राममणि पोखरेल
आफ्नो पुख्र्यौली थलोबाट सुविधाको खोजीमा अन्यत्र बसाइँ सर्ने प्रयत्न गर्दै थिएँ । कुम्लोकुटुरो बोकेर बसाइँ जाने ठाउँको खोजीमा भौतारिएको थिएँ । तराईको राजमार्ग छेउछाउ जमिन किनेर कुनै गाउँमा बसाइँ जाने हिम्मत थिएन । महँगो जमिन किन्ने क्षमता पनि थिएन । पहाडको ठाउँ थोरै खेत र पाखाबारी बेची टुक्राटुक्रा बिक्री गरेर गोजीमा हाल्दा पनि गोजी भरिँदैनथ्यो ।
घरबारी बेचेर केही धन गोजीमा या टिनको बाकसमा थन्कयाएको थिएँ । खेत गोजीमा हाल्ने दौडधुप गर्दै थिएँ । केही ग्राहक लागेर मेरा खेतको निरीक्षण गरेका थिए । दामकाम हुँदै थियो । कुरा व्यवस्थित हुन पाएको थिएन ।
घरबारीको रकम गोजीमा हालेर तराई या खोलाघारीलगायत केही ठाउँमा घुमेँ । राजमार्ग उत्तरको गाउँलाई धेरै मानिस तराई या मधेस मान्दैनन्, खोलाघारी भन्छन् । चालिस हातको डोरीले इनारका पानी तानेर पिउनुपर्छ । अर्कोतिर गाईबाख्रा पाल्ने सुविधा छ । चुरे जङ्गल फराकिलो छ, दिनहुँ गाईबाख्रा हेर्न जानुपर्दैन । गोठबाट फुकाएर जङ्गलतर्फ लगाइदिएपछि दिउँसो चरेर अघाएर आफ्नै विवेकले घरगोठ फर्कन्छन् । गाईगोरू र खसीबाख्रा साना बोकापाठामा मात्र गोठालो जानुपर्ने हुन्छ ।
जमिन खोज्दै जाँदा चुरे काखको एउटा बस्तीमा पाइला राख्न पुग्छु । दाउराघाँसको सुविधा घर बनाउन काठको सुविधा, गाईले मदत पनि हुने ।बसाइँ जाँदा संस्कृति र सामाजिक पक्ष पनि हेर्ने गरिन्छ । जनकपुर जाने बाटोमा महेन्द्रनगर नजिकै पर्ने चुरे फेदका कुसमाहा र टिकापुर गाउँ आर्कषक देखिँदा रहेछन् । दुवै गाउँबिचमा चुरे शिर बनाएर बगेको एउटा सानो खहरे खोला, पानी डोर्याएर खेत र सागसब्जी उब्जाउन सकिने अलि बढी मिहिनेत गर्नुपर्ने ।
कुसमाहा मिश्रित बस्ती, टिकापुर लाहुरे बस्ती रहेछ । एउटा कढी बुढी उखान छ, जमिन जोड्ने कुरा भोगभाग पनि हुन्छ, संयोग लागो, आज कट्ठा घरघडेरी र केही खेतको जोहो मिल्यो । त्यो जमिनधनी मोरङ जान गोडा उचालेका रहेछन् । सानो गाई बाँध्ने गुवाली र राती घामपानी छल्ने, काठेघर भनौँ कटेरो आकारको फेला पर्यो । यो जमिन किन्ने कुरा जटिल पनि हुन्छ । एक पक्षको निर्णय वा भेटघाटले मात्र पछि कुरा मिल्दैन ।
त्यहाँका पुराना गाउँले मेरा चिरपरिचित मित्रको सहयोगले जमिन हातलागि गरेँ । अन्य आफ्नो व्यावहारिक चाँजोपाजो मिलाएर पोकापत्यौरा बोकेर बसाइँ झर्न मात्र बाँकी रह्यो ।
