कविराज युवराज चापागाईं
(दिङला, भोजपुर, हाल: लोकन्थली, भक्तपुर)

आजभोलि सम्पूर्ण विश्वमा चियालाई मुख्य पेय द्रव्यका रुपमा लिइन्छ । यद्यपि पेय द्रव्यमा पानी, मोही, दुध, सर्बत, जुस, क्वाथ, स्वरस आदि अनेकौँ पर्छन् तर कुनचाहिँ पेयलाई प्राथमिकतामा लिने हो भन्ने चाहिँ आवश्यकता र अनुकूलता हेरी उपयोगिता आफैले निर्धारण गरिन्छ । तापनि ‘चिया’चाहिँ कुनै पनि अनुकूलता, आवश्यकता, अनावश्यकता आदि ख्याल गरिरहनु नपर्ने जतिबेर पनि आम तवरमा यसको उपयोगउपभोग भइरहेकै हुन्छ । यो कति गुणी वा अवगुणी हो भन्ने कुराको जानकारी थोरै वा धेरैजसोलाई भए पनि आखिर चिया अपरिहार्य पेयका रुपमा हरेक जनजीवनमा भिजिसकेको छ । चियाको प्रिय मानिस वा मानिसको प्रिय चिया हो भन्नुमा भिन्नता देखिँदैन । चियाले मानिसलाई कतिसम्म नजिक बनाउँदो रहेछ भन्ने उदाहरण निम्न प्रसङ्गबाट मैले पाएको छु ।
२०१७/१८ सालतिर म धरानको विजयपुरमा बसेको थिएँ । त्यस ताकासम्म चिया प्रायः धेरै ठाउँमा आइसकेको थियो । त्यसै ताका कुनै बेला धरानदेखि विराटनगरसम्म चिनीको अभाव भयो । त्यसको ठाउँमा त्यसबखत उत्पादित र उपलब्ध सक्खर/चकलेट/मिठाइ आदि चियामै खपत भएर गुलियो वस्तु जति सबैको अभाव भयो । गुलियो र दुधसहित चिया पिउन धेरैले जानेको हुँदैनथ्यो । त्यसैले स्थानीय मानिस चिया पिउन नपाएकोमा टाउको दुख्नु, रिङ्टा लाग्नु, वमन हुनु, शरीर गल्नु, छटपटी हुनु आदि अनेक दुःखद परिणतिले रूँदैकराउँदै बसेको देखियो । त्यो अवस्था देखेर म आफै पनि आजसम्म चियाका साथ घनिष्टता लिन सकेको छैनँ । त्यस्तो अर्काे एक भिन्न नतिजाले पनि मैले चियाबाट सतर्कता अपनाउने दृष्टान्त पाएको छु । २०५३/५४ सालतिर पश्चिम बङ्गालको सिलिगुडी चियाबगानको एक प्रशोधक कम्पनीमा काम गर्ने मेरा आफन्तकोमा एक हप्ताजति म मेहरबानीका रुपमा बसेको थिएँ । उहाँले एकदिन मलाई त्यस कम्पनीले गर्ने चिया प्रशोधनसम्बन्धी कार्यविधि देखाउन लग्नुभयो र सबै कुरा देखाउँदै भन्नुभयो कि यहाँ यसरी प्रशोधन गरिएको १ नं. चिया त्यसैअनुसार प्याकिङ गरी इङल्यान्डको लन्डन आदि विकसित मुलुकतिर पठाइन्छ । २ नं. को चिया भारततिर जान्छ र तेस्रो ३ नं. को चाहिँ नेपालका विशिष्ठ स्थानमा जान्छ । यो मलखाडीमा देखिएको/अफालिएको थुप्रो चियाचाहिँ केही प्रतिशत तेस्रो नं.को चियामा मिसाएर नेपालकै अन्यान्य क्षेत्रमा जान्छ भनी देखाउनुभयो । त्यस बेलाका हरेक चिया पसलमा चिया बनाउँदा चिया छान्नेमा रहेको प्रायः रस गइसकेको चियाको धुलो जम्मा गर्दै सुकाएर पुनः त्यही चिया बनाउन प्रयोग भएको पनि दृष्टिगत गरियो ।
