प्रमोद नेपाल

वीरगन्जको गहवामाई मन्दिरको
दक्षिणपूर्व दिशामा
ठडिएको थियो
एउटा बुढो घर
जसको आँगनमा
उफ्रिँदै खेल्दै हुर्किए
धेरै केटाकेटीहरु मजस्ता
जोसँग गाँसिएका छन्
मेरा अनगन्ती भावनाहरु
समय आफ्नै गतिमा
अविरल हिँडिरहन्छ
समयसँगै मान्छेहरु पनि
हुर्कंदै बढदै गइरहेका हुन्छन्
बाल्यावस्था र युवावस्था पार गर्दै
स्वाभाविक रुपमा
पुग्ने गर्छन् वृद्धावस्थामा
त्यसै गरी
अपवाद थिएन
मेरो आत्मामा रहेको
त्यो घर पनि
म खेल्दा
ऊ पनि सँगै खेल्थ्यो
म उफ्रिँदा
उसले पनि साथ दिन्थ्यो
मलाई चोटपटक लाग्दा
सायद उसलाई पनि पीडा हुन्थ्यो
उसकै काखमा हुर्केको म

उसकै वात्सल्यमा बढेको म
म कतै जाँदा लाग्थ्यो
उसले मलाई कुरिरहेको हुन्थ्यो
र मेरो पुनरागमनका लागि
प्रतीक्षारत रहन्थ्यो,
आमाको न्यानो काखमा
फर्किआए जस्तो भान हुन्थ्यो मलाई पनि
बाहिर गई फर्केर उसको सान्निध्यमा रहँदाबस्दा
एकदिन बेचियो
त्यो बुढो घर
मेरो बाल्यावस्थादेखि
युवावस्थासम्मको साक्षी
मेरो संरक्षक
उसको वात्सल्य, ममता र छत्रछायाँ
सबै छुटने पक्का भो
चन्द्रमाबाट चाँदनी छिनेजस्तै
आमाको काख गुमाएको दुधे बालकजस्तै
सायद उसलाई पनि
त्यस्तै अनुभूति भएको हुनुपथ्र्यो
वीरगन्जको यात्रा गरी फर्केको
छैन भा‘को धेरै दिन
मेरो आस्थाको प्रतीक
मेरो त्यो प्यारो घर
थिएन त्यहाँ
त्यो घरको चिहानमा त
ठडिएकोरहेछ एउटा नयाँ महल
मेरो सँगीको अस्तित्व
त्यो घरमा कुनै बेला विचरण गरेका
मेरा पितापुर्खाहरुझैँ
यो संसारबाट
हराइसकेको रहेछ
अकस्मात् कसैले बोलेझैँ लाग्यो

“म तिम्रो आगमनको क्षणलाई
कुरी बसेको थिएँ प्रमोद ! अब अलबिदा”
यताउति हेरेँ र प्रस्ट देखेँ
एउटा प्रकाशपुञ्ज मास्तिर जाँदै गरेको
टकटकी बाँधेर त्यो पुञ्जलाई हेरिरहेँ
विलीन नहुन्जेलसम्म
अनि अवाक् भई
थुचुक्क बसेँ म एकैछिन त्यहीँ
डाइनोसरजस्तै अस्तित्व विहीन बनाइएको
मेरो प्यारो घरलाई सम्झेर
आँखाभरि अश्रुधारा बगाउँदै ।

Facebook Comments Box

Similar Posts