कुसमाहा गाउँका घरहरु टायल, खपडा र थाकलले छाएका थिए । गाउँपूर्वको टिकापुरचाहिँ लाहुरे बस्ती भनेर चिनिँदो रहेछ । त्यहाँका घरचाहिँ अधिकाङ्शतः कर्कटपाता या टिनले छाएका थिए । सबैका एकै खाले घर थिए, चिटिक्क परेका, मिलाएर बनाइएका घरगुवाली । सुँगुरको खोर पनि टिनले छाएका । धेरैजसो घर टाड छापेका तले थिए ।
घरमा सेतै फुलेकी बुुढी आमा थिइन् । छोराछोरी काम गर्न सक्ने भएका थिए । विद्यालय जान्थे । घरको काममा सघाउँथे । मजस्ता गरिबका सन्तानको जीवन, गाईबाख्राको पुच्छर, खेतबारीको माटोसँग नजिक हुनुपर्ने बाध्यता हुँदो रहेछ । यस्तो व्यवहार एक प्रकार हाम्रो पुख्र्यौली व्यवसाय नै थियो । जागिर खान, साथमा प्रमाणपत्र थिएन, छोराछोरी विद्यालयसम्म मात्र पुगेका थिए । व्यापार गर्न साथमा पुँजी थिएन, भएन । मन बुझाएर खेतको माटोसँग खेल्थे र गाईबाख्राका पुच्छर समातेको थिएँ ।
आफ्नो पुख्र्यौली थलोको धरती मासेर, नयाँ ठाउँमा जोडें । गुनासो थिएन । भोलिका कुरा जेसुकै होस् एउटा दुहुनी भैँसी पालेर दुध त खानै पर्छ भनेर भैँसी किनेँ । नयाँ बस्तीमा घुलमिल हुन आफूले सिकेँ । पारिवारका सदस्यलाई सिकाएँ ।
बसाइँ आएको त्यस्तै तीन महिना बितेको थियो । एक दिन हटिया भर्न जाने काममा टिकापुर (लाहुरे बस्ती) का एक जना बासिन्दा चन्द्रमानसँग भेट भयो र परिचय भयो ।ती दाइ बडा रमाइला रसिला रहेछन् । बाटामा लामै बातचित भयो । दाजुभाइको सहज नाता लगायौँ । जनमत सङ्ग्रह भरखर समाप्त भएको थियो । मलाई त जनमत सङ्ग्रह भन्ने कुरा चाखको विषय नै थिएन । उमेर पुगेकाले एउटा भोट बहुदललाई खसालेको थिएँ । बुझेको केही थिइनँ । जुन व्यवस्था देशमा लागु भए पनि मन बुझाउने कोलको गोरूजस्तै भएर जोतिने, ठुला कुरामा दर्शन छाँटेर पेट नभर्ने, कमाइकाज गर्नपर्ने संसारिक कुरामा जोलिएको थिएँ । आफूले नपढे पनि सन्तानका आँखा उघार्नुलाई कर्तव्य सम्झेको थिएँ ।
पहाडमा स्कुल नजिकै थियो । यहाँ केही टाढा धाउनुपर्छ । केटाकेटीले धाएका छन् । चित्त बुझाएको छु । समयमा पानी परिदिए हुन्थ्यो भन्ने लाग्छ तर प्रकृतिको नियम त्यस्तो छैन ।भगवान्छन् छैनन् थाहा छैन तर प्रकृति छ । यो प्रत्यक्ष देखिन्छ, देखिएको छ । त्यही प्रकृतिको नियमले घाम लाग्छ,गर्मी हुन्छ, पानीपर्छरहिउँदमाजाडोेआउँछ।यसरी नै दिन घुमेका छन्।
चन्द्रमान दाइसँग परिचय भएको पाँचौँ दिन धाएर उहाँको घर वा टोल पुगेँ । सहरको जस्तै मिलाएर एक प्रकार प्लानिङ गरेजस्तो, योजनाबद्ध तरिकाले घर बनाएका रहेछन् । लगभग १४ घर लाहुरेका रहेछन् । तीन घर मगर, सातघर राई र चार घर तामाङ रहेछन् । १४ घरका मान्छे पेन्सन थाप्दा रहेछन् । कोही भारतीय सरकारसँग, कोही बेलायत सरकारसँग र कोही मलाया सरकारसँग प्राप्त गर्दा रहेछन् ।
