महेश बराल
(बरहथवा २, हजरिया, सर्लाही)
‘लौन यो के गरेको ?
यो इँटा, ढुङ्गा, डन्डी, सिमेन्ट ।
किन मेरो घरको छत (छानो) मा थुपारेको नि ?’ टुकुचा कराउँदै थियो । गाली गर्दै थियो,
‘यो मेरो पुख्र्यौली जमिन हो । मेरा बा, बाजे, जिजु बाजे … यहीँ हुर्किए ।’
उफ्रिँदै थियो तर काग कराउँदै छ, पिना सुक्दै छ भने झैँ उसको कुरो सबैले एक कानले
सुने अर्को कानले उडाइदिए । उसका आफन्त भनिएका बाग्मती, विष्णुमतीसमेतले उसको
पक्षमा मुन्टोसम्म हल्लाएनन् ।
अन्ततोगत्वा, शक्ति अनि पहुँचको बलमा टुकुचामाथि भक्तमानले पक्की घर ठड्याइछाड्यो ।
भक्तमान टुकुचाको छातीमाथि ताण्डव नाच देखाउन थाल्यो । उसको स्वतन्त्रतालाई जमिनभित्रै
गाडिदियो । बिचरा ! टुकुचा आफ्नो आवाज त्यही बन्द कोठामा दबाउन बाध्य भयो । ऊ
निरीह भयो । झिलिमिली रङ्गीन सहरको बिचमा ऊ भने मौनतामा हरायो ।
एकदिन उसको रोदन एक जना युवकले सुन्यो । नजिक गएर हेर्यो । उसको घर दिसापिसाबले
भरिएको रहेछ । सबैबाट तिरस्कृत उसको घरमा नवयुवकको प्रवेश भयो । यसले टुकुचाको
मनमा आशाको दियो बल्यो । १०४ वर्षको जहानियाँ राणा शासनको त अन्त भयो भने यो
भक्तमानको अन्यायअत्याचारको जरो कसो नउखेलिएला । उसले भक्तमानको ज्यादती अनि
स्वतन्त्रपूर्वक बाच्न पाउनुपर्ने मौलिक अधिकार हनन भएकोमा दुःखेसो पोख्यो । युवकले उसले
न्याय पाउने कुरामा ढाडस दियो ।
भक्तमानले टुकुचामाथि बनाएको घर भत्काउनुपर्छ भन्दै युवाले जागरूक गर्न थाले । जमिन
टुकुचाको भएपछि उसको छतमा पनि स्वतः उसैको अधिकार हुन्छ भनेर आवाज उठाए ।
तर उसका सहरका भक्तमानका न्यायधीशले निसाफमा भेदभाव गरे । उसलाई न्यायालयले
दुर्गन्धित, सानो मान्छे भनेर हेला गर्यो । जमिन मात्र हो टुकुचाको, छत त अकासमा भएकोले
उसको अधिकार हुन्न । अकासको खरिदबिक्री अधिकार टुकुचालाई छैन । त्यसैले भक्तमानको
घर टुकुचाको अकासमा भएकोले भत्काउन मिल्दैन । यसो भनेर फैसला सुनाए ।
मेरो घरको छानो नछोई भक्तमानले दसौँ तला बनाए पनि मलाई कुनै आपती छैन तर
मेरो शिरमा परचक्रीको पैताला कदापि स्वीकार्य हुने छैन । टुकुचा भुतभुताउन थाल्यो र
आत्मसम्मानमा पुनः तुषारापात भएको महसुस गर्यो।