अज्ञात युवक
(२०३३/०७/१९ गोकर्णेश्वर ३, सुन्ताखान, काठमाडौँ)
मन विचलित भएको छ, हंसले ठाउँ छाड्ला जस्तो लाग्छ । ममाथिको आकाशले मलाई नै थिच्दै छ, धर्ती भास्सिँदै छ, म उभिएको जमिनले मलाई छोड्दै छ । पिपको आहालमा फस्दै छु म, मेरा दायाँबायाँ बस्नेहरु मलाई गिज्याइरहेछन् । म एउटा गहिरो भासमा भासिँदै छु, जहाँबाट न पार पाउन सकिन्छ न त जीवन ! एउटा कठिन समय मेरा सामु ठिङ्ग खडा छ, यतिखेर त्यही समयसँगै खडा उभिएको निर्जीव प्राणी भएको छु म ।
म एक व्यापारी, समाजसेवी, राजनीतिज्ञ ! बस्, एक कुशल व्यावहारिक मानव । मेरो आफ्नै घर छ, परिवार छ; बाआमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी नातासम्बन्धी सब छन् । उमेरले आधाआधीको नेटो काटिसकेको छ, कपालदाह्री तिलचामले भएका छन् । आँखाले चस्मा माग्न थालेको छ । शरीरका प्रत्येक अङ्गप्रत्यङ्ग कमजोर भएका छन् । म एक सामाजिक प्राणी; समाजमा मेरो छुट्टै मान छ, सम्मान छ । समाजसेवाले झन् मेरो मान बढाएको छ । एक राजनीतिज्ञका रुपमा पनि उदीयमान नागरिक हुँ म । मलाई राजनीतिले पनि व्रmमशः साथ दिँदै छ । तर अब नागरिक होइन, अपराधी हुँदै छु म ।
बाआमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी नातासम्बन्धी सबले कसरी सुन्न सक्छन्; कसरी सुन्छन्; के पचाउन सक्छन्— अपराधी छोरो, दाइ, भाइ, पति, बाबु ! कसरी स्विकार्न सक्छ मेरो परिवारले ? समाजको आँखामा कहिल्यै नबिझाएको मान्छे म, गाउँठाउँको सम्मानित मान्छे । अब एउटा मुद्दामा अपराधी साबित हुँदै छु । लाञ्छनाले मलाई भासतिर भास्दै छ । म मान्छे कम हुँदै छु । मेरा आफन्त एउटा अपराधीको आफन्त हुँदै छन् । कसरी सुन्न सक्छन्, कसरी पत्याउन सक्छन्, कसरी पचाउन सक्छन् । आरोपप्रत्यारोपबाट टाढा रहेको मान्छे, अबको केही दिनमै चिसो छिँडीको बास बस्ने मान्छे । कसरी आफ्नो मान्छे रहन सक्छ र !
‘बाबु, के गरिस् तैँले यो ?’
‘के यो सत्य हो ?’
‘किन गरिस् यस्तो नीच काम ?’
‘कुन मुख लिएर हामीले समाजमा जिउने ?’
यस्ता अनगिन्ती प्रश्नले मेरो मथिङ्गल घुमाउन थाल्छ । बलात्कारी ठहरिने छु । त्यसपछिको भुक्तान गर्नुपर्ने सजायले औँलो ठड्याइरहेछ । क्रमश: आफन्तहरु टाढिने छन्, म एक्लो हुने छु, जेलको चिसो छिँडीमा बसेर आउने समयलाई नियालिरहेको हुने छु ।
‘किन, कसरी गरेँ दुर्व्यवहार मैले ?’
