दीपक श्रेष्ठ
(नखिपोट, ललितपुर १४)
गोविन्दराज भट्टराईको कृति सुकरातको डायरीका समीक्षाहरु पढ्दा धेरै समीक्षकले सामान्य पाठकले छिचोल्न नसक्ने कृतिका रुपमा चित्रण गरेको पाएँ । मनमा प्रश्न उठ्यो, के साँच्चै गोविन्दराज भट्टराई जसलाई धेरैभन्दा धेरै नवलेखकले आफ्ना नयाँ कृतिको भूमिका लेखिदिन रोज्छन्, आफैचाहिँ धेरैले नबुझ्ने गरी लेख्छन् त ? यस प्रश्नको जवाफ खोज्न एकपटक आफैले पढेर हेरौँ न त भन्ने लाग्यो । साँच्चै, एउटा सामान्य पाठकको हातमा गोविन्दराज भट्टराई (गोराभ) को कृति देख्दा जो कसैले त्यस पाठकलाई असामान्य नजरले हेर्दा रहेछन् । मैले यस कुराको अनुभव गोराभकृत सुकरातको डायरी पढ्दा अनुभव गर्न पाएँ । सोही अनुभव र डायरीको अध्ययनपश्चात् मलाई लागेका केही कुरा लेख्दै छु ।
गोराभले सामान्यभन्दा सामान्य पाठक जो नयाँ समयका एक आख्यान सर्जक हुन सक्छन्, उनलाई अघि बढाउनका खातिर आडभरोसा दिने उद्देश्य राखेर यो कृति तयार गरेको देखिन्छ । गोराभले वैशाख १, सोमबार, २०६४ को नयाँ दिनको दैनिकी उतारेर डायरीको शुभारम्भ गरेका छन् । यस्तो सुरूवातले जसरी एउटा व्यक्तिले नयाँ वर्षको नयाँ दिनबाट नयाँ सङ्कल्प लिन्छ, त्यसरी नै एउटा पाठकले आफू कुनै दिन लेखन कार्यलाई अघि बढाउँदै उत्कृष्ट लेखक बन्ने उत्कट इच्छा डायरी लेखनको सुरूआतसँगै अघि बढाउनुपर्छ भन्ने सन्देश दिएको छ । दैनिकी लेख्दा एउटा व्यक्तिले आफ्नो जीवनको हरेक मोडमा घटेका घटनाव्रmमलाई उल्लेख गर्न सक्छ र सोही सामग्रीपछि संस्मरण, यात्रा संस्मरण अथवा जीवनी लेखनसम्मका निम्ति उपयोगी हुन सक्छ भन्ने महङ्खवपूर्ण अभिव्यक्ति सुरूवाती पानामा पढ्न सकिन्छ ।
गोराभले उपन्यासको उठानसँगै आफ्नो थिमअनुसार विभिन्न कृतिको नाम र त्यस कृतिको थिम उल्लेख गर्ने व्रmममा सुरूमा नै ‘अ ब्रिफ हिस्ट्री अब टाइम’लाई अघि सारेका छन् । यसो गरेर उनले समयलाई हेर्ने, बुझ्ने दृष्टिकोण समयसँगै बदलिरहने हुनाले दैनिकी लेखनका बेला हेरेका, देखेका, भोगेका विषयवस्तु पछिका निम्ति महङ्खवपूर्ण हुन्छ भन्ने कुरा प्रष्ट पार्न चाहेका छन् । त्यसै गरी गोराभले दर्शनको इतिहास पढ्नैपर्ने मान्यता अघि सार्दै ‘सोफिज वल्र्ड’ पढ्नैपर्ने कृति भएको कुरा राखेका छन् । साथै विश्वस्तरका लेखकका कृति अध्ययन गर्नाले धेरै कुराको जानकारी हुने र केही न केही लेखेर समाजमा योगदान पु¥याउन सकिने धारणा राखेका छन् ।
हरेकले ‘अब यात्रा गर्छु र लेख्छु’ भन्ने भावना राखे ऊ भोगाइलाई शब्दचित्रमा उतार्न सक्ने लेखक बन्न सक्छ भन्ने सद्विचार अघि सारेका छन् । जसरी विभिन्न ठाउँको भ्रमण गर्दा त्यहाँको रहनसहन, परम्परा, भाषा, वेषभूषा संस्कृति देख्न र बुझ्न सकिन्छ, त्यसरी नै विभिन्न साहित्यिक, गैरसाहित्यिक कृति अध्ययन गरेर पनि सामाजिक, आर्थिक र वैज्ञानिक दर्शनको ज्ञान आर्जन गर्न सकिन्छ भन्ने प्रष्ट पारेका छन् । गोराभले डायरीमा विभिन्न कृतिका नाम उल्लेख गरिदिएका छन् जसले सो कृति अध्ययन गर्न ऊर्जा मिलेको छ । हरेक कृतिका नामका साथै लेखक, विषयवस्तु उल्लेख गरिदिएर एउटा सच्चा पाठकलाई निकै सहजता प्रदान गरिदिएका छन् ।
