अरुपा पटङ्गिया कलिता
(नेपाली अनुवाद: गदाधर शर्मा, गुवाहाटी, असम, भारत)
(मुल लेखिका अरुपा पटङ्गिया कलिता असमिया भाषाकी प्रसिद्ध आख्यानकार हुन् । उनका उपन्यास र कथासङ्ग्रह लगाएर दशओटा भन्दा बढी कृति प्रकाशित छन् । असमको ‘टङ्ला कलेज’मा अध्यापन गर्दै सन् २०१६ मा अङ्ग्रेजी विषयको विभागीय प्रमुखको पदबाट उनी सेवानिवृत्त भएकी हुन् । – अनुवादक)
माइनाओ कैशोर नाघेर यौवनमा पाइला टेकेकी केटी हो । पोटिला हातगोडा, घामपानीले चुटेर खँदिलो पारेको शरीर । शरीरको रङ घाममा डढेर उज्ज्वल ताँबाको रङजस्तो भएको । उसको जातीय वैशिष्ट्य बोकेका साना साना आँखा । हाँस्दा झन् साना हुन्छन् हँसुल्ली माइनाओका ती आँखा । साना साना आँखाभित्रका काला नानी टलटल टल्किन्छन् । आमाबाबाकी पहिली सन्तान हो ऊ । ऊपछि तीनोटा भाइबहिनी छन् । बाबा घरदेखि तीन किलोमिटर टाढाको प्राथमिक विद्यालयमा मासटरी गर्छन् । घरमा धान छ, गोठमा गाई छन्, बारीमा ‘तामुल–पान’१ छ । आमालेनै यी सबैको रेखदेख गर्छिन् । माइनाओले यसपालि म्याट्रिकको परीक्षा दिन्छे । पढाइ त्यति साह्रै राम्रो छैन तर प्रयासचाहिँ ऊ गर्छे । बिहानबेलुका नियमित रुपले पढ्न बस्छे । हुनचाहिँ लेखापढी भन्दा उसलाई घरको कामधन्दानै धेर मनपर्छ । उसको कामधन्दा हेर्यो भने हेरिरहन मन लाग्छ । उसले लिपेको आँगन फुकेर भात खान सक्ने हुन्छ । परेवाका आँखाको नमुना जडेर उसले तानमा बुनेको ‘फारौ–मेगन’२ बर्को जब तानबाट निकाल्छे तब उसका घरका परेवाहरुले पनि मानौँ चियाएर हेर्छन, ‘ए माइनाओ, तैँले त हाम्रा रङ्गीबिरङ्गी प्वाँखले गोल पारेर सजाएका आँखाहरु नै लगेर तानमा सजाइस् त ।’
उसले बुनेको ‘आरनाई’३मा जडेको निगुराको नमुना देखेर तामुलका बोटमुनिको निगुराले पनि मानौँ लाजले मुन्टो निहुराउँछ, ‘हामीपनि त्यस्ता राम्रा छौँ र ? ए माइनाओ, तेरो तानमा हामीलाई तैँले कत्ति राम्रो पारेर जडेकी !’
