आत्माराम खरेल
२०१८ साल फागुनमा काभ्रे, खरेलथोक लगिएँ । त्यहाँ जैथुङ्का स्कुलको कक्षा एकमा भर्ना गरिएँ । त्यो स्कुलमा एकजना मोटोघाटो, श्याम वर्णका कालो चस्मा लगाउने शिक्षक थिए । किन हो कुन्नि, उनलाई परैबाट देख्दा पनि डराउँथेँ । कक्षामा हुँदा त थर्कमान हुन्थेँ । उनले दिएको पाठ डर र त्रासले बुझेरभन्दा पनि घोकेर कण्ठ पार्थें । सरसर्ती बुझाउँथेँ । पाठ बुझाउन नसक्नेले छडी खानुपथ्र्यो । पुनः त्यही पाठ पढेर अर्को दिन आउनुपथ्र्यो । म भने दिइएका पाठ खुरूखुरू बुझाउँथेँ । नयाँ नयाँ पाठ पाउँथेँ । फलतः बाह्रखरीको पुस्तक छोटो समयमै पढिसिध्याएँ । दिनहुँ पाठ बुझाएको देखी उनले मलाई सोही शैक्षिक सत्रको बिचमै कक्षा एकबाट तीनमा चढाइदिए ।
मनमनै लाग्यो, ‘मलाई यति ठुलो कक्षामा किन राखेको होला ?’
त्यस कक्षाका छात्र ठुल्दाइ र काकाझैँ लाग्थे ।छात्रा ठुल्दिदी र काकीजस्ता लाग्थे । उनीहरुमाझ आफूलाईसानो केटो ठान्थेँ ।सोच्थेँ, ‘यतिका ठुल्ठुला मानिससँगै कसरी पढ्न सकुँला ?’
त्यस कक्षामा कोही बूढापाका जस्ता त कोही जोगीजस्ता गुरू आउँथे, पढाउँथे, जान्थे । म ट्वाल्ल परिरहन्थेँ । पढाएको एकछेउ बुझ्दिनथेँ । केही दिनपछि स्कुलमा नेपाल (काठमाडौँं)बाट केही मानिस आए; हरेक विद्यार्थीलाई एउटा प्रश्न गरे । प्लाइउडमा हो वा बाक्लो कागतमा लेखिएको अक्षर देखाउँदै सोधे, ‘ल भन त, यो के हो ?’
अहिले सम्झँदा लाग्छ, त्यो अक्षर रोमन लिपिको IV वा VI हुनुपर्छ । मेरा छेउछाउमा हुने दाइदिदी कसैले भन्न सकेनन् । मैले पनि सकिनँ । ती नयाँ मानिसले मेरो शिरदेखि गोडासम्म हेरे ।स्कुलका एक जना शिक्षकलाई भने, ‘यति सानो केटोलाई किन तीन कक्षामा राखेको ?’
त्यसपछि मलाई पुनः कक्षा १ मै फर्काइयो ।
खरेलथोकमा हाम्रो पुख्र्यौली घर निकै ठुलो थियो । घरबाहिर जाँदा मलाई कतिपयले ‘ठुलो घरको केटो’ भन्थे । कहिलेकाहीँ महिलाले कुरो गरेको सुन्थेँ, ‘यसकी बहिनीलाई आमाको दुध पुग्दैनथ्यो । यो ज्यादै रोगी थियो । पछि मामा घर पठा’को माइलीको सानो छोरो यही हो ।’
म छक्क पर्थें र मनमनै सोच्थेँ, ‘मलाई यिनीहरुले कसरी चिने ?’
