(माता इन्दिरा श्रेष्ठ प्रधान र पिता रामबहादुर श्रेष्ठ प्रधानबाट माहिलो छोरोका रुपमा १७ मङ्सिर २००३ साल अर्थात् ३ जनवरी १९४७मा भोजपुरमा जन्मिएका शङ्करप्रसाद श्रेष्ठको साहित्यिक नाम शैलेन्द्र साकार हो । सन् १९७४ र १९७६ मा नेपाली र राजनीतिशास्त्रमा एम.ए. गरेका उनका प्रकाशित कृतिहरु हुन्, शैलेन्द्र साकारका कविता (२०३६), कोलाज (कथाहरु २०३६), कालपात्र र अरु कथाहरु (२०४२), सर्पहरु गीत सुन्दैनन् (कविता २०४७), रामायण र अरु कथाहरु (२०५६), नाङ्गो तार (लामो कविता २०५९), कवितामा अमेरिका (२०६०), अमेरिका (नियात्रा र लामो कविता २०६०), भोजपुरे हुलाकीका सन्तान (संस्मरण २०७७) । उनले कविताराम, ज्ञानुवाकर पौड्याल, देवेन्द्रप्रताप शाह, दौलतविक्रम विष्ट, जैनेन्द्र जीवन, ध्रुवचन्द्र गौतम, कुमुद देवकोटा, नकुल सिलवाल, ध्रुव मधिकर्मी, सीता पाण्डे, ध्रुव सापकोटा र जनार्दन जोशीसँग मिलेर अवतार विघटन (उपन्यास २०४५) र परशु प्रधान, ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, पुष्कर लोहनी, केदार अमात्य, शङ्कर कोइराला, दौलतविक्रम विष्ट, मञ्जु तिवारी काँचुली र प्रेमा शाहसँग आकाश विभाजित छ (उपन्यास २०३२) को सहलेखन गरेका छन् । उनलेकथामा नारी हस्ताक्षर (२०३१) का साथै समष्टि, मन्त्र, चिन्तन आदिको सम्पादन गरेका छन् । उनका अनुरक्त (कविता), अरु सात समुद्र (कविता), अमेरिका डायरी (लामो कविता) र Serpents won’t listen to your songs निकट भविष्यमा प्रकाशन हुने क्रममा छन् । अमेरिका, जापान, मलेसिया, सिङ्गापुर, हङकङ, इस्लामावाद, बैङ्कक भ्रमण गरेका उनले युगकवि सिद्धिचरण काव्य पुरस्कार, हरिहर सावित्रीदेवी सम्मान, मुस्याचु पुरस्कार, मधुपर्क सम्मान, छिन्नलता सम्मान, लीलाध्वज थापा सम्मान, आमा काव्य सम्मान, भोजपुर बेलायत प्रतिष्ठान सम्मान, अन्तर्राष्ट्रिय साहित्य सम्मान, सत्यमोहन जोशी महोत्सव सम्मान आदि प्राप्त गरेका छन् । ‘बुटपालिस अभियान’, ‘अस्वीकृत जमात’, ‘सडक कविता क्रान्ति ’मा संलग्न उनी साझा प्रकाशन, भारती खरेल प्रतिष्ठान, रेडियो नेपाल, कृषि विकास बैङ्क आदि संस्थामा आबद्ध भइसकेका छन् । प्रस्तुत छ उनै साकारसँग धीरकुमार श्रेष्ठले गरेका विद्युतीय कुराकानीको सम्पादित अङ्श ।)
धीकुश्रे – भोजपुरदेखि काठमाडौँसम्मको यात्राका बारेमा केही बताइदिनुहुन्छ कि ?
