अनुपमा तिवारी
(जयपुर, राजस्थान, भारत)
साँझको सात बजेको थियो । रेल आउटर सिग्नलमा पुग्नुअगावै मिनु डिब्बाको गेटमा आएर उभिएकी थिई । नागबेली स्लिपरको कैँची परिवर्तन गर्दै रेल खुला प्लेटफर्मतिर आउँदै थियो । त्यसले थुप्रैको आशा बोकेर आउँदै थियो । रेलको आगमनसँगै बात मारेर समय व्यतीत गरिरहेका, भुईंमा बसिरहेका, चियापुरीको ठेलावाला, तरकारीवाला यसरी जर्याकजुरूक उठेँ कि उनीहरुको अफिस समय सुरू भयो ।
प्लेटफर्मको बेन्चमा बसिरहेका बुबा पनि उठेर मिनु चढिरहेको डिब्बातिर जान लागे । उता छोरीले टाढैबाट ‘म आइसकेँ बुबा, यो डिब्बामा छु’ भने जस्तो गरी हात हल्लाई । यता बुबाले पनि सुने जस्तो गरी हात हल्लाए । बुबा जहाँ उभिरहेका थिए त्यहाँबाट मिनु चढेको रेलको डिब्बा अगाडि बढ्यो । लामो लामो पाइला चाल्दै बुबा लगभग दौडिरहेका थिए । मिनुको अनुहारले भनिरहे जस्तो लाग्थ्यो, ‘यात्रा पूरा गरेर गन्तव्यसम्म पुग्नु ठुलो उपलब्धि हुन्छ । होइन त !’
रेलबाट उत्रिनेबित्तिकै मिनुको काँधको झोला बुबाले काँधमा भिरे । उसको हातमा केवल पर्स र पानीको बोतल बाँकी रह्यो । बुबासँगको भेटले मिनु अति उत्साहित थिई । यसैले ऊ छिटो छिटो हिँड्दै बोलेकोबोलेकै गरिरहेकी थिई । उसले दिनदिनै घरमा फोन गरेर बात नमारेकी होइन तर लाग्थ्यो उससँग भएको कुराकानीको भण्डार सकिने छेकछन्दै छैन । ऊ स्कुटरमा बुबाभन्दा पछाडिको सिटमा बसेकी थिई । बाटोभरि उसले के के सोधी के के भनिरहेकी थिई । बुबाले भने उसका कुनै कुनै कुरा सुनिरहेका थिए कुनै कुनै भने सुन्न सकिरहेका थिएनन् । सुन्न नपाउँदा पनि उनी ‘अँ अँ’ भनेर सुनिरहेको छु भने जस्तो भान पारिरहेका थिए ।
घरमा आमा र बिनु प्रतीक्षामा थिए । मिनु ठुली छोरी थिई । उसले महानगरमा एउटा संस्थामा जागिर पाएकी थिई । यसैले ऊ गाउँबाट निस्केर सहर पुगेकी थिई पहिलोपटक । दुईओटी छोरी छोरी भए पनि आमाबुबाले उनीहरुलाई कहिल्यै यो महसुस हुन दिएनन् कि छोराको अभाव छ ।
बुबाले यदाकदा भन्थे, ‘आजको समयमा दुईओटी छोरीपछि छोराको आशामा तेस्रो सन्तान जन्माउनु दुईओटी छोरीको अपमान हो । यसबाट हामी त छोरा चाहन्थ्यौँ तर तिमी छोरीहरु भयौ त ठिकै छ भनेर चित्त बुझाए जस्तै हुन्छ ।’ आमा थोरै सहमति थोरै असहमतिको भावमा बुबासँग ‘हो’मा ‘हो’ मिलाउँथिन् । किनभने समाजको अपेक्षासँग मानिसले आफूलाई यति चाँडै कसरी मुक्त गर्न सक्छ र !
