प्रा.डा. अजय रिसाल
(२०३५ कार्तिक ५; १९७८ अक्टोबर २४, ललितपुर)

‘बाबा ! मेरो स्कुलको फिस नतिरे त यसपालि परीक्षामा बस्न नदिने रे मलाई । एक वर्षभरिकै तिर्न बाँकी रहेछ । छिटो तिरिदिनुस् है बाबा …’
दिनभरिको कामले शिथिल भएर कुर्सीमा नै यसो झकाउन खोजेका रामप्रसादलाई छोरीको यो मोबाइल मेसेजले झसङ्ङ बनायो । दशपन्ध्रचोटि त उसैको मिसकल आएको रहेछ ।
हुन त प्रत्येक वर्ष यस्तै नै हुन्थ्यो ।
उनी वर्षभरि जम्मा भएको पैसा लगेर छोरीको स्कुलमा एकैपटक जम्मा गरिदिन्थे अनि छोरीको रोकिएको रिजल्ट बोकेर आउँथे । अनि छोरीलाई कक्षा चढेकोमा बधाई दिएर फुरूक्कै पारिदिन्थे ।
पोहोरसम्म त उनको बैङ्कमा चौकीदारीको जागिर थियो । अलि अलि बचत हुन्थ्यो अनि त्यही पैसा छोरीको स्कुलमा काम लाग्थ्यो । यसपालि त त्यही जागिर पनि छैन ।
‘सदरमुकाम आएर गरेको कुल्लीको आकाशे खेतीसरहको कामले के खानू ? के बचत गर्नू ?’ उनी सोचाइमा पर्न थाले ।
तीन कक्षा पढ्दै गरेकी आफ्नी एक मात्र सन्तान, अबोध छोरीको अनुहार झलझली उनको आँखाअगाडि आयो ।
आफ्ना चिनेजानेका बन्धुले गाउँमै खोलेको बोर्डिङमा ठुलै बिन्तीभाउ गरेर छोरीलाई भर्ना गरिदिएका थिए उनले । जतिसुकै हेला सहेर अनि भनाइ खाएर पनि छोरीको पढाइमा तलमाथि हुन दिएका थिएनन् उनले । जसोतसो उसको किताबकापी, विद्यालय पोसाक, झोला आदि साधन जुटाइदिएका थिए । वर्षमा एकैचोटिमा फिस तिरेर भए पनि कक्षा बढाउन सफल भइरहेका थिए पोहोरसम्म ।
‘तर यसपालि ? कसरी तिर्ने उसको फिस ?’ उनले खुइय्य सुस्केरा हाले ।
छोरीले पनि उनको मिहिनेतमा पानी फेर्न दिएकी थिइनन् । राम्रै गरिरहेकी थिइन् । आफू अनपढ गँवार भए पनि छोरीलाई पढाई लेखाई अफिसर बनाउने उनको धोको थियो ।
‘तर तीन कक्षामा नै रोकिने भयो छोरीको भविष्य ।’ टाउकोमा हात राखे उनले ।
‘जाँच दिन नपाए के गर्ली ती सानी छोरीले ? उसको मनोविज्ञान कस्तो होला ? कति धिक्कार्ली मलाई त्यसले ? कस्तो पापी बाउ म ?’ उनको मनमा विचारको लहर मच्चिँदै गयो ।
‘किन जन्माएँ होला मैले त्यसलाई ? पाल्न नसक्ने, राम्रो खानलाउन दिन नसक्ने, पढाइलेखाइ गराउन नसक्ने बाबुआमालाई सन्तान जन्माउने कुनै अधिकार छैन ।’ उनलाई आफैदेखि रिस उठ्न थाल्यो ।
‘सम्पत्तिको नाममा हाम्रो के छ र ? पोहोर साल चौकीदारको जागिर खोसिएपछि श्रीमतीको बाँकी गहना बेचेर पसल सुरू गर्न खोजेका थिए त्यसमा पनि केही प्रगति गर्न सकेनन् । ऊ नै बिरामी भई । उसैको उपचार गर्न काठमाडौँ लानुपर्‍यो ।’