म आफैसँग प्रश्न गरिरहेको हुने छु । यस्ता विभिन्न प्रश्नले मलाई निल्न खोज्छन्, म हार्न सक्छु जीवनदेखि र पल पल पुकारा गरिरहने छु— मृत्यु । यो सब हुनुभन्दा पहिल्यै म मेरो मृत्यु कुर्न चाहन्छु । अदालत पुग्नुभन्दा अगाडि वा प्रमाणित हुनुभन्दा अगावै मलाई जीवनदेखि टाढा हुन मन छ । दुर्व्यवहारको आरोप लाग्नुभन्दा अगावै ‘ए भगवान्, मलाई तिम्रो प्यारो बनाऊ न’ त्यसका लागि म यो आरोप सुन्नुभन्दा पहिल्यै जे पनि गर्न तयार छु । ती सबको निराकरण सायद हुन सक्छ— आत्महत्या ! तर आत्महत्या कायर र लाछीले गर्छ । म दुवै परिनँ । अझ आत्महत्यापछिको मेरो परिवारले झेल्नुपर्ने विभिन्न लाञ्छनाले क्रमश: मेरा आँखा र कानमा फिल्मी श्रव्यदृश्य बनेर फ्लासब्याक हानिरहन्छ । त्यसैले जे पर्छ त्यो भोग्न तयार हुन्छु म ।
मलाई भोलि कठघरामा विभिन्न प्रश्नले घेर्ने छन् । कसरी दिन सक्छु म ती सब प्रश्नको जबाफ, त्यतिखेर म बलात्कारीका रुपमा कठघरामा उभिएर सफाइका लागि अनुनयविनय गरिरहेको हुने छु । सत्य स्पष्ट पार्न खोजिरहने छु ।
‘हो श्रीमान्, मैले बलात्कार गरेको हुँ । त्यो बलात्कार गर्न बाध्य पार्ने उहाँ नै हो । जवानीमा जब उहाँका इच्छा पूरा गरिरहन्थेँ त्यतिखेरसम्म हामीले गोप्य खेल खेल्यौँ क्षणिक आनन्दको तर आज उमेरले नेटो काटेपछि पनि उहाँ त्यो पुरानो सम्बन्धको आनन्द मबाट लुट्न चाहनुहुन्छ म बेलाकुबेला त्यो घृणित खेल खेल्न नसक्ने भएपछि दुर्व्यवहार भयो ।’
मेरा कुराले श्रीमान्ले पनि मेरो र उनको मुहारमा सायद केही बुझेर केही नबुझेर पालैपालो हेर्ने छन् । म श्रीमान्बाट आउने आदेशको पर्खाइको कल्पनामा डुब्न पुगेछु ।
आज एक व्यापारिक मित्रको छोरोको विवाहभोजमा सामेल हुन पुगेँ । मित्रदम्पती, उनका छोराबुहारीसँगको भेटघाटपछि मित्रकै आग्रहमा टेबुलमा बसेर कोक र स्न्याक्सको स्वाद लिँदै थिएँ । एउटी नारीले अभिवादनले भनिन्, ‘सर, नमस्कार ! चिन्नुहुन्छ ?’
अपरिचित भिडमा सम्बन्धीभन्दा टाढाको भव्य जमघटमा पनि मलाई चिन्ने कोही रहेछ । झस्याङ्ग हुन्छु म, यो परिचित आवाजले ।
‘सायद आवाजले चिनेँ नत्र… ।’ म सजिलै जबाफ फर्काउँछु ।
‘के बिस वर्ष भएन हाम्रो भेट नभएको ! यति लामो समयपछि भेट्दा पनि तपाईं उस्तै ?’
सामान्य पहिरनको सामान्य मान्छे म । आज यो भोजमा पनि सामान्य पहिरनमै उपस्थित छु । सायद यो भोजमा मलाई चिन्नेहरु कोही हुँदैनन् भन्ने भ्रममा रहेछु र त सामान्य पहिरनमै उपस्थित हुन चाहेँ । यो सामान्य अवस्था नै मलाई चिन्नेहरुका लागि सजिलो भएको छ । बिस वर्षपछि भेटिएकी उनी ठिङ्ग खडा छिन् मेरा अगाडि ।
‘के बस् भन्नुहुन्न ?’
