सागर फुयाल
(हाल बर्लिन, जर्मनी)
प्रभाती मिर्मिरेमा
चराहरू
चिरबिर गर्दै बाँसघारीबाट
छर्दैछन चारैतिर
सन्देश उज्यालोको
एउटा सिंगो दिनको
विश्वास र उमंगको
र,
सायद सुनेर सन्देश यिनै
सिरानतिरबाट
माथि डाँडाबाट
निलो प्रकाश
आकासमा छर्दै
सुनौला किरणले
टाकुरा रंग्याउँदै
त्यही चिरबिर चिरबिर आवाजको
वशमा परी
या भनौ विवश बनी
उज्यालोको लागि
एउटा सिंगो दिनको लागि
फेरी नयाँ जीवनको लागि
विश्वास र उमंगको लागि
अन्ततः मुस्कुराउँदै
बेफिक्री हुँदै
उदाउँछ घाम
त्यही डाँडा पारीबाट
अनि,
मुस्कुराउँछन् फूलहरू
झलमलाउँछन् लहरहरू
नाच्छन् मृग र मयुरहरू
निस्काम उड्छन परेवाहरू
गुन्जिन्छन् घण्टाका धुनहरू
एउटा गहिरो, गाडा
र विराट स्वरमा
मन्दिरहरूमा, हृदयहरूमा
पाखा, पर्वत अनि फाँटहरूमा
सबैसँग सदा रहने आभाष दिँदै
जीवन, लोक र परलोकको
बाटो सुझाउँन
गुन्जिन्छन् हावाभरि, आकासभरि
अनि ब्रहमाण्डभरि
तर,
खेल्छ यो मानसपटलमा
अन्तस्करणमा, चैतन्यमा
एउटा प्रश्न
त्यो निष्पट्ट अन्धकार
त्यो मरेतुल्य निन्द्रा
निमेषभरमै बित्ने
हरेक रात चिर्दै
यो जगत बिउँझाउने को हो?
होकी त्यो चिरबिर चराहरूको
गीतजस्को सुनी
उदायो घाम डाँडामाथि
या होकी त्यो घामको, प्रकासको
आभाषजस्को पाएथे चराहरूले
अनि गाउँदै थिए गीत
उज्यालोको, दिनको र जीवनको
जे होस,
तिनै चिरबिर र प्रकाशसँगै
मुर्छनाबाट बिउँझिए फूलहरू
झलमलाए लहरहरू
नाँचे मृग र मयुरहरू
उडे परेवाहरू
बजे घण्टाहरू
गुन्जिए मन्दिर र हृदयहरू
पाखा, पर्वत अनि फाँटहरू
हावा, आकास र ब्रहमाण्ड बरू
र,
जगाउँदै छन् यी सबै मिली
मानव चोलालाई
र भन्दैछन् मानवलाई
सिक न बरू केही
चिरबिर र घामबाट
फूल र लहरबाट
मृग र मयुरबाट
परेबा र घण्टाबाट
निस्वार्थ, निष्पाप कर्मबाट
अनि आह्वान गर्दैछन्
हे मानव!
तिमी पनि प्रकृतिको
अंश हौ हामीजस्तै
नसोच किमार्थ फरक
प्रकृतिभन्दा आफूलाई
आऊ लीन हौ प्रकृतिमा
हामीजस्तै रमाई
हृदयलाई समाई!