- डा. गणेशप्रसाद भट्टराई
नेपाललाई तीर्थस्थलैतीर्थस्थल भएको ठाउँ भन्दा हुन्छ । प्राचीन ऋषिमुनिको तपोस्थल, देवस्थल, धार्मिक स्थल र आस्था केन्द्रको कमी छैन यहाँ । पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण जुनसुकै ठाउँमा आस्थाकेन्द्र देख्न पाइन्छ । विभिन्न धर्मसम्बद्ध अनेकौँ तीर्थस्थल भए पनि यहाँका सबै तीर्थस्थलमा मानिस पुग्न पाएका छैनन्, म पनि पुगेको छैनँ ।
धार्मिक स्थल, तीर्थस्थल, पौराणिक स्थल र ऐतिहासिक स्थलको आफ्नै विशेषता हुन्छ र त्यो रमणीयतामा मानिस आनन्दित हुन सक्छन् । मानिस विभिन्न ठाउँ घुमेर, ध्यानमग्न भएर, दृश्यावलोकन गरेर, बास बसेर र गफगाफ गरेर रमाउँछन् । म पनि यसबाट अछुतो रहन सक्दिनँ ।
यसपटक म र केही साथीले देवघाट डुल्न जाने निर्णय गर्यौं । निर्णय हुनासाथ केही पैसाको जोरजाम गरेर हामीले यात्रा सुरू गर्ने अवस्थामा पुग्यौँ । पूर्वको सूर्योदय नगरपालिकाका हामी पाँच जनाले इलामबाट काठमाडौँ जाने रात्रि बसको टिकट लियौँ । सोमबार दिउँसो तीन बजे हामीले इलामेली ट्राभल्समा चढेर कन्यामबाट यात्रा सुरू गर्यौं । बस इलामबाट झापा झर्यो र चारआलीबाट महेन्द्र राजमार्ग भई पश्चिमतर्फ लाग्यो ।
मङ्गलबार बिहान चार बजेतिर बस चितवनको नारायणगढ पुगेर रोकियो । हामी यही उत्रनुपर्ने रहेछ । बिहान चिसो चिसो नै थियो । बस त्यहाँबाट मोडिएर काठमाडौँतिर लाग्यो, हामी ओर्लिएर चिया खान थाल्यौँ । उज्यालो भएको थिएन । एक चिया पसलको बाहिर आगो बालिएको थियो । हामी उज्यालो नहुन्जेल त्यही गफ गरेर बस्यौँ ।
त्यहाँका मानिसबाट देवघाटका बारेमा धेरै कुरा सुनेपछि बिहान ७ बजेतिर स्थानीय बसमा चढेर त्यसतर्फ लाग्यौँ । देवघाट नारायणगढदेखि करिब ६ किलोमिटर उत्तरमा रहेछ । त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा रहेको देवघाटधाम हेर्दामा सुन्दर र गम्दामा मनोहर रहेछ । यो हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । यहाँ हिन्दु धर्मावलम्बी तीर्थ गर्न र अन्य धर्मावलम्बी मनोरञ्जनका दृष्टिले आउने रहेछन् । देवघाट ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्त सुरक्षित रहेछ । यो मनोशान्ति र आध्यात्मिक उन्नयनका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । देवघाट पुगेर वरिपरि नदीको सौन्दर्य, हरिया पहाडका सुन्दर दृश्यावली र जैविक विविधताको सुरम्य हार्दिकता अवलोकन गर्न पाइने रहेछ ।
देवघाट क्षेत्रले तनहुँको देवघाट गाउँपालिका, नवलपरासीको गैँडाकोट नगरपालिका र चितवनको भरतपुर महानगरपालिकालाई हृदयमा समेट्दो रहेछ । त्रिवेणी धाम भएकाले यहाँ माघे संक्रान्तिका दिन ठुलो मेला लाग्ने गर्छ । मेला भर्न यहाँ देशभित्र र भारत तथा भुटानका मानिस तीर्थस्नान गर्न आउने कुरा पनि यहाँका एक धर्मभीरू ज्येष्ठ नागरिकबाट थाहा भयो । उहाँका अनुसार यहाँ संस्कृत पाठशाला, विद्यापीठ, विभिन्न देवदेवीका मन्दिर तथा वृद्धाश्रम छन् । देवघाट आउने भक्तजनले यहाँ खान र बस्न कुनै चिन्ता लिनुपर्दैन । आश्रममा खान र बस्न राम्रो व्यवस्था गरिएको छ ।
