अरूणबहादुर खत्री ‘नदी’
यात्रासाहित्य विश्व साहित्यमै लोकप्रिय विधाका रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै छ । यही कारण अन्य विधाका स्थापित लेखक पनि यसप्रति आकर्षित भइरहेका छन् । यायावर पाइला खेमराज पोखरेलको २०७७ मा प्रकाशित पहिलो नियात्रा कृति हो । यो उनको अहिलेसम्मको पछिल्लो पछिल्लो कृति पनि हो । उनको पहिलो कृति सबैथोक छ केही छैन (निबन्धसङ्ग्रह) २०६६ सालमा निस्केको थियो । यस सङ्ग्रहमा ‘स्वर्गद्वारीको स्वर्ग’, ‘टनकपुरमा दनदनी दुखेको टाउको’, ‘सम्झनामा तप्केनीमा मेरो हलेसी’, ‘कस्तो मोहनी लायौ नि पाथीभरा !’, ‘फर्कनै मन लागेन नि खप्तड !’ लगायत १५ ओटा नियात्रा छन् ।
‘स्वर्गद्वारीको स्वर्ग’ शीर्षक पहिलो नियात्रामा यो पवित्र तीर्थस्थल प्युठान जिल्लाको स्वर्गद्वारी खालमा अवस्थित रहेछ । समुद्री सतहबाट ६,८९० फिट उचाइमा अवस्थित स्वर्गद्वारीबाट अन्नपूर्ण, धौलागिरि र मनास्लु आँखैअगाडि नाचिरहेका थिए । सूर्य झुलुक्क उदाएको दृश्य निकै रोमाञ्चक थियो । सूर्यको किरणले श्वेत हिमाललाई ताम्र बनाइदिएको थियो भनिएको छ । ‘टनकपुरमा टनटनी दुखेको टाउको’मा राजा महेन्द्रले टाउन प्लानिङ गर्न लगाएर बनाएको सहर हो महेन्द्रनगर भनिएको छ । त्योभन्दा पहिले यसको नाम धुर्सुली बजार थियो । सहर निकै व्यवस्थित देखिन्थ्यो । बाटाघाटा फराकिला र सुन्दर मिलेका थिए । नेपालमा केही थोरै सहर छन् जसको प्रारुप टाउन प्लानिङमार्फत बनाइएको छ । गणतन्त्र आएपछि महेन्द्रनगर नगरपालिकाको नाम फेरेर भीमदत्त नगरपालिका बनाइएको छ । यसरी पुरानोलाई फेरेर नयाँ नाम राख्ने क्रान्तिकारी चलनले नेपालको इतिहास आक्रान्त छ भनिएको छ । यो समाजका केही विपरीत तस्बिर पनि छन् नियात्राकारका नजरमा परेका ।
आफूले पढेको, सुनेको भूगोल र प्रकृतिलाई प्रत्यक्ष रुपमा भोग्ने इच्छाबाट अभिप्रेरित भएर नेपालका विभिन्न जिल्ला घुमिसकेका लेखकले सफलतापूर्वक पाठकलाई आफैसँग घुमाएका छन् । उनको शैली सरल, सरस र सम्प्रेष्य छ । यात्रामा देखिएका चित्रण गर्ने खुबी यिनमा छ । यस सङ्ग्रहभित्र स्वदेश भ्रमण गर्दाका नियात्रा समावेश गरिएका छन् । शालीन व्यङ्ग्यको उपस्थिति यिनका नियात्राको अलग पहिचान बनेको छ भने कुतूहलता पैदा गर्नु अर्को विशेषता हो । नियात्राको बनोटमा रोचकता छ । प्रस्तुति रसिलो छ । नियात्रा पढ्दा चित्रकथा पढेझैँ अनुभूत हुन्छ । ‘बागलुङ बेनी घुमेर आउँदा’मा मन सम्झिँदै थियो बागलुङलाई । अझै रमाउँदै छ कालीगण्डकीको कलकलमा । हिमालमा हरिया पाखामा पखेरामा भनिएको छ ।
नियात्राकारले यात्राका क्रममा देखेका, भोगेका, सुनेका र भेटेका सन्दर्भ सोझा, सरस, सहज र सरल भाषामा लेखिएका छन् । यिनमा भेटिने अनुुभूतिको रमरम र स्थान, समय, परिवेशमाथिको आलोचनात्मक दृष्टि यात्रा संस्मरणका प्रमुख पक्ष हुन् । उनले लेखेका प्रायः सबै नियात्रा लामा भए पनि मिठा छन् । नेपाली साहित्यमा नियात्रा र संस्मरण सबै खाले लेखक र पाठकले लेख्ने र पढ्ने गर्छन् । विषयवस्तुका विविधता, सरल भाषाशैली र शीर्षक सार्थक रहेकाले पोखरेलका यी नियात्राहरु पढेर नसकुन्जेल कौतूहलले चिमोटिरहने र पाठकलाई आफू पनि लेखकसँगै यात्रा गरिरहेको अनुभूति गराउने खालका छन् । जब उनी नेपाल घुम्छन् केही देख्ने रहरले, केही भोग्ने रहरले घुम्छन् । ‘सम्झनाका