‘बस्नोस् न ।’ मन नलागी नलागी बस्ने आदेश दिन्छु ।
‘तपाईं एक्लै ? अनि तपाईंको… ।’
‘हजुर । व्यापारिक मित्रको छोरो ।’ म उसले सोधेको छोटो प्रश्नको छोटै उत्तर दिन्छु ।
‘अनि तपाईं ?’ नचाहँदानचाहँदै मुख खुलिहालेछ ।
‘म बेहुलीपट्टिबाट, मेरी दिदीको छिमेकीकी छोरी ।’
गोरू बेचेको साइनो सम्झिएर हाँस्छु म ।
‘हाम्रो चिनापर्ची धेरै भएकाले बोलावट छ ।’ स्पष्टीकरण दिन्छे जुन मैले चाहेकै थिइनँ ।
उनी बिस वर्षअगाडिकी मेरी चिनजानकी हुन् । हामी सँगै एउटै घरमा कोठामा बसेका हुनाले छिमेकी भएका थियौँ । श्रीमान् र छोरीसहित उनी बस्थिन् । म कामको सिलसिलामा एक्लै बस्थेँ । श्रीमान् काम र मामका लागि बिदेसिएपछि उनी म तर्फ लहसिएकी थिइन् । एकदिन उनकी छोरी बिरामी भएपछि मैले अस्पताल लग्न सहयोग गरेकोले उनी मसँग नजिकिइन् । म पनि घरपरिवार छाडेर एक्लै बसेकोले नारीगन्धमा केही लहसिएछु नै । बिस्तारै हामी एकअर्काबिच नजिक हुँदै गयौँ । उनको नारी हठमा म बिस्तारै फस्दै गएँ । साना साना कुरामा पनि उनी मसँग जित्न थालिन् । मैले इन्कार गरेँ भने उनी पिलपिलाउन थाल्थिन् । उनका कुनै पनि कुरा म काट्न नसक्ने भएको थिएँ । उनकी छोरी र मेरी छोरी सायद उही उमेरका थिए । त्यो सानी नानीमा मैले मेरी छोरीको आकृति देखेँ र म त्यो अबोध बालकसँग हरपल नजिक रहिरहन चाहेँ । यी बच्चीले पनि मलाई उनका कुरा इन्कार गर्न नसक्ने बनाएकी थिइन् । उनकी छोरीमा म मेरी छोरीको प्रतिरुप भेट्टाउँथेँ । त्यही छोरीको मायाले पनि म क्रमश: उनीसँग नजिकिइरहेँ । नजिकिइरहँदारहँदै उनकै स्वार्थमा नराम्ररी फसेँ, बिकेँ, मेरो पुरूषार्थ डग्मगायो ।
एकदिन फुर्सद भएकोले म मेरो कोठामै थिएँ । उसले चाल पाएर मलाई उसको कोठामा बोलाई । म डराई डराई गएँ । म नारीको मामलामा यति कमजोर छु कि नारीसँग नजिकिन त के बोल्नसमेत डराउँछु, अझै बोलिसकेपछि उनीहरुले भनेका कुरा नाइँ भन्न सक्तिनँ । उसको कोठामा मासु पाकिरहेको रहेछ; मासु, चिउरा, अचार, चिसो (कोक) को पनि व्यवस्था रहेछ । उसले खाजा खान भनी, धक मानी मानी खाएँ, कोकको स्वाद अलि फरक लाग्यो, उसलाई भनेँ पनि । ‘तपाईंलाई त्यस्तो लागेको मात्र हो’ भनी र थपी थपी कोक खुवाई । उसकै आग्रहमा नचाहँदानचाहँदै मैले तीन गिलास कोक पिएँ । बिस्तारै मलाई लट्ठ पारेको आभास भयो । नशा लागेझैँ भयो । म नशामा रूमल्लिन पुगेँ । नशाले मेरो शरीर लट्ठ्याउँदै थियो । त्यो लट्ठिएको मेरो शरीरलाई उसले भरपूर सदुपयोग गरी । म उसले जे भनी त्यही गर्दै रहेँ ।
