रामचन्द्र दाहाल
रोनितले घडी हेरेर भने, ‘ओहो ! साढेबाह्र पो भएछ ।’
हामी त्यो नेपाली होटल (नमस्ते नेपाल) मा धेरै बेर बसेछौँ । होटल मालिकले कुनै अब्जेक्सन गरेनन् । उनलाई सौहार्दतापूर्वक धन्यवाद दिएर हामी होटेल मेरिटोनको अन्डरग्राउन्डमा रहेको गाडी झिक्न लिफ्ट चढेर कति तलातल झर्यौँ पत्तै भएन । तल तल ओसिलो बाफिलो ग्यारेजको १८ नम्बरमा हाम्रो गाडी रहेछ । रोनितले कोड नम्बर थिचेपछि ‘हाय रोनित’ भनेर बारको तगारो हट्यो र मार्ग प्रशस्त भयो ।
त्यहाँको बजार दिनरात खुलै हुँदो रहेछ । त्यो समयमा पनि किन्नेबेच्नेहरु व्यस्त थिए । सिड्नी सिटीमा अँध्यारोले प्रवेश गरेकै थिएन । चराचरूङ्गीसमेत बास बस्न नरूचाउने कस्तो जादुगर सहर ?
हाम्रो गाडी ग्रेनभिलतिर उन्मुख भयो । न हाइवे न भित्री बाटो न कुनाकाप्चा; सबैतिर झलमल्ल थियो । हामी भिक्टोरिया पुलको तल ट्राफिजामको लामो लाइनमा थियौँ । त्यो पुलको माथि पनि अर्काे पुल क्रस रहेछ जसमा एकतर्फ गाडी र अर्काेतर्फ रेल कुदेको देखिन्थ्यो । हर्नको ट्वाँट्वाँ र भ्वाँभ्वाँ कतै सुनिदैनथ्यो ।
हामी ट्राफिजामको लामो लाइनमै थियौँ । अगाडिको सवारीले पिरो धुवाँ फालेर निसासिनुुपरेको थिएन ।
बल्ल हाम्रो गाडीले भिक्टोरिया पुलको जामबाट मुक्ति पाएर बुरउड रोडतिर प्रवेश पायो । बुरउडबाट अर्कै दिशाको ४ लेनको रोड समात्नुपर्ने रहेछ । जसै गाडी ४ लेनतिर मोडियो त्यहाँ अझ लामो लाइनको सामना गर्नुपर्यो ।
छोरी मिसुता र नाति अग्रज पछाडिको सिटमा निदाइसकेका थिए । त्यहाँनेर मैले विवेक आचार्यको भनाइलाई अर्तीका रुपमा सम्झेँ । हामी सिधै पारामात्ततिरको बाटो गएको भए, साँझ ८ बजेतिरै ग्रेनभिल पुगिसक्ने थियौँ ।
मध्यरातको समयमा सेन्ट्रल सिटीतर्फ डिउटीमा जाने र फर्किनेको मध्यसमय पर्दाे रहेछ । त्यसैले ट्राफिक जाम अत्यधिक भएकोले हाम्रो गाडी अझै जाममै थियो । थकानले बेस्सरी गालेजस्तो भयो । रोनित पनि २/३ वर्षको फरक, झन्डै छोरी मिसुताकै उमेरका रहेछन् । उनी गाडीको स्टेरिङ समातेर हरियो बत्तीको पर्खाइमा थिए । मैले रोनित बाबुको मुखमा हेरेँ । उनी पनि थकित र उदास देखिए ।
त्यतातिर पनि २ लेनका भित्री सडक सबै झलमल्ल थिए । मानिसको चहलपहल कायमै थियो । रेस्टुराँ, किराना, पार्चुन, फेन्सी र हजामी सैलुन आदिका पसलमा किनबेच चलेकै देखियो ।
‘पूरै सहरको रातलाई दिनजस्तै उज्यालो बनाउने यहाँको सरकारले इनर्जी व्यवस्थापन कसरी गरेको होला ?’ मैले मनमा कुरा खेलाएँ ।
अझ लामै यात्रा गर्नु थियो । लामो यात्रा र ट्राफिकजामले हैरान भएर रोनित नुर खसेझैँ देखिन्थे । जब रोनित बोल्न छाडेर टोलाउँथे अनि मेरो मनमा शङ्का उठ्थ्यो । म उनलाई चाख लाग्ने प्रसङ्ग झिकेर हँसाउने कोसिस गर्थें । उनी प्रसन्न भएर हाँसेपछि म ढुक्कले लोलाउँथेँ ।