यही माइनाओको कपाल तिघ्रासम्म झुन्डिएको निक्खर कालो र चिल्लो छ । चुल्ठो बाँध्दा टाउकोभन्दा थोरै मात्र सानो हुन्छ । कपाललाई लिएर उसलाई केही गर्व पनि छ । कपालमा मेहदी र जवाकुसुमका पात कुटेर लगाउँछे ।आमासँग गनगन गरेर पैसा मागेर एकडेड किलोमिटर टाडाको सहरको पार्लरमा गएर कपालको टुप्पो समान पारेर मिलाएर आउँछे । उसलाई कपालमै लागिरहेको देख्ता आमाबाबाले कहिलेकाहीँ गालीपनि गर्छन् तर उसलाई गालीगरेर पनि के पो असर हुन्थ्यो र ! गाली सुनेर एकछिन झोक्रिन्छे अनि फेरि लगत्तै फिस्स हाँसेर उही पहिलाकी हँसुल्ली हुन्छे । ऊ हिजोआज हिन्दी सिनेमाकी एउटी लामो कपाल भएकी नायिकाको जस्तै कपाल फिँजाएर क्लिपले सजाउन मन पराउन थालेकी छे । घरआँगन लिपपोत पारेर, तान लगाएर, भातभान्साचुलोचौको गर्दै भित्रबाहिर गरिरहेकी छोरीको मनभित्रको कुरो बाबुआमाले कहाँ देख्ते र ? जब ऊ पार्लरमा गएर कपालको टुप्पो मिलाएर आएर जबाकुसुम र मेहदीका पात कुटेर कपालमा लगाएर, नुहाएर क्लिपले कपाललाई सजाएर बेलुका घरको गेटअगाडि त्यसै उभिएकी हुन्छे । त्यसबेला उसको मनभित्र चियाएर हेर्ने को हुन्छ र ? त्यसबेला ऊ मनमनै एउटा जवान केटोसँग ठट्यौली गरिरहेकी हुन्छे । त्यस जवान केटोको तस्बिर अस्पष्ट छ । कताकता त्यो लामो कपाल हावामा फिँजाएकी सिनेमाकी नायीकासँग सागरका किनारमा गीत गाउने सुन्दर केटोजस्तो छ । कहिले कहिले त्यो केटोको अनुहार उसका बाबाका स्कुलका हेड्मास्टरको टाडा पढदैगरेको छोरोको अनुहारसँग कताकता मिलेजस्तो लाग्छ । यस्तो समयमा कहिलेकाहीँ उसलाई एउटा बास्ना आएझैँ लाग्छ, कागतीका फूलको बास्ना । असमबाहिर पढ्दै गरेको त्यो केटो एकदिन उसका बाबालाई भेट्न आएको थियो । हेड्मास्टरले पठाएको एउटा कागतको पर्चा लिएर ऊ आएको थियो । गर्मीको छुट्टीमा ऊ आफू पढ्दैगरेको ठाउँबाट घर आएको थियो । माइनाओले तिलगुड हालेर नरम पारेर पकाएका ‘टेकेली पिठा’४ सँग उसलाई चिया खान दिएकी थिई । तीनोटा ‘पिठा’ खाइसकेपछि उसकी आमाले अरु एउटा थपिदिऊँ भनेर सोधेकी थिइन् । उसले ‘हुन्छ’ भनेको थियो अनि अरु दुइटा ‘पिठा’ खाएको थियो । माइनाओका बाबाआमाले उसको साह्रै प्रशंसा गरेका थिए । ऊ गएपछाडि पनि कोठाभरि कागतीका फूलको बास्ना मग्मगाइरहेको थियो । आफूले पढ्दैगरेको ठुलो सहरबाटै उसले त्यो मगमगाउँदो बास्नाको सिसी ल्याएको थियो होला ! माइनाओलाई ऊसँग त्यस्तै कागतीका फूलको बास्नाको सिसी ल्याइमाग्न साह्रै मन लागेको थियो । सित्तैमा ल्याइदिनु पर्दैन नि, लागेको पैसा दिन्छे ऊ ! तीनोटा सुँगुर, कुखुरा र परेवा बेचेका पैसा मिलाएर ऊ निकै धनी थिई । एक दिन साथीहरुसँग सहर गएर दोकानमा पसेर उसले बास्नाका सिसीहरु सुँघेर हेरेकी थिई । कागतीका फूलको बास्ना उसले कतै भेटिन । उसले अर्कै एउटा मिठो बास्नाको सिसी किनेर ल्याएकी थिई । त्यसदिन ऊ घरपुग्दा झमक्क साँझ परेको थियो । आमा मूलढोकाको सँघारमा उभिएर उसलाई पर्खिरहेकी थिइन् । बाबा साइकल लिएर चौबाटोसम्म आइपुगेका थिए । मज्जाले गाली खाएकी थिईआमाबाबाको त्यस दिन, ‘देखेकी छैनस्, चारैपट्टि के भइराख्या छ ? आन्दोलन उम्लिराख्या छ । हेड्मास्टरको छोरोजस्तो कतिजनापो हुन्छन् र ?’
