अमरकुमार प्रधान
(दोलखा, हाल: मुम्बई, भारत)
कोरोना भाइरस, २०१९ को महामारीबाट बच्ने सजिलो उपाय लकडाउन (बन्दाबन्दी) भइदियो । अरु बेला व्यस्त हुनेका लागि पनि यो समय फुर्सद भयो । घरमा बन्द भएर बस्दा कम्प्युटरबाट अनलाइनमा काम गरिन्छ । तैपनि अरु बेलाभन्दा फुुर्सद ज्यादा हुन्छ । तास खेल्ने जुवाडेका लागि त निहुँ नै चाहिँदैन । तर लकडाउनको बेला समय कटाउनका लागि तास खेल्न जान्नेहरुबिच गतिलै निहुँ भएको छ । घरमै बसी २, ३, ४ जनाबिच तास खेल्न सजिलो होइन र ? तासमा एक खेलमा ४ एका १३ पाना गरी ५२ पत्ती हुन्छन् । यसैले यसलाई ५२ पत्तीको गीता पनि भन्छन् । लकडाउनका बेला टाढा जान नसकिने नजिकका छिमेकीले ५२ पत्ती गीता खेल्न आमन्त्रण गरेका छन् । अनेक थरीका अनेक नाममध्ये म्यारिज लोकप्रिय हो । तर मैले तास खेले पनि म्यारिजचाहिँ नखेल्ने सङ्कल्प गरेको छु । तासको म्यारिज शब्दले नै मलाई अभिशप्त बनाउँछ । आज होइन तीन दशकअगाडि देखि नै हो म्यारिज अभिशप्त भएको ।
चार दशकअगाडि म गाउँकै स्कुलमा शिक्षक थिएँ । फुर्सदमा चेसबोर्ड, टेबलटेनिस, भलिबल, फुटबल खेलिन्थ्यो । तर शुक्रबार रातिचाहिँ तास पनि खेलिन्थ्यो । तासका अनेक अनेक नाम थिए । तिनमा म्यारिज पपुलर थियो । हरिप्रसाद चौलागाईं हाम्रा स्कुलका पाले थिए । स्कुलमा दैनिक घण्टी बजाउने, पानी पिलाउने, चियाखाजा खुवाउने सबै कुरा गर्ने उनै थिए । म्यारिज खेलेकै रातमा हामी उनैलाई जितौरी दिन्थ्यौँ । एउटा शुक्रबार हामीहरु साँझ अबेरसम्म तास खेलेर उठुन्जेल उनी रमाई रमाई जितौरी थापिरहेका थिए तर भोलिपल्ट बिहान स्कुलपछाडि शौचालयबाट फर्कंदा उनी बेहोस भेटिए । नजिकमा अस्पताल थिएन । रेडक्रसको स्ट्रेचरमा बोकेर लान खोज्दाखोज्दै स्कुलको हातामा उसको दुःखद मरण भयो ।
स्कुलमा मरेकाले उनको परिवार आई लहरै लागी सद्गत गरे । स्कुलबाट केही रूपियाँ उनको परिवारलाई दिइयो । उनको परिवारलाई सहयोग गर्न भनी विद्यार्थीले चन्दा उठाए जुन जम्मा रू. ११९।– भएको थियो
मृतक चौलागाईंका छोरा लङ्गडा थिए । स्वास्नी पनि पैसा लिन आइन । विद्यार्थीहरु चाहन्थे, पहिले स्कुलमै मरण भएकोले एउटा पाठपूजा लाउनुपर्छ । अनि मात्र बचेको पैसा परिवारलाई दिनुपर्छ । हामीले पनि त्यही विचार गरेथ्यों । तर दिन बित्दै गयो । लङ्गडो छोरो मर्यो रे । विधवा स्वास्नी पोइल गई रे भन्ने सुन्नमा आयो । तैपनि नजिकको हकदार को छ भनेर खोजी गरी उनलाई आमन्त्रण गरी पठायौँ ।
यस्तैमा हेडमास्टर बद्रीमान बी.एड. पढ्न राजधानी जाने हुनुभयो । उहाँले मलाई त्यो रू. ११९।– नासो लगाइदिनुभयो । सर्त त्यही थियो: शान्ति स्वस्ति गरेर मात्र हस्तान्तरण गर्ने । तर बिरामी भएपछि हठात् मैले पनि स्कुल छाड्नु पर्यो । उपचारका लागि राजधानी आएँ । एम् .ए. पढ्न थालेँ । तर त्यो म्यारिजको रू. ११९।– ले मलाई चिमोटिरहन्थ्यो । एम्.ए. उत्तीर्ण गरेपछि लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी एक नम्बरमा नाम निकालेँ । जागिर गतिलै ठाँउमा भयो । भन्सार कार्यालयको हाकिम, आम्दानी पुगेस् पुगेस् हुन्थ्यो ।
स्कुल छाडेको १ दशकपछि अभिभावक दिवस समारोहका बेला पुगेँ । सोही बेला मैले अरु सबै कुरो भनेँ तर म्यारिजको पृष्ठभूमि बताइनँ । हरिप्रसाद चौलागाईं इमानदार पाले भएको बखान गरेँ । उनको परिवारलाई दिनुपर्ने ११९ एक दशकपछि ११,९०० भयो भनेँ । त्यो रकम अब स्कुलको तजविजमा छाडिदिन्छु भनेँ । यसरी एक दशकपछि १०० गुना थपेर स्कुललाई त्यो रकम दिएपछि मेरो मन हलुको भयो ।
यो घटनाको दुई वर्षपछि मलाई त्यस रकमका बारेमा जान्न मन लाग्यो । सोचेँ, मैले छोडिदिएको पैसाले खेलकुद सामाग्री किने कि छात्रवृत्ति दिए । स्कुलका सहायक प्रधानाध्यापक मेरै मामा जगत्नारायण प्रधान हुनुहुन्थ्यो । उहाँलाई सोधेँ । उहाँले खुसुक्क भन्नुभयो, ‘हल्ला नगर भान्जा, त्यो पैसा त एकाउन्टेन्ट भुवनेश्वरले म्यारिज खेलेर सिध्याइदियो नि ।’
मैले रोष प्रकट गरेँ, ‘अनि हेडमास्टर तीर्थजीले के गर्नुभयो नि ?’
‘उहाँले एकदुई फेर भन्नुभएको हो तर त्यसरी विनाशीर्षकको पैसा कसरी आम्दानी बाँध्ने र खर्च गर्ने भनी एकाउन्टेन्टले टारेको टारेकै गरेछ । हल्ला गरे आफ्नै बेइज्जत हुन्छ भनेर उहाँ चुपचाप लाग्नुभयो ।’ मामाले बेलीविस्तार लगाउनुभयो ।
मैले १०० गुना थपेर दिएको नासोको दुरुपयोग भएछ । यो थाहा त्यहाँदेखि म्यारिज खेल्न त परै जाओस् शब्द पनि सुन्न चाहन्नँ ।