जब होसमा आउँछु तब थाहा हुन्छ— म बिटुलिएछु भन्ने कुरा, मैले मेरी पत्नीलाई धोका दिएको कुरा । मेरो कर्तुत मलाई थाहा हुन्छ, म नराम्ररी भक्कानिन्छु । मैले मेरी अर्धाङ्गिनीलाई धोका दिएँ, अब पत्नीको अगाडि कसरी अनुहार देखाउने भनेर मलाई डर लाग्यो । म सोच्न पनि सकिरहेको थिइनँ । कोठामा आएर सुतेँ, पछि बेस्सरी भोमिट भयो । आएर उसैले स्याहार गरी, ओखती किनेर ल्याइदिई । पछि थाहा पाएँ कोकमा बियर मिसाएर खुवाएकी रहिछ र त्यही बियरको नशामा मलाई लुटेकी रहिछ । म बाहुनको छोरो, जाँड कहिल्यै नखाएको मान्छेलाई झुक्क्याएर खुवाइछ । पछि उसलाई मुखमा आएसम्मको गाली गरेँ, ‘बाहुनको छोरोलाई झुक्क्याएर जाँड खुवाएको’ भनेर । उसले खिस्स हाँसेर टारी । नारीको हाँसोमा पनि कत्रो मादकता रहेछ बल्ल बुझ्दै छु । पत्नीसँग बसेर यसरी हाँस्ने, मस्किने समय कहिल्यै मिलेन । यो घटनाले पनि नयाँ अनुभव हुन्छ ।
केही दिनदेखि फेरि हाम्रो सम्बन्धले गति लिँदै गयो । उसको अनुरोध नकार्न नसक्दा बियरको पारखी बन्दै जान थालेँ । नशा क्रमश: बढ्दै गयो, नशासँगै हरेकपटक पत्नीको धर्मबाट डगमगाउँदै गएँ । घरमा मेरा छोराछोरी र पत्नी मेरो बाटो हेरेर सुन्दर भविष्यको कल्पना गर्दै छन् । म भविष्यलाई थाती राखेर वर्तमानमै रमाउँदै थिएँ ।
अन्तिमपटकको हाम्रो भेटमा म अलि गलेँ । पुरूष धर्मबाट बिच्किएँ पनि । जब हाम्रो नशा टुट्छ अनि उसले उसको पति पर्सि आउने कुरा सुनाई, अबको उससँगको सम्बन्ध गुपचुपको हुनुपर्ने कुरा गरी । म एकपटक फेरि बिच्किएँ । त्यो रात मलाई निद्रा परेन । बिहान सबेरै उठ्छु, मन आन्दोलित भएको छ । यहाँका सबै कामकारबाही आजै सक्छु । साँझ क्रमश: पृथ्वीमा खस्दै थियो । म घरबेटीकहाँ पुग्छु अनि आजसम्मको कोठाभाडा भुक्तान गर्छु । आजै कोठा छाडेर मेरा अन्य सामान यतै अरु भाडामा आउनेलाई प्रयोग गर्न दिनू भनेर साँचो जिम्मा लगाउँछु त्यसपछि उसलाई समेत पत्तो नदिई म रात्रि बसमा गन्तव्यहीन अर्को सहरको यात्रामा लाग्छु ।
नयाँ सहर, फेरि शून्यबाट सुरू हुन्छ । यो सहरमा बिस वर्ष बित्दा मेरो धेरै प्रगति भइसकेको छ । यही सहरमा बङ्गला, गाडी, बैङ्क ब्यालेन्स सबले साथ दियो । आर्थिक अवस्थाले माथिल्लो बिन्दु छोइसकेको थियो तर ममा उही लवाइखवाइ, उही सामान्य पहिरनले मान्छेले अझै पत्याउने अवस्था थिएन । व्यापारले साथ दिएकोले मेरो आर्थिक हैसियत उच्च भइसकेको थियो । विभिन्न क्षेत्रका ठुलाबडासँग मेरो सम्पर्क थियो । यस्तैमा आज व्यापारी मित्रको छोरोको यो बिहेभोजमा सामेल नभई धर पाएको थिइनँ । बोलाएको समयभन्दा केही ढिला पुगेँ । मित्रदम्पती र बेहुलाबेहुलीसँगको भेटघाटपछि मित्रकै ‘बसेर खाँदै गर्नू’ भन्ने आग्रहमा स्न्याक्सहरु खाँदै थिएँ त्यतिखेर नै उससँग मेरो अचानक भेट भयो ।
‘मिस, तपाईं पनि यो सहरमा ?’ दुईतीन महिना निजी विद्यालयमा पढाएकीले उनलाई म मिस भनेर सम्बोधन गर्थें । अलि सभ्य देखिनलाई उनले पनि मलाई सर भनेर सम्बोधन गर्थिन् । जुन सम्बोधनमा नै हामी एकअर्कामा परिचित थियौँ । जुन सम्बोधनले आज पनि आकार बढायो ।
‘हो सर… !’