सबैजसोले लेखापढी छाडेर र अरु सबै काम छाडेर आन्दोलनमा लागेका थिए । केटाहरुले धेरै नजानेका कुरा सिके, हातमा बन्दुक र बारूद आयो । केटाहरुका हातमा धेरै क्षमता आएको थियो । समाजका बुज्रुक व्यक्तिहरुपनि केटाहरुदेखि डराउँथे । छुट्टै राज्यका लागि चलेको आन्दोलनमा सबै कुरो बेग्लै भएको थियो । माइनाओ यी कुराहरुको केहीपनि भेउपत्तो बुझ्दिनथी । खै, कहाँ के पो भएको छ र ? कहिलेकाहीँ सडकमा जुलुस निस्किन्छ, बन्द हुन्छ, कतै पुलिस र मिलिटरीसँग उनीहरुका केटाहरुको झडप हुन्छ तर त्यो अलि परपरै हुन्छ । उसले कतै गोली चल्यो रे भन्ने त सुनेकी मात्र छ । सभा बस्छ । सडकमा जुलुस चल्छ । बसट्रकमा चढेर हुलका हुल मान्छे मिटिङ गर्न, सडक जाम गर्न र रेल रोक्न निस्किन्छन् । ती पनि के ठुला कुरा हुन् र ? सधैँ भइरहेका कुरा त हुन्नि । यस्तै देखी देखी ऊ ठुली भएकी । आमाबाबाको ‘यता नजा, उता नजा, यसो नगर, त्यसो नगर’ सुनी सुनी उसका कान पाकिसकेका थिए । यी सधैँ भइरहेका कुरा हुन्, भइनै रहन्छन् । त्यसो भन्दैमा ऊ अलिकति धागो किन्न, कानका मुन्द्री किन्न, क्लिप, गलामा लाउने एउटा माला किन्न किन सहर नजाने ? आमाहरुले तिनै एकै खाले गन्जागोलका कुरा गनगनाइरहँदा उसलाई झन्का उठेर आउँछ । बात मार्न, कुरा गर्न अरु केही छैन ? तिनै सडेका कुरा मात्र छन्?
माइनाओको सानो मनभित्र धेरजसो बेला हर्षनै हुन्छ । बिस्मात मान्नुपर्ने पो के भा’को छ र ? अनि यतिखेर ऊ मनमारेर बस्न पनि कसरी सकोस् ? दुर्गापूजाको याम परेको छ । उसले रातो माटोले चिल्लो पारेर लिपेको आँगनमा ‘बाथौ मन्दिर’५ सँगै टाँसिएको पारिजातको बोटबाट फूल झरेर सेतै ढाकेको छ । दोकानहरुमा माला र बेलुन भरिएका छन् । सहर जाने बाटामा पर्ने रेललाइनका छेउको घरमा अगाडिपट्टि टिनको छानु हालेर पोहोरपरारका जसरी नै यसपालि पनि प्रतिमा बनाउन थालेका छन् ।माइनाओको तानबाट रातो ‘दखना’६ पनि झिक्ने बेला भएको छ । रातो पनि एकदम सिँदुरे रातो, त्यसमाथि असमिया ‘मेखेला–चादर’७ मा बुनिने फूलको नमुनाका फूल बुनेको । फूलको रङ पहेँलो छ । बिचबिचमा थोरै सेतो र कालो रङ पनि छ । उसले छिमेकका बिनुमा, चम्पा, रिमाहरुसँग पार्लरमा गएर परेला थ्रेडिङ गरेर, केस मिलाएर पनि आइसकी । बिनुमाहरुसँग हाइस्कुलमा ऊ एउटै कक्षामा पढ्छे । उनीहरु दशबाह्रओटी केटी सँगै हुर्केबढेका हुन् र सँगै पढछन् । एउटीले अर्कीलाई छाडेर बस्न सक्तैनन् । सकुन् पनि कसरी ? बिनुमाले यसपालि ‘मेखेला–चादर’ किनेकी छे । तिनै ‘मेखेला–चादर’ हेरेर माइनाओले आफ्नू ‘दखना’ बुनेकी । उसले बुनेको त्यो ‘दखना’ देखेर केटीहरुले उसको साह्रै तारिफ गरेका थिए । चम्पाले निलो रङ्को भुइँमा सेता फूल भएको सलवारकुर्ता किनेकी छे । रिमाले बत्तु लगाएको साडी, बिजुले, कणिकाले, नीलिमाले । दुर्गापूजामा किनेका नयाँ लुगाले उनीहरुको उत्सवको आनन्दमा अझ उल्लास थपिदिन्छ । माइनाओलाई पनि सलवारकुर्ता किन्ने मन थियो तर आन्दोलन गर्ने केटाहरुले कडा नियम तोकेका छन् – केटीहरुले ‘दखना’बाहेक अरु लुगा लाउन नपाउने । कलेजमा पढने माइनाओकी एउटी फुपूले ‘दखना’ लगाएर साइकल गुडाएर निकै टाडा पर्ने कलेज जान अप्ठ्यारो भएर एक जोर सलवारकुर्ता सियाएकी थिई । कलेजमा सबै जना सलवारकुर्ताकै युनिफर्म लाउँछन् । उनीहरुलाई मात्र लाउन निषेध गरिएको थियो । केटाहरुले कलेजमा उसका लुगा कैँचीले काटेर धुजैधुजा पारिदिएका थिए । रोई रोई आँखा सुन्याएर माइनाओकी फुपू घर आइपुगेकी थिई । साथीहरुले सेप्टीपिनले जोडेर उसका धुजैधुजा भएका लुगा जसोतसो लाउनहुने पारिदिएका थिए । त्यसदिन माइनाओकी फुपूलाई उपद्रो ज्वरो आएको थियो । त्यो ज्वरो निको हुन तीनदिन सिङ्गै लागेको थियो । माइनाओ ती तीनैदिन फुपूका टाउकामा कपडा भिजाएर राखेको पट्टी फेर्दै छेउमै बसिरहेकी थिई । पढाइमा अब्बल, परीक्षामा राम्रो रिजल्ट ल्याउने आफ्नी फुपू यसरी ज्वरोले निस्लोट भएको देखेर माइनाओको मुटु पोलेको थियो । सबैका अगाडि त्यसरी जिउका लुगा धुजाधुजा पारेर चिरिदिएकाले त्यस अब्बल केटीलाई साह्रै दुःख लागेको थियो । आँसु पुछ्तैपुछ्तै सेप्टीपिनले जोडेका लुगा लगाएर यत्रा मान्छेका अगाडिबाट आउन उसलाई साह्रै सरम लागेको थियो । लाज र अपमानले उसलाई बाटैमा ज्वरोआएको थियो । माइनाओलाई कहिलेकाहीँ अरुनै कुनै लुगा लाउन मनलाग्यो भने सोझै उसकी फुपूको निस्लोट ज्वरोले रन्केको अनुहारको सम्झना आउँछ ।
दुर्गापूजालाई अब तीन दिनजति मात्र बाँकी छ । माइनाओले पूजासामान खरिद सिध्याएकी छे । बिनुमाहरुसँग गएर उसले एकजोर रातो युँ जडेका कानढुङ्ग्री पनि किनेर ल्याएकी छे । पार्लरमा यति खेर निकै भिड छ । उसले भिड लाग्नुभन्दा अगिनै गएर परेला थ्रेडिङ गरेर आएकी छे । अचानक माइनाओहरुले उनीहरुलाई पूजा हेर्न मनाही गरिएको छ भन्ने सुने । आन्दोलनकारी केटाले माइनाओका मान्छेलाई यसपालि पूजाको मेला हेर्न जान निषेध गरेका थिए । पूजा हेर्न जाने माइनाओका मान्छेलाई आन्दोलनकारीले सजाय दिने छन् । छुट्टै राज्य माग्ने यी आन्दोलनकारीले माइनाओको समाजमा अचेल जसो भन्यो त्यसै हुन्छ । नहोस् पनि किन ? सम्पूर्ण जातिलाई केटाहरुले आफ्नू भन्ने केही नयाँ दियाउन खोजेका छन् । नानाथरी सपना देखाएर उनीहरुले सम्पूर्ण जातिलाई सम्मोहित पारेका छन् । सबै सपना फलिफाप हुन्छन्,किनहुँदैनन्?