चन्द्रमान दाइको घरमा पुगेपछि त्यस गाउँका धेरै व्यक्ति भेट्न र बातचित गर्न भेला भए । चिनापरिचय भयो । मत तपाईंको गाउँमा हालसालै पहाडको दुर्गम गाउँबाट बसाइँआएको भनी परिचय दिएँ । जबाफ पाएँ,‘भाइ तिमीभन्दा अझ दुर्गम पहाडबाट यहाँ घोप्टोनेप्टो भएर बसाइँ आएर बस्न थालेका हौँ ।’
टिकापुर र कुसमाहा गाउँमा हिउँदवर्षा सूर्यको किरण पहिला नै छरिन्थे । वातावरण रमाइलो देखिन्थ्यो । बोटबिरूवाले समयमै चिउला फेर्थे । भित्र मनका कुरा सल्बलाउँथे, ढिलै भए पनि बसाइँ राम्रै स्थानमा आइएछ ।छिमेकी बस्तीमा दिन बिताएर जान थालेँ । त्यस गाउँका सफा र सुन्दरआँगनमा लगाइएका फूलका बिरूवाले गहिरो प्रभाव पार्यो। धेरै प्रकारका फूलका बिरूवा रोपिएका थिए । उत्तरको खोल्सीबाट पाइपमा पानी ल्याइएको रहेछ । नियमित धारो आइरहने, गाउँको माझमा धारो जोडेको रहेछ । घरमा प्रयोग गर्ने पानी गाग्रीमा भरेपछि सानु पाइप लगाएर आफ्ना आफना बारीमा पालो गरेर आवश्यकताअनुसार लगिँदो रहेछ । धेरै कुरा व्यवस्थित तरिकाले बनाइएको रहेछ ।
दोस्रो विश्वयुद्धमा सहभागी भएर आएका दुई जना लाहुरे त्यस गाउँमा हुनुहुँदो रहेछ । एक जना भक्तमान राई र अर्का जना माथवर सिंह पुन । अरु मलाया, भारत र बु्रनाईमा काम गरेर फर्केका रहेछन् ।समग्रमा उनीहरु सबैलाई गोर्खाली लाहुरे भनिँदो रहेछ ।
बातचितकै क्रममा चन्द्रमान दाइले भने, ‘हेर भाइ, नेपाली जनताको सोचाइपुरानोे सामन्ती खालको छ, सबैले मिलेर बहुदल पक्षलाई भोट दिनुपथ्र्यो । यो निर्दलभन्दा बहुदल धेरै राम्रो र फराकिलो व्यवस्था हो । त्यहाँ जनताको इज्जतहुन्छ ।बहुदलमा जनताले बोल्न र लेख्न पाउँछन् तर जनताले निर्दलीय व्यवस्था ल्याएर गल्ती गरे । राजालाई त सम्मानका लागि बेलायतले राखेजस्तै राख्ने हो, राष्ट्रप्रमुख बनाएर ।
उनका कुरा सुनेपछि यी व्यक्ति प्रजातन्त्रवादी र उदार दिलका रहेछन् भन्ने लाग्यो । अहिले पनि त्यस गाउँका १४ घरधुरीबाट नौ जना गोर्खाली सेनामा भारत, मलाया, बु्रनाई र बेलायतमा रहेछन् । चार घरका पुरूषले उतै ज्यान गुमाएका रहेछन् ।तिनका विधुवी महिलाहरु आफ्ना बालबच्चा पालेर बसेका रहेछन् । उनीहरुमध्ये दुई जनाका छोरा बु्रनाई र बेलायतमा रहेछन् । अहिले पनि । एक प्रकारले खानदानी प्रभाव भन्दा हुने ।
