प्रेम नेउपाने प्रहर
(रूम्तेक, सिक्किम, भारत)

रातभरको सपनाहरुले
दिनभरि म बिथोलिएको हुन्छु
अनि दिनभरका पसिनाका धाराहरुले
रातभर म भिजिएको हुन्छु
ती सपनाहरु ती पसिनाहरु
ती रात अनि तीे दिनहरु
भो चाहिएन मलाई अब ।

यहाँ दुनियाको स्वार्थका कचौरा
भरिएनन् कहिल्यै
अनि म निःस्वार्थका थैली सिलाइरहेछु
ईश्वर पुज्नेहरु
होडबाजीमा छन् मन्दिरभित्र
अनि ईश्वरहरु विलापमा छन्
वृद्धाश्रमका आँगनहरुमा ।

समयले कोल्टे फेरेकै रहेछ
तब त यहाँ
दिनहरु सुनसान अनि
रातहरु चहलपहल गर्छन्
घर घरमा टमी र पप्पी
ज्याकी र टाइगर सजिएका छन् अनि
माली, पुन्डी, दार्मी र पाङ्ग्रीहरु
गोठमा छैनन् ।

गोजीमै विश्व बोकेर
आँगन थर्काउनेहरु प्रशस्त छन्
विश्वको मानचित्र खोज्नेहरु
घुरेन लत्याएका छन् ।
भो ! यो मेरो संसार होइन रहेछ
यो संसारको म होइन रहेछु
मेरा पसिनाहरु
मेरा अभिलाषाहरु
मेरा मान्यताहरु
मेरो हिजो, आज र भोलिहरु
म हराएको पाउँदै छु
भो चाहिएन मलाई अब
ती रातहरु ती दिनहरु ।

Facebook Comments Box

Similar Posts