माइनाओले यतिन्जेल टाडाको भनेर सोचिरहेको आन्दोलन अहिले उसको एकदमै नजिक आइपुगेको थियो । यसपालि ऊ दुर्गापूजा हेर्न जान पाउँदिन । बिनुमा र रिमाहरु सबैजना उसका आँखाअगाडिबाटपूजा हेर्न निस्किन्छन्, ऊचाहिँ घरमै बसेर आँगन बढार्छे, गोठको गोबर सोहोर्छे, भाँडा माझ्छे । नयाँ लुगा लगाएर यसो एकफन्को डुल्न निस्किन पनि पाउँदिन । यसरी पनि हुन्छ कतै ? के गर्नु ? के गर्नु अब माइनाओले ?मण्डपहरुमा दुर्गादेवीको स्थापना भइसक्यो । चारैपट्टि ढाकढोल बज्न थाले । हावामा जलेबीभुजियाको बास्ना फिँजिएर चारैतिर मग्मगायो । रङ्गीबिरङ्गी बेलुनका रङले आँखा तिर्मि¥याए । बिनुमा, रिमा र चम्पाहरु आँखाअगाडिबाटै हुल बनाएर पूजा हेर्न हिँडे । जाँदा उनीहरुले माइनाओलाई बोलाएर गए । फर्केर आउँदा सबैले माइनाओलाई भनेर मेलाबाट हातमा केही लिएर आए । माइनाओले हात थापेर ती वस्तुहरु लिँदा उसको छातीमा भक्कानु पर्यो । उसको अँध्यारो अनुहार देखेर उसका साथीका आँखा टिलपिल भए । सबैले भने,‘अब एउटा दिन मात्र बाँकी छ, पर्सि प्रतिमा बिसर्जन हुन्छ ।’
उसले एउटा काम गरोस्– उनीहरुका बिचमा पसेर पूजा हेरेर आओस्, कसले हेरिराख्छ र ? उसलाई उनीहरु सबैका बिचमा पसाएर लाने, आउँदा पनि बिचमा पसाएर ल्याउने । यो कुरो उनीहरुले एकदमै गोप्य राखे । माइनाओका आमाबाबालेसम्म सुइँको पाएनन् । बेलैमा माइनाओले कोरीबाटी गरेर नयाँ लुगा लाएर फर्याकफुरूक गर्दै बिनुमाहरुका घरतिर जानभनेर निस्किई । आमाचैँले टेडा आँखाले नयाँ लुगातिर हेरेको देखेर उसले जर्किएर भनी, ‘के हेर्नुभा’को, पूजामा लाउन पाइनँ । त्यसै एकखेप लगाएर बिनुमाहरुको घरतिर डुलेर आउन खोजेकी नि । सानीमाले तान लगाउनुभा’को छ रे । मलाई एउटा डिजाइन हेरिदिन बोलाउनुभा’को छ ।’
भन्दै भन्दै ऊ तगारोसम्म पुगी । त्यहीँबाट उसले आमालाई कराएर भनी, ‘भरे आउन ढिलो भयो भने पनि खोज्दै आउनु पर्दैन नि ।’
घाम अस्ताउन्जेल पनि कहाँ पर्खिन्थे र । माइनाओलाई बिचमा पसाएर उनीहरु हुलै पूजा हेर्नभनेर निस्किए । निकैओटीले उसलाई लुगा फेर्न भनेका थिए । फुपूचाहिँको ज्वरोको तापले रातो भएको अनुहार सम्झेर उसले मानिन, ‘आ हुन्छ, कसले पो चिनिहाल्ला र ।’
कसले हो कोनि, चम्पाले होला, भनी, ‘टाडाबाट मेखला चादरजस्तै देखिन्छ, केही हुँदैन, हिँड् ।’
बेलुन, जलेबी, ढाकढोलको आवाज, गीत, उज्यालो र मान्छेको भिडमा ऊ मग्न भई डुबी । दुबिधा र संशय गायब भए । उसले कपालमा एउटा नयाँ डिजाइनको हेयरबेन्ड लगाई । फिरफिर उडेको केस जसरी नै उसको मन पनि उड्यो । पानीछेपुवाजस्तै ऊ उफ्रिँदै उफ्रिँदै उड्नथाली ।