तप्केनीमा मेरो हलेसी’भित्र टड्कारो सम्झिरहेका छन् बाल्यकालका कुरा । आमा मलाई अक्सर हलेसीको कथा सुनाउनुहुन्थ्यो । आमाका काखमा टाउको राखेर आमाका मिठा माया मिसिएका भावनाका हातले ढुङ्गा हान्दै भनिने हलेसीका कथाले नियात्राकारलाई आनन्दविभोर बनाउँथ्यो भनिएको छ । प्रकृति नियात्राकारलाई प्यारो लाग्छ । आधुनिक साहित्यमा गद्यविधा अन्तर्गत निबन्धको एउटा सशक्त उपविधाका रुपमा विकसित हुँदै छ यात्रासाहित्य । नियात्रा यात्रा र संस्मरणको निबन्धात्मक समन्वित संरचना हो । यात्राका मोड, घुम्ती अनि गोरेटोमा भेटिएका अनुहारलाई नाटकका पात्रजस्तै एउटा कथाभरि सँगसँगै रहेर छोडिएपछि अर्को कथामा आफूसहितको कुनै दृश्यको प्रतीक्षा उनले गरिरहेझैँ लाग्छ । यात्रा र स्थान परिवर्तनले मनभित्र नयाँ शक्ति प्रदान गर्छ । आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द प्रभावकारी हुन्छ यात्रामा । यो कृति स्रष्टाले देखेको र भोगेको यथार्थ हो । यसमा नियात्राकारले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेका छन् ।
भ्रमणबाट देशदेशावर र गाउँठाउँ मात्र देखिँदैन त्यहाँका भूबनोट र प्राकृतिक दृश्य, थरी थरीका मानिस, जीवनशैली, वेषभूषा, खानपिन, मूर्तअमूर्त, संस्कृति अनि भाषाबारे थुप्रै जानकारी, सूचना र ज्ञान पाइन्छ । भनिन्छ, पढेरभन्दा परेर जानिन्छ । भ्रमणबाट प्राप्त ज्ञान पनि परेर जानिने ज्ञान हो । त्यसैले भ्रमणको विशिष्ट महङ्खव छ । ‘कस्तो मोहनी लायौ नि पाथीभरा !’ मा मेरा सम्झनाका तरेलीमा यो बेला म केटाकेटी हुँदाको पाथीभराको कुरा सम्झँदै छु । म आफू पनि पूर्वकै भएकोले पाथीभराका बारेमा कहिलेदेखि चाल पाएँ थाहा छैन । बालखै छँदा पाथीभराको महिमा हावासरी आइपुग्थ्यो भनेर लेखिएको छ । यी नियात्रामा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात पाइन्छ । ‘सम्झनामा मनाङ तिर्सनामा मस्र्याङ्दी’मा नियात्राकारका मित्र डाक्टर बमबहादुर अधिकारीका ठुल्दाइ रणबहादुर बितेको अस्तिजस्तो लाग्छ । तर वर्षदिन नाघेछ । म यो अधिकारी परिवारसँग किन किन जोडिएको छु । अनप्लान्ड जोडिएको छु । त्यसै जोडिएको छु भनिएको छ । नियात्राको पहिलो कृतिमा यात्रासंस्मरण, यात्रा विवरण, यात्रासाहित्य तथा नियात्राको शास्त्रीय साङ्लोको बेराइले नियात्राकार दिग्भ्रमित भइरहेका हुन्छन् प्रायः । चिची र पापा छुट्याउन उनलाई निकै गाह्रो भइरहेको हुन्छ ।
यस सङ्ग्रहभित्रको ‘सम्झनाका तरेलीमा दलचोकी मनकामना’मा बाटामा दलचोकी थान थियो । थानको मुन्तिर सरकारी हाइस्कुल थियो । यसले पक्काघर भेटेको थियो । स्कुलकै आधिपत्यको खेलमैदानको खुड्किलामा बसेर भोजनग्रहण गरियो । म त पहिलो यात्री रित्तै थिएँ । तर स्रष्टाका हातहरु र सीपहरु भोजनसिर्जनामा पनि खप्पिस देखिए भनी नियात्राकारले लेखेका छन् । नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रावृत्तान्त सबै पाठकले पढ्नै पर्छ । यसमा लेखकको आफ्नै अनुभूति स्वाद छ । उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरु रोचक र रसिला छन् । यात्राहरु पेचिला र पुष्टकारी प्रतीत हुन्छन् । अन्त्यमा समग्र रुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यसलाई नेपाली साहित्यप्रेमीको मनले रूचाउने छ । यस्तै अन्य कृति पढ्न पाइने अपेक्षा छ ।