जैथुङ्का स्कुलबाट ओह्रालो लाग्दै आउनेबाटोछेउमा ठुलो वरपिपलको रूख थियो । पढाइ सकेर घर फर्कंदा रूखको पातपतिङ्गरलाई हावाले हल्लाइरहेको हुन्थ्यो । त्यसबाट आउने सिरिरिरी आवाज मन पथ्र्यो । चराचुरूङ्गी चिरिबिरी गर्दै रूखमाथि उड्थे ।त्यही बसेर रमाउन चाहे पनि भोकले एउटै स्कुलमा पढ्ने एकाघरका अरुसँगै हिडिरहेको हुन्थेँ । चिरिबिरीसँगै सिरिरिरी सुन्न किन मन लाग्थ्यो मलाई थाहा थिएन । केही समयअघि यसबारे घोत्लिँदा पो छक्क परेँ; त्यो बाल मनोविज्ञान सम्झेर– त्यो चिरिबिरी आवाजमा त्यो पातपतिङ्रको ‘सिरिरिरी’ले सङ्गीतको काम गथ्र्यो । त्यहाँ स्वर र सङ्गीतको रमाइलो ताल हुन्थ्यो । त्यो सुनेरमेरोबालहृदयरमाउँथ्यो।
हाम्रो पुख्र्यौली परिवारले राजधानीमा जागिरे जीवन बिताउन थालेको तीनचार पुस्ता भइसकेको थियो । म र बहिनी अम्बिकाबाहेक सबैजसो नरदेवी, काठमाडौँंमा थिए । यता घरमा एउटै स्कुलमा पढ्ने अरु पनि थिए । मैले पढेको हेरिदिने कोही भएनन् । सबैजना आआफ्नै तालमा थिए । अन्ततः पाठको सार नबुझे पनि, घोकेर कण्ठाग्र गरेकै भरमा वार्षिक परीक्षामा उत्तीर्ण भएँ ।
हिउँदको याम थियो । काकापट्टिका दिदीहरुले हामी दाजुबहिनीलाई काठमाडौँं ल्याइदिएर हाम्रा आमाबुबाकहाँ पुर्याइदिए । त्यतिबेला हामी रक्तकाली मन्दिरदेखि अलिक पर भुरूङखेलमा बस्थ्यौँ । त्यहाँ हाम्रो एउटा भाइ जयराम र अर्की सानी बहिनी भवानी पनि देखेर म खुसी भएको थिएँ।
अलिक दिनपछि मलाई घरबाट नजिकै रहेको रक्तकाली मन्दिर परिसरभित्रको भक्त विद्याश्रममा लगियो । दुई कक्षामा भर्ना गरियो । स्कुल नजिकै थियो । घरदेखि स्कुलसम्मकोबाटोमा एउटा मात्र घुम्ती थियोतैपनि स्कुल जाँदा र आउँदाबाटो भुलिएला भन्ने डर हुन्थ्यो । बिस्तार बानी पर्दै गयो । पढ्न थालेको केही सातापछि भुरूङखेलबाट ढोकाटोल, यटखा सर्यौं । त्यहाँबाट स्कुल पुग्न करिब बिस मिनेट लाग्थ्यो । बल्ल स्कुल गएआएको अनुभूति भयो । किनकि स्कुल भनेको हिँडेर पुग्न केही समय लाग्छ भन्ने मेरो मानसिकता थियो ।
मैले दुई कक्षामा कहिल्यै पाठ बुझाउन नसकेको एउटै विषय थियो, अनिवार्य नेपाल भाषा । नेवार साथी आपसमा कुरा गर्थे, ‘यो पर्वतेले नेपाल भाषा कसरी जान्दछ र ?’
घोकन्ते पठनकै भरमा ‘जेनतेन उत्तीर्ण’ भई तीन कक्षामा उक्लिएँ ।
हरेक आइतबार कक्षामा एकचोटि झस्किन्थेँ जब शिक्षकले नङ काटेको छ कि छैन भनेर विद्यार्थीका औँला हेर्न थाल्थे । पछाडि बेन्चमा रहेका केही साथी त दाँतले टोकेर फ्याल्न भ्याउँथे । यद्यपि शिक्षकले थाहा पाउँथे र भन्थे, ‘भर्खर टोकेर झारेको ? ल, बाहिर लाइनमा बस् !’
नङ नकाटी आउने जति सबैलाई बाहिर लाइन लगाउँथे । दुवै हात उचालेर अगाडि सिधा पार्नुपथ्र्यो । त्यसपछि पूरै चोक घुम्नुपथ्र्यो । चोकमा लामबद्ध रहेका हामी औँलाका तमासा देखाउँदै हिँडिरहेका हुन्थ्यौँ । डन्डीका झ्यालढोका भएको त्यो भुइँतले स्कुलका सबै कक्षाका विद्यार्थी बाहिर चोकमा नङ नकाटिएका औँलाका तमासा हेरिरहेका हुन्थे ।
धेरैपछि अनायाशै ममा एउटा प्रश्न उब्जियो, ‘किन हरेक आइतबार औँला बेइज्जती घटनामा म पनि सामेल हुन्थेँ ?’
कारण पत्ता लगाएँ, नङ काटेर आउनू भनी हरेक शुव्रmबार भनिँदोरहेछ । कतिबेला भनिन्थ्यो थाहै हुँदैनथ्यो । मेरो कमजोर कानले चालै पाउँदैनथ्यो । सातामा एकपटक नङ काट्नुपर्छ भन्ने ज्ञान मबाट निकै पछिसम्म टाढै रह्यो ।
एकदिन । साबिकबमोजिम स्कुल जाने तयारीमा थिएँ । खाना तयार भइरहेको थिएन । अलिक बेर पर्खें, खाना अझै तयार भएन । अब त ढिलो हुन्छ भन्ने लागेर सोधेंँ, ‘खाना पाक्या छैन ?’
‘छैन, आज स्कुल जानुपर्छ र ?’
