दीपक न्यौपाने ‘अश्रुञ्जली’
(मन्थली १३, रामेछाप)

सबै गाउँलेको नजरको रानीवन रानीजस्तै थियो । उनीहरुको दैनिक घरव्यवहार र बस्तुभाउको पेट पाल्ने थलो थियो रानी वन । त्यति मात्र होइन, विभिन्न जङ्गली जनावरको बासस्थानको केन्द्र पनि थियो ।
त्यस जङ्गलमा दुईओटा रूख थिए । एक दिनको कुरो हो, उनीहरुको जीवनमा ठुलो विपत्ति आइलाग्यो । उनीहरु बसेको जमिनमा पहिरो चल्यो । बाबुआमा रूखहरु जीर्ण भइसकेका हुनाले पहिरोमा परी तिनीहरु मरे तर बच्चा दाजुभाइ रूखहरु सानो भएकाले हो या कालको आँखामा पर्न नसकेर हो, तिनीहरु बाँच्न सफल भए या भनौँ, प्रकृतिले नै मुस्किलले मन नलागी नलागी बचाइदियो ।
बाबुआमा रूख मरेपछि तिनीहरुलाई हुर्काईबढाई र स्याहारसुसार गर्ने कोही भएन । तिनीहरुले कति वर्षा झेले कति असिनाको चुटाइ खाए कति खडेरी सहे, त्यसको गन्ती नै भएन । तिनीहरु प्रकृतिको भरमा बाँचे र जसोतसो हुर्किए ।
तिनीहरुलाई तिनीहरुको बाबुआमाले साने र ठुले नाम राखिदिएका थिए । सानोमा एउटै स्याहार पाएर एउटै हैसियतमा बाँचेका साने र ठुले ठुलो भए । प्रकृतिले भने सानेलाई अलि अग्लो र बलियो एवम् ठुलेलाई अलि होचो र कमजोर बनाइदियो । रूखो माटोमा मल नपाए पनि ठुले दह्रै जरा गाडेर बसेको थियो । साने केही अग्लो डाँडामा उभिएको थियो । उसका जराहरु धेरै नगाडिएका भए पनि पर परसम्म फिँजाउन ऊ सफल भएको थियो । सर्लक्क परेको लोभलाग्दो थियो । उसलाई देखेपछि कसको मन नपग्लेला र ? पछि यसलाई सदुपयोग गर्नुपर्छ त्यस कारण आज हुर्काईबढाई गरी पालनपोषण गर्नुपर्छ भन्दै तस्करहरुले त्यस रूखको स्याहारसुसार गर्न थाले । स्वार्थले भरिएको भाँडोमा अहङ्कार र घमन्ड मिसिएको मल घोलेर दिनदिनै साने रूखलाई सिन्चित गर्न थाले । पर पर जरा पुगेको त्यस रूखले मलका रुपमा खान मिल्ने र खान नमिल्ने पनि खायो । यसबाट झन् अग्लो भयो । केही हरियो पनि भयो ।
उत्प्रेरणा, खानपान र स्याहारसुसार पाएपछि साने रूख सुसाउन पनि थाल्यो । कहिलेकाहीँ त खुब सुसाउँथ्यो । कहिले अलि कम सुसाउँथ्यो । कहिले कराउँथ्यो । कहिले चिच्याउँथ्यो । कहिले नाच्थ्यो । कहिले गाउँथ्यो । कहिले सुसेली हाल्थ्यो । यो देखेर ठुलेको मन ठुलो हुन्थ्यो । प्रकृति र कर्मले उसलाई ठगे पनि सानेको प्रगति देखेर आफ्नो पनि इज्ज्त बढेको आभास गथ्र्यो । ऊ सानेको कला र गला देखेर आफू पनि गर्व गर्थ्यो । छाती तन्काउँथ्यो । ठुलेका छिमेकीले पनि सानेको यो कला देखेका थिए । उनीहरु ‘वाह तेरो भाइ !’ भन्थे । आफ्ना भाइका बारेमा उनीहरुले यसो भनेको सुन्दा ठुलेको मन उड्न मात्र बाँकी हुन्थ्यो ।
