काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७८ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि गणेश घिमिरे ‘मार्मिक’का एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा वरिष्ठ राजनीतिज्ञ, साहित्यकार एवम् सामाजिक रूपान्तरण अभियानकी प्रखर अभियन्ता शान्ता मानवी उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, सचिव राममणि ढुङ्गेल, डा.लेखप्रसाद निरौला, वरिष्ठ कवि वासुदेव अधिकारी, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी ‘एलाक’, साहित्य सुधा नेपालकी अध्यक्ष कल्पना काफ्ले, वरिष्ठ साहित्यकार डम्बर घिमिरे, कवि कृष्णदेव रिमाल, कविनायककी जीवनसङ्गिनी रेखा घिमिरे अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ अविरल जनसाहित्य यत्रा परिचालन समिति सदस्य देबु लुइटेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कविनायक गणेश घिमिरे ‘मार्मिक’को व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै पुराना स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई यो विशेष समारोहमा ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले वि.सं.२०१५ सालमा खोटाङ जिल्लाको हौँचुरमा जन्मिएर हाल भक्तपुर जिल्लामा बसोवास गरिरहेका; राष्ट्रिय जनसाहित्यिक सङ्घ उपत्यका समन्वय समिति, प्रगतिशील लेखक सङ्घ भक्तपुर जिल्ला अध्यक्ष, साहित्य सुधा नेपालका उपाध्यक्षलगायत धेरैओटा सङ्घसंस्थामा क्रियाशीलता देखाइरहेका; २०४१ सालदेखि साहित्यसाधनामा लागिरहेका, स्रष्टा व्यक्तित्व र सङ्गठक व्यक्तित्वलाई समानरूपमा अगाडि बढाइरहेका, साहित्यमा प्रगतिशील विचारलाई घोलेर सामाजिक रूपान्तरणको विश्वदृष्टिकोण राख्ने, फुटकर कवितादेखि खण्डकाव्य हुँदै महाकाव्यसमेत लेखिसकेका अत्यन्त लगनशील स्रष्टालाई यो शृङ्खलामा प्रस्तुत गरेका छौँ भन्ने धारणा राख्नुभयो ।
समारोहको अध्यक्षता गर्दै नर्मदेश्वरी सत्यालले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिइरहिएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा र सङ्गठनका माध्यमबाट पनि प्रगतिवादी वैचारिकता सम्प्रेषण गर्दै सामाजिक रूपान्तरण अभियानमा सशक्तढङ्गले सक्रियता देखाइरहेका सक्रिय एवम् लगनशील स्रष्टा गणेश घिमिरे ‘मार्मिक’लाई प्रस्तुत गरिएको छ । घिमिरे विचार र व्यवहारमा तालमेल गर्ने प्रयत्न गर्ने र गम्भीरताका साथ समाजका कुरूप यथार्थलाई सिर्जनामा उतार्ने र रूपान्तरणका पक्षमा वैचारिकता सम्प्रेषण गर्ने स्रष्टा पनि भएको धारणा राख्नुभयो र कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभयो ।
कविनायक गणेश घिमिरे ‘मार्मिक’ले विगत छ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्दछु । समाजमा दुःख पाएका वर्गले भोगेका समस्या, पीडा र उनीहरूको जीवनभोगाइले चिमोटेपछि ती सबैको प्रकटीकरणको माध्यम साहित्यलाई बनाएको धारणासहित कविताको रचनागर्भको पनि जानकारी गराउँदै ‘पाङ्ग्रेको कहिरन’, ‘अठोट’, ‘माटो र पूmलहरू’ र ‘भूगोलमा नअटाएको देश’ शीर्षकका गद्यलयका अनि अनुष्टुप छन्दको ‘स्वावलम्बन’ शीर्षकको, ‘शार्दूलविक्रीडित छन्दको ‘अन्तरिक्षबाट’ शीर्षकको र भुजङ्गप्रयात छन्दको ‘हाम्रा जातपात’ शीर्षकका अत्यन्त सरल तर सशक्त वैचारिकता सम्प्रेषण गरिएका सुन्दर एवम् कलात्मक कविता वाचन गर्नुभयो । सहयोगी कविहरू डम्बर पहाडी ‘एलाक’ले ‘हामी मान्छे होइन र ?’ शीर्षकको गद्यलयको, रूपक अलङ्कारले शार्दूलविक्रीडित छन्दको ‘को भन्नसक्छौ भन !’ शीर्षकको, कवि देबु लुइटेलले अनुष्टुप छन्दको ‘वृद्धापुकार’ शीर्षककोे, कवि कल्पना काफ्लेले ‘बालविधवाको बयान’ शीर्षकको गद्यलयको त्यस्तै सशक्त कविता वाचन गर्नुभयो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै अतिथि डा.