महानन्द ढकाल
नाग्माबाट हामी पूर्वतिर मोडियौँ । तिला नदीको किनारैकिनार खलङ्गातिर । तिला कति सुन्दर नाम । कसले राख्यो होला तिला भनेर यो खोलाको नाम ? हिमा र तिला जुम्लाका मुख्य नदी रहेछन् । दिदीबहीनीको नामजस्तो लाग्यो । के सम्बन्ध छ यी दुईमा ? प्रकृतिले सल्लाह गरेर बनाए जस्तो । ठुलो जिम्मेवारी दिएर तराईतिर झराए जस्तो ।
नदीसँगै उत्तरपूर्व हानियौँ हामी । नदीवारिपारिका दृश्यहरु मनमोहक थिए । हरियाली प्रशस्तै थियो । नदीका किनारामा स्याउका बगान देखिन्थे । बगान देख्ने बित्तिकै ‘यो त पक्कै थाकर रोकायको बगान हो’ भन्नुहुन्थ्यो प्रकाश अर्यालले । बसाइँसराइ गरेर बर्दियाको मयूरबस्ती पुगेका थाकर रोकायले सधैँ ‘उन्नाइस सय स्याउका बोट भएको बगान छ’ भनेर फुर्ती लगाउँदा रहेछन् । आफूलाई कमजोर छैन भन्ने देखाउन यसो भन्छन् भन्ने बुझाइ मयूरबस्तीबासीको रहेछ । खुबै हाँसो भयो यस विषयमा पनि ।
स्याउहरु ढकमक्क फूलेका देखिन्थे पाखै सेतो हुने गरी । जुम्लाको स्याउ र गोर्खाको सुन्तला उत्कृष्ट मानिन्थ्यो अन्यत्रको भन्दा । आधुनिक तरिकाबाट स्याउखेती गर्न सरकारले राम्रो लगानी गरेको कुरा पढेको थिएँ पत्रपत्रिकामा । प्रत्यक्ष हेर्न पाइने कुराले उत्साहित बनाएको थियो ।
दिन ओराला लागिसकेको थियो । चिया नास्ता खाएका थिएनौँ । तातोपानी पुग्ने, नुहाइधुवाइ गर्ने र चियानास्ता गर्ने सल्लाह बन्यो । बाटामा चियानास्ता भनेर अल्मलिएनौँ । रात प¥यो भने नुहाइधुवाइ नहुन सक्थ्यो । चार दिन भइसकेको थियो ननुहाएको । शरीर आपैmलाई गरूङ्गो लाग्दै थियो । अमिलो अमिलो गन्हाए जस्तो ।
हामीले दुई दिन छुट्याएका थियौँ जुम्लालाई । हेर्नुपर्ने र घुम्नुपर्ने ठाउँ नछाड्ने विचार थियो । बाटामा कतै नौला दृश्यहरु देखिन्छन् कि भनेर हेर्दै थियौँ टाढा टाढा । कृष्णराज अधिकारीले पाखामा नाचिरहेका ठुला पङ्खा देखाउनुभयो । तीनओटा रहेछन् । दुईओटा मात्रै घुमिरहेका थिए । हावाको वेगमा नाचिरहेका थिए । मलाई अनौठो लाग्यो । किन राखियो यी पङ्खा ? अनुमान पनि गरिनँ मैले । कुरो फरक रहेछ । पङ्खा नचाउने, डाइनामा घुमाउने र विद्युत् निकाल्ने काम गरिँदो रहेछ । हावाबाट बिजुली । प्रधानमन्त्रीले भनेका कुराहरु पानीजहाज, रेलमार्ग, घर घरमा ग्यास जडान र हावाबाट बिजुली निकै चर्चामा थिए । उडुवा गफ भनेर उडाउँथे उनलाई । मैले पनि उडाएँ अरुले जस्तै तर हावाबाट बिजुली निकालेको देखेपछि सम्मान जाग्यो उनीप्रति । आखिर हुँदो रहेछ त गर्न सके । बल्दो रहेछ त बिजुली पनि । ठुलो प्रोजेक्टको आयोजना सञ्चालन गर्न सके जिल्ला नै उज्यालो बनाउने रहेछ त हावाबाट निस्किएको बिजुलीले ।