सानेले जङ्गली फूलहरुमा मन र आँखा डुलाउने गरेको कुरो ठुलेले एक दिन बुझ्यो । उसले सानेलाई भन्यो, ‘साने, तेरो आफ्नै घरफूल छ । साना साना कोपिलाहरु छन् । तिनीहरुमा कति मिठो सुगन्ध छ । यो छोडेर किन वनफूलमा आँखा र मन डुलाउँछस् ? मनमा राम्रा फूल फुलाएर आँखामा ल्याएर हेर् त, घरफूलहरु कति सुन्दर र सुगन्धित छन् ।’
ठुलेको सुझावले सानेको मन नराम्रोसित बिच्कियो । उसको आक्रोशको पारोले सीमा नाघ्यो । ठुलेलाई लागेको थियो, भाइ रूख उसै पनि अग्लो छ, उसलाई सबैले मान्छन् । उसको सुसाइ, बोलाइ, नचाइ अनि कला र गलाको सबैले मानसम्मान गरिरहुन् । मान्छेको नकारात्मक धारणा सुन्नु नपरोस् भन्ने मनसायले ठुलेले सानेलाई यो कुरो भनेको थियो तर सानेले कुरो बुझेनछ ।
उसको रिसको पारोले सीमा नाघ्यो र आक्रोशित हुँदै भन्यो, ‘हेर् दाइ । तँलाई थाहा नै छ । तरूनी फूल देखेँ भने हेर्न छाड्ने मेरो बानी छैन । जङ्गली फूलको रस चुस्न कति मजा आउँछ । तँलाई के थाहा !’
यो सुनेर दाइ रूख ठुलेले भन्यो, ‘सबै खालका फूलहरु सुगन्धित र आकर्षक हुँदैनन् । सबै खाले फूलका रस न त स्वादिला हुन्छन् न त चुस्नलायकका नै हुन्छन् । तिनीहरुले आफ्नो घडामा विष भरेर राखेका पनि हुन सक्छन् । त्यसैले जेजस्तो भए पनि घरफूल नै सबै कुरामा राम्रा हुन्छन् । सही हुन्छन् । यस्तो व्यवहारले इज्जत बढ्दैन बदनाम मात्र हुइन्छ ।’ भाइ रूख साने दाइ रूख ठुलेउपर जङ्गियो, ‘मलाई उपदेश दिने तेरो के औकात छ ? तैँले आफ्नो उचाइ कहिल्यै नापेको छस् ? पहिला आफूले टेकेको जमिन हेर् । तँ कुनै पनि कोणबाट मेरो हैसियतमा आउन सक्दैनस् । त्यसैले आफूलाई ठुलो ठानेर मलाई अर्ती दिनु आवश्यक छैन । हेर् त, तँ मभन्दा कति होचो छस् । म त तँलाई सानो भुसुनो जत्रो पनि देखिरहेको छैनँ ।’
‘हैन साने, तेरो वाहवाही हुँदा मेरो पनि इज्जत बढ्थ्यो । तेरो यस्तो गतिविधिले तेरो त बदनाम हुन्छ हुन्छ, मेरो पनि बाँकी रहने छैन । फेरि बदनाम तेरो हुनु र मेरो हुनुमा के फरक छ र ? एउटै न हो ।’ दाइ रूख ठुलेले भाइ रूख सानेका सामु अनुनय गर्यो ।
उसले उही रबाफमा प्रतिउत्तर दियो, ‘मैले तेरो इज्जत राखिदिने ठेक्का लिएको छु र ? अबदेखि मेरो मतलब नगर्नू । मेरो घरव्यवहार भाँडेर मेरो घरमा आगो लगाउने कोसिस नगर्नू । आजका दिनदेखि तेरो र मेरो बाटो अलग भयो ।’
सानेको अनपेक्षित जबाफ सुनेर ठुलेलाई सपनामा छु कि जस्तो लाग्यो । भाइका प्रतिभा र कलाले आफूलाई समेत इज्जत दिएर आफन्त र छिमेकीले सधैँ ‘अहा तेरो भाइ !’ भनुन् भन्ने लागिरहन्थ्यो जसबाट आफ्नो नाक ठुलो बनाएको आभाष हुन्थ्यो, त्यो आज फिका फिका लाग्न थाल्यो । ठुलेले बुझ्यो, सानेको कला, प्रतिभा र व्यक्तित्वलाई सम्हाल्ने मेरो औकात र हैसियत रहेनछ ।’
आज भाइ रूख सानेले बनाएको अलग बाटोको दोबाटोमा छ दाइ रूख ठुले । खै कता लागौँ ? यस परिस्थितिलाई स्वाभाविक मानौँ कि आकस्मिकता ? दोधारमा छ ऊ ।