मिनुकी हजुरआमाको समयमा देशमा अङ्ग्रेजको शासन थियो । उसका हजुरबुबाले दश कक्षासम्म पढेका थिए । रेलवेमा उच्च पदमा थिए । रेलवेकै क्वार्टरमा बस्थे । उनी सेतो कट्टु लगाएर अङ्ग्रेजसँग ब्याडमिन्टन खेल्थे । उति बेला हजुरआमाबाट सुनेकी यी र यस्ता कुरा आज पनि आमाले गर्वका साथ बताउँछिन् । यति हुँदाहुँदै पनि अङ्ग्रेज शासनलाई उनीहरु राम्रो मान्दैनथे । यो भावना उनीहरुको मनमा गहिरोसँग गडेर बसेको थियो । उसो त दलित समाजका व्यक्तिका लागि जब मिनुकी आमा छोटा छोटा किस्सा र कहावत भन्थिन् तब उनको दिलमा उनीहरु तल्ला जातिका हुन् भन्ने दृष्टिकोणका बारेमा जानकारी मिल्छ । उनीहरुको मनमा आफ्नो धर्म सबैभन्दा पवित्र र जाति सबैभन्दा उच्च हो भन्ने थियो ।
अङ्ग्रेज महिलालाई हजुरआमा राम्रो मान्दिनथिन् । उनी भन्थिन्, ‘मोरी ! अङ्ग्रेज महिलाहरु फ्रकजस्तै लुगा लगाउँछन् । बादर्नीजस्ती लाग्छन् मलाई त । बिरालीजस्ती ।’
आमा भन्थिन्, अङ्ग्रेज महिलाहरु दिनहुँ फरक फरक पुरूषसँग हुन्छन् आज एउटासँग त भोलि अर्कैसँग ।’
थाहा छैन, मिनु र बिनुले पनि केटाकेटीमै कहाँबाट अङ्ग्रेज महिलालाई चिढाउन खेल खेलमै सिकिसकेका थिए र भन्थे,
‘कैली बिल्ली तेरो कति बच्चा,
ठुल्दिदीको कसम सय बच्चा
मिनु र बिनुले केटाकेटीको समूहमै खेल्दाखेल्दै तमाम प्रकारका उखानटुक्काहरु भन्न जानिसकेका थिए । यदाकदा फुपाजुको सहर आउँदा अङ्ग्रेज महिला देखे कि उनीहरु यस्ता उखानटुक्का भन्नबाट आफूलाई रोक्न सक्तैनथे । अङ्ग्रेज महिलाले हिन्दी बुझ्दैनन् भन्ने उनीहरुलाई राम्रोसँग थाहा थियो यसैले । उनीहरुले यस्ता उखानटुक्का बोलिरहँदा उनीहरुलाई रोक्ने अथवा नभन भन्ने कोही हुँदैनथे । उनीहरुको बालापन खेलकुद, मोजमस्ती र लाडप्यारमै बित्यो ।
दश कक्षापछि ऊ स्वयम् र उसका आमाबुबा दुवैले उसको पढाइमा ध्यान दिन थालेका थिए । गाउँमै सहशिक्षालय थियो । त्यहीँबाट एमए गरेपछि उदयपुर एमएसडब्लु गर्न जानुपर्यो । त्यसपछि जागिरको खोजी सुरू भयो । आठ महिनाको खोजीपछि उसले अहमदाबादमा एउटा एनजिओमा जागिर पाई । जागिरमा अहमदाबाद गएकी मिनु पाँच महिनापछि आज घर फर्केर आएकी थिई । मिनु जबसम्म घरमा थिई, उनीहरु चारै जना सँगै खान्थे । यसपटक मिनुले हातमुख धोएर कपडा फेरेपछि सबै जना खाना खान बसे । खाना खान बस्दा उनीहरु खाना कम खाइरहेका थिए त्यसको साटो कुराकानी बढी गरिरहेका थिए । उनीहरुको कुराकानी सुन्दा लाग्थ्यो, घरको कुना कुना क्यै न क्यै बोलिरहेको छ ।
खाना खाँदाखाँदै मिनु, सहर, एनजिओ र सहकर्मीका बारेमा कुराकानी सुरू भएको थियो । घरमा फोन गर्दा मिनुले आफ्ना सहकर्मीहरुका बारेमा कुरा गर्थी । यसैले उसका आधाभन्दा बढी सहकर्मीका बारेमा घरका मान्छेलाई थाहा थियो ।
‘हाम्रो एनजिओले केटाकेटीका लागि काम गर्छ । यसलाई फन्डिङ एजेन्सीदेखि स्पोन्सरसिप र दानबाट पैसा मिल्छ ।’
‘स्पोन्सरसिप भनेको के हो ?’ बिचैमा आमाले सोधिन् ।