शैसा – म भोजपुर बजारमा २००३ सालमा जन्मेँ । हामी चार जना दाजुभाइमा म माहिलो । मेरा दाजु परशु प्रधान । आख्यानकारका रुपमा प्रसिद्ध हुनुहुन्छ । साहिँलो भाइ सुधाकर ३०÷३५ वर्षको उमेरमा खस्यो । कान्छो दिलिप खानेपानीबाट रिटायर भयो । ३ जना छौँ । बहिनी ५ जना । जेठी नयना प्रधान । पारिजातको उपन्यासमाथि पिएचडी गरेर रिटायर छिन् । हाम्रो परिवारकाबाजेको बाजे १९३८ सालमा असन बालकुमारी थानबाट भेजपुर गएका थिए । उनी इन्द्रजित सिंह कर्णेलकी १७ओटी स्वास्नीमध्ये एउटी लिएर भोजपुर भागेका थिए । इन्द्रजितले जार काट्न पाइन्छ भनेर निश्चित भएको थियो । १९३८ सालमा रणोद्विपसिंहलाई मार्ने षड्यन्त्रका नायक भएकाले इन्द्रजित भण्डारखालमा मारिए । उनी मारिएकाले मेरा पुर्खा बाँचे । त्यसपछि राणाको चाकरी गरेर हुलाकमा मुखिया भएर मेरा चार पुस्ता बसे । कृष्णबहादुर श्रेष्ठ बाजे कागजपत्र लेख्थे । म पनि राम्रो अक्षरमा सार्थें । मेरी अजी शारदा श्रेष्ठ रामायण पढ्नुहुन्थ्यो । बाजेले अर्की ल्याए । जेठीबाट मेरा बुबा रामबहादुर जन्मिनुभयो । बाजेको सम्पत्ति धेरै थियो । त्यति बेला गाउँतिर किराती र बजारमा नेवारहरु जम्मा हुँदै थिए । जङ्गल फाडेर जसले जति लिए पनि हुने अवस्था थियो । पृथ्वीनारायणले जितेर भोज लगाएको हुँदा त्यहाँको नाम भोजपुर रहेको भन्ने छ ।
२०१८ सालमा एसएलसी पास गरेर यता आएको थिएँ । पढाइमा राम्रो होइन सामान्य थिएँ । सेकेन्ड डिभिजनमा एसएलसी पास गरेँ । नेपालीमा राम्रै थिएँ । शरदचन्द्र शर्मा भट्टराई मास्टर हुनुहुन्थ्यो । उहाँ नेपालीका गुरू हुनुहुन्थ्यो । उहाँ हेडमास्टर हुँदा हरेक शुक्रबार कविता गोष्ठी गर्नुहुन्थ्यो । उहाँ नौलो पाइलोमा लेख्नुहुन्थ्यो । झर्रोवादमा उहाँको पनि संलग्नता थियो । म उहाँबाटै प्रभावित भएँ । भोजपुरमा बिए पास गरेको कोही नहुँदा उहाँले बिए गर्नुभएको थियो । भोजपुरकै विश्व प्रधान सचिव हुँदै राजदूत भएर किताब चोरसम्म हुनुभयो । कलकता, काठमाडौँ, दार्जिलिङबाट मानिसहरु भोजपुर आउँथे । म पढाइभन्दा अतिरिक्त क्रियाकलापमा भाग लिन अघि सर्थें । काका रूद्र प्रधान हेडमास्टर हुनुहुन्थ्यो । म भोजपुरबाट क्याम्पस पढ्न काठमाडौँमा कलेज अफ एजुकेसनमा बिएड पढ्न आएको थिएँ ।
उति बेला काठमाडौँ आउने अहिलेको जस्तो सोझो बाटो थिएन । पूर्व पश्चिम राजमार्गको नामनिसान थिएन । यसैले विराटनगर हुँदै जोगबनीबाट ट्रेन चढेर रक्सौल आएर भैँसेको बाटो आउनुपथ्र्यो । जोगबनीबाट रक्सौलसम्म ट्रेनमा हिँड्दा जुत्ता झरेछ । भैँसेको बाटोबाट आएर धरहरा उत्रिएँ । भरखर पानी परेर रोकिएको थियो । खाली खुट्टा धरहरा हेरिरहेँ । जाडो जाडो थियो । कमलपोखरी पुर्याइदिन्छु भनेर भाडा लिने मान्छे गायब भयो । त्यसपछि भोजपुरका मान्छे कता बस्छन् भनेर सोध्दै नक्सालसम्म खाली खुट्टा हिँडेँ । हरिप्रसाद नेपाल भेटिएँ । उनीसँगै मिसिएँ ।
धीकुश्रे – अचेल भोजपुरको सम्झना कतिको आउँछ ?