ठाउँ ठाउँका लामाछोटा ट्राफिजामको सामना गर्दै २ बजे हाम्रो गाडी ग्रेनभिल पुग्यो । हामीलाई ग्रेनभिलको आवासअगाडि छाडेर रोनित बाबु आफ्नो आवास पारामात्ततर्फ लागे ।
हाम्रो आवास कावर स्ट्रिटको युनिट+६३/७१ सातौँ तलामा चढेर घडी हेर्दा २ बजेलाई उछिनेर समयको सुई अगाडि बढिसकेको थियो ।
‘होटलमा खाना खाएर हिँडिहाल्नुपर्ने थियो, गफमा अल्मलिएर साह्रै ढिलो भयो ।’ छोरीले जायज गुनासो गरिन् । उनलाई झिसमिसमै उठेर कलेज जानुपर्ने थियो तर मलाई त्यो गफ पनि सार्थक थियो । मैले त्यस रेस्टुराँका गफबाट अद्भुत अनुभूति आर्जन गरेँ । त्यो सेन्ट्रल सिटीमा देखिने हार्बर पुलको अपत्यारिलो सत्य, समुद्रमा अवतरण हुने हवाईजहाज र सागरको जलकुण्डमाथि कुद्ने १० तले पानीजहाज आदिका भरपर्दा कथन । मेरा आँखाले प्रत्यक्ष अनुभूत गर्न नपाएर विस्मातमा जोडिएको वैज्ञानिक चमत्कारको रोचक कथा मात्र सुनेँ ।
यस्ता अद्भुत दृश्यको आत्मकथालाई अन्य यायावरले देखेर पुष्टि गरे होलान् । मैले प्रत्यक्ष अनुभूत नगरे पनि विज्ञान र विज्ञको सिप र पसिनाको अनमोल उपहारलाई संस्मरणको क्यामराले सचित्र खिचेँ ।
त्यस देशमा विधिको शासन रहेछ । आफ्नो राज्यप्रति अगाध माया रहेछ । शासनबाट अनुशासनको अध्यापन गरिँदो रहेछ । अनुशासन बहाली भएपछि देश विकास स्वचालित हुँदो रहेछ । त्यहाँका शासकबाट जनताले उत्पीडन भोग्नु नपर्ने रहेछ । त्यहाँको सरकार जनताप्रति उत्तरदायी रहेछ । शासकबाट जनता प्रताडित नभएपछि जनताको विकास स्वचालित हुने रहेछ । अस्ट्रेलियाली नेताले देशको पैसा विदेशमा लगेर राख्ने कला नजानेजस्तो लाग्यो । नत्र त्यत्रो विकास कहाँ हुन्थ्यो ?
अर्काकै देश भए पनि अस्ट्रेलियाको विकासमा पहिलो पाइलो टेक्न पाउँदा नेपाली पनि त्यस देशको सर्वाङ्गीण विकास हेरेर आनन्दको सास फेर्दा हुन् । त्यहाँको चमत्कारी विकासमा रमिरहेका बेला भिसाको म्याद सकिने डर हुँदो हो । फर्किने दिनको हिसाब गर्दै कैयौँ अभिभावकले औँला भाँच्दा हुन् ।
जति कुटे पनि आफ्नो लोग्नेको घरमा जीवन बिताउनुपर्ने बाध्यताले कोसेलीको सानो पोको च्यापेर पराई घर हिँडेकी चेलीजस्तै हाम्रा नेपाली पनि सम्झनाका उपहार च्यापेर लुरूक्क फर्किंदा हुन् । पराई देशको उन्नयनमा डुबुल्की मारेर नअघाएका मेरा आँखासँग फर्किने सल्लाह सुटुक्क गरेर जसरी म फर्केँ ।
त्यस दिनभरि त्यहाँको विकासमा जहाँ जहाँ पाइला टेकेँ, ती सबैमा श्रम र सिपको अद्भुत ऊर्जा देखेँ । शब्दमा अवर्णित त्यो पौरखी ज्ञान र विज्ञानलाई हृदयतः स्यालुट गरेर फर्किएँ ।