‘हामीलाई फन्ड दिने संस्थालाई कैयौँ देशले यहाँका केटाकेटीको पढाइलेखाइका लागि दिन भनेर केही केही पैसा दिन्छन् । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि टाढा बसेर असमर्थ केटाकेटीकोे पढाइलेखाइ र जीवनलाई अलि राम्रो बनाई खुसी दिन सकियोस् भनी उनीहरुको स्वामित्व लिइन्छ । हाम्रो संस्थाले गरिब बस्तीमा गएर विभिन्न समस्याका कारण पढ्न नपाएका केटाकेटीलाई खोज्छ । यस्ता केटाकेटीको फोटो, उनीहरुको विवरण, उनीहरुले बनाएका चित्र फन्डिङ एजेन्सीमार्फत स्पोन्सरसम्म पुर्याउँछौँ । संस्थाले ती केटाकेटीको पढाइलेखाइका अतिरिक्त उनीहरुको अधिकारका लागि पनि काम गर्छ । यस्ता केटाकेटीका लागि काम गर्न स्पोन्सरले पैसा पठाउँछन् । प्रत्येक तेस्रो वर्ष हामी हामीलाई पैसा दिनेवालालाई ती केटाकेटीको फोटो र केटाकेटीले लेखेका केही कुरा पठाउँछौँ । स्पोन्सरले पठाएका पैसाबाट हाम्रो संस्था र फन्डिङ एजेन्सीको पनि खर्च चल्छ । यस्ता कैयौँ देशका मनकारी मानिसले केही केही पैसा दिन्छन् । तपाईंलाई थाहा छ, कैयौँपटक त यस्तो पैसा यस्ता यस्ता व्यक्तिले दिन्छन् जो आफैसँग पर्याप्त पैसा हुँदैन ।
कतिपय परिवारले त आफूले स्वामित्व लिएको बालबालिकाको फोटो आफ्नै सन्तानको जस्तो गरेर बैठककोठामा सजाएर राख्छन् । एउटा परिवारले त घरका सबै परिवारको फोटो त्यस बच्चाका लागि पठाए जसमा उनीहरुको परिवारका साथमा उनीहरुको डगी पनि बसेको थियो । फ्रान्सका सातआठ जना बालबालिकाले एकअर्काको काँधमा हात राखेर ग्रुप फोटो खिचाएर पठाए । ती बालबालिकाले आफ्नो पाकेट खर्चबाट केही बचाएर असमर्थ बालबालिकाका लागि पठाउँछन् । तिनीहरुले जसका लागि पैसा पठाइरहेका हुन्छन् उनीहरुलाई चिन्दा पनि चिन्दैनन् केवल फोटोमा देखेका हुन्छन् ।
अहिले व्रिmसमस आउँदै छ । यस अवसरमा उनीहरुमध्ये एक जनाले आफ्ना सन्तानका लागि निकै नरम छालाको रङ्गीन फुटबल र मोटो रङ्गीन कलम पठायो । त्यस्तो मोटो रङ्गीन कलम यहाँ पाउँछ कि पाउँदैन यकिन साथ भन्न सकिन्न । एक जनाले टिसर्ट र अर्को जनाले निकै महँगो महँगो चकलेट पठायो । यस्ता कैयौँ उपहार त्यहाँबाट आए । सरले भन्दै हुनुहुन्थ्यो कि नयाँ वर्षमा पनि उनीहरुले आफूले स्वामित्व लिएका बालबालिकाका लागि निकै धेरै उपहारहरु पठाउँछन् ।’ यस्ता कैयौँ जानकारी एकपछि अर्को गर्दै मिनुले सुनाइरहेकी थिई ।
परिवारका सबै जना उसले अब के भन्छे भनेर उत्सुकतापूर्वक मिनुको अनुहारमा एकटकले हेरिरहेका थिए । मिनुको कुरो मन्त्रमुग्ध भएर सुनिरहेकी आमाको मुखबाट एक्कासि निस्कियो, ‘वाह !’ त्यसपछिका शब्द भने आमाले प्रत्यक्षतः भनिनन् जुन मिनुले सुनिसकेकी थिइन्; ती शब्द थिए, ‘हेर त, अङ्ग्रेज पनि कति उपकारी हुँदा रहेछन् । हामी त्यतिकै उनीहरुलाई खराब भन्दा रहेछौँ ।’
खाना खाएर उठ्दा सबैको मनमा उपकारी अङ्ग्रेजप्रति प्रफुल्लता र कृतज्ञता थियो । उनीहरुको आँखामा प्रेमको गाँजल पोतिएको थियो ।
(हिन्दीबाट नेपालीमा अनुवाद: धीरकुमार श्रेष्ठ)