चार बजेको थियो । हामी तातोपानी पुग्यौँ । तिला नदीको तिरमा रहेछ तातोपानी । टावेल, स्यान्डो र कट्टु बोकेर नदीतिर झ¥यौँ हामी । दुईओटा धाराहरु रहेछन् । महिला र पुरूषलाई भनेर छुट्टयाइएको रहेछ । एउटा कुवा थियो । यसलाई भने पुरूष र महिलाका लागि भनेर छुट्ट्याइएको थिएन । सुरूमै महिलाहरुको धारा थियो । खुला रहेछ । एक जना अन्दाजी दुईबिस पुगेकी महिला अर्धनग्न अवस्थामा नुहाइरहेकी थिइन् । लत्रिएका स्तन र दुब्लो शरीरले कुरुप देखाएको थियो उनलाई । हेर्नै सकिएन । फरक्क फर्कियौँ युवराज सर र म ।
अगाडि अगाडि आएका पनि हामी नै थियौँ । कसरी धारासम्म जाने भन्ने भयो । कि त फर्कनु कि त आँट गरेर जानुबाहेक विकल्प रहेन । पछाडि पछाडि अर्जुन तिवारी, कृष्ण अधिकारी, प्रकाश अर्याल, अनुजकुमार चौधरी, जितेन्द्र पौडेल आउँदै हुनुहुन्थ्यो । हामी आँट गरेर धारामा पुग्यौँ । महिला आफ्नै तालमा नुहाउदै थिइन् ।
चिसो हावा चलिरहेको थियो । पानी छोयौँ । तातो रहेछ । एक जना युवक नुहाउँदै थिए । धाराको छेउमा रहेको कुवामा दुई जना लामा लामा बुलाकी लगाएका महिलाहरु तैरिरहेका थिए । हामीसँगै आएका सुमित्रा न्यौपाने, गीता तिवारी, गीता पाठक र ईश्वरी घिमिरे मेडमहरुले अव्यवस्थित स्नानगृह देखेपछि नुहाउने आँट गर्नु भएन । नुहाउँदै गरेकी महिला उसरी नै नुहाइरहेकी थिइन् । यसतो दृश्यले लजाउनुभयो उहाँहरु । मेडमहरु नुहाउन नआउने भएपछि हामीलाई केही सहज भयो । दुवैतिर महिलाहरु त थिए तर नचिनेका । वास्ता गरेनौँ । हनुमान कट्टु लगाएर छिर्यौँ धारामा । पानीमा बिरेनुनको गन्ध रहेछ । मुखमा हाल्न मनै लागेन । मन चङ्गा हुन सकेन । युवराज घिमिरे सर त नुहाउनु नै भएन । हामी नुहाएको फोटा खिच्ने र भिडियो बनाएर रमाउनुभयो ।
गत वर्ष जाडो याममा तातोपानी भन्सार पुगेका थियौँ । हिमाली जिल्लामा । निकै चिसो मौसममा । तातोपानीमा नुहाउने रहर उबेला पनि थियो । यसपटक जस्तो ननुहाई नहुने शरीर भएको थिएन । अमिलो र धुलोले अप्ठ्यारो बनाएको थिएन । चर्चापरिचर्चा सुनेकोले पुगेका थियौँ धारासम्म । व्यवस्थित रहेछ । धारा पनि धेरै । ठाउँ पनि सफा र सुरक्षित । तातोचिसो दुवै पानीको व्यवस्था । निकै रमाइलो भएको थियो उबेला । यो बेला मजा आएन । स्नानक्षेत्रवरिपरि पनि फोहरमैला । वरिपरिको क्षेत्र हेरेपछि सिकसिक लाग्यो । सरसफाइमा ध्यान दिनुपर्ने देखियो स्थानीयबाट ।
तातो पानीमा नुहाएपछि तातो चियातिर लाग्यौँ । दुध रहेनछ चियाका लागि । पाउडर दुधबाट काम चलायौँ । बस्ने ठाउँको बन्दोबस्त गरेर मात्रै बाहिर निस्कने सोच बन्यो । हामी नयाँ थियौँ । गाडी साहु जनक जो हाम्रो सारथि बनेर आउनुभएको थियो उहाँ आपूm जुम्ला आउँदा बस्दै गरेको होटलमा लिएर जानुभयो । होटल ठिकठिकै रहेछ । तातोचिसो पानीको सुविधा रहेछ । होटल साहुजीसँग गफगाफ गर्न लाग्यौँ । केही टर्रा रहेछन् साहुजी ।