शैसा – त्यहाँको भुइँकुहिरोको सम्झना आउँछ । साढे पाँच हजार फिटको उचाइमा छ । वरिपरि जङ्गल छ । सिद्धकाली जङ्गल, गुफा र मन्दिर छ । राति ७ बजे ट्याम्केमा राँके भुत देखिन्थ्यो । राँको बालेर हिँडेकाहरुलाई यसो भन्ने चलन थियो । भोजपुर सक्षम जिल्ला हो । तल समथर जमिनमा धान, माथि मकै र कोदो हुन्छ ।
धीकुश्रे – साहित्यिक लेखनमा लाग्नुका प्रसङ्गहरु बताइदिनुहुन्छ कि ?
शैसा – भोजपुरमै हुँदा शरदचन्द्र शर्मा भट्टराईबाट प्रभावित भएर कविता लेखनमा लागेँ ।स्कुल पढ्दा अतिरिक्त व्रिmयाकलापमा भाग लिन्थेँ । काठमाडौँ आएको भोलिपल्ट बिहान मुख धुँदा घडी बेपत्ता भयो । होटलमा बन र चिया खाएर बसिरहेको थिएँ । दिउँसो एक जना मुरली बजाइरहेका थिए । उनी चनमायालाई प्रभावित गर्न मुरली बजाउँदा रहेछन् । त्यसपछि राति हिँडेर गोकर्ण जाँदा रहेछन् । उनी रमेश विकल थिए । गोकर्णबाट त्यहाँ सधैँ आउँदा रहेछन् । मैले पहिलोपल्ट भेटेको साहित्यकार उनै हुन् । उनले भैरव अर्यालकोमा लगे । अर्याल हालखबर पत्रिकामा लेख्थे । रोचक घिमिरेहरुले रचना निकाल्ने सुरसार कस्दै थिए । उनलाई जनकपुरको सामन्त हो, धनी छ भन्थे । यसलाई राख्न पाए पत्रिका निकाल्न पाइन्थ्यो भनेर भैरव अर्याल र रमेश विकलले घनानाथ शर्मा घिमिरेलाई रोचक घिमिरे बनाए । पुरू रिसाल आइरहन्थे । गोरखापत्रमा जागिरे भएपछि भैरव अर्याल बर्लिन गए । त्यहाँ उनले क्यान्सर लागेको थाहा पाएर निराश भए । महेन्द्रपुलमा हामफाल्दा लास पाइँदैन भनेर बाग्मतीमा हामफालेर आत्महत्या गरे ।
एक दिन एक जना गोरो डल्लो मान्छेले वासु शशिकोमा जान्छौ भनेर सोघे । उनी थिए हेम हमाल । उनले लिएर गए । वासु शशिसँग सम्पर्क भयो । कृष्णभक्त, मोहन कोइराला, शङ्कर लामिछानेको सङ्गतमा परेँ । रत्ना राई भोजपुरकी हो । ताहाचलमा जान्थेँ । चार वर्ष नपढी कवि भएर हिँडेँ ।
धीकुश्रे – शङ्करप्रसाद श्रेष्ठ कसरी शैलेन्द्र साकार भयो । यसबारे केही बताइदिनुहुन्छ कि ?
शैसा – १५÷१६ सालसम्म म शङ्करप्रसाद श्रेष्ठ थिएँ । १५÷१६ सालमा साकारको नामबाट कविता लेखेर रोचकलाई छाप्न दिएँ भोजपुरको मान्छेको हो भनेर । उनले साकारको अगाडि शैलेन्द्र थपेर पछिल्लो पानामा कविको परिचय लेखे । त्यहीदेखि शैलेन्द्र साकार भएँ । उनीहरुलाई पनि थाहा थिएन शैलेन्द्र साकार भनेको मै हुँ भन्ने ।
धीकुश्रे – तपाईंको पढाइ राजनीति शास्त्रको, सेवा बैङ्किङ क्षेत्रको र नामचाहिँ साहित्यिक क्षेत्रमा, यो अनौठो संयोगलाई कसरी तालमेल मिलाउनुभयो ?