नारायणगढबाट हामीलाई लिएर गएको बस त्रिशूली नदीको वारिपट्टि रोकियो । हामी चितवन र तनहुँ जिल्ला जोड्ने झोलुङ्गे पुल तरेर तनहुँपट्टि लाग्यौँ । पुल तर्नासाथ यहाँ गुफा तथा मन्दिर देख्न पाइयो । देवघाटमा दिनहुँ भक्तजनको घुइँचो लाग्दो रहेछ । वैशाख संक्रान्ति, माघे संक्रान्ति, ठुली एकादशी, बालाचतुर्दशी, ग्रहण लाग्ने समय र साउन महिनामा त यहाँ भक्तजनको विशेष घुइँचो हुने गर्छ । हामी गएको समय यसभन्दा फरक भएकाले त्यति ठुलो भिड त थिएन तर मानिसको बाक्लै उपस्थिति थियो । सबैका अनुहारमा आध्यात्मिक खुसी छचल्किएको देखिन्थ्यो ।
देवघाटमा स्नान गरे मोक्ष पाइन्छ भन्ने विश्वासले हिन्दु धर्मावलम्बी त्रिवेणीमा स्नान गर्न पुग्दा रहेछन् । हामी पनि स्नान गर्ने उद्देश्यले पहिले त्रिशूली र कालीगण्डकीको दोभानमै पुग्यौँ । वरिपरि सुन्दर वन, नदीको नील सौन्दर्य र मनै आनन्दित पार्ने पवित्र धाम देख्दा नदीको पानीमा तैरिएर आनन्द लिइरहूँ जस्तो लाग्ने रहेछ । देवघाटमा जताततै मन्दिर, देवालय, मठ, गुम्बा, आश्रम र धर्मशाला देख्न पाइने रहेछ । यस क्षेत्रमा वशिष्ठ गुफा र सीता गुफा रहेछन् । यसको वर्णन गर्दै दोभानमै रहेका एक पुजारीले परापूर्वकालमा अयोध्याका राजा रामचन्द्रका गुरू वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती सुनाउनुभयो । उहाँका भनाइमा यो क्षेत्र पृथ्वीमा यज्ञ गरिएको पहिलो ठाउँ रहेछ । हामीलाई ती पुजारीले बस्ने ठाउँ, खाने ठाउँ, देवालय आदिका बारेमा बताउँदै डुलाउनुभयो । हामी कुरा गर्दै चक्रेश्वर मन्दिरमा पुग्यौँ । यहाँ चक्रैचक्र भएको ठुलो शिला रहेछ । हामीले शिर झुकाएर आस्था प्रकट गर्यौं । पाल्पाका राजा मुकुन्द सेनले यहीँ आएर तपस्या गरेका थिए । तपस्या गरेकै अवसरमा एकदिन स्नान गर्न जाँदा राजा मुकुन्द सेनले चक्रयुक्त शिला देखेर यहाँ ल्याएर स्थापित गरे । यसपछि उनकै नामबाट चक्रेश्वर मन्दिरलाई मुकुन्देश्वर मन्दिर भनी नामकरण गरिएको रहेछ । यस मन्दिरको वरपर चार ठाउँमा मन्दिरका भग्नावशेष रहेछन् । यहाँ सूर्य, भैरव, गणेश र कालिकाको मन्दिर रहेको मान्यता छ । उहाँले हामीलाई बद्रीनाथ, केदारनाथ, वागीश्वरी र मौलाकालिका मन्दिर चिनाउँदै देखाउँदै महेश सन्यास आश्रममा पुर्याउनुभयो । आश्रम निकै ठुलो रहेछ । यहाँ विद्यालयतर्फ कक्षा ६ देखि माथि र उच्च शिक्षातर्फ स्नातकोत्तर तहसम्मको पढाइ हुँदो रहेछ । प्राचीन गुरूकुलको सम्झना दिलाउने यस आश्रममा वर्षमा सयौँको सङ्ख्यामा विद्यार्थी दीक्षित हुने रहेछन् । यहाँ मन्दिरमा बज्ने घण्ट, बटुकका ऋचावाचन, भक्तजनको भक्ति र धार्मिक आस्थाको अनौठो सङ्गम रहेछ ।
