खेमराज पोखरेल
दिनेश आधुनिक मान्छे हो । महिला र पुरूष समान हुन् भन्ने विकासे संस्थामा काम गर्छ ।
गाउँमा उसको काकाको छोरोको बिहे थियो । काकाले कार्ड पठाएका थिए । कार्ड हेरेर उसकी श्रीमती नीलिमाले उसलाई ठाडो भाषामा भनेकी थिइन्,‘तिम्रो नाममा आएको त्यो बिहेको कार्डमा म जान्नँ, तिमी एक्लै जाऊ ।’
‘किन र ? मेरो नाममा सपरिवार आएको निम्तो कार्डमा तिमीले जान हुन्न र?’ दिनेशले प्रतिप्रश्न गरेको थियो ।
‘भो जिद्दी नगर, म जाँदै जान्नँ । तिमी एक्लै जाऊ । बरू म माइत गएर २/३ दिन बस्छु ।’ नीलिमाले उत्तर दिएकी थिइन् ।
दुबैको बिचमा धेरै भनाभन भयो यसबारेमा ।
दिनेश एक्लै काकाको गाउँतिर लाग्यो । काकाको घर पुग्ने बेलामा उसले नीलिमालाई परैबाट देख्यो । अचम्म लाग्यो तर उसको दिमागमा पुरानो कुरा याद आइरह्यो –
त्यो दिन निलिमा र ऊ अफिसबाट सँगै घर आइपुगेका थिए । बिहेको एउटा निम्तो कार्ड टि टेबुलमा थियो ।
निम्तो कार्ड खोलेर नीलिमाले दङ्ग पर्दै भनेकी थिइन्, ‘अहा ! माइतीमा बिहे लागेछ ।भान्दाइको छोरोको बिहे रहेछ । हामीलाई बिहे गराउन भान्दाइले कति भूमिका खेल्नुभएको थियो । सज्जन मान्छे हुनुहुन्छ भान्दाइ । सपरिवार निम्तो पनि छ । जानुपर्छ है ।’
दिनेशले सरसर्ती कार्ड हेरेर एकाएक भनेको थियो, ‘नीलिमा त्यो तिम्रो नाममा लेखिएको कार्डमा सपरिवार नै भए पनि म जान्नँ । तिम्रा भान्दाइले मेरो नाम जानेनन् ?’
नीलिमाले भनेकी थिइन्,‘किन हामी बराबर हौँ भन्नुभएको होइन र ?’
अहिले ऊ नीलिमालाई देखेर मरेको झार भयो । काकाको घर पुग्यो । पुगेपछि देख्नेबित्तिकै काकाले उसलाई भनिहाले,‘भतिज, तँ त पहिलेदेखि नै अलि अब्डेरो होस् । बुहारी एक्लै आउँदा त, तँलाई निम्तोको भाँती पुगेन कि भनेझैँ लागेको थियो मलाई त ।’
नीलिमाले काकालाई भनिन्,‘होइन नि काका, उहाँलाई त लैङ्गिक समानाताका बारेमा कार्यपत्र पेस गर्नु थियो ।’