‘यहाँहरु ज्ञानेन्द्रका मान्छे’ जनकले होटलका साहुसँग परिचय गराउन खोजे । मैले कुरा बुझिनँ । सायद अरुले पनि कम बुझे । को ज्ञानेन्द्र ? कसरी भयौँ हामी ज्ञानेन्द्रका मान्छे ? अचम्म लाग्यो । कुरो फरक रहेछ । होटल साहु पनि नेता रहेछन् नेपाली काङ्ग्रेसका । पहिलाका शिक्षक सङ्घका नेता रहेछन् । बर्दियाका शिक्षक सङ्घका नेता ज्ञानेन्द्र रावलका साथी रहेछन् । एकदुईपटक ज्ञानेन्द्र रावललाई लिएर आएका रहेछन् यही होटलमा । ज्ञानेन्द्रका मान्छे भनेपछि होटल मिलाएर देलान् भन्ने सोझो हिसाब रहेछ उनको । सबैलाई काङ्ग्रेसी बनाइदिए जनकले । हाम्रा केही साथीले मन अमिलो बनाउनुभयो । जनकले वादको कुरा ननिकालेको भए हुन्थ्यो । सोह्र जनाको समूहमा सबै एउटै वादका हुने कुरा पनि भएन । कोही राजनीति भनेपछि मनै नपराउने पनि थिए । पैसा कम हुन्छ भनेर काङ्ग्रेसी बन्न चाँहदैनथे उनीहरु । यहाँनिर जनकले बुद्धि नपुराएकै हुन् ।
होटल खोज्दै हिँड्न पनि मन थिएन । ठिकै छ यही बस्यौँ भन्ने भयो । एक रातको बसाइ । के चहार्दै हिँड्नु ? आवश्यकताअनुसार कोठा बुक गरेर बजारतिर निस्कियौँ । खलङ्गा एयरपोर्ट खाली थियो । कुनै पनि जहाजले रात बिसाउँदा रहेनछन् । यात्रु लिन र छोड्न मात्रै आउने रहेछन् । मित्र वसन्त आचार्यले झन्डै तीन दशक पहिला फोटोबाट चिनाएको खलङ्गा एयरपोर्टमा पुग्यौँ हामी साँझको समयमा । गाडीको सुविधा नहुँदासम्म यही एयरपोर्टले धानेको थियो जुम्लालाई । जुम्लाको अर्थव्यवस्थालाई ।
साँझको साढे छ बजेतिर होटलमा फर्कियौँ । तातोपानीको बिरेनुन पानी शरीरमा टाँसिएर बसेको छ कि जस्तो पनि लाग्यो । ननुहाइ मनले मानेन । पुनः नुहाइयो । यसतै भयो कहिले दुई दिनमा एकपटक पनि ननुहाउने कहिले दुई घण्टामा दुईपटक नुहाइयो । आठ बजेतिर खाना खायौँ । खाना मिठै खुवाए । कोठामा जानुपूर्व काउन्टरमा बसेर समाचार हेर्दै थियौँ दुःखद खबर सुनायो टेलिभिजनले । नयाँ वर्षको अवसरमा स्वर्गद्वारी आएका गुल्मीको एउटा गाउँपालिकाका हाकिम र केही कर्मचारी दुर्घटनामा परेछन् । सबैको मृत्युको खबरले दुःखी बनायो । कालीकोटको बाटो सम्झेर डर पनि लाग्यो । घरका परिवारहरु झन् कति डराए होलान् ? अरु रक्षित छन् हाम्रा बाटाघाटाहरु । कतै निस्कँदा एउटा त्राससँगै बोकेर निस्कनुपर्ने बाध्यता छ नेपालीलाई । वर्षेनी यातायात दुर्घटनाबाट सयौँ मानिस हताहत हुने गरेका छन् ।
बिहान सबेरै उठ्यौँ । सबै तयार हुँदासम्म साढे सात भइसकेको थियो । जुम्ला सकेर दैलेख दुल्लु बास बस्न जाने कुरा गरेका थियौँ । गाडीवाला जनकले खोचे थापे । जान सक्दिनँ भने । कृष्णप्रसाद बास्तोला मौन थिए । गाडीवालाहरुले निउ खोजेपछि हाम्रो योजना तलमाथि भयो । जुम्लाको चन्दननाथ मन्दिर र चन्दननाथ नमुना सामुदायिक विद्यालय खाना खानुपूर्व हेर्ने र दिउँसो भेडीगोठ र कर्णाली प्राविधिक शिक्षालय हेर्ने निधो भयो ।