यहीँको हरिहर सन्यास आश्रममा संस्कृतमा माध्यमिक तहसम्मको अध्ययन हुँदो रहेछ । एक हजार भक्तजन अट्ने गरी निर्माण गरिएको आश्रममा आवासीय सुविधासहित वटुकले निःशुल्क अध्ययन गर्दा रहेछन् । यहाँ गलेश्वर आश्रममा पीठाधीश बस्छन् । यहाँ पनि खानेबस्ने सुविधा रहेछ । आध्यात्मिक आनन्द र प्राकृतिक सौन्दर्यको त कुरै नगरे हुन्छ । देवघाट परिसरमा सीताराम, सत्यनारायण, साँढेबगर, लक्ष्मीवराह, पशुपति, यज्ञशाला, अष्टादश पुराण, शङ्कराचार्यलगायतका मन्दिर र थुप्रै मठ रहेछन् । यी ठाउँ घुम्दा मन आस्थाले ढक्क फुल्दो रहेछ ।
हामी उत्साही हुँदै वशिष्ठ र सीता गुफा हेर्न गयौँ । वशिष्ठ ऋषिको गुफा गलेश्वर आश्रमको पश्चिमतर्फ कालीगण्डकी नदीको किनारमा छ । यहाँ अयोध्याका राजा रामचन्द्रका गुरू वशिष्ठले तपस्या गरेको किंवदन्ती छ । गुफामा वशिष्ठ ऋषिको मूर्ति छ । आफू वशिष्ठ गोत्री भएकाले वशिष्ठ ऋषिको मूर्तिमा मैले आस्थाको शिर झुकाएर श्रद्धा प्रकट गरेँ । वशिष्ठ गुफाको ठिक तल सीतागुफा रहेछ । रामचन्द्र वनबास जाँदा सीताको असली रुपलाई यहीँ लुकाएर राखिएको थियो रे । रामचन्द्रले सीतालाई त्यागेपछि सीता यही ठाउँमा विलय भई पृथ्वीमा अलप भएकी थिइन् रे । सीतालाई आदर्श मान्ने सबैले यहाँ आएर अगाध आस्था प्रकट गर्दा रहेछन् । हामीले पनि आस्थाको निरन्तरतालाई कायमै राख्यौँ ।
यहाँ झोलुङ्गे पुलको पूर्वतर्फ केदारनाथको सुन्दर र फराकिलो मन्दिर छ । यो मन्दिरको पहिलो तलामा शिवपञ्चायन देवताका मूर्ति छन् । माथिल्लो तलामा गङ्गाजीको जलधारा देख्न पाइन्छ ।
देवघाट घुम्दाघुम्दै मध्याह्न भएछ । हामी गलेश्वर आश्रममा पुग्यौँ । त्यहाँको धर्मशालामा भोजनको व्यवस्था रहेछ । हामी हात धोएर खाना खान गयौँ । त्यहाँ पिर्कामा भुइँमा बसेर खाना खाने चलन रहेछ । त्यहाँका स्वयम्सेवी र विद्यार्थीले खाना पकाएर बाँड्ने रहेछन् । हामीले खाना खाएर खाएका थाल आफैले माझ्यौँ । यो चलन साह्रै राम्रो लाग्यो । यहाँ खाना खाएको पैसा लिइँदो रहेनछ, स्वेच्छाले सेवा गर्न चाहिँ पाइने रहेछ । हामीले पनि सहयोग बाकसमा केही रकम खसाल्यौँ र मन पवित्र पार्दै पहिलेकै झोलुङ्गे पुलतिर लाग्यौँ ।
पुल तरेपछि देवघाट र नारायणगढको बिचतिरको जङ्गलमा बागीश्वरी मन्दिर छ । यहाँ नारायणी नदीतर्फ फर्किएका दुईओटा बाघका मूर्ति छन् । हामीले यिनै मूर्तिछेउबाट धेरै बेर देवघाटको रसपान गर्यौं । यसपछि गैँडाकोटको माथि डाँडामा रहेको मौलाकाली मन्दिर जाने योजना थियो । योजनाअनुसार नै बस चढेर हामी नारायणगढतर्फ लाग्यौँ ।
आज जीवनमा एकपल्ट सबैले पुग्नुपर्ने ठाउँमा पुगियो । मनले पानीझैँ शीतल, दुधझैँ पवित्र, सागरझैँ निर्मल र आकाशझैँ विशाल भएको अनुभव गर्यो । पवित्र सोचले शरीर हलुका बन्यो ।