माइनाओ घर आइपुग्दा, ऊ एउटी दागी अपराधी भएर आएकी छे भन्ने कसैले सोचेकै थिएनन् । छिनभरमै माइनाओ एउटा जातिको शत्रु भई । एउटा विप्लवको ज्वारमा एउटा पत्थरको पहाडझैँ बाधा बनी । एउटा भयङ्कर अपराधको एउटी दागी अपराधी ठहरिई । रातिनै माइनाओहरुका आँगनमा आन्दोलन गर्ने केटाहरुको बैठक बस्यो । निकैजना लिडर पनि आए । अपराधी माइनाओले उसका रातापहेँला लुगा खोलेकै थिइन । कपालको हेयरबेन्ड पनि खोलेकी थिइन । उसका फुर्मासे हातले जिउभरि छिटेको सुगन्धपनि हराइसकेको थिएन । घुँडामा टाउको राखेर रोइरहेकी माइनाओलाई उसका वरिपरि घटिरहेका घटनाहरु पहिलोपल्ट आगाका झरझराउँदा कोइला भएर जिउभरि टाँसिएझैँ लाग्यो । पोलेर ऊ छट्पटिई ।
एउटा लिडरले माइनाओको कपाल काटिदिनू भनेर आदेश दियो । नियम नमान्ने अटेरी केटीलाई यसरी नै तह लाउनुपर्छ । कोही एकजनाले कैँची लिएर आयो । माइनाओ अब घुँक्कघुँक्क गरेर रून थाली । काट्न दिन्नँ, ऊ मरिगए कपाल काट्न दिन्नँ । कैँची लिएर आउने भेडे केटालाई उसको कपाल काट्न आदेश गरियो । माइनाओभन्दा चारपाँच वर्षले जेठो गठिलो त्यस गुइँठे केटोले माइनाओलाई बसेका ठाउँबाट समातेर आँगनका बिचमा लिएर आयो । उसको कलिलो पाखुरामा त्यस केटाका हातको पाँचैओटा औँलाका डाम बसे । माइनाओ पनि त्यति कमजोर थिइन । त्यस केटालाई बाधा गर्न मरून्जेल चेष्टा गर्न थाली । उसले पनि माइनाओलाई कसेर अँचेट्यो । यो कपाल काट्न पनि त्यति सजिलो थिएन । ब्युटीपार्लरकी दिदी उसको कपाल काट्न भिन्नै कैँची लिन्थिन् । फिसफिस पार्दै पानी छर्केर भिजाएर एकदम सावधानीले रेसमको धागोजस्तै चिल्लो कपालको टुप्पो त्यो विशेष कैँचीले समान पार्थिन् । त्यस केटाका हातको कैँचीमा धार थिएन, जसोतसो रेटी रेटी अलिअलि काटिन्थ्यो । ऊ डाँकोछाडेर रून थाली । बिनुमाहरुले पनि परपरैबाट हेरिरहेका थिए । उनीहरु पनि सुँक्कसुँक्क गरेर रून थाले । कहाँबाट गएर कुरो कहाँ पुग्यो ! माइनाओका आमाबाबा चुपचाप थिए । छोरीले बिराइहाली ।आफ्नू जातका कोही गएनन् । उसलाई चाहिँ घरका कसैलाई नसोधी जानुपरेको । बित्थामा जातिको, जातिको दोषी भई । कुरो कपालमै टुङ्गिदिए हुन्थ्यो, बन्दुकबारूदसम्म नपुगिदिए हुन्थ्यो ! सबैजना त्यो केटोले माइनाओको कपाल काटेको हेरिरहेका थिए । परबाट उनीहरुलाई प्रणयलीलामा मत्त एक जोडी नारीपुरूषझैँ लागिरहेको थियो । माइनाओलाई उसले च्यापेर छातीमै टँसाएरमात्रै उसको कपालमा कैँची चलाउन सकेको थियो । माइनाओ नुन छर्किएको कावैमाछोझैँ छट्पटिरहेकी थिई । केटाले एकमुठी कपाल काट्छ । ऊ छट्पटाउँदै उफ्रिन्छे । सँगसँगै