रमेश शुभेच्छु
मलाई गुरूपूर्णिमाका दिन गुरूका विषयमा निबन्ध लेख्नु थियो । दिमागमा निबन्ध अङ्कुराउन नपाई कविता आइहाल्यो :
गुरू ब्रम्हा गुरू विष्णु गुरूदेव महेश्वर
गुरू साक्षात परंब्रम्ह तस्मै श्री गुरूवे नमः ।
कण्ठस्थ आइ त हाल्यो । घोरिएँ, गाँठे ! गुरू नै ब्रह्मा, गुरू नै विष्णु, गुरू नै महेश्वर, गुरू नै देव, गुरू नै परब्रह्मा । एउटै मान्छेमा यतिका गुण इन्द्रका बाबु चन्द्रसँग पनि छैन होला । उनै कविले लेखेको आमाबाबुको महिमा पनि यति छैन होला । पहिलो दिन स्कुल जाँदा टुपी निमोठ्नेदेखि पछिल्ला दिन विश्वविद्यालय जाँदा थेसिस चिमोट्नेसम्मकागुरूहरुलाई सम्झिएँ । अनि अलमलिएँअलि अलि होइन नराम्रोसँग । दिमागमा सैतान पस्यो सायद । लाग्यो, कुन गुरूले कहिले यतिका गुण देखाए ? मेरा समझमा माथिको कविता सुहाएन । अल्मलिनु अलमलिएँ । लाग्यो, यस श्लोकको डिकन्स्ट्रक्सन गरिदिऊँ । फेरि डर लाग्यो । पुरानो जमानाको सिर्जनालाई किन चलाइराख्नु । गुरू त गुरू नै हुन् । कवि कवि नै हुन् । यसो टोलतिर टहलिएर आएँ ।
गुरू भन्ने बित्तिकै मेरो ˚रक सोचाइलाई फेरि अर्को आदर्शले किच्यायो:
‘गुरू बन्न उही सक्छ जो चेला चुन्न सक्दछ ।
चेलो बन्न उही सक्छ जो गुरू चिन्न सक्दछ । – बालकृष्ण सम
म फेरि अल्मलिएँ । आजका जमानामा विद्यार्थीलाई कुखुराको खोर जत्रो स्कुलमा लगेर थुन्छन् । कम तलबमा कसले पढाउँछ भनी खोजी खोजी व्यापारी मठाधीशले जोतेका कमजोर गुरूबाहेक कोही हुँदैनन् । अब चेलो बिचरो कसरी गुरू चुनोस् । होला, कुनै आदर्श पेसा ठानेर पढाउन वा गुरू हुन गए भने पनि धनी बाबुका बिग्रिएका छोराछोरी जति कक्षामा भेडाबाख्रा हुले सरि हुलिएका हुन्छन्: गुरू बिचरो कसरी चेलो चुनोस् । आफ्नो गुरू चुनूँ भन्दाभन्दै कति औँला काटिए । भए११ पुग्थे काटिएका औँला । धन्न दशओटा मात्र काटिए । अब यो आदर्शले काम गरेन । डिकन्स्ट्रक्सन गरुँ कि भनेँ, आँट आएन । यो त बालकृष्ण समको विचार पो त । समजस्ता महान् साधकको विचार कसले काट्न सकोस् । फेरि कवि मात्र हो र राणाजीसमेत हुन् सम ।
म अलमलिएँ, निबन्ध लेखूँ कि कविता लेखूँ । कविता लेख्ने मुड आएन । गुरूको आदर्श बिम्बले थिचेर टाउको उठाउनै दिएन । एकलव्य बनेर औँलो चढाउन मन थिएन । कर्ण बनेर द्रोणाचार्यसँग आँखा जुधाउन मन थियो । कर्ण बनेर भीष्मसँग परीक्षा दिन मन थियो । के गर्नु परशुरामहरु पनि मैलाई श्राप दिन भ्याउँछन् । अनि मैले कविता लेख्ने आँट गर्न सकिनँ ।
गुरू औपचारिक मात्र कहाँ हुन्छन् र ? अनौपचारिक गुरू कति कति, गनी नसकिने । सैद्धान्तिक झन् कति कति, चिनी नसकिने । व्यावहारिक झन् कति कति, भनेर नसकिने । सम्झिँदासम्झिँदै विद्रोहमा उठेको मेरो शिर निहुरियो र ओठले बोल्यो, ज्ञान प्रदान गर्ने सबै गुरूप्रति नमन ! म नबोल्दै ओठले बोल्यो, जीवनका पाठशालामा सिक्न प्रेरित गरिरहने सम्पूर्ण गुरूमा नमन !
