वैशाख ९, काठमाडौँ । शब्दाङ्कुर साहित्यप्रधान मासिकले शब्दाङ्कुर कथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्नाका साथै उत्कृष्ट दश कथा विशेष अङ्क सार्वजनिक गरेको छ । काठमाडौँस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम प्रा. कृष्ण गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि गौतमले कथा लेखन साहित्यको प्राचीनतम विधा भएको बताउनुभयो । “प्राचीन समयदेखि नै एसियामा कथा, आख्यानजस्ता विधा प्रशस्त लेखिएका यथेष्ट प्रमाण छन् । दक्षिण एसिया त अझ कथाको भण्डार हो ।” उहाँले थप्नुभयो । गौतमले विश्व साहित्यमा कथा लेखनमा नविनतम प्रयोग प्रशस्त भएको कुरा बताउँदै नेपालमा पनि कथा लेखनमा नयाँ शैली सुरु हुन थालेको बताउनुभयो । उहाँले साहित्यमा उत्तरआधुनिकताको सन्दर्भ कोट्याउदै साहित्य लेखनमा नयाँ प्रयोगहरू हुन आवश्यक रहेको बताउनुभयो ।
समालोचक ज्ञानु अधिकारीले सार्वजनिक भएका उत्कृष्ट दश कथाहरूमाथि समीक्षात्मक धारणा राख्नुभयो । “कथाहरूमा सामाजिक यथार्थ चित्रण प्रशस्त देखिन्छ । अभाव, बेरोजगार, जातीय विभेद, लैङ्गिक समस्या, युवामा देखिने नैरश्यता र विचलनलगायतका विषयको सबल चित्रण सङ्गृहीत कथामा पाइन्छ ।” उहाँले भन्नुभयो । “कुनै पनि सिर्जना आफैमा राम्रो वा खराब हुँदैन, तुलनात्मक रूपमा पाठकले कसरी ग्रहण गर्छन् । यसमा साहित्यिक मूल्य कति छ भन्ने आधारमा तिनको मूल्याङ्कन हुने गर्दछ ।” उहाँले थप्नुभयो । बजारमा धेरै कथाहरू आउने भएकाले केही फरक रूपमा परिचय निर्माण गर्न कथा लेखनमा नवीन शैली र शिल्प आवश्यक रहेको कुरा अधिकारीले औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवम् शब्दाङ्कुर साहित्यप्रधान मासिकका सल्लाहकार प्रा. डा. जीवेन्द्रदेव गिरीले सार्वजनिक कथाहरू धेरै सामाजिक धारामा लेखिएको हुँदा तिनले सामाजिक यथार्थ उजागर गर्ने बताउनुभयो । समाजमा विद्यमान आर्थिक अभाव, बिदेसिन परेको बाध्यताले परिवारिक जीवनमा ल्याएको विखण्डन, जात व्यवस्थाले सिर्जना गरेको सामाजिक चुनौतीहरू कथाभित्र यथार्थ रूपमा चित्रण भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा निर्णायकका तर्फबाट सुदीप पोख्रेलले समेत सङ्क्षिप्त धारणा राख्नुभयो ।
शब्दाङ्कुर साहित्यिक पत्रिकाले २२ औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित प्रतियोगितामा प्रा.डा. अजय रिसालको “मोबाइलको घण्टी” शीर्षक कथाले प्रथम स्थान प्राप्त गर्यो भने नन्दलाल आचार्यको “केटो कथा” कथाले दोस्रो स्थान र अज्ञात युवकको “दुर्व्यवहार” कथाले तेस्रो स्थान प्राप्त गरेको थियो । विजेताहरूलाई क्रमशः १०, ६ र ५ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागीहरूलाई स्वागत भाषण सम्पादक टेकेन्द्र चेम्जोङले, कार्यक्रमउपर प्रकाश सम्पादक गोविन्द घिमिरेले, धन्यवाद ज्ञापन व्यवस्थापक तुलसी कन्दङ्वाले गर्नुभएको
कार्यक्रमको सञ्चालन प्रधान सम्पादक धीरकुमार श्रेष्ठले गर्नुभएको थियो ।

 

Facebook Comments Box

Similar Posts