मुटु चर्किने गरीरून्छे । छट्पटिँदा र उफ्रिँदा उसका जिउका पानसका डिजाइनको बुट्टा भरेको रातो लुगा खुस्कियो । गलाका राता पहेँला दानाको माला चुँडिएर आँगनभरि दाना छरिए । जिउमा पेटिकोट र ब्लाउज मात्र रह्यो । तानातान गर्दा उसको रातो ब्लाउजको तलपट्टि खुस्किसक्यो । व्रmमशः पुष्ट हुनथालेको उसको शरीर उचालिई उचालिई कामिरहेको थियो । रातोपहेँलो रङको उसको लुगा आँगनमा सोतर परेको थियो । लुगाभरि काटेको कपाल छरिएको थियो । समाजकै बिचका एक जना बुढा मान्छेले हात उचालेर अब सब बन्द गर्न भने । ती वृद्ध मान्छे मन्दिरका पुरोहित थिए । वृद्धका बोलीको स्वरमा एक खालको कठोर आदेश थियो । त्यसलाई पार्टीका केटाहरुले उल्लङ्घन गर्न सकेनन् । माइनाओ हुक चुँडिएको ब्लाउज समातेर कुद्दै भित्र पसी ।
एउटा अपराधसँग अर्को एउटा अपराध थपियो । माइनाओको अछुतो कन्या शरीरमा सार्वजनिक ठाउँमा पुरूषको हात पर्यो । होइन भन्नपनि त पाइएन, सबैले देखिराखेका थिए । उसले अँठ्याएर समातेर मात्रै उसको कपालमा हात लाउन सकेको थियो । माइनाओका जिउका आधासरो लुगा खोलिइसकेका थिए । ऊ उसको छातीभित्र पसिसकेकी थिई । अब मन्दिरका अगाडि अर्को बैठक बस्यो । दागी अपराधी माइनाओलाई आमाबाबासँगै बोलाएर ल्याइयो । विचार चल्यो, फैसला पनि सुनाइयो,‘माइनाओले त्यो कपाल काट्ने केटोसँग बिहे गर्नुपर्छ ।’
कारण ? तर्क ? कारण त्यो ‘आसागी–वैसागीको’ कथा, जातिको मुखमुखै उहिल्यैदेखि चलिआएको कथा । रुपवान् युवक चन्द्रबाओको बगैँचामा आसागी र वैसागी सधैँ चोर्न जान्थे । पासो थापेर चन्द्रबाओले एकदिन दुवैओटीलाई समात्यो । युवतीहरुको कोमल हातमा समातेर चन्द्रबाओले उनीहरुलाई पासोबाट खुस्कायो । कुरो त्यतिमै टुङ्गिएन । भोलिपल्ट सबै नहुँदो नहुँदो हुन थाल्यो । काग कराउँदै यहाँउहाँ उड्न थाले । दिउँसै अँध्यारो भयो । सबैथोक अस्वाभाविक हुन थाल्यो । कतै कुनै जवान केटाकेटीले लुकेर पाप गरे भन्ने सबैले बुझे । समाज बोलाइयो । चन्द्रबाओ र आसागी–वैसागीले पाप स्वीकार गरे । पाप नभएर के हो त ? ठुलै पाप भयो । दुई जवान दिदीबहिनी चन्द्रबाओको बगैँचामा चोर्न गएर पासोमा परेका थिए । उनीहरुको जिउमा हात नलगाई चन्द्रबाओले कसरी पासोबाट खुस्काउन सक्थ्यो ? जवान चन्द्रबाओले उनीहरुको हातमा समातेर तानेर मात्र पासोबाट खुस्काउन सकेको थियो । चोर्नी दिदीबहिनीसँगै चन्द्रबाओपनि समाजका अगाडि दोषी ठहरियो । समाजले दुई चोर्नीलाई चन्द्रबाओले बिहे गर्नुपर्छ भन्ने फैसला सुनायो । पुरूषका हातको स्पर्श परेका दुई चोर्नीलाई अरु कसले स्वास्नी बनाउँछ ?