हामी मन्दिरतिर लाग्यौँ । मन्दिर दर्शन गर्यौं । पुरानो र चर्चित चन्दननाथ मन्दिरका विषयमा पूजारिसँग कुराकानी भयो । फोटाहरु खिच्यौँ । हाम्रा जोडीका थुप्रै फोटाहरु युवराज घिमिरेले खिचिदिनुभयो । हामीले युवराज सरका जोडीको । सायद यही ठाउँमा खिचेका जोडी फोटाहरु युवराज घिमिरे र ईश्वरी घिमिरेका लागि अन्तिम फोटा भए । जुम्ला अन्तिम रहेछ युवराज सरका लागि । कोभिडले एक जना असल मित्रलाई भ्रमणबाट फर्केको एक महिनामै हामीबाट लग्यो ।
चियानास्ता गरेका थिएनौँ । मन्दिरकै छेउमा पुरीतरकारी खायौँ । पुरी बनाउन कृष्णप्रसाद बास्तोलाले पनि सहयोग गरे । सिपालु रहेछन् काम गर्न । अगाडि सरिहाल्ने । होटलमा पनि पानीखानापुर्याउन भान्सासम्म पुगिहाल्थे उनी । नास्ता खाएर हामी हरि रोकायाको घरतिर लाग्यौँ । कीर्तिमानी राष्ट्रिय धावक थिए हरि रोकाया ।
उनलाई ‘हिउँ चितुवा’को उपाधि दिइएको छ । झन्डै छ दशकअघि विकट कर्णालीको जुम्लामा जन्मेका थिए हरि रोकाया । पूर्वाधारविहीन भूगोलमा अनेक प्रतिकूलतालाई चिर्दै धावक बनेका थिए उनी । दृढ इच्छाशक्तिका भरमा आफूलाई विश्वमै लामो दुरीको अब्बल र ‘कीर्तिमानी’ धावक साबित गरे । यो एक असाधारण प्रतिभा हुनुको परिचय थियो उनको ।
उनका नाममा एभरेस्ट म्याराथनमा ह्याट्रिक गरेको गिनिज विश्व कीर्तिमान छ । त्यसतै अन्नपूर्ण सर्किट सबभन्दा छिटो (२४ घण्टा ५ मिनेट) मा सम्पन्न गर्ने कीर्तिमान पनि छ । नेपाली झन्डाको प्रतिनिधित्व गर्दै ओलम्पिकलगायत अन्य लामो दुरीका प्रतियोगितामा उनले करिब ३ दर्जनपटक विदेशमा दौडिएका छन् । रेकर्डहरु तोडेका छन् । सन् ८० को दशकको उत्तरार्धदेखि ९० को दशकभर नेपालमा भएका लामो दुरीका लगभग सबैखाले दौड उनले जितेका छन् । उनलाई नभेटी फर्कन मन लागेन । घरमा पुग्यौँ । तीनतले घर रहेछ पहाडी मूलको । उनी घरमा थिएनन् । प्रत्येक बिहान खेलाडीलाई प्रशिक्षण गराउन जाँदा रहेछन् । हामी खोज्दै मैदानमै पुग्यौँ । खेलाडीहरु टायरलाई डोरीले कम्मरमा बाँधेर दौडिरहेका थिए । यो कठिन परिश्रम गर्न हरि रोकायाले नै सिकाएका थिए ।
केही बेर कुराकानी भयो । निकै सरल रहेछन् । कीर्तिमान कायम गरेपछि उनलाई राम्रा राम्रा देशमा बस्न अफर आएको रहेछ तर गएनछन् ।
‘देश छोडेको भए मैले सुखसम्पत्ति पाउँथेँ होला । मेरा छोराछोरी काम नलाग्ने हुन सक्थे । नेपालमै बस्नाले छोराछोरी बिग्रिएनन् । सक्षम बने यही मेरो सम्पत्ति हो ।’ गर्वले भने हरि रोकायाले । एउटा छोरा पाइलट र अर्का छोरा डाक्टर रहेछन् उनका । सरकारले प्रशिक्षकका रुपमा जागिर उपलब्ध गराएको रहेछ अधिकृत बराबरको । सरकारप्रति ठुलो गुनासो रहेनछ र आशा पनि गरेका रहेनछन् उनले । निकै इमानदार लागे हामीलाई । कृष्ण धावक र कीर्तिमानी धावक हरि रोकायालाई सँगै राखेर फोटा खिच्यौँ हामीले ।