आवाज पूर्ण हुन नपाउँदै हार्ड ड्रिङ्क्सको ट्रे हाम्रा अगाडि उपस्थित हुन्छ ।
‘सर, बियर नै राखौँ है ?’ मेरो आवाज खस्न नपाउँदै दुई गिलास बियर राख्छे ।
‘म खान्नँ ।’ छोटो जबाफ दिन्छु ।
‘सर, आज रमाइलो गर्नुपर्छ, बिस वर्ष भएछ तपाईंसँग रमाइलो नगरेको पनि । कति सम्झिरहेँ तपाईंलाई ।’ काननजिकै मुख ल्याएर भन्छे ।
‘नाइँ !’ आज यसले फेरि बिस वर्षअगाडि दोहोर्याउने भई । म सतर्क हुन खोज्छु ।
‘नाइँ भन्नुभयो भने म दुव्र्यवहारको मुद्दा हाल्छु ! अदालतले मलाई जिताउँछ !’ हाँस्दै भन्छे ।
‘हुन्छ । ज्यान तयार छ, दुव्र्यवहारको मुद्दा झेल्न ।’ म हाँस्दै भन्छु तर मन कता कता बिझ्छ । मुद्दामामिलाको कुराले मनमा डर जगाउँदो रहेछ ।
‘सर, चियर्स ।’ बियर हातमा उठाउँदै भन्छे ।
‘सरी मिस !’ म नखाने भन्छु ।
‘किन ?’
‘मापसे !’
‘कुरा बुझिनँ ।’ नबुझेको कुरा गर्छे ।
‘ट्राफिक चेक क्या !’
‘हाहाहा !’ अनौठो हाँसो हाँस्छे ।
‘बियर नखाए ‘नि अर्कोचाहिँ नाइँ भन्न पाइँदैन नि सर !’ काननजिकै आएर खुसुक्क भन्छे ।
‘बुझिनँ ।’
‘रमाइलो क्या !’ आँखा झिम्क्याउँछे ।
उससँगको सङ्गतपछि बियर, रक्सीमा म यदाकदा मन दिन्थेँ । खान थाल्दा उसलाई सम्झन्थेँ । उसको मुहार झलझली आँखामा आउँथ्यो । त्यसकारण पिउन कम गरेको थिएँ । पिइहाले पनि च्वास्स मात्र पार्थें, कसैले पत्तै पाउँदैनथ्यो । जब उसलाई सम्झन मन लाग्थ्यो अनि पिउन थाल्थें, त्यो पनि एकान्तमा । सायद आज यो एक्लो अपरिचित स्थानमा उससँगको भेटमा विगत सम्झन म पिउँथेँ तर गाडी र मापसे मेरा अगाडि खडा छ । म गाडीकै कुरा उसलाई स्पष्ट पार्छु ।
‘मापसे तपाईंलाई, मलाई त लाग्दैन नि ! म त पिउँछु है । देखेपछि मन थाम्नै सक्दिनँ ।’ ऊ बियर एक घुट्कोमै रित्याउँछे, पेसेवर जड्याहाले झैँ । मेरा लागि राखेको अर्को गिलासमा हात पुर्याउँछे । भोज लम्बिन्छ । म भाग्न चाहन्छु ऊदेखि ।
‘सर, आज तपाईंले मलाई घर पुर्याइदिनुपर्छ, के म बाइकमा बस्न सक्दिनँ र ?’
