तारा के.सी.
(पनौती, काभ्रे)
बिहे गरेर म आएदेखि नै भान्साकोठाको दायाँपट्टि ठुलो सन्दुक थियो। त्यस सन्दुकमा फलामको चारपाटे ताल्चा मारिएको थियो। त्यसमा केराखिएको होला जस्तो लाग्थ्यो ।एक दिन सासूआमाले सन्दुक खोलेर तेल, घिउ र मरमसला बाहिर झिकिदिँदै भन्नुभयो, ‘बुहारी ! एक हप्तालाई पुग्ने झिक्देको छु । फारो गरेर हाल्नू ।’
सासूआमाले सन्दुकबाट झिकी अड्कलेर चौथोमा खनाइदिएको तेल म बडो जतनसाथफारो गरेर तरकारीमाहाल्थेँ । सकिएपछि फेरि त्यसै भन्दै उहाँले तेलघिउ झिकिदिनुहुन्थ्यो। धनुष आकारकोअनौठो खालको सन्दुकको साँचो उहाँले थैलीमा हालेर कम्मरमा पटुकाले बेरेर राख्नुहुन्थ्यो। घरको प्रमुख मान्छे उहाँले चलाएको घरको व्यवस्थापनमा मैले कुनै गुनासो गरिनँ । समय बित्दै गयो मेरो पनि छोरोको बिहे भयो। बुहारी आइन् घरमा।नयाँ बुहारीलाई पनिसन्दुकबाट तेलघिउ झिकिदिँदै एक हप्तालाई पुर्याउनू भन्नुभयो सासूआमाले।
बुहारीले थुतुनो कालो पारिन्।
भोलिपल्ट भान्सामा ठुलो दराज आयो। छोरोले घिउ, तेल र मरमसला झिकेर सन्दुक खाली गरेर दराज भर्यो । खालीसन्दुकलाई घरको छिडीमा फालिदियो । त्यो दृश्य हेरिरहनुभएकी मेरी सासूले भन्नुभयो, ‘बुहारी! अब हाम्रा सन्तानले हामीसँग भएका सुनचाँदी, जग्गाजमिन र गरगहनालिएर हामीलाई पनि यो सन्दुकजस्तै फ्याकिदिने हुन् कि?’
फालिएको पुरानो खाली सन्दुक फालिएको फालिएकै भयो । कसैले पनि त्यसलाई उठाएर व्यवस्थापन गर्नेतिर ध्यान दिएनन् ।