बबिता मादेन
(सिलगढी)
एउटा बेरमाइलो साँझ
म अनि मेरा मौनताहरु सुस्ताएर बसेको छ
सधैँ अत्याइरहने घडीको काँटा
उसरी नै बोझिल बनेर
माथि आकाशमा जमिरहेका छन्
बादलका केही टुक्राहरु
कहीँ टाढा क्षितिजमा अस्ताइसकेको
घामको धुमिल किरण थकाइ मारेर बसेको छ
सधैँ कुदिरहने मन्द मन्द बतास
यस्तै उराठलाग्दो मौसममा,
मलाई भने झ्वाम्म अँगालेर
मेरा स्थिर आवेगहरुलाई
तरङ्गित तुल्याइदिएको छ
सुमधुर यादहरुको स्पर्शले !
एउटा स्वर्णिम साँझ,
म, ऊ अनि हामीबिचका मौनताहरु
संवादविहीन शब्दहरुको वार्तालाप
चुपचाप चुपचापको मौनताले
बेस्सरी हल्ला गरिरहेछ
केही मैले नसुन्ने गरी
केही उसले नबुझ्ने गरी !
मेरो हतारिँदो समय,
असमन्जसमा परेको ऊ
यसरी नै टुङ्गिएको थियो
मौनतामै भेटघाटका मौन पलहरु
यदि, यादहरु आउन मुर्हुत चाहिन्छ भने
सधैँ आइरहोस् यस्तै बेरमाइलो साँझहरु
सम्झना गर्नलाई
कुनै मौन समयले दिएको
एउटा मिठो मिलनको अवशेष !!