‘द्वन्द्वकालमा गोली खाएर पनि बाँचेकी ऊ ।’
‘पोहोर साल त मेरो महादशा नै रहेछ । हुँदो नहुँदो भाउँतो आइलागेर त्यत्रो वर्षदेखि खाइरहेको जागिरबाट हात धुनुप¥यो । श्रीमतीको पुरानो घाउ बल्झेर उसको उपचारमा अलिकति भएको खेत, वस्तुभाउ, पसल सब बेच्नुपर्‍यो । फेरि त्यो पापिनीले पनि यो संसार नै छोडेर गइहाली …’ चार महिनाअघि मृत्यु भएकी श्रीमतीको यादमा उनको आँखा छचल्किन थाल्यो ।
‘त्यो टुहुरी छोरीलाई मावल बाजेबज्यैकहाँ छाडेर के के न गरौँला भनेर सदरमुकाम हान्निएको म । अब त्यसलाई पढाउन पनि नसक्ने भएँ । थुक्क ! मेरो जुनी ।’ आफैलाई धिक्कार्न थाले उनी ।
‘ती मावल बाजेबज्यैसँग पनि के नै पो छ र ? पहिले पहिले त तिनले पनि सहयोग गरेका हुन् । म अभागी बाबुले गर्न नसकेको ती वृद्ध बाजेबज्यैले कति पो गरून् र ?’
‘सम्पत्तिको नाममा अब त केही पनि छैन । सदरमुकाम आउँदा पुरानो मोबाइल दुईओटा किनेर एउटा आफूलाई अनि अर्को ‘के कसो पर्ला ?’ भनेर छोरीलाई दिएर आएको थिएँ । यी पुराना मोबाइलहरु के बिक्लान् र ? बिके पनि कति पो आउला र ?’ उद्विग्न मनले मोबाइल ओल्टाईपल्टाई हेर्न थाले उनी ।
त्यही मोबाइलमा आएको आठ वर्षे छोरीको मेसेज दोहो¥याईतेह¥याई पढ्न थाले । त्यो मेसेज पढ्दापढ्दै विगतका आफ्ना जीवनका एक एक कथाव्यथा उनको स्मृतिपटलमा नाच्न थाले ।
आमाबाबुका एक मात्र सन्तान उनी अर्थात् रामप्रसाद । त्यही नाम पनि ‘कसले राखिदिएका हुन् ?’ उनलाई थाहा छैन । पचास वर्षका उनी सानैमा टुहुरा भएका रे । ‘बाबुआमा कहिले अनि कसरी बितेका हुन् ?’ उनलाई केही याद छैन । याद आउँछ त आफू छसात वर्षको हुँदा गाउँका मुखियाको घरमा काम गरेका क्षणहरु । त्यही घरको सरसफाइ, भाँडाबर्तन, भातभान्सा, लुगा धुने, बढार्ने, अलि अलि कुटोकोदालो गर्दैमा उनका बालापन बिते । मुखिनी बज्यैले जुठोपुरो जे जे दिन्थिन्, हात थापेर खान्थे । मुखियाकै गोठमा सुत्थे । मुखियाका छोरानातिसँग खेल्नेकुद्ने गर्थे । पढ्नुपर्छ भन्ने चेतना गाउँघरमा खासै थिएन । मुखियाका छोरानाति घरैमा कनीकुथी पढिटोपल्थे । उनले आफै पढ्ने त कुरै भएन ।