समय घर्किसकेको थियो । नमुना सामुदायिक विद्यालय निरीक्षण गरेर खाना खान जाने कुरा थियो । विद्यालयका प्र.अ. टङ्कबहादुर महतललाई फोन गरेँ । विद्यालयमा नै हुनुहुँदो रहेछ । परिचय दिएँ । उद्देश्य बताएँ । हामी विद्यालय पुग्यौँ । भर्नाअभियान चल्दै रहेछ । जुम्लाको पुरानो विद्यालय रहेछ यो । चन्दननाथ मन्दिरको नाममा वि.सं. २००८ मा स्थापना भएको । वि.सं. २०२० मा नै मा.वि. बनेको रहेछ । १८०० भन्दा बढी विद्यार्थी रहेछन् +२ सम्ममा । अङ्ग्रेजी र नेपाली मिडियममा पढाइ हुँदो रहेछ । सीमित आम्दानीबाट पनि राम्रो चलेको रहेछ यो विद्यालय । टिमवर्क राम्रो लाग्यो । विद्यालय व्यवस्थापन समिति सहयोगी र जिम्मेवार रहेछ । शिक्षकको इमानदारीलाई खुलेर प्रशंसा गरे प्र.अ.ले । अनुगमनमा ध्यान दिँदा रहेछन् । पचास जना शिक्षककर्माचारी रहेछन् विद्यालयमा । अर्जुन तिवारी र सुमित्रा न्यौपानेले निकै जिज्ञासा राख्नुभयो विद्यालय प्रशासनका विषयमा । नयाँनौलो खोज्दै हुनुहुन्थ्यो उहाँहरु ।
खाना खाँदा साढे बाह्र बजिसकेको थियो । खाना खाएर हामी भेडीगोठ जान भनेर उत्तरतिर लाग्यौँ । कोही गएका थिएनौँ । अनुमानका भरमा हिँड्यौँ । एक घण्टा लाग्ला भनेका थिए । बाटामा हिँडेका गाडीवालालाई सोध्यौँ । दुईढाइ घण्टाभन्दा बढी लाग्छ भने । बाटो पनि फरक परेको रहेछ हाम्रो । उपत्यकाको पूर्वउत्तरतिरबाट जानुपर्ने हामी पश्चिमउत्तरतिर लागेछौँ । यति टाढा जान सक्दिनँ भन्न थाले गाडी साहुजीले । जिद्दी गर्न मन लागेन । नजिकै स्याउ परीक्षण केन्द्र रहेछ । त्यतै पस्यौँ । ठिकै लाग्यो । नयाँ नयाँ स्याउ उत्पादन गरिने परीक्षण केन्द्र रहेछ । पचास थरीका स्याउका रूख रहेको जानकारी पाइयो । बगैँचा पुगेर फरक फरक थरीका स्याउका बोटहरु हेर्यौं हामीले । भेडीगोठ गएको भए यो छुट्थ्यो । हेर्न पाइने थिएन ।
दुई बजेतिर कर्णाली प्रविधिक शिक्षालयमा पुग्यौँ । सुन्दर स्थानमा रहेछ । पूरै खलङ्गा उपत्यका हेर्न सकिने रहेछ यहाँबाट । विभिन्न प्राविधिक धारका विषयहरु पढाइ हुने रहेछ । कृषिको प्रयोगात्मक कार्य भइरहेको थियो । यो शिक्षालय चन्दननाथ नगरपालिकको उतरी भेगको घुघुत्तीमा अवस्थित रहेछ । नेपालको पुरानो यो शिक्षालय वि.सं. २०३७ सालमा स्थापना भएको रहेछ ।
करिब ३ कि.मि. लम्बाइमा फैलिएको यो क्षेत्रको सिरानमा मन्दिर रहेछ । मन्दिरमा केही बेर सुस्तायौँ । सुन्दर दृश्यहरु अवलोकन ग¥यौँ त्यहीँबाट । उकालो चढेर मन्दिरसम्म पुग्न पनि धौ धौ भयो हामीलाई । दुई जना कर्मचारीले हाम्रा जिज्ञासा पूरा गरिदिए । कृषि, स्वास्थ्य र निमार्णसम्बन्धी विषय पढाइ हुनेरहेछ ।
जुम्ला सदरमुकामदेखि आधा घण्टाको दुरीमा रहेको यस शिक्षालयमा विशेष गरी दुर्गम भेगका, पिछडिएका वर्गलाई पेसामूलक सिप दिइने रहेछ । यहाँ अध्ययनरत अधिकांश विद्यार्थी कर्णाली अञ्चलकै रहने गरेको पाइयो ।