बरालिन भने पनि भेटघाट भने पनि म बिहानसबेरै चार गाँस भातका सिता टिपेर त्यै गाउँ जाने गर्थें । चन्द्रमान दाइ नहुँदा बातचित गर्ने अरु व्यक्तिसँग पनि सम्बन्ध जोडिएको थियो । सास गन्हाएर एक्लै घोत्लिएर बस्नु पर्दैनथ्यो । नयाँ नयाँ कुरा गर्ने व्यक्तिसँग परिचय हुँदै थियो ।
त्यस टोलमा बिहानसबेरै उठेर नित्यकर्म सकी दुई डबका भाती जाँड पिउने चलन रहेछ । एक प्रकारलेपुख्र्यौलीचलन भन्दा पनि हुने रहेछ ।
एक दिन म धनमाया र फूलसरीको घरमा पुगेँ । खोस्टाको पिरामा बसेकी थिइन् धनमाया । उनको घरमा पुगेर बोल्ने काममा सजिलो नाता भाउजू भनौँ कि जस्तो लाग्यो तर झट्ट सम्हालिएँ आफै । तिनको पोइको नामनिसाना मलाई थाहा छैन त कसरी उनलाई भाउजूको नाता लाउनु भनेर । दिदीको प्यारो नाताप्रयोग गर्दै आफ्नो परिचय दिएँ । खुसी हुँदै ती दिदीले एउटा काठे कुर्सी दिएर बस्न आग्रह गरिन् । दायाँबायाँ नहेरी थचक्क बसेँ । उनको शरीर नियालेर हेरेँ । खाइलाग्दोसामान्य उचाइकी थिइन् । पोक्चा गाला, पुष्ट र खाइलाग्दो शरीर देखेँ । मुखभरि दाँत थिए । कानमा कुण्डल लगाएकी नाकमा फुली समाएकी थिइन् । हँसिलो पाराले बोल्ने गर्थिन् । प्रथम भेटमै उनले आफ्नो पारिवारिक भाँडभैलो यसरी बताइन् ।
हेर भाइ, म त देहरादुन भन्ने ठाउँमा जन्मिएँ । जन्मेको साल त हेक्का छैन, बाबु उतै गोर्खाली सेनामा काम गर्नुुहुन्थ्यो । भारतमा अङ्ग्रेजले राज गथ्र्यो भन्थे । म उतै हुर्किएँ । एक रात एउटा लाहुरे गोरो राम्रो केटो लिएर बाउ आउनुभयो । एक रातमै कुरा मिलाएर विवाह गरिदिए ।बाउले भनेको नमानौँ भएन, म बेहुली भएर सिमला गएँ । उतै बस्यौँ चार वर्ष ।दुईओटा नानी पाएँ । नानी हुर्काउँदै गर्दा कता कुन ठाउँमा पुगियो थाहै भएन । दुइटा नानी चेपेर पोइको पुख्र्यौली थलो पहाडको गाउँ गइयो । उसको घरमा सासू, ससुरा, देवर र नन्द थिए । घर पुगेको केही दिनपछि डोको बोकेर घाँसदाउरामा लगियो । कोदोको ढिडो खान सिकियो । दुईओटा नानी हुर्काउनतिर लागियो । ज्ञानगुनका कुरा गर्न देहरादुनमा सिकेको थिएँ, घरको धन्दाले बिर्सिएँ । मलाई त्यै गाउँले समाज र परिवेशले चिन्यो । म यस ठाउँमा आएको तेस्रो वर्ष उतै गोर्खाली सेनामा कार्यरत हुँदा, मेरो पोइ जगमान राई भारतसँग सिमाना जोडिएको अर्को देशसँग भएको सिमा विवादमा भएको भिडन्तमा मारिएको खबर आयो । मैले रोइकराइ त गरेँ तर के गर्ने गोली लागेर मरेको मान्छे फर्केर आउँदैनथ्यो । चित बुझाएँ । त्यही बेला मेरा ससुरा चित्रशेर राईले भन्दै थिए, आफ्नो देशको सिमाना मिचिएको जङ्गे पिल्लर सारिएको फिर्ता लिन र उही ठाउँमा पिल्लर गाड्न सक्दैनन् । अर्काको देशको धरती रक्षा गर्न जाँदा