जुँगा पलाउन थालेदेखि भने उनले मुखियाको खेतबारीको काम पनि गर्नुपर्ने भयो । बिहान सबेरै उठेदेखि राति अबेर नसुतेसम्म कामकै चाप रहन्थ्यो । ‘आफू मान्छे हुँ कि हलमा बाँधिएको एक्लो गोरू ?’ उनलाई त्यो समेत थाहा हुँदैनथ्यो । बँधुवा मजदुरका रुपमा बितेको थियो उनको किशोर वय । मुखियाका परिवारले उनलाई दुई छाक पेटभरि भने खान दिन्थे । चाडबाडको समयमा मिठोमसिनो खान अनि नयाँ लुगा लगाउन पनि पाउँथे ।
बाइसतेइस वर्षका भएपछि भने गाउँघरमा अलि अलि परिवर्तन हुन थालेको जस्तो भएको थियो । नयाँ नयाँ मानिसहरु गाउँतिर आउने, भेलासभा गर्ने, समूह समूह बनाएर हिँड्ने, झन्डा बोक्ने अदि गर्न थालेका थिए । प्रहरीसेनाहरु पनि बाक्लै देखिने गर्थे । मुखियाजस्ता ठुलाबडाहरु अलि अलि हच्किएजस्तो, डराएजस्तो गर्न थालेका थिए । मुखियामुखिनीले उनलाई हप्काउनेदप्काउने, बढी काममा दलाउने आदि प्रवृत्तिमा अलिकति कमी ल्याएजस्तो गर्न थालेका थिए । के के फरकजस्तो देखिन थालेको थियो गाउँघरतिर तर उनले राम्ररी बुझ्न सकेका थिएनन् ।
करिब बिस वर्षजस्तो भयो होला । एकदिन मुखियाको घरको आँगनमा चारपाँच जना नौला मान्छेहरु जम्मा भए । मुखियाले अह्राएमुताबिक उनले तिनीहरुका लागि चियानास्ता लिएर गए । त्यहाँ अलि चर्काचर्की कुरो भएको धुइँरो धुइँरो सम्झना छ उनलाई । ती नौला मान्छेले केही लाख पैसा मागेको अनि मुखियाले ‘त्यति धेरै त सक्दिनँ म’ भनी अलिकति घटाइदिन अनुरोध गरेको सम्झना छ उनलाई । तर ती नौला मान्छेहरुले चियानास्ता गरिसकेपछि ‘त्यति चन्दा दिएनौ भने हामी जनकारबाही गर्ने छौँ’ भन्दै मुखियालाई धम्काएर गए । तिनका जुठा भाँडा लिन जाँदा मुखियाबाको अनुहारको कान्ति हराएर फुङ्ङ उडेकोझैँ देखिएको थियो ।
त्यही दिन राति ती नौला मान्छेहरु उनी सुतिरहेको गोठमा आएर उनलाई जगाए । त्यति राति दिउँसो मुखियाबालाई समेत धम्की दिन सक्ने मान्छेहरु आएर उनलाई बिउँझाउँदा उनी डराए । उनी डराएको देखेर ‘नडराउनू’ भने तीमध्ये एक जनाले । अनि उनीहरुले आफूहरु ‘देशमा आमूल परिवर्तन ल्याउन खोज्ने पार्टी’का कार्यकर्ताहरु भएको भनी परिचय दिए । अलि अलि त त्यो पार्टीका बारेमा उनले पनि बुझिसकेका थिए । त्यस पार्टीले ‘उनीजस्ता बँधुवा मजदुर, निम्न तहका जनता, गरिब, घरबारविहीनका पक्षमा काम गर्ने, मुखियाजस्ता जमिनदारको सम्पत्ति लुटेर भए पनि गरिबगुरूवाको उद्धार गर्ने’ आदि कुरा सुनेका थिए । अलि अलि गाउँघरमा गरिबको पक्षमा काम हुँदै गइरहेको पनि देखेका थिए । त्यसैले ती नौला व्यक्तिहरुप्रति अलि अलि आशावादी अनि आकर्षित हुँदै गएका थिए उनी ।
