहरु बनिएका छन्। ठुलासाना सहरमा बाटैबाटा। जति ठुलासहर उतिनै धेरै बाटा। कस्तो हुन्छ बाटाविनाको गाउँ? बाटाविनाको ठाउँ के कतै छ ?
बाटाविनाको गाउँको कुरा सुनेको थिएँ। युरोपको नेदरल्यान्ड्समा मोटर गाडी, ट्याक्सी, रिक्सा, अटो आदि सवारी साधन चल्ने;बाटाविनाको गाउँ छ ।तपाईंले पनि सुनेको वा पढेको हुनुपर्छ ।यतिखेर भाग्यले होला म त्यही देशमा आएर बसेको छु ।अमस्टर्डमबाट धेरै टाडा होइन रहेछ ।अमस्टर्डममा दुई महिना बस्दा त्यो ठाउँ नहेरी जानु मूर्खता हुने छ ।
साथीसँग कुरा गरेँ ।उसले हाँसेर उडायो ।भएको पो हेर्ने, नभएको के हेर्नु? उसले दार्शनिकका जसरी उल्टै प्रश्न तेस्र्यायो ।यो सुकरातको चेलासँग पारा मिलेन ।मेरो मनमा भने खटपटी भइरहेको थियो ।एक्लै भए पनि जाने निश्चय गरेँ ।भोलिपल्ट आइतबार परेको थियो ।बिहानै उठेर प्रातःकर्म सकेर चियाखाजाको साटो भातै पकाएँ, आलु र अन्डाको ग्रेभी सब्जी तयार पारेँ ।आधा खाएँ, स्वादिष्ट भएछ ।रहेको भातसब्जी हटकेसमा अरुसामान ब्यागमा हाली रेलस्टेसनतिर लागेँ ।अमस्टर्डम सेन्ट्रेल स्टेसनबाट ०८.२० मा रेल छुट्यो ।स्टिनविक भन्ने स्टेसनमा उत्रेर फेरि बसमा चढी डमिनी हिल्केभावेमा झरेँ ।त्यहाँदेखि लमकलमक हिँडेर गिथर्न पुगँे।
गुगलले सबै सजिलो पारिदिएको छ ।गुगल गुरू सधैँ साथमा भएपछि केको डर?
तीन घण्टामा नहरैनहर पुरै क्षेत्रको परिभ्रमण गराएर ल्याउने सजिसजाउ सुन्दर मसिनबोट रहेछ।भाडा एक जनाको बिस युरो, भारतीय रूपियाँको हिसापमा झन्डै अठारसय ।टिकट लिएँ र एक छिन पर्खिनुप¥यो ।छजना यात्री भएपछि ड्राइभरले इन्जन स्टार्ट गरे ।चालक र गाइड एकैजना थिए ।आइतबार भए पनि पर्यटकको खासै जमघट थिएन ।सानो जलयानमा दुई जना गरी बस्ने तीन लहर सुन्दर गद्दीदार आरामदायक आसन थिए, आसनकाछेउमा साना टेबिल ।अघिल्लो लहरमा एक जोडी वृद्धवृद्धा बसे ।पछिल्ला आसनमा दुई युवकयुवती, बिचको एउटा आसनमा म, मेरो देब्रेतिरको चेयरमा एउटी सत्तरोद्र्ध वृद्धा ।
पानीमाथि जलयान सलललल कुद्दा मजा आयो, पछिल्तिरका युवकयुवती मुख थुनेर खितिती हाँसेको शब्द सुनियो ।नहरका दुवै छेउमा समान दूरीमा घरहरु थिए ।घरका अघि र दुवैतिर एकनासका हरियै छिमलका फूल फुलेका अति सुन्दर।एकतले (आसाम टाइप) भवनका छाना खरले छाएका जस्तालागे ।हाम्रातिर हुने खरबारी यहाँ पनि कतै छ होला ।किन होला सबै घर एकनासे।बहुमन्जिला आरसीसी भवन यहाँ एउटै देखिएन ।