छोरो गुमाउनुपर्यो भन्दै बिलौना गर्थे । छोरा बितेको समाचार आएको वर्ष दिन नपुग्दै मेरा ससुराले पनि धरतीबाट बिदा लिए । त्यसको केही दिनपछि मेरो छोरो, म र मेरा देवरका परिवार यस ठाउँमा टाउको लुकाउन आयौँ । तीन वर्षपछि श्रीमान्को रकम पाउन थालेँ । अहिले मेरा छोरा जवान भएका छन् । अब त ज्यान गए पनि गोर्खाली सेनामा छोरा पठाउँदिनँ भनी कसम खाएकी छु । मेरा छोरा व्यापार र खेती गर्छन् । तिमी कहाँको मान्छे चिनापरिचय गर्दै आयौ । आन्द्राभुडी खोलेर भन्न लगायौ ।तिमीले सोधेबमोजिम मैले आफ्नो दुःखसुखका कुरा बताएँ । हाम्रो घरको यति जाड खाऊ भन्दा पनि मानेनौ । लौ जौँ त अब भनेर ती दिदीले मलाई बिदाइ दिइन् । बाटो लागेँ म ।
त्यही गाउँकी अर्की दिदी रहिछन्, फूलसरी । उनी उमेरले निकै पाकी थिइन् । उनको छोरो पनि हङ्कङमा गोर्खा सेनामा कार्यरत रहेछ । त्यसबेला हङ्कङ बेलायतकै अधीनमा थियो रे । फूलसरी दिदीकाश्रीमान् भने दोस्रो विश्वयुद्धकै क्रममा जापानमा मारिएका रहेछन् । हिरोसिमामा अमेरिकाले बम हान्नुभन्दा केही समयअघि त्यही ठाउँको आसपासमा भएको भिडन्तमा ज्यान गुमाएका रहेछन् । प्राप्त पेन्सन र छोराको कमाइले गर्दा होला उनको घरको आर्थिक स्तर राम्रो र सुविधाजनक देखेँ । घरभरि छोरा, छोरी, नाति, नातिना थिए । एउटा दुध खाने गाई । खोरमा बाख्रा र खसी । डरलाग्दा खोरमा सुगुर र बङ्गुरहरु थिए ।
हेर भाइ, मेरा बुढा बितेको खबर आउँदा मत पहाडमा बाँसको घाँस झार्दै थिएँ । ससुराले छोराको मृत्युको खबर सुने । पिर त पर्यो तर म त्यति रोइनँ । जे होला भनेर चित्त बुझाएँ । दुइटा छोरा र दुइटी छोरी थिए काखमा । यहीबारी खन्छु भनेर चित्त बुझाएँ । ससुरा बितेपछि गाउँका अरु मान्छे बसाइँ जाने भए । ठुलो वर्षालेखेत बगायो ।बारीमा पहिरो गयो । उठिबास भयो ।त्यही पिरले मायाको छोरोको सम्पर्कबाट यस ठाउँलाई रोज्यौँ ।बसाइँआयौँ । चित्त बुझाएका छौँ । मर्नेको चिन्ताभन्दा बाँच्नेका बारेमा सोच्नुपर्छ भनेर काम गर्न थाल्यौँ । लोभलालच छैन । जे गर्छु, त्यही खान्छु, छोराले पठाएको पैसाले व्यवहार गरेको छु ।बुहारी पनि असल छ । गोरेकी छोरी हो । मिलनसार छ । रिसराग गर्दिन ।
एक हप्ताजति अन्य घरायसी कामले त्यस गाउँमा जाने अनुकूल वातावरण बनेन । तर किन हो छटपटाएर चन्द्रमान राईले खबर पठाए भाइ गाउँ आओस् दुःखसुखका बात मार्नु छ भनेर ।
