रासा
एक दिन धुस्वां सरले मलाई घरमा बोलाएर एउटा पुरानो फाइल दिँदै भन्नुभयो– ‘राजु, यो लगेर पढ्नू र के–कस्तो छ भन्नू !’
मैले त्यो फाइल आफ्नो घरमा लिएर आएँ । धेरै समय लगाएर त्यो सामग्री पढेँ । पछि, उहाँलाई फोनमा भनेँ– ‘सर, मैले पूरा पढिसकेँ । धेरै ठाउँमा भाषा मिलाउनुपर्छ, बनाउनुपर्छ । के गर्ने !’
उहाँले तत्क्षण खुसी हुँदै बोल्नुभयो– ‘हो, त्यसकै लागि त तिमीलाई दिइपठाएको । त्यसको फोटोकपी मैले एउटी कवयित्रीलाई दिएको थिएँ, भाषा सम्पादन र टाइप गर्नका लागि । मोरीले फिर्तै गरिनन् । यसो हेरिदिनू, पछि किताब छाप्नुपर्छ है !’
मैले ‘हस्’ भनेँ । त्यो ‘भत्केको मान्छे’ शीर्षकीय नेपाली उपन्यासको हस्तलिखित पाण्डुलिपि थियोे, जुन अद्यापि मसित सुरक्षित छ ।
–
धुस्वां सरले एउटा जिम्मेवारी दिनुभएको थियोे, उहाँका प्रकाशित लघु एवम् दीर्घ कविताहरुका एक एकओटा सङ्ग्रहको सम्पादन/प्रकाशन गर्ने । मैले सहर्ष स्वीकार गरेको थिएँ । त्यसका लागि उहाँले आफूसँग रहेका फुटकर रचनाहरुको एकमुष्ठ फोटोकपी मलाई दिनुभएको थियोे । ती कविताहरु तीन भाषा (नेपाली, नेपालभाषा र हिन्दी) मा थिए । नेपालभाषा र हिन्दीमा लेखिएका कविताहरुलाई नेपालीमा उल्था गरेँ । छोटा कविताहरुको सङ्कलन (भातको सपना) तथा लामा कविताहरुको सङ्कलन (सालिक होइन मानिस) तयार पारेर टाइप गराएँ ।
दुई पाण्डुलिपि तयार भएपछि उहाँलाई बुझाइदिएँ । उहाँले खुसी हुँदै भन्नुभयो– ‘ल, धेरै धेरै धन्यवाद छ ! किताब छाप्नका लागि एउटा मान्छेलाई भनेको छु, उसले वचन दिएको छ । म उसलाई फोन गर्छु । तिमीलाई पछि सूचना गरूँला । हुन्न ?’
जवाफमा मैले टाउको मात्र हल्लाएँ र फर्किएँ । केही दिनपश्चात् उहाँले मलाई त्यो मान्छेको सम्पर्क नम्बर दिएर भेट्न जानू भन्नुभयो । मैले मानेँ ।
पुसको ठिही । बिहान सात नबज्दै म त्यसकहाँ गएँ । फोन गरेँ । त्यसको मान्छेले लिन आयो । सँगै घर पुगेँ । आलिसान महलको प्रवेशद्वारनेरको कक्षको सोफामा बसायो । बसेँ । चिनारी भयो । कुराकानी गरियो । पाण्डुलिपि बुझाएँ । मेरो फोन नं. लियो र भन्यो– ‘म पछि सम्पर्क गर्छु ।’
‘हवस्’ भनेर म फर्किएँ । दिउँसो धुस्वां सरलाई सबै बताएँ । उहाँले ‘म पहल गर्छु’ भन्नुभयो ।
निकै समय बित्यो । त्यसको फोन आएन । सरले पनि केही भन्नुभएन । म पनि चुपचाप बसेँ ।
सर बित्नुभयो । कामकुरा लथालिङ्ग ।
ठमेलतिरको त्यो सुन व्यापारी कुरियागाउँ, थापाथलीमा बस्छ । व्यापार त गर्छ, समाज सेवाको नाममा अनेकन् कार्य गरी देखाउँछ अझै पनि ।
–
धुस्वां सरले मलाई एउटा डायरी पनि दिनुभएको थियोे । उक्त डायरीमा हिन्दी भाषामा लेखिएका विना शीर्षकीय प्रेमकविताहरु थिए । त्यसको अग्रभागमा ‘राजी के नाम’ उल्लेखित थियोे । मैले उहाँलाई त्यति बेला सोधेको पनि थिएँ– ‘को हुन् राजी ?’
जवाफमा उहाँले यसो भन्नुभएको थियोे– ‘एकेडेमीका कर्मचारी हुन्, अहिले बितिसकिन् । राजी काल्पनिक नाम मात्र हो ।’ अरु कुरा कोट्याइनँ मैले ।
डायरीका केही कविताहरु शीर्षकसहित नेपाली भाषामा अनुवाद गरेर केही पत्रिकामा छपाएको पनि थिएँ । डायरी अझै सुरक्षित छ मसित ।
–
एक अपराह्न । श्रद्धेय स्रष्टा धुस्वां सायमीको घर वसुन्धरा, ताहाचलमा खाजा खाँदै गफिइरहेका थियौँ । बिचमा फोनको घण्टी बज्यो । उहाँले उठाउनुभयो । केही कुराकानी भए । छिनमै फोन राख्नुभयो । पछि, उहाँले मलाई एक कविको नाम लिएर सोध्नुभयो– ‘यी राम्रा कवि हुन् र ?’ मैले आफ्नो राय दिएँ । उहाँले पुनः भन्नुभयो– ‘यिनले मेरा बारे लेख लेख्ने रे ! अरु त होइन, पुरस्कारका लागि खुसामद गरेका हुन् – मलाई थाहा छ ।’
ती कविले उहाँबारे एउटा लेख लेखेर छपाए पनि । त्यही साल तिनले युवा वर्ष मोती पुरस्कार पड्काए । यद्यपि तिनी राम्रा छन्दवादी कवि हुन् । हाल पाताल प्रवासमा छन् ।
–
यस्तै गर्मी याम । म धुस्वां सरकोमा थिएँ । गफ गरिरहेको थिएँ । खाजा पनि खाइरहेको थिएँ । बिचमा उहाँले भन्नुभयो– ‘राजु, थाहा छ एउटा कुरा – आज सूर्यले के भन्यो ! उसले चि…सो भात खान्छु पो भन्यो ! यो चिसो भातले मलाई एकदम छोयो र मैले कविता लेखेँ ।’
(सूर्य = उहाँको नाति, धर्मपुत्रीको छोरा )