हाम्रो असामका गाउँका जस्ता घरहरु देखेरट्वाल्ल परेर हेरिरहेको बेलामेरो छेउमा बसेकी आमैले तिमी कहाँबाट आएका? भनेर सोधिन् ।मैले ‘अमस्टर्डमबाट’ भन्दा फेरि ‘त्यसो भए डच हो’ भनिन् ।‘होइन, इन्डियन ।’मैले उत्तर दिएँ।‘वाउ, द्याट्स ग्रेट ।’ आमै खुसीले उफ्रिन खोजिन्।आमैले निकै ठुलो आवाजमा बोलेको सुनेर हाम्रा अघिल्तिरका आसनमा बसेका दम्पतीले पछि फर्केर हेरे ।उनीहरुले एउटै शब्द पनि बोलेनन् तर उनीहरुको निःशब्द हेराइले भनिरहेको थियो, ‘यसरी चिच्याएर अरुलाई डिस्टर्ब गर्न पाइँदैन, शिष्टताको ख्याल राख्नू ।’ सरी भनेर बुढी चुप भइन् ।मौनतामा कत्रो शक्ति हुँदो रहेछ! हामीपछिका आसनमा बस्ने युवायुवतीको प्रतिव्रिmया केकस्तो थियो, देखिएन तर तिनीहरुको असन्तुष्टि अनुमेय थियो।
धिमा गतिमा जलयान गतिमान थियो ।नहरको पानी के हेर्नु, मेरा आँखा दुई छेउका सुन्दर घर, रूख र फूलमा थिए ।सफा, सुन्दर र फराकिला घरहरु, समान समान दूरीमा उभिएका ।घरका अघिल्तिर हरियो आँगन, नहरका किनारमा समान दूरीमा झ्याम्म परेका हरिया पौधा र एकनासे होचा रूखहरु।हे¥यो आँखा त्यतै टक्क अडिने सुन्दर दृश्य, मानोँ कुनै चित्रकारले उसको समस्त सिप निखारेर क्यानभासमा उतारेको ल्यान्डस्केप हो ।
नहरका दुवै छेउमा काष्ठनिर्मित पदपथ अनि घरको मूल ढोकाबाट पदपथसम्म काठैका कोरिडोर ।लगभग एक किलोमिटर दूरीमा नहर वारपार गर्ने काठका साँघु ।पदपथ र साँघुमा फट्याकफुटुक मान्छे ओहोरदोहोर गरिरहेका।एक घण्टा जतिपछि देब्रेतिर एउटा ठुलो चौरी देखियो, त्यहाँ नहरको छेउमा घरहरु थिएनन् ।चौरीमा काला, सेता, राता, मुगा मटैला र टाटेपाङ्रे, छिर्केमिर्के गाईगोरू निहुरेर मस्तसँग चरिरहेका देखिए ।सफा टलक्क टल्किने चिल्ला र ठुला दारका बलिया।तिनका सिङ र कान पनि ठुल्ठुला थिए ।साना साना बाछा कति राम्रा ।मैले पाँच वर्षकी भान्जी आयेसालाईसम्झेँ ।तिनी यहाँ भएकी भए एउटा छिर्केमिर्के बाछो लिएर जाने जिद गर्ने थिई ।पोहोर साल काजिरङ्गा हेर्न जाँदा मिर्गको पाठो देखेर घर लान कम जुलुम गरिन ।
चालकले गाडीको गति एकदमै धिमा पारिदिए ।हामीले फोटा खिच्यौँ ।आमैले गाईको छेवैमा गएर फोटा खिच्ने कुरा गरिन् ।हामी सबैले आमैका कुरालाई समर्थन गर्दै ‘येस येस वी टु लाइक टु टेक सम स्नेप्स’ भन्यौतर हाम्रा चालक–कम–गाइडले विनम्रताका साथ भने,‘त्यसको अनुमति छैन ।’त्यसो गर्दा जीवजन्तुको स्वाभाविक चालचलनमा बाधा पर्न सक्छ ।यसै त गाईगोरू शान्त प्राणी हुन् तर छेउमा जाँदा उफ्रेर भाग्न सक्छन् अनि लडाउन वा सिङले हान्न पनि सक्छन्। उनले त्यसको कारण पनि बताए ।
चालकले सही कुरा गरे, केटौले उमेरका भए पनि अनुभवी रज्ञानी रहेछन् ।युव्रmेनका अरे ।नाम दुईतीन खेप भने तर याद रहेन ।सुन्दर अङ्ग्रेजी बोल्दा रहेछन् ।