‘पर्छ ।’
‘ल बस्दै गर् ।’
खपाखप खाना खाएँ । फटाफट स्कुल गएँ । स्कुल परिसरभित्र छिर्दा त जिलखाएँ, स्कुल बन्द रहेछ ! ‘किन बन्द थियो ?’ थाहा भएन । घरको गाली खाइने डर लाग्न थाल्यो । जोगिने उपाय सोच्न थालेँ । कतै घुम्न जाऊँ कसैले देखे भने झनै बर्बाद ! आज बिदा छ भन्ने कुरो घरमा के थाहा होला भनेर सडकदेखिभित्रीगल्ली तथा नरदेवी आयुर्वेद क्याम्पसको वरपर हल्लिरहेँ । त्यतातिर केही म जत्रै र केही अलिक ठुला केटाहरु थिए । तीमध्ये कोही खेलिरहेका कोही हँसीमजाक गरिरहेका थिए । म तिनै गतिविधि हेरिरहन्थेँ । बाटोमा आतेजाते गर्नेले मलाई हेर्थे । कतिले मलाई निकै बेरसम्म हेर्थे । खासगरी उनीहरु मैले हातमा बोकिरहेको कापीकिताब हेर्थे । मेरो मनको बाघले भन्थ्यो, ‘यो केटो स्कुल जान्छु भनेर घुम्न हिँडेछ !’
बेलाबखतमा कहिले यताको पसल त कहिले उताको पसलसामु जान्थेँ । कति बज्यो भनेर पसलको भित्ते घडी हेर्थें । समय कटाउन गाह्रो भयो । एकदिन तीन दिनभन्दा लामो लाग्यो । अन्ततः चार बज्यो ।सवा चार बजेतिर घर पुगेँ । कोठामा त एकदुईपटक देखेको तर नचिनेको संस्कृतका गुरूजस्ता लाग्ने मान्छे (जे.पी. हाइस्कुलमा संस्कृत र नेपाली पढाउने कृष्णमुरारी शास्त्री) थिए । उनले मेरो हातमा कापीकिताब देखेर मेरी आमालाई सोधे, ‘यिनी कहाँ गएर आएका?’
‘स्कुल ।’
‘आज त कृष्णाष्टमीको सार्वजनिक बिदा हो त !’
परेन फसाद ! अब केकति गाली र खप्की खाइने हो भनी डराएँ । उता ती शिक्षक मेरी आमासित केही खासखुस गरिरहेका थिए । केहीबेरपछि उनी गए तर स्कुलबारे मलाई कसैले केही भनेनन् । केही नभन्नुमा सायद त्यही खासखुसको करामत थियो !
दुई र तीन कक्षामा सँगै पढ्नेमध्ये अहिले पनि सम्झनामा आइरहन्छन्– बुद्ध, नारायण, विश्वप्रताप, किशोर र लक्ष्मी । ती सबै रमाइला थिए । उनीहरुका घर स्कुल आसपासमै थिए । बुद्ध मलाई निकै माया गर्थे । विश्वप्रतापको घर स्कुल परिसरकै अगाडि थियो । चार कक्षामा पढ्ने जनक त्यही घरमा कोठाभाडामा बस्थे । कहिलेकाहीँ झ्यालछेउम बसेर पढिरहेका देखिन्थे ।
स्कुलले विद्यार्थीलाई कहिलेकाहीँ प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा सहभागी गराइन्थ्यो । म पनि कुनै कुनै कार्यव्रmममा सहभागी हुन्थेँ तर रहरले मात्र । किनकि म ती खेलको नियम बुझ्दिनथेँ । पुरस्कार वितरण कार्यक्रम स्कुलको चोकमा गरिन्थ्यो । म भने पल्लो छेउको कक्षामा उक्लन्थेँ र शैक्षिक गतिविधि हेर्थें । पुरस्कार दिन भनी टेबु्लमा राखिएका कापी, कलम र पुस्तक देखेर लोभिन्थेँ । मेरा निम्ति त्यस्तो पाउनु भनेको आकाशको फल आँखातरी मर भने झैँ थियो ।
स्कुलको अर्धछुट्टीमा केही साथी क्यारमबोर्ड खेल्थे । म रमाइलो मानेर हेरिरहन्थेँ । त्यसको नियम आउँदैनथ्यो । मलाई गट्टी खेल्न सबभन्दा सजिलो लाग्थ्यो । गट्टीचाहिँ खसाल्ने प्रयास गर्थें । केहीबेरपछि ‘अब म खेल्छु ल’ भन्दै मेरो ठाउँमा अर्का साथी बस्थे । त्यो एकछिन खेलेको पनि मलाई निकै रमाइलो लाग्थ्यो । निकैपछि पो थाहा पाएँ; त्यतिबेला क्यारमबोर्ड खेल्दा खसाल्न सजिलो चाहिँ भनेर विपक्षीको गोटीलाई पो हिर्काउने गरेको रहेछु । जेहोस् साथीहरुको मायाकाबिच मेरो तीन कक्षाको शैक्षिक सत्र रमाइलोसित बित्यो ।