मधुर भट्टराई
(बर्दिबास १४, महोत्तरी)
कतिहिँड्छस्आफ्नै आयुको चप्पल
जिन्दगीको पैतालामुनि लतारेर
कति बटार्छस्आफ्नै मुटु
निचोरे जस्तो मुट्ठी
हेर त तेरो कन्सिरीको डिलमा
काँस फुलिसकेछ उमेर
भैगो छाडिदे अरु कुरा
मुकुन्दे अब तँ गीत गा ।
इतिहासका गल्ली डुलेर नहेर
भो इमानको दुर्गन्धित रछ्यान
यहाँ पर्दाभित्र कट्कटिएको दाग लाग्नेहरु
उज्यालोमा सेतो कमिज लगाउँछन्
श्रम गर्ने हातहरुले पसिना हैन
रगतको खोलो बगाउँछ
त्यही खोलामा नुहाउनेहरु
अर्कैको सपनाको ढिस्कोमाथि उक्लेर
कुराको चिप्लेटी खेल्छन्
लगाउन थाल्यो भने हाम्रो श्यामश्वेत दिमाग
घुम्छ चव्रmजस्तै टाउको फनफनी
त्यसैले बाँकी राखेर यावत् कुराहरु
मुकुन्दे अब तँ गीत गा ।
गीत गाउनु भनेको
अग्घोर निराशा या उत्कट उमङ्गको
किनारैकिनार हिँड्नु हो
हिँड्दाहिँड्दै पुगिन्छ जिन्दगीको अन्तिम गहिराइ
त्यहीँबाट झुल्किन्छ यथार्थको उज्यालो घाम
दुई धारमा बाँच्नेहरु न दिन हुन सक्छन् न रात
साँझको भ्रममा बाँच्दाबाँच्दै
रङ उडिजाने पानाका अक्षर हुन्छन्
यस्तै गल्तीको चङ्गुलबाट मुक्त हुन छ
त्यसैले मुकुन्दे अब तँ गीत गा ।
पुर्खालेगरेका कर्मलाई
गल्तीको तराजूमा जोखेर
बेच्नु हुन्न पूर्वजको इतिहास
पुर्खाले खनेको बाटो हिँडेर
गर्नु हुन्न बाटोकैसत्तोसराप
लान्छनाका साङ्लाले बेरेर
बनाउनु हुन्न आफैलाइ कैदी
विरोधाभाषको सितनसँगै
खानहुन्न कसैको आँसुको रक्सी
इमानको जिन्दगी बाँच्नु र
खुकुरीको दापभित्र सुरक्षित रहनु उस्तै हो
यो सप्पै बुझेर पनि
किन आगो झोसिरहन्छस्आफ्नै रगतमा
यावत्कुरा थन्क्याएर उपेक्षाको सिकुवामा
मुकुन्दे अब तँ गीत गा ।
सुन्नु र देख्नु नै भयङ्कर भूल हुन् हिजोआज
बरू आस्थाको मन्दिरमा
स्थापना गरेर तीन बुद्धिमान् बाँदर
हरेक कर्म र दुर्घटनालाई
करार गरेर भाग्यको खेल
गाइरहनू मुकुन्दे गाइरहनू
दुःख र सुखको एउटै सुर भएको गीत
किनकि दुःखको पासोमा अल्झाउन खोज्नेहरु
र सुखको जूनेली किरणमा जबरजस्ती डामिनेहरु
आर्तनाद गर्दै खियाइरहन्छन्आफ्नै जिन्दगी
हिँड्ने गर्छन्
भ्रमको कुहिरोभित्र भुलेर आफ्नै बाटो
र यो दुर्घटनाबाट बाँच्नलाई भए पनि
मुकुन्दे अब तँ गीत गा।