एक बजे टाइम हेरेर आमैले उनको ब्याग खोलेर एउटा पोको झिकिन् ।त्यहाँबाट टल्किने कागजमा बेह्रेको उसिनेको मासु निकालेर, त्यसमा अलिकति सस चुहाइन् ।मलाई त्यो बिफ होला भन्ने शङ्का भयो ।नुनको सानो पुरिया, एउटा बन र एउटा बट्टाबाट सलाद निकालेर अघिल्तिरको सानो टेबिलमा फिजाइन्, छेउमा पानीको बोतल पनि राखिन् ।त्यसपछि एउटा चक्कू र काँटा–चम्ची पनि निकालिन् ।म अर्कातिर फर्के जसो गरे पनि मेरा छेवैमा हुनाले आमैको कर्मकाण्ड देखिरहेको थिएँ ।खाने बेलामा पुलुक्क मतिर हेरेर सोधिन्,‘कतिखेर खान्छौ?’मैले आफ्नो ब्यागतिर देखाएर मेरो टिफिन यहाँ छ भन्ने सङ्केत गर्दै भनेँ,‘आफ्टर टु।’दुई बजेपछि ।उनले अरु कुरा नगरी सस दलेको मासुको टुव्रmा मुखमा हालिन् ।
दुई बजे जहाँबाट चढेका थियौँ त्यहीँ ल्याइपु¥याएर हाम्रो जलयान ठ्याक्क रोकियो ।खेला खतम पैसा हजम ।हेर्नुपर्ने केही छैन भन्ने होइन रहेछ ।नहरले जोडेको रहेछ यहाँको हरेक घरलाई।यहाँको जीवनशैली बिल्कुलै अलग रहेछ ।नहरको पानी वैज्ञानिक तरिकाले शोधन तथा नियन्त्रण गरिन्छ भन्ने सुनेर आश्चर्य लाग्यो ।हाम्रो देशमा नदीनाला छन् तर ती हिउँदमा सुकेर जान्छन् भने बर्खामा बाढीले ज्यानमालको क्षतिगर्छ ।कहिलेकाहीँ बर्खामा पनि पानीको अभावमा खडेरी लाग्छ, खेत फाटेर धुजाधुजा हुन्छ ।
कहिले होला हाम्रो देशमा बाढीको नियन्त्रण ।
सबैसँग ‘बाइ–बाइ’ गर्दै म अलिक पर्तिरको पार्कमा गएर सार्वजनिक वासरूममा फ्रेस भएँ ।त्यसपछि चौरीको बेन्चीमा बसी खाजाको पोको खोल्दै थिएँ, हाम्रा अघिल्तिर बस्ने प्रौढ दम्पती पनि मुसुक्क हाँस्तै छेउको बेन्चमा बसे ।आमैले पोको खोलिन्, बाले थर्मसबाट चिया होकि कफी ग्लासमा खन्याए ।आमैले खाएको समयमा मैले पनि खाँदा हुने तर किनहो त्यहाँ खानु ठिक लागेन ।मजाले भोक लागेको थियो ।हटकेसको बिर्को खोल्नासाथ खानाको सुगन्धले भोकलाई दुगुना पा¥यो ।भात र आलु–अन्डाको तरकारीसँगडब्बा रित्याएर चाटिचुटी खाएँ अनि टिसुपेपरले मुख पुछेर फ्याक्ने र राख्ने सबै सामान ब्यागमा हालेर बाटो लागेँ ।बसपार्कमा छसात मिनट पर्खिनुप¥यो ।बसमा चढेर स्टिनविक स्टेसनमा झरेँ अनि अमस्टर्डमको ट्रेनमा चढेँ ।बस र रेलको समय मिलाएको हुँदो हो, कहीँ पनिधेरैबेर पर्खिनु नपर्ने ।
कोठामा आइपुग्दा पाँच बजेको थियो ।मैले ढोका खोलेको चाल पाएर पल्लो कोठाबाट कपिल आयो।म थाकेर लुगा पनि नखोली ओछ्यानमा पल्टेको थिएँ ।म चिया बनाउँछु, दश मिनटपछि आउनू भनेर कपिल उसको कोठामा गयो ।म पस्दा ऊ ब्रेडमा जाम दल्दै थियो ।मैले उसलाई अन्डा छोडाउन सघाएँ ।चिया खाउन्जेलमा बाटाघाटाविनाको गाउँको कथा सुनाएँ ।जान नसकेकोमा उसले थक्क थक्क मान्यो ।ब्रेड, अन्डा र चिया खाएपछि निकै उर्जा प्राप्त भएछ, जिउमा फुर्ती जाग्यो ।