परशुराम पराशर
चीनको बुहानबाट सुरू भएको कोरोना कहर नेपालको लहान आइनपुग्दै समाप्त होला भनेको त केको हुनु? झन् बढेको बढ्यै छ । नदेखिने शत्रुले आव्रmमण गर्दै छ भने लुकेर बस्नु नै उत्तम हुन्छ भनेर हाम्रा शास्त्रले शास्त्रीमार्फत सबैलाई बुझाउने प्रयास गरेका थिए तर शास्त्र र शास्त्री नमान्ने घिच्चुकतिर बुद्धिको घडा र कोखामा बुद्धिबङ्गारो भएका कतिले नातिको मुख नहेरी माथिको बाटो समात्ने उत्तम उपायको बुटी बोकेर पाखामा मस्याम छरेजस्तो जताततै छर्ने हुन् कि भन्ने शङ्काको तुष अझै धुबाउँदै छ ।
यस्तो अवस्थामा लकडाउन भनेर सबैलाई आआफ्नो घरमा बस्नुपर्ने, स्यानिटाइजर घस्नुपर्ने, दुई मिटर पर बस्नुपर्ने, साबुनपानीले हात धुनुपर्ने, बिरामीसँग परपरै हुनुपर्ने उर्दी सरकारले फिरायो । उता आफूले चाहिँ यी सबै नियमविपरीत सरकार गिरायो, आफ्ना मान्छे मन्त्रीमण्डलदेखि सफाइमण्डलसम्म छिरायो । लकडाउन भन्नेबित्तिकै दुईओटा कुरा आउँछन् । एउटा लक ९ीयअप० डाउन र अर्को लक ९ीगअप० डाउन । यी दुईओटै कुरा एउटै भइसकेको छ । लकडाउनले लकडाउन गराइसकेको छ अर्थात् बन्दाबन्दीले भाग्यबन्दी भएको देखिएको छ । कलकारखाना, व्यापारव्यवसाय, स्कुलकलेज बन्द भएर आर्थिक व्यवस्था मन्द भएको छ । अन्तको कुरा बन्द गरेर नेपालको मात्र हेर्ने हो भने नेपालीहरु कोरोनाको जोखिमले होइन, अनिकालको उखुमले पिल्सिने प्रस्ट देखिन्छ । लगानी गर्नेको गलेनी फाटिसकेको छ । अब खुट्टा खोच्याएर के गर्नु । बैङ्ककर्जाको भारले आफ्नो दर्जा बिर्सनुपर्ने अवस्था आँखाकै अगाडि उभिएको छ ।
यो लकडाउनले साधारणदेखि भान्छेसम्मको वर्ग पहिचान गराएको छ । हुँदा खाने र हुनेखानेबिच खाडलको रित्तो खँड्कुलो बनाएको छ । अर्काले दिएको दालमोठ र चिउरा पनि चपाउन नपाएकालाई सरकारले सरोकारविनाको भाटभटेनी पसल खोल्न दिएर किन्न अनुरोध गरेको छ । पैसा न कौडी पछिपछि दौडी भन्ने सिद्धान्तलाई अगाडि ल्याई हुँदा खानेलाई पसल खोलियो अब चाउचाउ, चक्लेट, चिजबल किनेर भोको पेट भर भन्ने भनाइ अबलम्बन गर भनेको छ ।
हामी नेपालीलाई विज्ञानले साथ नदिए पनि ज्ञानले हात थापेकै छ । भूकम्प आयो, सारा नेपाली जान्नेबुझ्ने मात्र होइन, आफू बुझ्नेभन्दा बुझाउन सिपालु बनेका थिए । त्यस्तै अहिले कोरोनाको कहरमा हेरौँ त, ज्ञानको लहर कति माथि उठेको छ । हामी सर्वसाधारणमा पनि डाक्टरलाई पढाउने क्षमता एकाएक उदाएको छ । देश चलाउनेलाई गलाउने ज्ञान ढुङ्गामा पिपल पलाएझैँ पलाएको छ । कोरोनाको जडी ओखती बताउन मात्र होइन यसलाई तातो थाङ्नामा सुताउनसम्म हामी सफल भएका छौँ । कोरोना हामीजस्तै अल्छी छ भन्ने हाम्लाई थाहा छ । त्यसैले यो उठेर ज¥याकम¥याक गर्नुपूर्व नै हामी मोर्निङ वाक गर्नेदेखि आफन्त भेट्नेसम्म, सरसामान किन्नेदेखि लखरलखर हिँड्नेसम्मका सबै कार्य गर्न भ्याउँछौँ । हाम्रो बठ्याइँ देखेर कोरोना भाइरस छक्क परेको होला । कोरोनाको दैनिकी बिहान आठनौ बजे उठेर हातमुख धोई, चियाचमेना खाई, आङ तान्दै बाहिर निस्कँदा प्रायः दश बजिसकेको हुन्छ । दिनभरि आफ्नो तागत देखाएर बेलुका साढे चार नबज्दै बासस्थान फर्किसकेको हुन्छ । यो कुरा हाम्रा महाज्ञानी गिदीले गमेर नै होला बिहान ९ बजेसम्ममा सबैले किनमेल गरिसक्नू भनेर पसल खोल्ने, किनमेल गर्ने, हिँडडुल गर्ने समय तोकिएको । बेलुका पाँच बजेदेखि भिडभाडमा नगई हल्लाखल्ला नगरी सरक्क बजार गएर आआफ्नो मनलाग्दी काम गर्दा कोरोनाले पत्तो नपाउने रहस्य पत्ता लगाएर स्थानीय निकायदेखि सङ्घीय सरकारले त्यस समयलाई छानेको हो । यस अर्थ पनि हाम्रो ज्ञानचक्षुलाई मान्ने पर्छ ।
यतिमात्र होइन रातारात कोरोना निर्मूल पार्ने भाषण पाषाण युगका मान्छेलाई झैँ सुनाइन्छ । समय मिलाएर कहिले गुर्जो, ज्वानो, अम्बाको पात खाए, कहिले बेसार पानी पिए कोरोना चट् । दुई रूपियाँको माक्सलाई दश रूपियाँमा किन्न बाध्य पार्ने सरकार आफ्नो दरकारभन्दा बढी सोच्नै सक्दैन । कुर्सी पाए ठिक नपाए बेठिक सरकार भन्नेहरु अहिले खुसीले आफ्नो धोती उचालेर अर्काको बेइज्जत गर्दै हिँड्न थालेका छन् । बाख्रा चोर काँव्रmा चोरलाई महाचोर भन्छ र सार्वजनिक स्थानमा सर्वस्व लुट्नुपर्ने जिकिर गर्छ । मान्छेमारा माछामारालाई महाअपराधी ठान्छ ।
धन्य कोरोना ! लक ९ीयअप० डाउन भएर लक ९ीगअप० डाउन भएपछि ममा पनि वृद्धि भएको ज्ञानको घैँटो यता पोख्न पाएको छु ।
Facebook Comments Box