समग्र कर्णालीको शिक्षा क्षेत्रमा अतुलनीय योगदान रहेको शिक्षालयमा करिब ४७ ओटा भवन रहेछन् जसअन्तर्गत कक्षाकोठा, गोष्ठी तथा सेमिनार हल, विद्यार्थीको आवासभवन, कर्मचारी आवासभवन, कृषिफर्म, चमेनागृहलगायत रहेछन् । कृषि उत्पादन तथा खेलकुदलाई प्रात्साहन गर्न यथेष्ट जमिन छुट्याइएको रहेछ । हामी त्यहाँ पुग्दा फुटबल प्रतियोगिता हुँदै थियो ।
चार बजेतिर हामीले जुम्ला छाड्यौँ । वसन्त र सुरेशको पुनः सम्झना भयो । क्याम्पस पढ्दाका साथीहरु । ‘तिम्रो जिल्ला घुमेँ’ भनेर सूचना दिन मन थियो तर कसरी दिनु ? फेसबुक र म्यासेन्जरमा पनि जोडिएका थिएनन् उनीहरु ।
नाग्मामा चियानास्ता गर्ने सल्लाह भयो । दुधवाला चिया कतै पाइएन । बाटोमा नै पिउने सल्लाह गरी अगाडि बढ्यौँ हामी । रारा जाँदा अध्यारोमा हिँडेका थियौँ । राम्रै भयो डाँडाकाँडा हेर्न पाइयो । कतै कतै राम्रा खेतीयोग्य जमिन पनि देखियो । पूरै पाखो र बन्जर सम्झिएका थियौँ रारा जाँदा कालिकोटलाई । फर्कदा सोचाइ परिवर्तन भयो ।
साँझको समयमा मान्मा पुग्यौँ । होटल खोजिसकेका थिएनौँ । दुर्गाप्रसाद काफ्ले निकै सहयोगी मित्र थिए । उनैलाई फोन गरेँ । मित्र हाजिर भए । बस्ने व्यवस्थापन उनैले गरिदिए । चियानास्ता गरेपछि मान्मा बजार घुम्न गयौँ । दुर्गाजीले कालीकोटको सामाजिक, सांस्कृतिक र राजनीतिक विषयका बारेमा जानकारी दिनुभयो । साहित्य र राजनीति रोजाइको विषय थियो दुर्गाजीको । गणतन्त्र आउनुपूर्व कान्छो जिल्ला भनेर चिनिन्थ्यो कालीकोट । डाडाँमा बसेको बजार सुन्दर लाग्यो हामीलाई । नौ बजे मात्र बजार घुमेर फर्कियौँ ।
‘एक एक पोका सिस्नो उपहार लैजानुपर्छ’ दुर्गाजीले हार्दिकताका साथ भन्नुभएको थियो । बिहान झिसमिसेमै कालिकोट छाड्यौँ । फोन गरेको ‘सम्पर्क हुन सकेन’ मात्रै भन्यो । दुवैका इच्छाले साकार रुप लिन सकेनन् । सिस्नोको उपहार न त दिन पाउनुभयो, न लिन नै पायौँ हामीले ।
दैलेखको गुराँसेमा खाना खाने गरी ओरालो झर्यौं ।
राकम कटेको पत्तै भएन । तल्लो डुङ्गेश्वर पुगेपछि मात्र चाल पायौँ । त्यहाँ हामी हलुका भयौँ । खाना खाएनौँ । चियानास्ता पनि पाइएन । हाम्रो गाडीभन्दा अगाडि अगाडि जनकको गाडी दौडिरहेको थियो । हामीभन्दा पछि पछि थिए धावक । राजनीतिमा चाख राख्ने रहेछन् उनी । वडाअध्यक्षको निर्वाचनमा उम्मेदवार हुने तयारीमा रहेछन् । चुनावी माहौलका विषयमा लामै कुराकानी भयो अर्जुन सरसँग । एघार बजेतिर गुराँसे पुग्यौँ । खानाको अडर गर्यौं र हेर्न थाल्यौँ वरिपरिका रमणीय दृश्य । रमाउनकै लागि निस्किएका थियौँ हामी, मज्जाले रमायौँ यात्राभरि । पश्चिम दिशातिर ओरालो हानिएको घामसँगै हामी पनि ओरालो झर्यौं गुराँसेबाट । हाम्रो यात्रा सुर्खेत हुँदै बाँके–बर्दियामा पुगेर टुङ्गिँदै थियो ।