खोल्सीवारिपारिका गाउँ थिए दुवै । टोलवासीबिच मिठो र घनिष्ट मित्रता थियो । गाउँमा गरिएका विवाह, ब्रतबन्ध र पूजाआजामा मित्रताको प्रमाणस्वरुप घरलौरी बोलाइन्थ्यो । त्यही संस्कृति र चलनलाई मैले पनि अनुशरण गरेँ । त्यस गाउँका अन्यभन्दा म पछि बसाइँ आएको भए पनि लाहुरे टोलका मान्छेसँग बढी घनिष्टता मेरो थियो । त्यस लाहुरे टोलमा खसी काटियो भने सम्झेर थारै भए पनि मासु पठाइदिन्थे ।
फूलसरी र धनमायाबाहेक दुई घरधुरीका एकल महिला, पञ्चामाया र मनसरी दिदीकी आमासँग पनि परिचय गाँसेको थिएँ । धनसम्पत्ति भए पनि चाँजोपाजो मिलाउन नसकेर ती दुईको घरव्यवहार त्यति व्यवस्थित जस्तो लागेन मलाई । बढी मादक पदार्थको सेवन गर्थे । खितखिताएर हाँस्थे ती दिदीहरु । बाकटे खसी पालेका थिए । टाटनामा बाँधेको खसीलाई घाँसको कमी थिएन । समय समयमा तिनकाबारी र खेतमा उब्जाबाली लगाइँदैनथ्यो । विदेश जाने रहर गरेका रहेछन् छोराले । बाबुको अकाल मृत्यु भएको हुँदा आमाले उनीहरुलाई लाहुरे हुन रोके । यसैले अति बराला भएका हुन् भन्थे गाउँका छिमेकीहरु । जिम्मेवार मानिएका पुरूषहरु घरमा आमा, पत्नी र सन्तानलाई छाडेर जुवातासमा लागेका छन् भन्ने चर्चा थियो ।बाउँ पो हतियार चलाउँदा युद्धमा मरे त, छोराहरुको पनि त्यै गतिहुन्छ भन्ने त थिएन नि, हाम्रो भाग्यमा दाग लगाइदिइन्भन्ने आरोप थियो छोराको ।
त्यस गाउँमा बसाइँ सरेको लगभग वर्ष दिन नाधेको थियो ।दुवै गाउँका मानिससँग घुलमिल भइसकेको थिएँ । सामान्यतः एउटा भनाइ छ, कुनै नयाँ ठाउँमा बसाइँ गइयो भने त्यस ठाउँमा घुलमिल हुन ८÷१० वर्ष लग्छ तर मैले त्यति समय पर्खनु परेन, ग्रामीणसँग घुलमिल हुन ।
वैशाख महिना प्रारम्भ भएको थियो । एक झर पानी गलेर प¥यो । वनजङ्गलमा हरियाली छाएको थियो । प्रत्येक बिरूवाले पाउला फेरेका थिए ।जङ्गलछेउका बस्तीका गाईबाख्राबिहानै फुकाएर पाखातिर धपाइन्थे ।
घरबाटै खाना खाएर गाईगुवालीबाट बाखा फुकाईजङ्गलतर्फ धपाइदिएर ठाडै घर आई चन्द्रमान दाइलाई भेट गर्न गएँ । रमाइलो तरिकाले घाम लागेको थियो । आगनमा पाइला राख्न पुग्दा,भाउजू दलानमा बसेर आलस केलाउँदै थिइन् । यही सालको बाली होला भन्ने लख काटी सोधेँ पनि । सकारात्मक जबाफ पाएँ । दाजु खोइत भनेर सोधेँ?
अलि झर्केर जबाफ फर्काइन्, ‘गाजा तानेर कोठामा पल्टेका होलान् नि ।’
कोठामा गएर हेरेँ । उनको रूखो र असभ्य बोली सुन्दा सायद यी बुढाबुढीको केही ठ्याकठुक परेछ क्यारे भन्ने लाग्यो । नबोली कोठामा गएँ ।चन्द्रमान दाइ दोहोरो सास फेरेर घुर्दै रहेछन् । केही पल पर्खेर बोलाएँ । घच्घचाएँ । राता आँखा पिर्लिक्क पल्टाएर उनी उठे र भने,‘तिमी हो त नि कति खेर आएका?’