रातमा आएका नौला व्यक्तिहरुले पालैपालो बोल्न थाले । सारमा उनीहरुको कुरो यस्तो थियो:
‘हामी अब यो मुलुकबाट साहु, महाजन, जमिनदार र सामन्तको सत्ता सधैँका लागि समाप्त गर्ने छौँ । अब हामीजस्ता गरिबनिमुखाको राम्रो दिन आउँदै छ । त्यसका लागि तपाईंजस्ता मजदुर वर्गले साथ दिनुपर्छ । मुखिया र साहुको घरमा काम गर्ने तपाईंजस्ता नोकरचाकरले साथ दिएमा ती साहुमहाजनलाई सजिलै घुँडा टेकाउन सकिन्छ ।’
मुखियामुखिनीको सधैँको कचकच, कामको चाप अनि मुखियाका छोरानातिको हेपाइ आदिका कारण उनी पनि यो बँधुवासरहको जीवनदेखि वाक्क भइसकेका थिए । त्यसैले ती नौला क्रान्तिकारीको कुरोले उनको दिमागमा पनि केही न केही प्रभाव पार्न थालिसकेको थियो ।
तिनीहरुले उनलाई पार्टीमा लाग्न आह्वान गरे । उनले ‘मौन स्वीकृति’ दिएको जस्तै भयो ।
अनि त्यो रात त्यहाँ आउनुको कारण बताउँदै तिनीहरुले भने, ‘तपाईंको मालिकले हाम्रो शालीन आग्रहलाई टेरपुच्छर लगाएन । केही लाख चन्दा हाम्रो पार्टीलाई दिन मानेन । त्यसैले तिनलाई भौतिक कारबाही गर्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ । यस कार्यमा तपाईंले सहयोग गर्नुपर्‍यो ।’
‘भैतिक कारबाही’ शब्द उनले नबुझेजस्तो ठानेर तीमध्येका एकले भने, ‘हामी तपाईंको मालिकको हत्या गर्दै छौँ । तपाईंले यसमा सहयोग गर्नुपर्‍यो ।’
यो वाक्य सुन्नासाथ उनको सातोपुत्लो उड्यो ।
तीमध्येका अर्कोले बिस्तारै भने, ‘धन्दा नमान्नुहोस् । यो काम गर्न तपाईंलाई गाह्रो हुन्छ भन्ने कुरा हामी बुझ्छौँ । त्यसैले मुखियाको हत्या नै गर्ने काम भने तपाईंलाई गर्न भन्दैनौँ । भोलि बेलुका मुखियाको मूल ढोका खुल्लै राखिदिनुहोला । यति सहयोग गरिदिए पुग्छ अहिलेलाई । भोलि यति नै बेलातिर आएर हामी उसको काम तमाम गरिदिन्छौँ । इच्छा छ भने त्यसपछि तपाईं हामीसँग हिँड्न सक्नुहुने छ । अहिलेलाई तपाईंको खानेबस्ने व्यवस्था गर्ने जिम्मा हाम्रो भो । पछि हाम्रो सरकार आएपछि तपाईंलाई हेर्ने नै छौँ । अहिलेलाई हामी जान्छौँ । भोलि भेटौँला ।’
उनको उत्तरको प्रतीक्षा नगरी तिनीहरु हिँडे ।
त्यो रात उनलाई पटक्कै निद्रा लागेन । भोलिको दिन आउन वर्षौंसरह भयो । राति मुखियाको कोठामा पानी राखिदिएर तिनको अन्तिम दर्शन गरे उनले । अनि हिजोका पार्टीवालाहरुले भनेझैँ मुखियाको घरको मूल ढोका खुल्लै राखिदिए । उनी गोठतिर गए । निद्रा त कसरी पो आओस् ?