अर्को कुरा पनि दृष्टिगत भयो । त्यो यस्तो छ– उपभोक्ता या ग्राहकले उपयोग गरिसकेका चियाकप सफाइ गर्ने क्रममा दिनभर तिनै कप डुबाएको बाटा (आरी) को फोहर पानीमा डुबाई नयाँ पानीले एकैपल्ट सबै ग्लास खल्याङमल्याङ गरी पुनः तिनै ग्लासमा चिया पस्केको ! हिजोआजको व्यवहार थाहा छैन ।
अर्को पनि त्यस्तै त्यस्तै छ– हाम्रो घरमा पनि धेरैजसो चिया बनाइसकेपछि चिया छान्ने जाली जुठा भाँडाबर्तनसँगै मिसाइ सफा गरिन्छ र पुनः चिया बनाउन पूर्णतः सफाशुद्ध नभएको छान्ने प्रयोग गर्नु कति उचित हुन्छ ? हिजोआज यस्तो व्यवहारमा पनि सुधार आएकै होला कि ? जेहोस्, उल्लिखित कुराहरु सायद मेरा आफ्नै दृष्टिदोष, श्रुतिदोष, अनुभवदोष, भावदोष आदिमा पनि निहित रहन सक्छ ! किनकि ।
‘यौटाको गुण अर्कोलाई दोष परेको हुन्छ अति ।
कुन हो गुण अब ? कुन हो दोष ? कल्पित हो यो खालि मति ।’
क्वचिद्गुणोपिदोषस् स्याद्दोषोकपि विधिना गुणस् ।
गुणदोषार्थनियमस्तद्भिदामेव वाधते ।।भा।११।२१।
जेहोस्, चियाले जनजिब्रो या जनमानसमै आसन जमाइसकेको छ । आवश्यकताबोध गराइसकेको छ । बाटोमा जम्काभेट भयो, एकापसमा पहिलो चियाकै बारे प्रश्नोत्तर चल्छ कि चिया खानुभयो ? चियापसलमा चिया खान जाऔँ ।
यस्मिन्वस्तुनि यो दोषो मया दृष्टो निरन्तरम् ।
तस्मिन्नेवान्य दृष्टया वा गुणाधिक्यं भवेन्नुकिम् ?
घरमा कोही आयो, पहिलो आदरसम्मान चियाबाट हुन्छ । कसैकोमा गयो सर्वप्रथम र तुरून्तै आदरसत्कार चियाबाटै हुन्छ । चियाबिना जतिसुकै ठुलो स्वागतसम्मान गरे पनि अधुरो र अपुरो हुन्छ । हुँदाहुँदै आजसम्म आइपुग्दा चिया सभ्यताकै रुपमा विकसित भइसकेको छ । चिया चलनको सुरू सुरूमा एकैनास एउटै निर्माण विधिबाट (दुध, चिनी वा सक्खर मिसाई) पिउने चलन थियो तर चियाको विषयमा जति जति विचारविमर्श र वैज्ञानिक विश्लेषण हेर्दै आयौँ त्यति त्यति नै चियाको प्रयोगात्मक व्यवहारले विभिन्न रुप लिँदै आयो । जस्तै, रातो वा कालो वा फिका चिया, मुना चिया, हरियो (ग्रीन टि) चिया, कागती चिया, मिठो, दुध, चिनी वा सक्खर साथै सुगन्धित मरमसला आदि मिस्रण गरिएको चिया आदि । सायदै आआफ्ना इच्छाआकाङ्क्षा, आवश्यकताअनुसार चिया पिउने तरिकामा भिन्नता आएको होला ।
चिया कहाँबाट र कसरी नेपालमा चलनचल्तीमा आयो भन्ने कुरा पनि अलिकति हेरौँ । किनकि चिया नेपालकै उत्पादन भने अवश्य होइन । सर्वप्रथमतः यो चीनको उत्पादन हो । किनभने चीन एउटा प्राकृतिक हरियाली र जडिबुटीलाई नै प्राथमिक रुपले उपयोग गर्ने एक मात्र ठुलो राष्ट्र हो । आफ्नै परम्परा, मौलिक वेशभूषा, भाषासंस्कृति आदिलाई पूर्ण रुपले अवलम्बन गर्ने देश हो । त्यसपछि इङल्यान्ड आदि अन्यान्य विकसित मुलुक हुँदै भारतको उत्तरपूर्वी प्रान्त दार्जिलिङ, असाम हुँदै आखिरमा नेपालसम्म आइपुग्यो । नेपालमा चिया