शैसा – चार वर्ष काठमाडौँमा कवि भएर रल्लिएपछि भोजपुर गएँ । पढाइ मेट्रिक मात्र रहेछु । खाली कविता लेखेर हिँडेछु । हाइस्कुलमा मास्टर त दियो तर २३ सालमा विराटनगर आएर आइए जाँच दिएँ । त्यहीँबाट काठमाडौँ आएँ । त्यसपछि विभिन्न ठाउँमा जागिर खाएर पढेँ । सबै प्राइभेटबाट पास गरेँ । बिएमा सरस्वतीमा पढेँ तर प्राइभेटबाट एमए दिएँ सन् १९७४ मा । २८ सालमा सेक्सन अफिसर भएर तनहुँ गएँ । १ वर्ष बसेँ र फर्केर आएँ । औलो उन्मुलन सङ्घमा जागिर खाएँ । प्रोफेसर हुने इच्छा थियो । यसैले दुई विषयमा एमए भएँ । सेकेन्ड डिभिजन नभई लेक्चरर हुन नपाइने भएकोले प्राइभेटबाट राजनीति शास्त्रमा एमए गरेँ । लेखक पहिलेदेखि थिएँ । केवल लेक्चरर हुन राजनीति शास्त्र पढेँ । त्रिचन्द्रमा केही समय राजनीति शास्त्र पढाएँ । त्यसै बेला बैङ्कमा राम्रो हुन्छ भनेर यता लागेँ । हिसाब आउँदैनथ्यो तर अफिसर हुन हिसाब जान्नुपर्दैन भनेपछिजाँच दिएँ । ४ हजारमा सेकेन्ड भएँ । दीपेन्द्रबहादुर क्षेत्रीको नाम धेरै तल निस्केको थियो । सोचे जस्तो हुँदैन । केही न केही एडजस्ट गर्न सकिन्छ । त्यही गरेँ । घर बनाउने सापटी दिन्छ भनेर पनि बैङ्कमा लागेँ ।
धीकुश्रे – तपाईंको बिहेको संयोग पनि रोचक नै छ क्यारे ?
शैसा – २५ वर्षको उमेरमा बाटोमा हिँड्दाहिँड्दै एक दिन घर जाऊँ भनेर कुलबहादुर श्रेष्ठले पाटन लगे । उनले‘कान्छी चिया ल्याऊ त’भने । ती कान्छी मञ्जु श्रेष्ठ थिए । उनैसँग २८ सालमा विवाह भयो । गोरखापत्रमा मासुचिउरा खाइयो । विजय मल्ल आए । उनले‘अनुराधा’को कुरो गरे । उपन्यास लेख्दै छु भन्थे । साँढेले लखेटेर नाङ्गै भएको उपन्यास लेख्छु भन्थे ।
धीकुश्रे – साझा प्रकाशनमा हुँदाका केही रोचक संस्मरण भए बताउन मिल्छ कि ?
शैसा – नेपाली किताबलाई वाल मार्टमा बेचाउँछु भनेकोले तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्ट मबाट प्रभावित भएर अध्यक्ष बनाए । धेरै बसिनँ । चारपाँच महिना मात्र । राजाको शासन कालको समय थियो । नवराज कार्की जिएम थिए । उनलाई हटाउन खोज्दा सकिनँ । बैठकै बस्न सक्दैनथ्यो । उनलाई ‘जिएम छाड्नू’ भन्न नहुने रहेछ ।
धीकुश्रे – तपाईंको समयको र अहिलेको साझा प्रकाशनलाई कुन रुपमा हेरिरहनुभएको छ ?