मैले गुरूलाई नमन गरेँ । मेरो निहुरिएको शिर ठाडो पर्नासाथ चकरायो, ए! जोसुकै गुरू कसरी बन्न सक्छ ? जोसुकैलाई गुरू कसरी मान्न सकिन्छ ? गुरूमानेपनिकसरीनमनगर्नसकिन्छ?
म चल्मलाएँ । चकराएँ । रन्थनिएँ । मभित्रको आदर्श मुर्झायो । यथार्थ बिउँझियो । मेरा लागि गुरू त्यो हो जसले सहृदयतापूर्वक सिकाउँछ, अङ्कुशबाट मुक्त राख्छ, निस्स्वार्थ ज्ञान दिन्छ, स्वार्थमुक्त हुन्छ, प्रेमपूर्वक सिकाउँछ, प्रतिस्पर्धाबाट मुक्त राख्छ, अनुभव बाँड्छ, अनुभूतिको भारी बोकाउँदैन, सम्मान लिन्छ, अभिमानबाट मुक्त हुन्छ, सँगसँगै हिँडाउँछ र प्रभावबाट मुक्त राख्छ । जो शिष्यले गुरूको अर्थ बुझ्छ, स्वयम् गुरू बनिँदैन भन्छ, खोई त त्यस्तो गुरू ? कसलाई नमुना मानूँ । के म मेरै गुरूलाई गरेको नमन फिर्ता मागूँ ?अलमलिएको छु । धरमराएको छु ।
हाम्रो आदर्शमा गुरूका नाममा गरिएको नमन ˚र्काउनु हुँदैन । चेलाको नमन पनि परशुरामको श्रापजस्तै कटिबद्ध हुन्छ । त्यसो गर्न सुहाउँदैन । गुरू महान् हुन्छन् । गुरू हुनु र शिक्षक हुनु भिन्न कुरा हुन् ! कहिलेकाहीँ त गुरू बन्ने कोसिस गरेर त हेरुँ । म फेरि निहुरिएँ । अचानक मेरो जिब्रो चिलायो । गुरू बन्न प्रयासरत सबैलाई शुभकामना ! मलाई गुरू बन्ने प्रयत्नको बुद्धि आओस् । पुनः एउटा मन्त्र उच्चारण गरेँ, शिष्यादिच्छेत् पराजयम् (असल गुरू ज्ञानमा आफ्ना शिष्यहरुबाट पराजित हुन चाहन्छ ।)
वाउ ! अहा ! उहु ! मेरो मन रमायो । गुरूहरु शिष्यसँग हार्दा खुसी हुन्छन् । एकाएक भन्न मन लाग्यो, गुरूपूर्णिमाको उपलक्ष्यमा सबै गुरूमा शुभकामना । बिस्तारै गुरूहरु सम्झिएर शिर उठाएँ । शिर उठाउनै नहुने । झनन्न दिमाग तातेर आइहाल्यो । मेरो टाउकोलाई लाग्न थाल्यो, ती गुरूलाई शुभकामना छ जो पढाउने होइन पढ्न प्रेरित गर्छन्, बुझाउने होइन बुझ्न प्रेरित गर्छन्, सिकाउने होइन सिक्न प्रेरित गर्छन्, लेखाउने होइन लेख्न प्रेरित गर्छन्, लेखेको काट्ने होइन, अकाट्य लेख्न प्रेरित गर्छन् । यी गुरूका विशेषता सुन्दासुन्दै फेरि शिर निहुरियो । त्यस्ता गुरूमा नमन । निहुरिएकै बेला सम्झिएँ, अक्षरारम्भदेखि आजसम्म मैले जो जोबाट जेजति सिकेँ तर मेरो शिर झुकिरहन सकेन । शिर उठाउनासाथ खोजी गर्न मन लाग्यो खोइ त त्यस्ता गुरूहरु ?