आसागी–वैसागीको परम्परा माइनाओको समाजमा अद्यापि छ । चन्द्रबाओको दबाउ त्यो कपाल काट्ने केटोमाथि छ । कसको साद्धे! सयौँ साल पुरानु त्यस कथालाई उल्लङ्घन गर्न ? यिनै कथाले जातिलाई बाँधेर राखेको छ । के सोच्दैथिई माइनाओ ? उसले केही सोच्न सकिरहेकी थिइन । केवल उसको नाकमा एउटा कागतीका फूलको बास्ना लागिरहेको थियो । त्यो बास्ना लिन खोज्दा उसको नाकमा अर्को कटु गन्ध लागेको थियो, पसिनाको र पसिनाले भिजाएका धेरै दिन पानीको मुख नदेखेका एक जोर थोत्रा जिन्सको गन्ध उसका नाकबाट भित्र पस्यो ।
माइनाओलाई कपाल काट्ने केटोको छेउमा उभिन लगाइयो । कोही एक जनाले उसलाई निहुरिएर समाजलाई ढोग्न भन्यो । ऊ ठिङ्ङ भएर उभिरही मानौँ उसको बोल्ने, हिँडने, हातखुट्टा चलाउने शक्ति अकस्मात् हराएको थियो ।
माइनाओका आँखाबाट बरबरी आँसु झरिरहेका थिए । एक खेप पुछ्छे, फेरि झर्छ, पुछ्छे, झर्छ, पुछ्छे, झर्छ, पुछ्छे, झर्छ, पुछ्छे ।
असमिया शब्द र अर्थ
१. तामुल–पान: सुपारी र पान (सुपारी र पानको बोट) ।
२. फारौ–मेगन : परेवा आँखे (परेवाका आँखाको नमुना जडेको) ।
३. आरनाइ: असमका बोडो जनजातिको परम्परागत गलबन्दी ।
४. टेकेली पिठा: कित्ली वा सानो मुख भएको हन्डीमा पानी उमाली कित्लीको बिर्कोमा कोरेको नरिवलको धुलो, गुड अथवा चिनी मिसाएको चामलको पिठो राखेर पातलो सुती कपडाले छोपेर कित्ली अथवा हन्डीको मुखमा राखेर बफ्याएर पकाइने परिकार । राजवंशी, थारू आदिको ‘भक्का’जस्तै एक प्रकारको स्वादिलो खाजा ।
५. बाथौ मन्दिर: बोडो जनजातिका आराध्य देवता ‘बाथौ’को मन्दिर ।
६. दखना: बोडो जनजातिका महिला र युवतीको जातीय पहिरन । छातीदेखि खुट्टाको गोलीगाँठोसम्म छोप्ने, साडीजस्तै बेरेर लाउने, रङ्गीन फूलबुट्टे एकसरो लुगा ।
७. मेखेला–चादर: असमिया महिला र युवतीको जातीय पहिरन (मेखला र चादर) । मुगा अथवा पाटको धागोले बुनेको असमिया ‘मेखेला चादर’ प्रसिद्ध छ ।