शैसा – राजनीति त्यतिबेला पनि थियो अहिले पनि छ । त्यतिबेला खर्च गर्न सक्ने अवस्थामा थियो साझा । अहिले कङ्गाल भएको छ । जग्गाजमिन धेरै छ । पोखरा,राजविराज, विराटनगरमा । गर्न सके अझै ठाउँ छ ।साझाको प्रवर्तक विश्ववन्धु थापा हुन् । पुष्करशमशेर, बालकृष्ण सम हुँदा ताक नेपाली भाषा प्रकाशिनि समिति थियो । त्यही साझा प्रकाशन भएको हो ।
धीकुश्रे – उपन्यासमा सहलेखनका बारेमा केही बताइदिनुहुन्छ कि ?
शैसा – राजेन्द्र भण्डारी र मन्नु भण्डारीले हिन्दी ११ जनालाई उपन्यास लेख्न लगाएका थिए । त्यो उपन्यासको नाम थियो,ग्यारह सपनोका देश । नेपाल भारतीय पुस्तकालयमा त्यो पढेँ । त्यस्तै नेपालीमा पनि निकालूँ भनेँ । म, ध्रुव र परशु दाइसहित दश जना मिलेर २०३२ सालमा पहिलो उपन्यास आकाश विभाजित छलेख्यौँ । त्यसपछि तेह्र जना भएर २०४५ सालमा अवतार विघटन पनि लेख्यौँ ।
धीकुश्रे – तपाईंले गद्य र पद्य दुवैतिर कलम चलाउनुभयो । नेपाली साहित्यले भने तपाईंलाई कुन रुपमा चिनिदेओस् भन्ने चाहनुहुन्छ ?
शैसा – गद्य पद्य दुवै । कविता र कथा मन पर्छ । गद्यमा कथा र पद्यमा कविता मन पर्छ ।
धीकुश्रे – प्रेरणा केवल सकारात्मक मात्र हुन्छ कि अरु पनि प्रकारको?
शैसा – अप्ठ्यारो छ । जीवनका सबै पक्ष सकारात्मक र नकारात्मक मात्र हुँदैनन् । नेपालीमा पूर्णकालीन साहित्यकार हुन गाह्रो छ । शब्दसँग खेल्ने मान्छे इमानदार हुन्छ केही अर्थमा । प्रेरणा सकारात्मक र नकारात्मक दुवै हुन्छ ।
धीकुश्रे – साहित्यिकार हुँदाका सन्तुष्टिलाई शब्दमा कुन रुपमा व्यक्त गर्नुहुन्छ ?
शैसा – सन्तुष्ट छु । असन्तोष गरेर नयाँ कुरो पाइने होइन । अभूतपूर्वचाहिँ साहित्यकार मात्र हुन सक्छ । जतिसुकै ठुलो भए पनि भूतपूर्व हुनैपर्छ । साहित्यकार चाहिँ जहिल्यै अभूतपूर्व हुन्छ ।
धीकुश्रे – साहित्यकार नहुनुभएको भए तपाईं के हुनुहुन्थ्यो होला ? यस्तो परिकल्पना कहिल्यै गर्नुभएको छ ? गर्नुभएको भए कस्तो ?त्यसको उल्लेख गरिदिनुहुन्छ कि ?
शैसा – राम्रो जागिरे वा फुटबलर हुन्थेँ होला । अथवा प्रोफेसर हुन्थेँ होला ।७ वर्षसम्म हाइस्कुलमा पढाउँदा मबाट सबै सन्तुष्ट थिए ।
धीकुश्रे – आफ्ना रचनाहरुको प्रेरणास्रोत र पर्यावरणका बारेमा बताइदिनुहुन्छ कि ?
शैसा – बालककाल र वरिपरको परिवेश । जागिर खाँदाका सङ्घर्ष । अमेरिकाबाट ३ किताब लेखिसकेँ । अरुभन्दा फरक लेखूँ भन्ने विचार हुन्छ शब्दसँग खेल्ने मान्छेको । आगो, पानी, पर्यावरण देखेर मानिसले शब्द दिए । शब्दको निरन्तरताले दोहोरिन नसक्ने शब्दै होइन भन्छन् डेरिडा । प्रत्येक शब्द कविता हो । वेद पनि शब्दको खोजी हो । अग्नि, वायु प्रकृतिको प्रशंसा हो । व्यक्त गर्न शब्द चाहियो । भाषाले आविष्कार गरेको हरेक शब्द कविता हो ।
धीकुश्रे – साहित्यमा स्थापित हुन तपाईंले गर्नुपरेका सङ्घर्षका विषयमा जान्न सकिन्छ कि ?