अब झन् मलाई अत्यास लाग्छ । योसँगको अबको गहिरिँदै गएको रातको यो समय र यसको छाडा व्यवहार मेरो आँखाअगाडि नाच्न थाल्छ ।
‘हुन्छ मिस । बाइकमा होइन गाडीमै छोडिदिउँला नि ।’
ढुक्क हुन्छे ऊ र ढुक्कसँग बियर वाइन मज्जाले पिइरहन्छे । क्रमश: उत्ताउलो बन्दै पनि जान्छे । म ऊबाट फुत्कन खोज्छु, भाग्ने दाउ हेर्छु तर ऊ एकछिन पनि दायाँबायाँ लाग्न दिन्न । उसले थपिरहेकै स्न्याक्समै मेरो पेट भरिन्छ, ऊ ड्रिङ्क्समै मस्त छे । अब ऊ नशामा मस्त छे अर्धबेहोसीमा । भोज बिस्तारै रित्तिँदै जान्छ । आउनेजानेहरु क्रमश: पातलिँदै छन्, रात लम्बिरहेछ । म निस्कन भनिरहेछु । ऊ मलाई ‘एकछिन, एकछिन’ भनिरहन्छे । नशाको सुरमा टेबुलमै लेट्छे ऊ । उसको यस्तो बिजोग अरुले नदेखुन् भनेर म उसलाई उठाएर गाडीमा लान्छु बल्लतल्ल । मित्रदम्पतीसँग बिदा भएर उसलाई पुर्याउन उसको निवासतर्फ लाग्न खोज्छु । ऊ नशामै बरबराइरहेकी छे । उसको नशाको अवस्था अति भएपछि म पूरै एक बोतल पानी उसको अनुहारभरि छ्याप्छु, चिसोले केही कम हुन्छ उसको नशा ।
‘सर, आज अन्तै कतै जाऊँ, इन्ज्वोई गरौँ । सरसँग इन्ज्वोई नगरेको बिस वर्ष भएछ ।’
मेरो पुरूषार्थ डगमगाउन खोज्छ । सतर्क हुन्छु, सुनेको नसुन्यै गर्छु । घर कहाँ हो भन्दा घर जानै मान्दिन, ठेगाना नै भन्दिन । उसमा चालिसे बैँस उर्लिएको छ । म अप्ठ्यारोमा पर्छु । उसको फोन आउँछ, ऊ फोन आएको पनि पत्तो पाउदिन, म सम्झाउँछु । ऊ मोबाइल उठाउँछे, लाउड स्पिकरसहित ।
‘यस बेटा ।’
‘मामु, हजुरले आज पनि पिउनुभयो ? अहिले कहाँ हुनुहुन्छ ?’ सायद उसको लरबरिएको आवाज सुनेर उसको छोराले सोध्छ ।
‘यस बेटा, मैले पिएँ ।’ मोबाइल तल सिटमा खस्छ, म मोबाइल उठाएर कुरा गर्छु ।
‘हेलो, कहाँ हो उहाँको निवास, लोकेसन पाऊँ न ।’
उसको छोरोले गुरूजी भन्दै सबै लोकेसन बताउँछ । म उसको छोरोले भनेको लोकेसनतिर गाडी अघि बढाउँछु ।
‘सर, आज तपाईंसँग इन्ज्वोई गर्छु म । वर्षौंदेखिको अतृप्ति आज पूरा गर्छु । नशामा ऊ बरबराइरहन्छे । म उसको छोरोले दिएको लोकेसनमा पुगेर अडिन्छु । उसको छोरो बाटोमा निस्किएको रहेछ । गाडी रोकेर ढोका खोलेपछि बाहिरको हावाले उसको नशा केही झर्छ । अगाडि छोरो देख्छे, घर देख्छे अनि कराउँछे ।
