डा. ऋषिराज जानी
उसले आफूलाई गणितमा सर्वश्रेष्ठ छु भनेर ठानेकी थिई । जब उसले त्रिकोणमिति–रेखागणितबीजगणित सिद्धान्तहरु पढाउँथी तब सारा छात्रहरु आश्चर्यचकित हुन्थे । प्रमिति शर्माको भनाइ थियो कि उसले गणितलाई आत्मसात् गरिसकेकी छ ।
उसले अमेयभन्दा अधिक स्फूर्तिले अङ्ग्रेजी बोल्थी, ऊ व्यवहारमा पनि ऊभन्दा अधिक चतुर अनि देख्नमा पनि सुन्दर तथा अति धेरै धन कमाउँथी । यसरी प्रमिति जीवनको समीकरणमा अमेयभन्दा धेरै अब्बल थिई ।
– – – – – – – – – – – – – – – – – – – – –
प्रमिति > अमेय (१)
– – – – – – – – – – – – – – – – – – – – –
अघि पनि प्रमिति विवाहपछि ससुरालीमा आई । त्यति बेला उसले यही गणितलाई व्यवहारमा पनि स्विकारेकी थिई । सासू, ससुरा, नन्द, देवर आदि जटिल सम्बन्धलाई उसले ‘अमेयको बाबु’, ‘अमेयकी आमा’, ‘अमेयकी बहिनी’ र ‘अमेयको सानो भाइ’ मानेर सरल बनाएकी थिई ।
– – – – – – – – – – – – – – – – – – – – –
ससुराली = अमेयको परिवार (२)
– – – – – – – – – – – – – – – – – – – – –
प्रमितिको गोलाकार जीवनको केन्द्र स्थानमा ऊ स्वयम् नै थिई । उसको गोलाकार परिधिमा केवल अमेय थियो । उसले घरका अन्य सदस्यहरुलाई आफ्नो जीवनको पिरधिदेखि बाहिर फाल्न आरम्भ गरी । अतः घरमा कलह सुरू भयो । अमेयले सबैको साथ चाहन्थ्यो तर प्रमितिको हठले गर्दा ऊ घरपरिवारबाट अलग्गियो ।
– – – – – – – – – – – – – – – – – – – – –
परिवार – (अमेय + प्रमिति) = प्रमितिको नयाँ घर संसार (३)
– – – – – – – – – – – – – – – – – – – – –
अमेयको स्वभाव शान्त अनि प्रमितिको स्वभाव चञ्चल र अहङ्कारपूर्ण थियो । अतः घरसंसारको
समीकरणमा समानता असम्भव थियो । प्रमितिको घरसंसार त्रिकोण समान भएको थियो ।
त्रिकोणको एक कुनामा ऊ, दोस्रोमा अमेय अनि तेस्रो कुनामा प्रमितिको घमन्डी स्वभाव थियो ।
– – – – – – – – – – – – – – – – – – – – –
(त्रिकोण )
प्रमितिको घरसंसार = प्रमिति + अमेय + प्रमितिको अहङकार (४)
– – – – – – – – – – – – – – – – – – – – –
एक दिन प्रमिति अमेयसित कारमा सपिङमलबाट घर फर्किरहेकी थिई । प्रमितिले कार चलाएकी थिई अनि अमेय मोबाइलमा बातचित गर्न मस्त थियो । त्यति खेरै बाटोको बिचमा एउटी वृद्धा महिला आइन् । जोरले चिच्याएर अमेयले मना गर्यो अनि प्रमितिलाई भन्यो, ‘प्रमिति गाडी थाम ।’ प्रमितिले गाडी थामी तर पनि ती वृद्धा भुइँमा पल्टिन् ।
गाडीबाट झरेर प्रमितिले वृद्धासित कलह सुरू गरी, ‘कति असावधान भएर डुलेकी बिच बाटोमा । यो तेरो घर हैन । के तैँले देख्न सक्दिनस् ? के गाडीको स्वर सुनिनस् ? के यो बाटोमा तेरो मात्र अधिकार छ ?’
प्रमितिले अरु केही भन्न लागेकी थिई तर अमेयले प्रमितिको गालामा झापड कस्यो । उसले रिसाउँदै भन्यो, ‘चुप बस् ! अब म तेरो एक शब्द पनि सहन गर्न सक्दिनँ । गाडीमा बस् ।’
वृद्धाको समीपमा गई अमेयले उनलाई उठ्नमा सहायता गर्यो । प्रमितिले अनुभव गरी कि गल्ती उसकै थियो । अमेयले वृद्धालाई गाडीमा लिएर अस्पताल गयो । प्रमितिले हीन महसुस गरी ।
– – – – – – – – – – – – – – – – – – – – –
अमेय > प्रमिति (५)
– – – – – – – – – – – – – – – – – – – – –
घर फर्कंदा अमेय शान्त थियो । आफ्नो नराम्रो आचरणको स्पष्टीकरण दिन प्रमितिमा साहस थिएन । उसले अमेयसित बोल्न प्रयास गरी, क्षमा माँगी तर ऊ उसरी नै चुप थियो । यसै गरी पाँचछ दिन बिते । अतः प्रमिति पनि दुःखी थिई ।
– – – – – – – – – – – – – – – – – – – – –
चिन्ता/प्रमिति – प्रमितिको दुःखको
अधिकता (६)
– – – – – – – – – – – – – – – – – – – – –
अर्को दिन प्रमितिकी आमाले उससित फोनमा कुराकानी गरिन् । प्रमितिले आमालाई सम्पूर्ण घटना सुनाई । त्यो सुनेर आमाले भनिन्, ‘छोरी ! तिमीले जस्तो चाहेन्छेउ त्यस्तो समीकरण त गणितमा मात्रै हुन्छ । जीवनको गणित बेग्लै हुन्छ । आफ्नो सुख अरुको सुखसित गुणित भएर सौगुणा बढ्छ तर आफ्नो दुख अरुसित बाँडेर, जीवनको अपूर्व सुख प्राप्त गछ्र्यौ ।’
– – – – – – – – – – – – – – – – – – – – –
(आफ्नो सुख × अरुलाई सुख दिने सङ्कल्प) + (आफ्नो दुःख)
(– – – – – )
(प्रियजनमा बाँड्नु)
= परमसुख (७)
– – – – – – – – – – – – – – – – – – – – –
साँझमा जब अमेय अफिसदेखि घर आयो तब ऊ आश्चर्यचकित भयो । प्रमिति सबै सामानहरु बाकसमा राखेर तयार बसेकी थिई । अमेय जब सोध्न व्याकुल थियो तब प्रमितिले हाँस्दै भनी, ‘हिँड ! आफ्नो घरमा जान चाहन्छु म । तिम्रा आमाबाबुको घर, मेरा आमाबाबुको घर । जहाँबाट हामी दुई निस्केर आएका हौँ ।
प्रमितिले बुझी कि ––
– – – – – – – – – – – – – – – – – – – – –
सुख = प्रमिति + अमेय + अमेयको परिवार (८)
– – – – – – – – – – – – – – – – – – – – –
(संस्कृतबाट अनुवाद: इन्द्र गिरी, सालबारी, भारत)