शैसा – जागिरमा सङ्घर्ष भयो तर साहित्यमा त्यस्तो भएन । पोषण पाण्डे आरएनएसीको जागिर छाडेर एकेडेमी गए । उनले पश्चाताप गरे । त्यही कारण ४७ सालतिर एकेडेमी जान सक्थेँ तर गइनँ ।
धीकुश्रे – तपाईंको समयको र अहिलेको साहित्य लेखनमा कुनै अन्तर पाउनुभएको छ ?
शैसा – समयले आफै अन्तर सिर्जना गर्छ । नयाँबाट म सन्तुष्ट छैनँ । अध्ययन छैन । कथ्य कायाकल्प सुरू गरेको छु । एउटै कथ्य दोहोरिनुहुँदैन भन्छु । कथ्य परिवर्तन हुन्छ भन्छु । विगत पढेकै छैन । आफूलाई महान् सम्झने गर्छन् । राजनीतिमुखी बढी भयो । नेताले युज र थ्रो गर्छन् । एकजना चित्रकारले म पहिलादेखि नै पिकासोजतिकै नामी हुने भनेर चित्र लेखेँ । लोर्काका साथी हुन् उनी । लोर्का राम्रा कवि थिए । तानाशाहको विरोधमा उत्रिँदा उनी मारिए । उनी थिए सल्बाडोर डाली । उनी मारिएपछि कसले, कहाँ र कसरी चित्र लेख्ने । नेताले जुलुसमा हिँडेकोलाई मन्त्री बनाउने होइन । त्यसो भए जुलुसमा हिँडेर बित्थामा किन ज्यान फाल्ने सर्जकले । सर्जकको काम सिर्जना गर्ने हो । बित्थामा ज्यान फाल्ने होइन । उसको रिक्त स्थान अरुले पूर्ति गर्न सक्दैन ।
धीकुश्रे – तपाईं आफ्ना सिर्जनामध्ये तुलनात्मक रुपमा कुनसँग बढी सन्तुष्ट हुनुहुन्छ र किन ?
शैसा – किताबका रुपमा नाङ्गो तारसँग म बढी सन्तुष्ट छु तर मानिसहरुसर्पहरु गीत सुन्दैनन्लाई भन्छन् । कथामा ‘पुल’ मन पर्छ । अमेरिकी चलनमा हजार कोठामा एउटाचाहिँ भूतलाई छाड्ँिदो रहेछ ।त्यही आधारमा‘हजारमध्ये एक कोठा’ कथा लेखेको छु । त्यस कोठामा चुरोट र ह्विस्की खाएर बस्न पाइन्छ । जिउ मात्र देखाएर बस्नुपर्छ । घण्टाको बिस डलर पाइन्छ । केन्याको हब्सी त्यहाँ बस्दा मर्यो । त्यहाँ जागिर खा भन्थे । मैले खाइनँ । कथा लेखेँ जागिर खाए जस्तो गरेर ।
धीकुश्रे – सर्जकको सिर्जनाको मूल्याङ्कन समालोचक र पाठकले गर्ने हो तैपनि तपाईं आफै आफ्ना सिर्जनाको स्वमूल्याङ्कन कुन रुपमा गर्नुहुन्छ ?
शैसा – आफूलाई आफ्नोरचना राम्रै लाग्छ । डाली पनि पिकासोभन्दा म ठुलो हुँ भन्थे । भन्न पर्ने रहेछ जस्तो लाग्छ । साह्रै हीनताबोध लिएर बाँच्न हुँदैन । म आफूलाई यो युगको उत्कृष्ट साहित्यकार मान्छु । आफूलाई उत्कृष्ट नलागी लेख्न पनि हुँदैन यसैले ।
धीकुश्रे – सर्जकको समग्र सिर्जनाको मूल्याङ्कन गणितीय अङ्कमा हुन सक्छ कि सक्दैन होला ? सक्छ भने कुन कुन आधारमा कति कति पूर्णाङ्क दिन सकिन्छ होला ?