‘सरसँग… भन्या त, घरै पो ल्याएको… !’ अस्पष्ट र अपूर्ण आवाजमा बोल्छे ऊ ।
‘मामु, के गरिस्या हजुरले, किन बढी पिइस्या ?’ उसको छोरोले सोध्छ । ऊ आमाचाहिँलाई गाडीबाट झार्न भित्र टाउको छिराउँछ त्यतिखेर मैले उसको रुपमा त मेरो जवानीको प्रतिरुप देख्छु । मेरो छोरोको रुप त मेरो रुपसँग केही पनि मिल्दैन तर यो त मेरै प्रतिरुप । सायद हाम्रो अन्तिम भेटको चिनो हुनुपर्छ । म केही बोल्न सक्दिनँ, चुपचाप केटोकै मुहारमा गढिरहन्छु ।
‘थ्याङ्क यु अङ्कल !’ केटो मलाई हेरेर मुस्कुराउँछ ।
‘झन् इन्ज्वोई भन्या त घरमा पो ल्याइदियो त !’ ऊ बरबराइरहन्छे ।
‘मामु !’
‘बेटा, यसले मलाई दुर्व्यवहार गर्यो, यसले मलाई दुर्व्यवहार गर्यो ।’ ऊ नशामै बरबराइरहन्छे ।
‘सरी अङ्कल !’ क्षमायाचनासहित केटो मतर्फ आँखा बिच्छ्याउँछ । म मौन छु, दुव्र्यवहार मेरो मस्तिष्कभरि रन्थनिन्छ ।
‘यसले मलाई यौन दुर्व्यवहार गर्यो, यौन दुर्व्यवहार । अब म यसलाई मुद्दा हाल्छु, मुद्दा ।’ ऊ अझै कराउँछे । उसको छोरोले उसलाई समाएर लान्छ । परसम्म ऊ दुर्व्यवहारको रटना रट्दै जान्छे । उसको पति पनि उसलाई लिन आइपुग्छ ।
‘म भोलि अदालत जान्छु ।’ ऊ एकसुरमा कराइरहन्छे ।
म र मेरो मन काबुबाहिर छ तर पनि म गाडी फर्काएर घरतिर लाग्छु । मेरो कानभरि दुर्व्यवहार घन्किरहन्छ । घरमा पुगेर फ्रेस हुँदा पनि मेरो कानमा दुर्व्यवहार घन्किरहन्छ । पत्नीको मिठासयुक्त आवाजले पनि मेरो मनलाई सङ्ल्याउन सक्दैन । म सोफामै डङ्ग्रङ्ग पल्टन्छु । पत्नी सोध्छिन्— ‘के भो ?’ भनेर । ‘मलाई एकान्तमा छोडिदेऊ, अलिकता बोर भयो’ भनेर उनलाई पठाउँछु ।
एक जग पानी रित्तिन्छ, केही हल्का हुन्छु तर पनि त्यही शब्द कानमा गुन्जन्छ, त्यही शब्द— ‘मलाई यसले दुर्व्यवहार गर्यो, म अदालत जान्छु ।’ एकोहोरो कानमा गुन्जिरहन्छ त्यही शब्द— ‘मलाई यसले दुर्व्यवहार गर्यो, म अदालत जान्छु ।’
(शब्दाङ्कुर कथा प्रतियोगितामा तृतीय स्थान प्राप्त)
(कथा, कविता, उपन्यास लेखनमा अज्ञात युवकको नामबाट लेख्ने लवप्रसाद भण्डारीको मायालय (२०७७) उपन्यास प्रकाशित छ ।)