देखप्रसाद निरौलाले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ७८ औँ शृङ्खलामा पुगेको छ । वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने पनि यो अभियानको उद्देश्य रहेको छ । आजका कविनायक गणेश घिमिरे ‘मार्मिक’को लगभग चार दशकदेखिको साधनायात्रा रहेको छ । समकालीन कवितामा अलमल, दुर्वाेध्य, गन्तव्यहीनता देखिइरहेको सन्दर्भमा गणेश घिमिरे ‘मार्मिक’का कविता भने नामजस्तै मार्मिक रहेका छन् । कवितामा विद्रोहात्मक चेतना प्रबल रहेको छ । बालविधवाको बयानले त झनै नेपाली रुढिग्रस्त समाजको मार्मिक एवम् जीवन्त चित्र उतारेको छ । छोइछिटोको चरम विकृतिलाई कवितामा उजागर गर्दै हाम्रो समाजले जोगाइरहेको छाउपडीजस्तो कुरूप संस्कारको अन्त्यको आग्रह गरिएको छ । मान्छेको अस्तित्व कुकुरको जत्ति पनि नभएको नेपाली समाज त्यसमा पनि तथाकथित सहरी समाजको नाङ्गो चित्र कवितामा उतारिएको छ । सहरी सभ्यताको विकास भएसँगै प्राण छउन्जेल परिवारका सदस्यले आफ्ना जन्मदिने आमाबाबुको उपहास गर्ने र मृत्युपश्चात् तिनै पितृका निमित्त भनी गरिने अनेक प्रकारका ढोँगका प्रति आक्रोश व्यक्त गरिएको छ । बेरोजगारी तथा अवसरको अभावका कारण नेपाली युवाले विदेश जानुपर्ने बाध्यात्मक परिवेशको पीडालाई पनि कवितामा उजागर गरिएको छ । नेपाली राजनीति परिवर्तन गरियो भनिए पनि अपेक्षाकृत रूपान्तरण हुननसकेको अर्थात् रूपान्तरणका प्रयत्न सार्थक नभइरहेको अवस्थाका प्रति चिन्ताभाव व्यक्त गरिएको छ । त्यसैगरी नेपाली राजनीतिमा खुट्टा तान्ने प्रवृत्तिका प्रति व्यङ्ग्य गरिएको छ । वैचारिक सुस्पष्टताका साथ देशभक्तिका पक्षमा र स्वावलम्बनका पक्षमा वकालत गरिएको छ । कवितामा कविले विम्बप्रयोगको सबलता र सचेतता दुबै उजागर गरेका छन् । यो धरती सबैको साझा हो भन्ने विश्वदृष्टिकोण र यो धरतीको दुरुपयोग होइन सदुपयोग गर्नुपर्छ भन्ने मान्यता कवितामा अघि सारिएको छ र्। वैचारिक एवम् दार्शनिक उचाइका गम्भीर कविता वाचन भएका छन् । कविता मिठासपूर्ण पनि छन् र वैचारिक सघनता पनि त्यत्तिकै रहेको छ । महाकाव्यको अंशका रूपमा यहाँ वाचन गरिएका दुइटा कविता भने स्वतन्त्र कविता नभएका हुँदा तिनका सट्टामा अरू नै स्वतन्त्र कविता वाचन गरेको भए हुने थियो भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि शान्ता मानवीले आजको यो विशेष शृङ्खलामा उपस्थित भएर कविता सुनिरहँदा म आफैँले भोगेका पुराना दिनसमेत सम्झिनपुगेकी छु । सकारात्मक कुरा समाजका असल वा खराब जुनसकै व्यक्ति वा समुदायबाट पनि लिनुपर्दछ । मानवजीवनलाई मानवसमाजसँग जोड्ने सत्कर्मको अभियान हो रूपान्तरण । आजका कवितामा पनि आएका विषय र हाम्रो समाजको जातीय संरचनालाई हेर्दा जनजातिमा भन्दा पनि क्षेत्री बाहुन सम्प्रदायमा सङ्कीर्णता बढी हो किजस्तो लाग्छ त्यसैले तुलनात्मक अध्ययन र रूपान्तरणको प्रयत्न आवश्यक छ । राजनीतिक रूपमा भएको परिवर्तनलाई सही संयोजन गर्ननसकिएको यथार्थ हो त्यसैले सामाजिक रूपान्तरणको अभियानलाई साहित्यका क्षेत्रबाट वा माध्यमबाट बढी प्रभावकारी बनाउनुपर्ने आजको आवश्यकता रहेको छ । आजका कविता सान्दर्भिक र मार्मिक छन् तर युवा पलायनको कुरामा चाहिँ पलायनका कारणको वर्गीकरण गरिनु आवश्यक छ । कोही रहरले बाहिरिने पनि छन् र धेरै चाहिँ ठुलो सपना देखेर बाहिरिने पनि छन्, बाध्यताले युवा बाहिरिनुपर्ने अवस्थाका अन्त चाहिँ सरकारी इमानदार प्रयत्नबाट मात्र सम्भव हुन्छ । समग्रमा आजको यो विशेष समारोह भने निकै महत्त्वपूर्ण रह्यो भन्ने धारणा राख्नुभयो ।
विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका साथै बौद्धिकतासमेतका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने ‘गणेश घिमिरे ‘मार्मिक’ले आफ्ना सिर्जनामा हाम्रो समाजका नारीहरूले, तल्लो वर्गका श्रमजीवी जनताले भोगेका सम्पूर्ण भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको, उत्पीडनको मर्मान्त एवम् जीवन्त चित्रण गरेका छन् । सिर्जना र सङ्गठनका माध्यमबाट वैचारिकता सम्प्रेषण गर्दै रूपान्तरणको अभियानमा समर्पित रहेका अनि सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने अहिलेको समयका अत्यन्त लगनशील, सक्रिय, गुणग्राही स्रष्टा घिमिरेका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अर्काे महिनामा ७९ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यका माध्यमबाट र सामाजिक रूपान्तरण अभियानमा योगदान गरिरहनुभएका कुशल स्रष्टा डा.रमेश शुभेच्छुलाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Facebook Comments Box

Similar Posts