शैसा – यो समालोचकको काम हो । मेरो होइन ।
धीकुश्रे – तपाईं आफैलाई १०० पूर्णाङ्कमा कति अङ्क निर्धारण गर्नुहुन्छ ?
शैसा – १०० नै ।
धीकुश्रे – समसामयिक साहित्यिक लेखन कस्तो हुनुपथ्र्यो होला ?
शैसा – इन्फरमल कन्टेन्ट मेटामर्फोसिस हुनुपथ्र्यो । अनौपचारिक कथ्य कायाकल्प हुनुपर्छ लेखनमा । प्युपालाई हेरेर पुतली कल्पना गर्न सकिन्न तर शैली प्युपा भए पनि विचार पुतली हुुनुपर्यो । मोहक र गतिशील हुनुपर्यो । सबैले बुझ्ने हुनुपर्यो । आफू कहीँ न कहीँ देखिनुपर्यो । मान्छेसँग घुलमिल भएको हुनुपर्यो । जीवनसँग बाँधिएको हुनुपर्यो । संस्कृतका जटिलताबाट मुक्त हुनुपर्यो । अनौपचारिक हुनुपर्यो ।
धीकुश्रे – समसामयिक नवलेखनलाई कुन रुपमा देखिरहनुभएको छ ?
शैसा – जस्तो हुनुपथ्र्यो त्यस्तो भइरहेको छैन तर केही त राम्रै पनि छन् । अझै राम्रो गरिदिए हुन्थ्यो भन्ने छ ।
धीकुश्रे – शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रुपमा देखिरहनुभएको छ ?
शैसा – नदीको दुई किनारा जस्तो छ । कहिल्यै मिल्दैन । शासकले नयाँ विचारलाई हत्पत स्वीकार गर्दैन । सर्जकले चाहिँ नयाँ आविष्कारमा विश्वास गर्छ ।
धीकुश्रे – सर्जक र सामाजिक सदस्यका बिचको सम्बन्धलाई कुन रुपमा देखिरहनुभएको छ ?
शैसा – यो सम्बन्ध राम्रो हुनुपर्छ ।
धीकुश्रे – तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा जान्न सकिन्छ ?
शैसा – मलाई मन पर्ने लेखकहरु सेक्सपियर, सेली, किट्स वाइरन हुन् । नयाँमा बिट कवि एलेन गिन्सवर्ग र लरेन्स फर्लिन गेट्टी मन पर्छन् । फर्लिन क्यालिफोर्नियाका राजकवि हुन् । अहिले १०० वर्षका छन् । यिनीहरुकै किताब मन पर्छन् । गिन्सवर्गको फाउल एन्ड अदर पोयम्स (चित्कार), फर्लिनको पोयट्री एज एन इनसर्जेन्ट आर्ट (कविता एउटा आव्रmामक कला हो) आदि मन पर्छन् ।
धीकुश्रे – तपाईंलाई उत्कृष्ट लागेका डायस्पोरिक सर्जक र सिर्जनाका बारेमा जान्न सकिन्छ ?
शैसा – नयाँमा नीलम कार्की, होमनाथ सुवेदी मन पर्छन् । पुरानामा वसन्त श्रेष्ठ, गोबद्र्धन पूजा नम्रता गुरागाईं, डा. ऋषि वस्ताकोटी, डा. मुकुल दाहाल, गोविन्द गिरी प्रेरणा, गीता खत्री, पदम विश्वकर्मा, गोविन्दसिं रावत, ज्ञानेन्द्र गदाल, जीवा लामिछाने, हिक्मत थापा, सीता पाण्डे, भारती गौतम, कमला प्रसाईं आदि मन पर्छन् ।
धीकुश्रे – तपाईंलाई उत्कृष्ट लागेका स्वदेशी सर्जक र सिर्जनाका बारेमा जान्न सकिन्छ ?