एउटा पाठकले लेखक हुनको निमित्त गर्ने पहिलो प्रयास भनेको आफ्नो अतीतलाई केलाएर ब्युँझाउने कोसिस गर्नु हो । यसो गर्दा उसले आख्यानमा कल्पना र सिर्जनात्मकता मिसाए पनि सत्य र यथार्थ बताउन चुक्न नहुने बोध गराउन गोराभ सफल साबित भएका छन् । गोराभले यो सत्यको उजागर गर्दै विश्वप्रसिद्ध लेखकले आफ्ना जीवनका घटनामा केन्द्रित भएर लेखेका कृतिहरु औँल्याइदिएका छन् । नवलेखकलाई लेख्न प्रेरणा दिएका छन् । चाहेर मात्र हुँदैन, लेखनलाई यथार्थमा बदल्न वास्तवमै आफै लेख्न खोज्नुपर्छ भन्ने कुरालाई डायरीमा अभ्यास दिएर नवलेखकलाई सन्देश दिइएको छ । डायरी पढ्दापढ्दै आउने यस्ता अभ्यासलाई ‘प्रयोग’का रुपमा हेर्नेहरुमा स्थापित लेखक समालोचक पर्लान् तर सामान्य पाठकले यसलाई अति संवेदनशील भएर लिएको पाएको छु । वास्तवमा अभ्यासले नै व्यक्तिलाई लेखनकलामा खरो उतार्न सक्छ ।
त्यसै गरी सन्दर्भग्रन्थ राख्नुको उद्देश्य पनि नवलेखकलाई एउटा आख्यान रचनाकालमा लेखकले धेरै स्रोतसामग्रीहरु पछ्याउनुपर्ने हुन्छ भन्ने आवश्यकता उजागर गर्नु हो । कृति लेखिसकेपछि लेखकले पाठकको हातमा पु¥याउँदासम्म केकस्ता परिस्थितिको सामना गर्नुपर्छ भन्ने यथार्थ पनि गोराभले डायरीमार्फत छर्लङ्ग पारेका छन् ।
गोराभले एउटा लेखकले आफ्नो लेखनकालमा जेजस्ता साहित्यिक कृति रचना गर्छन् ती सबैलाई उच्च कोटीको तुल्याउन विषयवस्तु चयनदेखि पात्रको सन्तुलित विकासका साथै पाठक स्वयंले मूल दर्शन पत्ता लगाउन सक्ने हिसाबले कृति तयार गरेको हुनुपर्नेमा जोड दिएका हुन् । साहित्यिक रचना रच्नको निम्ति कल्पनाशक्ति, त्याग, तपस्या र दृढ निश्चय, अठोट, आत्मबलका साथै जीवनलाई हृदयले छुन सक्ने चेतनाले भरिपूर्ण भएको हुनुपर्छ भनेका छन् । गोराभको डायरीको थिमअनुसार सारा कुरा सिकेर आख्यान सिर्जना गर्नाले नै एउटा पाठक उच्च कोटीको लेखक बन्न सक्ने धारणामा सहमत भएको सहर्ष स्वीकार गरेको छु ।
मैले डायरी पढेपछि विभिन्न चरणमा विभिन्न कुरा सिक्दै गएँ । यस्तो प्रकारको कृति प्रथमपटक पढेकोले होला मलाई लेखनकार्यमा लाग्न धेरै प्रेरणा मिलेको छ । मेरा अनेक बुझाइलाई तल बुँदागत रुपमा टिपोट गरेको छु । सायद अन्य पाठकले समेत आख्यान रचनालगायत साहित्यको विविध विधामा कलम चलाउन यस्तै बुझ्ने छन् भन्ने मनमा लिएको छु ।
१. सिर्जना गर्ने र सिर्जना गरेपछि सिक्ने ।
२. उपयुक्त ठाउँमा उपयुक्त शब्दचयन भए कृति पढ्नलायक हुन्छ ।
३. तत्कालीन समय र समाजको चित्रणले लेखनमा महङ्खवपूर्ण स्थान पाउनुपर्छ ।
४. कल्पना शक्ति पनि साहित्य लेखनका निम्ति नभई नहुने गुण हो ।
५. स्रष्टाहरु कालातीतको चिन्तनमा डुबेर बस्नुपर्छ र असामान्य भविष्यद्रष्टा हुनुपर्छ ।
६. लेखक शक्तिशाली निरीक्षक र विश्लेषक हुनुका साथै उसमा समयचेत हुन आवश्यक छ ।
७. कृति लेख्नुअघि किन लेख्ने, केकस्तो सत्य उजागर गर्ने भन्ने निश्चित धारणा बनाउनुपर्छ ।
८. स्रष्टाले पात्रसँग मिसिएर थिम बताउनुहुँदैन, पाठकलाई दर्शन पत्ता लगाउनदिनुपर्छ ।
९. धेरै कुरा हेरेर, पढेर, बुझेर अर्थपूर्ण साधनाका लागि स्रष्टा हरदम तयार रहनुपर्छ ।
१०. साहित्यिक कृतिले मनोरञ्जन, शिक्षा, सन्देशका साथै ज्ञानमा परिवर्तन ल्याउन सक्नुपर्छ ।
अन्त्यमा, गोराभको डायरी पढेपछि हरेक पाठकमा आफू पाठकमा मात्र सीमित नभई लेखक बन्ने सपनालाई यथार्थमा बदल्न र सक्षमता हासिल गर्न दृढ विश्वास पलाउने छ ।