मध्यरात १२ बजेतिर ‘ऐय्या मार्यो’ भन्ने मुखियाको घरतिरबाट आवाज आयो । त्यसपछि गुरूरू मान्छेहरु कुदेको आवाज आयो । उनी पनि गोठबाट निस्किएर त्यही भाग्ने हुलमा मिसिए । यसरी २३/२४ वर्षे उमेरमा उनी पनि ‘सामन्ती सफाया अभियान चलाउने’ पार्टीमा समाविष्ट भए ।
त्यसपछिका ५/६ वर्षका दुःखकष्टलाई उनले सम्झन चाहेनन् । झन्डै झन्डै मृत्युको मुखमा पुगिसकेका थिए । त्यही सङ्घर्षको क्षणमा उनले प्रेम गर्न थालेका महिलासँग बिहे गरे ।
४० वर्षे उमेरमा बिहे गर्दा उनको पार्टी सत्तामा पुगिसकेको थियो तर उनी र उनकी श्रीमती अयोग्य लडाकुको दर्जामा परिसकेका थिए । उनकी श्रीमतीको शरीरमा गोलीको घाउ अनि उनले आश्रयदातालाई मार्न सहयोग गरेको पश्चात्ताप एवम् आफूलाई पार्टीनेता भनाउनेहरुले दिएको धोकाको मानसिक आघात बोकेर बाँच्न सिकिसकेका थिए ।
बिहेको दुई वर्षजति पछि उनीहरुको सन्तान ‘छोरी’ जन्मी । अब तीन जनाको मुखमा माड लाउने मेलोको खोजीमा लागे उनी तर आश्वासन मात्र पाए, जागिर कतै पाएनन् ।
त्यसै व्रmममा गाउँमा एउटा प्राइभेट बैङ्कको शाखा खुल्ने भयो । रोईकराई गरेर त्यहाँको चौकीदारी गर्ने काम पाए । धेरै कमाइ नभए पनि रूखोसुखो खान अनि छोरीलाई पढाउन पुग्ने भएकोले उत्साहित भएर काममा लागिरहेकै थिए ।
तर गत वर्षको त्यस दिनले उनको बनिबनाउ शान्त जीवनमा तुषारापात गरिदियो । एक रात सदाझैँ उनी बैङ्कको गार्डरूममा सुतिरहेका थिए । कसैले उनको कोठामा ताल्चा लगाइदियो । भोलिपल्ट बिउँझिँदा उनले आफूलाई थुनिएको पाए । हल्लाखल्ला गरेपछि गाउँका मानिसले उनको ढोकाको ताला त फोडिदिए तर बैङ्कको अवस्था हेरिनसक्नु भएको थियो । बैङ्क पूरै लुटिएछ । त्यसपछि उनलाई ‘गैरजिम्मेवार गार्ड’ ठहर गरी सफाइको मौकाबिना नदिई निष्काषित गरियो ।
यी सबै घटना सम्झिँदा उनको आँखाभरि आँसु आइरहेको थियो ।
त्यसपछि केही सम्झेझैँ गरेर उनी नबोली चुपचाप कोठाबाट बाहिर निस्के ।
भोलिपल्ट बिहान सदरमुकामको केन्द्रमा रहेको रूखमा एउटा मान्छे झुन्डिरहेको अवस्थामा फेला पर्‍यो । सहरमा त्यो मान्छेलाई चिन्ने कोही थिएन । त्यस्ता कुल्ली सहरमा कति थिए कति ? तर त्यो मान्छेले लगाइरहेको पाइन्टको खल्तीमा रहेको मोबाइलको घण्टी भने अघिदेखि नै एकनासले बजिरहेको थियो ।
(प्रथम स्थान प्राप्त)

(गैरआख्यान, कविता, समालोचना, मनोसामाजिक विषय लेखनमा संलग्न रिसालका गीतामा मनका कुरा (आध्यात्मिक निबन्धसङ्ग्रह २०७८) प्रकाशित छ ।)

Facebook Comments Box

Similar Posts