नआउँदासम्म मिश्रीकाढा, खयरपानी, नुन, ज्वानु, बेसार आदि मिश्रित तातो पानी मात्र पिउने चलन थियो । यसले स्वास्थ्यमा अनुकूलता हुन्थ्यो तर आज यही नयाँ (पुरानै भइसकेको) वनस्पति चियालाई पकाएर कषायको रुपमा अनावश्यक अवस्थामा विभिन्न परिकारको विधिबाट पिउने चलन (फेसन) बन्यो । अघि हाम्रा दूरदर्शी पूर्वज मान्यजनहरु भन्ने गर्थे कि ‘बाबु हो ! अहिले तिमीहरुलाई ईश्वरप्रदत्त अमृतसरह दुध, दही, मही, घिउ आदि मन पर्दैन, पछि तिमीहरुले नै पानी फुकेर पिउनुपर्ने हुन्छ । हाटबजार सौदा गर्न जाँदा पैसा डालामा लिइजाने र सौदा झोलामा लिई आउनुपर्ने बेला आउँदै छ है ।’ अहिले त्यही बोलीले मूर्त रुप लिएको छ ।
वैदेशिक मित्रहरुले आफ्नो अर्थतन्त्र बलियो बनाउने उद्देश्यले धनीगरिब जस्तोसुकै जनतालाई पहिले पहिले सित्तैमा चिया वितरण गर्दै चियाको स्वादमा पल्काए र पछि पछि चियाको माग स्वतः बढ्दै गएकोले सित्तैमा पल्काएका चियाको समेत साँवाब्याजै असुल्दै गएर अहिले विश्वमै चियाको वर्चस्व स्थापित भइसकेको छ ।
चियाको उपयोगिता कस्तो हो त ?
संसारभरिका दृश्यमान वस्तु वा पदार्थमा गुण (ग्राह्य तङ्खव) र अवगुण (अग्राह्य र त्याज्य तङ्खव) न्यूनाधिक रुपमा रहेकै हुन्छ । अर्थात् कुनै वस्तुमा गुण बढी र अवगुण घटी, त्यस्तै कुनै वस्तुमा अवगुण बढी र गुण घटी विद्यमान हुन्छ । जस्तो कि यही चियाका बारेमा भन्नुपर्दा,
‘कफ काटन व्याधिहरण धातुक्षीण वलहीन ।
लोहू को पानी करे गुण दो अवगुण तीन ।।’
हामी जोसुकै मानिस पनि बढी फाइदा दिने वस्तु नै स्विकार्छौं । यसमा कफदोषलाई घटाउने र भोकजस्तो व्याधिलाई क्षणिक रुपमा भए पनि शान्त गर्ने दुइटा गुण भयो अनि धातु (वीर्यलाई क्षीण गराउने, वीर्य क्षीण हुँदै गएपछि बलबर्गतहीन हुने र लोहु (रगत) लाई पातलो गरिदिने खालका तीन अवगुण हुन्छन् भने गुणअवगुण दुवैलाई नै गुणकारीकै रुपमा चियालाई मुख्य पेयको रुपमा अपनाएका हौँ त ?
अझै वैज्ञानिक विश्लेषणबाट हेरौँ कि, चिया एक मन्द विषादि तङ्खवले भरिपूर्ण पेय हो । किनकि चियामा टेनिन, थिन, क्याफिन, स्टिनायल, साइनोजेन, पेमिन आदि मन्द विषादि तङ्खवको संयुक्तता हुन्छ । अझ सूर्तिखैनी आदिमा पाइने निकोटिनसमेत चियामा पाइन्छ जसले गर्दा शरीरलाई हानी गर्ने खालका अवगुण प्रशस्त पाइन्छन् । जस्तै, शरीरमा आलस्य, शिथिलता, हृद्दौर्वल्यता, मन्दाग्नि, कब्जियत, अनिद्रा, दाँतको कमजोरी, शिरः शूल, ग्लानि आदि दुष्परिणाम भोग्नुपर्ने हुन्छ ।
अतयव उपर्युक्त उल्लेखबाट विचार गर्दा चियाजस्तो वस्तुलाई प्रेम गरी त्यसको आदतमा फस्नुभन्दा त्यसप्रतिको सतर्कता अपनाउनु नै उत्तम र बुद्धिमानी होला ।

Facebook Comments Box

Similar Posts