प्रा.डा. अजय रिसाल
(धोबीघाट, ललितपुर)
‘बाबा ! आकाश कति लामो छ ?’
छोरीको प्रश्न !
‘आकाश त अनन्त छ ।’
मेरो उत्तर ।
‘अनन्त’
सायद बुझिन होली सानी छोरीले ।
मैले बुझाउनँ सकिनँ पनि ।।
अनन्त !
अन्त छैन यसको ।
आरम्भ छ त फेरि ?
अहँ ! छैन त …
आरम्भ नै नभएको चिजको
अन्त कसरी पो होओस् त ?
तर !
आकाश ‘अनन्त’ नै त छ !
‘नानी ! ‘अन्वेषा’ खोइ त ?’
म उसैको नाम लिएर सोध्छु ।
ऊ आफ्नो नाक देखाउँछे ।
‘त्यो त तिम्रो नाक पो हो त ।
‘अन्वेषा’चाहिँ कहाँ छे त ?’
ऊ फेरि टाउको देखाउँछे ।
‘त्यो त तिम्रो टाउको पो हो त ।’
म भन्छु ।
ऊ क्रमशः देखाउँदै जान्छे
आफ्ना हात, खुट्टा, कपाल,
निधार, छाती, पेट, पैताला
मैले ‘अन्वेषा’ नभेटेको भाव देखाउँछु
ऊ रणभुल्लमा पर्छे ।
मलाई पनि त थाहा छैन,
वास्तविक ‘अन्वेषा’ चाहिँ कहाँ छे ?
तर म सानी छोरीको हाउभाउ हेर्न
आफैलाई थाहा नभएको कुरो
ऊबाट अपेक्षा गर्छु ।
ऊ कुरा गर्छे पुटुपुटु
चार वर्ष नपुगेकी छोरी मेरी
‘यत्तिका कुरा कहाँबाट आउँछ यसलाई ?’
म उसले प्रस्टै सुन्ने गरी
आफ्ना मनका दुबिधा पोख्छु ।
‘बुद्धिबाट आउँछ…
मेरो बुद्धिबाट…’
ऊ आफ्नो टाउको देखाउँछे ।
‘तिम्रो बुद्धि कहाँ छ त ?’
म फेरि प्रश्न गर्छु ।
ऊ निधारमा देखाउँछे
म नबुझेको जस्तो गर्छु
फेरि ऊ कपालमा देखाउँछे
म अझ प्रश्नवाचक नै छु ।
अनि क्रमशः
छाती, पेट, हात, खुट्टा उही क्रम दोहोर्याउँछे ऊ ।
ऊ पनि त्यही नै हो
उसको बुद्धि पनि त्यही नै हा
बालापन, अबोध बालापन ।
तर प्रौढ कहलाइएको म !
म पनि त उस्तै नै त छु ।
‘आकाश अनन्त छ’ भन्छु
छेउटुप्पो पत्ता लगाउन सक्दिनँ म त्यसको ।
‘म को हुँ ?’ मलाई नै त थाहा छैन
‘मेरो बुद्धि कहाँ छ ?’ म पनि त बुझ्दिनँ ।
कतै वेदान्तको अभ्यास,
मैले आफ्नै छोरीसँगै गरिरहेको त छैन ?
अनन्त आकाश
अदृश्य ‘म’
अबोध्य मेरो बुद्धि
अनि अबोध मेरी छोरी
अनि वेदान्तको कठिन प्रश्नोत्तर
यस्तै छ अचेल !
दिन बित्दै छ
समय कट्दै छ
म को हुँ ?
मेरी छोरी को हुन् ?
प्रश्नउत्तरमा नै
जीवन बित्दै छ
अचेल यस्तै नै छ !!