म अलमलिएँ । गुरू पूंिर्णमामा गुरूलाई शुभकाना दिनै पर्ने बाध्यतामा दिने निर्णय गरेँ । शुभकामना भनेको आफ्नै गुरूलाई दिने हो । परशुराम, द्रोणाचार्य, वशिष्ट आदि खोजेर हुँदैन । फेरि अर्का व्यास खोजेर पनि पाइँदैन । एक एक गुरू सम्झिँदै शुभकामना दिन थालेँ । पहिले सम्झिएँ ती गुरू जसले कक्षामा म र हामीलाई कुखुरा बनाए, उनलाई कुखुरे चेलाको शुभकामना । गुरू, जसले औँलाका कापमा कलम घुसारेर औँला च्यापिदिए, उनलाई बाड्गा औँलाले शुभकामना । गुरू, जसले राजनीतिको बैँसाखी टेकेर हामीलाई पनि टेकाए, उनलाई जिन्दावाद शुभकामना । गुरू, जसले जागिर खान पढाए, उनलाई जागिरे शुभकामना । गुरू, जसले ज्ञान हेरेर भन्दा ज्यान हेरेर मूल्याङ्कन गरे, उनलाई हात जोडेर शुभकामना । गुरू, जसले अर्थ नलगाई शब्दको भारी बोकाए र बोक्नै नसक्ने ठानेर पछारे, उनलाई पछारिएकै ठाउँबाट साष्टाङ्ग दण्डवत्सहित शुभकामना । गुरू, जसले द्रोणाचार्य बनेर एकलव्यको औँला काटिरहे, उनलाई बुढी र चोरी औँलोसहित शुभकामना । गुरू, जसले औँलोजस्तै नम्बर काटिरहे, उनलाई नम्बरी शुभकामना । गुरू, जसले आउँदा जाँदा ढिलो गर्नु हुँदैन भन्दै कक्षामा १५ मिनेट ढिलो आएर १५ मिनेट छिटो निस्किँदै पढाइरहे, उनलाई तिस मिनेटे स्तुतिसहित शुभकामना । गुरू, जसले नजानेको कुरा जान्दिनँ नभनेर अर्कै कुरा भनेर टारिदिए, उनलाई महागुरूको उपाधिसहित शुभकामना । गुरू, जसले टाईसुट, जिन्स लगाएर कक्षामा राष्ट्रिय संस्कृति पढाए, उनलाई ग्रन्च पेन्ट र ढाका टोपीको उपहारसहित शुभकामना । गुरू, जसले नोट मात्र पढाए, उनलाई उही नोट किन्ने नोटसहित शुभकामना । गुरू, जसले पाठ अपूरै छाडेर परीक्षामा पठाए उनलाई पूर्ण पाठको शुभकामना । गुरू, जसले लाठी, मुड्की, लात्ती चखाइरहे, उनलाई लड्डुसहितको शुभकामना । गुरू, जसले उठबस गराए, उनलाई उठेर र बसेर शुभकामना । गुरू, जसले घुँडा टेकाएर लगाए, उनलाई घुँडा टेकेरै शुभकामना । गुरू, जो श्रीमतीसितको रिस पोख्ता विद्यार्थीलाई ठटाउँथे, गुरू र गुरूआमा दुवैलाई पुग्ने लड्डुसहितको शुभकामना । गुरू, जो आ˚्ना छोराछोरीलाई नम्बर बढी दिएर अरुलाई कम कृपा गर्थे, उनलाई गुरू, गुरूआमा र छोराछोरीलाई पुग्ने लड्डुसहितको शुभकामना ।
गुरू गुणको चेलो भन्छन् । आफूले गुरूलाई शुभकामना दिने भनेको पनि जानेअनुसार रहेछ । गुरूबाटै सिकेअनुसार रहेछ । आखिर शुभकामना दिने भनेकै पाएअनुसार हो । प्राज्ञिक बौद्धिक कुरा पाइए अर्को साल छँदै छ । यहाँ छुट्नुभएका, चुनावमा उठ्नुभएका, सुटुक्क भट्टी पसेर नालीमा सुत्नुभएका, पेसा परिवर्तन गरी व्यापार व्यावसायमा लाग्नुभएका, हाम्रै साथीलाई दोस्री गुरूआमा बनाएर भाग्नुभएका, भागेर बेपत्ता हुनुभएका, बेपत्ताबाट फेला पर्नुभएका, शिक्षणमा पोस नदेखेर वडाध्यक्ष, मेयर, उपमेयर, सांसद, मन्त्री, सभामुख आदि हुनुभएका, विद्यार्थी र शिक्षकका ढाँड टेकेर शिक्षाकै उद्योगपति बन्नुभएका, शिक्षाको उद्योग नदेखेर होटल खोल्नुभएका अनेक अनेक गुरूलाई अनेक अनेक वन्दना, अनेक अनेक प्रणाम, अनेक अनेक नमन । जय गुरूपूर्णिमा ।