शम्भु अर्याल
(मिर्दी ५, वालिङ, स्याङ्जा)
१.
पारिपट्टि
भन्ज्याङको रूख पनि
बुढो भइसकेछ
यसो क्षितिज नियाल्छु
यतिका वर्ष भइसक्दा पनि
आडैमा
नयाँ बिरूवाहरु त उम्रन्छन्
च्याप्पिएर त होला
हेप्पिएर त होला
ती कलिला पोथ्राहरु
बढ्नै सकेनन्

२.
बाबुहरु हो,
रूखहरु कहिल्यै ढाल्नुहुँदैन
किनकि तिनीहरु बोल्नै सक्दैनन्
तर यत्ति ख्याल राख्नुपर्छ
प्रकृतिमा
बोल्न सक्ने
हिँड्न सक्ने
र सोच्न सक्ने
सबैलाई साह्रै माया गर्नू
साह्रै जतन गर्नू
उनीहरुलाई साह्रै जतन गर्नू
उनीहरुलाई सधैँ आश्रय दिनू
किनकि उनीहरु अभिव्यक्त गर्न सक्छन्
र उनीहरुसँग संसारकै उच्च चेतना छ ।

३.
तर
ती बोल्न सक्ने
हिँड्न सक्ने
र सोच्न सक्ने
सबैलाई
त्यो बुढो रूखले जस्तै
ढसमस्स ठाउँ ओगट्न
कहिल्यै नदिनू
नत्र तिनीहरु
त्यै क्ष्तििजको बुढो रूखजस्तै
एक्लै ढसमसिइरहन्छन्
त्यहाँ कहिल्यै
अर्को बिरूवा बढ्न सक्दैन
त्यहाँ कहिल्यै हरियाली छाउन सक्दैन
बाहुन्थानजस्तै
बिरूवा र रूखको अभावमा
त्यो पहाडको सुन्दरता
ओझेल पर्ने छ ।

Facebook Comments Box

Similar Posts