शैसा – रिसाउँछन् । धेरै छन् । यिनीहरुका बारे आफै लेख्छु । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, जगदीश घिमिरे, गोपालप्रसाद रिमाल, भूपि शेरचन, पारिजात,शङ्कर लामिछाने आदि उत्कृष्ट लाग्छन् ।
धीकुश्रे – अहिलेकै लेखन गतिले नेपाली साहित्यमा विश्वस्तरीय सिर्जना हुन सक्ला?
शैसा – परिष्कार र परिमार्जन जरूरी छ । अनुवादको ठुलो भूमिका हुन्छ ।
धीकुश्रे – तपाईंका लेखन र प्रकाशनसम्बन्धीभविष्यकायोजनाकाबारेमाकेहीबताउनमिल्छकि?
शैसा – प्रकाशकको खोजीमा छु । अरु सात समुद्र (कविता सङ्ग्रह), हजारमध्ये एक कोठा (कथा सङ्ग्रह), अनुरक्त (छोराका बारेमा लेखेको कविता),अमेरिका डायरी लेखिराखेको छु । अङ्ग्रेजीमा सर्पेन्ट वन्ट लिसन योर सङ्ग्स छाप्ने विचार छ । अङ्ग्रेजीमा केही युयुत्सु आरडी र केही आफैले अनुवाद गरेको छु ।
धीकुश्रे – नेपाली साहित्यमा चलिरहेको सम्मान र पुरस्कारलाईयहाँलेकुनरुपमालिनुभएकोछ?
शैसा – विवादास्पद कुरो छ । परिष्कार आवश्यक छ । शुद्धता आवश्यक छ । न्यायिक हुनुपर्यो । फल्नाले पायो । किन पायो थाहा छैन । सुधार जरूरी छ । देवकोटा, समजस्तालाई नदिएर २०१८ सालमा रमेश विकललाई मदन पुरस्कार दिए । त्यति बेला प्रसिद्ध त प्रसिद्ध छँदै छ नि सिकारूलाई दिन पुरस्कार स्थापना गरेको भनेर तर्क दिए । मेरो सर्पहरु गीतहरु सुन्दैनन्लाई प्रकाशकले मदन पुरस्कारका लागि पेस गरेका रहेछन् । खड्गमान मल्ल निर्णायक कमिटीमा रहेछन् । उनी बैङ्कमा आएर मदन पुरस्कार पायो भने के गर्नुहुन्छ भनेर सोधे । त्यति बेला सात्र्रले भरखर नोबेल पुरस्कार बहिस्कार गरेका थिए । म पनि त्यसै गर्छु भनेँ । त्यसकारण मलाई दिएनन् ।
धीकुश्रे – तपाईंलाई नेपाली साहित्यिक पत्रकारिता कस्तो भइदिए हुन्थ्यो भन्ने लागिरहेको छ ?
शैसा – राम्रै छ । नियमित गर्नुपर्यो र स्तरीय हुनुपर्यो । नयाँलाई स्थान दिएन भन्छ । योगदान हुुनुपर्यो छापिन पनि । मूलधारमा आउनुपर्यो । चर्चायोग्य लेख्नुपर्यो । कविता नाङ्गोतार छोएजस्तो हुनुपर्छ ।
धीकुश्रे – नेपाली पत्रकारिताको जनकका रुपमा रहेको साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाका बारेमा यहाँलाई थाहा भएसम्मका कुराहरु बताइदिनुहुन्छ कि ?
शैसा – सूचना विभागले वर्गीकरण गर्छ रे न्यायिक हुनुपर्यो ।
धीकुश्रे – यहाँ सोध्न छुट हुन गएका र तपाईंलाई सोधिदिए हुन्थ्यो भन्ने लागिरहेको कुनै प्रश्न बाँकी भए कृपया ‘तपाईंको प्रश्न तपाईंकै उत्तर’ मा क्रमश प्रश्न उत्तर लेखिदिनुहोला ।
शैसा – खासै छैन । प्रकाशकको खोजीमा छु ।