विश्वदीप अधिकारी
(३३ शास्त्रीमार्ग, मैतिदेवी, काठमाडौँ ३०)
चेतनधर्मीहरुले
कामिनी, काञ्चन र कीर्ति भुलेर
अलिकति चिन्तन गरिदिए
उनीहरु,
उनीहरु आफैसँग
कुरा गरिरहेका हुने थिए
म,
मसँग नै
कुरा गरिरहेको हुने थिएँ
उनीहरुको मसँग र
मेरो उनीहरुसँग भेट हुँदा
उनीहरुले उनीहरुलाई नै भेटिरहेका
हुने थिए र
मैले मलाई नै भेटिरहेको
हुने थिएँ
उनीहरुले आफूभित्र आफैलाई पाउने थिए
मैले मभित्र मलाई नै पाउने थिएँ
अनि उनीहरुले बुझ्ने थिए
म उनीहरु नै हुँ
र
उनीहरु म नै हुन्
अर्थात् उनीहरु र म अनि
म र उनीहरु
भिन्न नभई एउटै हौँ
शरीर र मन फरक भए पनि
आत्माको स्रोत परमात्मा एउटै
उनीहरु जुन बीज हुन्
म पनि त्यही बीज हुँ
म जुन बीज हुँ
उनीहरु पनि त्यही बीज हुन्
वास्तवमा उनीहरु र म
अनि म र उनीहरु, कति पनि
फरक नभएर एकै हौँ
चेतनधर्मीले यति बुझिदिए
यो हित सन्देश हुने थियो
एउटै परमात्माको
अनगिन्ती आत्मा कायाहरुका लागि ।