भरखरै हो भनी जबाफ फर्काएँ । उनको मुख ह्वास्स गन्हाएको थियो । उठेर बिछ्याउनामा थचक्क बस्तै भने,‘तिमी त प्राथमिक विद्यालयका शिक्षक पनि हौ । कुनै बेलाको पत्रकार पनि ।यसो मेरा मनका कुरा, विगतमा भोगेका घटना र अनुभवलाई कतै छपाइदेऊ न ।यस्तै व्यावहारिक कुरो गर्न बोलाएको थिएँ ।’ मैले सकारात्मक जबाफ दिन नभ्याइकनै फेरि भने, ‘हेर भाइ, दोस्रो विश्वयुद्ध समाप्त हुँदा म १२ वर्षको थिएँ । मेरा बाउँ त्यही विश्वयुद्धको अग्रिम मोर्चामा लडेका थिए । गोर्खा सेना भएर ब्रिटिसको पक्षधर थिएँ । लामो आयुको रहेछु । त्यत्रो भिडन्तमा पनि बाँच्न सफल भएँ । तक्मा पाएँ । भारतबाट ब्रिटिस भागेपछि गोर्खा सेना बेलायत, भारत र नेपालका बिचमा सम्झौता भयो । गोर्खाली सेना विभाजित भयो । केही बिग्रेड भारतमा बसाइयो । केही बेलायत लगे । त्यही बेला घरबिदा लिएर आएका मेरा बुबा पुनः फर्केर गएनन् । बाबुको नाम लिँदै सुरिएर म पनि भारतीय गोर्खा सेनामा गएँ । म भर्ती हुँदा भारत र चीनको सीमायुद्ध हुँदै थियो । मैले जानु परेन । युद्ध थामियो । हाम्रो टोली बेलायतबाट केही दिनका लागि हङ्कङ गयो वा भनौँ पठाइयो ।हङ्कङ बेलायतको रहेछ । कुनै समय चीन र बेलायतबिचसमय तोकेर सम्झौता भएको रहेछ । बेलायतले हङ्कङचीनलाई जिम्मा लगाउने समय निकट हुँदै रहेछ ।हाम्रो टोलीलाई केही दिन बेलायतमा राखेर सरकारले हङ्कङ पठायो । हामीलाई पु¥याइएको हङ्कङको त्यो विकट स्थान ज्यादै रूखो र उराठलाग्दो थियो । त्यहाँ सामान्य पोथ्रापोथ्री मात्र थियो ।तुम्लेटमा पानी बोकेर ल्याउनुपर्ने । बेलायतले त्यस ठाउँमा शासन गरेको जति समय बितेको भए पनि विकास त्यति राम्रो तरिकाले भएको रहेनछ ।हाम्रो बटालियनलाई त्यहीँ पुर्याइयो । अर्को बटालियनलाई ब्रुनाई लगियो । कुनै समय सूर्यनअस्ताउने भनेर ख्याति कमाएको बेलायतले विश्वका जनतालाई प्रजातान्त्रिक हकअधिकार र औधोगिक विकासको पाठ सिकाएपनि हाम्रो बटालियनलाई शिक्षाबाट वञ्चित गराइयो । बेलायतको सेनाका लागि हामीले ज्यान हत्केलामा राखेर उसैको भूभाग,हङ्कङर बु्रनाईमा उनीहरुकै नियन्त्रणमा खटिएका थियौँ तर विश्वप्रसिद्ध भनिएको अङ्ग्रेजी भाषा हामीलाई सिकाइएन । सिक्ने अनुकूल समय भएन । हामीलाई अँध्यारोमा राखियो । उल्टै, निजी प्रयत्नमा अङ्ग्रेजी सिक्न खोज्नेलाई पनि उपेक्षा गरियो । नजानिँदो तरिकाले मानसिक यातना दिने काम गरियो । मानौँ गोर्खा सैनिकले अङ्ग्रेजी सिक्नु एक प्रकारले आपराधिक कर्मजस्तै हो भन्ने बनाइयो । हेर भाइ, तिमी मभन्दा धेरै कान्छा छौ । मैले तिमीभन्दा चारओटा बढी दौरा फटाएँ ।केही हिउँद बिताएँ । हाम्रो बटालियनलाई ब्रुनाई पनि पठाइयो । त्यहाँ पनि निकै पछि परेको स्थानमा लगेर दुई वर्ष राखियो । त्यहाँ पनि हामी उपेक्षित नै रह्यौँ । उमेरमा पढनलेख्न पाइएन । बन्दुक बोकियो । देश घुमियो । बु्रनाई, हङ्कङ, बेलायत जहाँ बसाइएको भए पनि गोर्खाली सेनालाई शिक्षाबाट वञ्चित गराइयो । यो ७६ वर्षको उमेरमा भोगेका वस्तुगत तथ्यगत घटना तिमीलाई बताएँ । पुस्तकमा लेखाइदेऊ । यो लाहुरे बस्तीका निम्ति तिमी एक जना अक्षर वाचन गर्न र लेख्न जान्ने व्यक्तिले देउताकै रुपमा बसाइँ आयौ । हामी सबै लाहुरेको भोगाइ लेखिदेऊ ।’ यति भनेर चन्द्रमान दाइले मलाई बिदा दिए ।