यी दुईको सुझबुझमा कहाँनिर कमी आयो ? जिन्दगीमा ठुलो विपत्ति झेलेर यहाँसम्म आएका यी दुई आज किन एकअर्काप्रति वैमनष्य राख्ने भए ? यसको कारण यी दुईले टेकेको जमिन हो ? यी दुईका बिचको आकार हो ? यी दुईले बाँचेको जिन्दगीको अवस्था हो ? यी दुईलाई आफूले बाँचेको जिन्दगीलाई एकअर्कासित दाँज्ने र मूल्याङ्कन गर्ने ठाउँ केले दियो ? परिस्थिति दिन प्रतिदिन सोचनीय बन्दै गयो ।
त्यसपछि यी दुईमा यसबारेमा केही कुरा भएन । सानेलाई सबैले ठाडो मुन्टो लगाएर हेर्न थाले । यो उसको कला, गला र प्रतिभाको फल थियो । यो नराम्रो त पक्कै पनि थिएन ठुलेका लागि तर भन्नेले यो पनि भनेको सुनियो, ‘बाँस जति अग्लिए पनि मोटाउँदैन । फुल्न त बाँस पनि फुल्छ तर बाँसको फूलको सुगन्ध कहाँ आउँछ र ?’
एउटाले सोध्यो, ‘तिमीहरुले देखेका छौ ? बाँसको थाम हुन्छ ?’
अर्कोले भन्यो, ‘थाम त हुँदैन तर भर्‍यङचैँ हुन्छ ।’
फेरि अर्कोले भन्यो, ‘हेर, जीवनमा थाम भएर बाँच भर्याङ्ग भएर नबाँच ।’
हुन त उसै पनि साने अग्लो ठाउँमा थियो । अलग बाटोबाट अगाडि बढ्न खोज्दा फेरी सानेतिर हेरेर ठुलेले चिच्यायो, ‘साने ऽऽऽऽऽ, तँ अग्लो पनि छस् । यो तेरो प्रतिभा, कला र गलाले गर्दा हो । तेरो धरातल पनि अग्लो छ । जङ्गलमा तस्करहरु हतियार बोकेर डुलिरहेका छन् । उनीहरुले तँलाई मलजल गरेको लगानी उठाउन त पक्कै आउँछन् । उनीहरुले लगानी गरेका छन् भन्दैमा उनीहरुको जिनिस बन्न त कहाँ सकिन्छ र ? होइन ? मुकाबिला त पक्कै गर्छस् नै । त्योभन्दा पहिला आफूलाई दह्रोसित जमिनमा उभ्याउनू । आफूले टेकेको जमिन कस्तो छ बेला बेलामा ख्याल गर्नू । आफै भासिने गरी गह्रौँ भएर नउभिनू र आफू धेरै हल्का हुने गरी पनि नउभिनू ता कि कसैले आफूलाई उखेलेर लैजाओस् । साने, तँ यसै गरी उभिरहनुपर्छ ता कि तँलाई मैले परबाट पनि ठाडो मुन्टो लगाएर सधैँभरि हेर्न सकूँ । अरुले पनि उसै गरी ठाडो मुन्टो लगाएर हेर्न सकुन् । हेर्दा उनीहरुको शिरको टोपी खसोस् । तँ पहिलाको जस्तै गरी सुसाइरहनू, चिच्याइरहनू, गाइरहनू र कराइरहनू । ती सुसाइमा, ती गवाइमा सङ्गीत मिसिएको होस् । अनि तँ नाचिरहनू ता कि सबैले मलाई ‘अहा तेरो भाइ !’ भनिरहुन् । अनि सुन् त, वनफूलले तेरो बाटो छेक्लान् । घरफूलको मन नझरोस् र कोपिलाहरु नमरून् । पछिसम्म सुगन्ध र बास्ना तिनै कोपिलाले छर्ने छन् ।
दाइ रूख ठुलेले यसो भनेर भनिरहँदा भाइ रूख साने उसै गरी सुसाइरहेको थियो, चिच्याइरहेको थियो, गाइरहेको थियो र नाचिरहेको थियो । त्यो देखेर दाइ रूख ठुले मुसुक्क हाँसेर अपलक भाइ रूख सानेलाई नियालिरहेको थियो ।

Facebook Comments Box

Similar Posts