विमला प्रधान जोशी
(नागरी फार्म चियाबारी दार्जिलिङ, भारत)
जबसम्म शरीरमा प्राण रहन्छ, निरन्तर हिँडिरहनु जीवन हो । जीवनलाई कहिले रहरले हिँडाउँछ कहिले करले कहिले हाँसोको फोहोरामा त कहिले आँसुको धारामा, मृत्युपर्यन्त यसरी अनिवार्य रुपमा सत्यसित मान्छे हिँडेको हुन्छ । गन्तव्य कहाँ छ यही अनिश्चितता नै मान्छेको बचाइका वास्तविक बचाइ हुन् ।
नेपाली भाषासाहित्य जगत्का लियोनार्डो-डा-भिन्सि मानिएका डिगबोई, आसामका युद्धवीर राणा बहुआयमिक व्यक्तित्व हुन् । उनी जाँगरिला एवम् उर्वर साहित्य, सङ्गीत, कला जगत्का चम्किला नक्षत्र हुन् । उनी जीवनका बाँझा बारी खनखान गरेर समाधानका बिरूवा लगाएर सुनको बालामा कलाको खेती गर्ने पौरखी पुरूष हुन् ।
उनको जन्म सन् १९४१ को नोभेम्बर १७ मा पिता स्व. लालसिंह राणा अनि माता स्व. वाणी राणाको कोखबाट भएको थियो । उनले सन् १९५० देखि डिगबोईस्थित नेपाली माध्यमको नेपाली एम.ई. पाठशालामा प्राथमिक शिक्षा आर्जन गर्दै सन् १९६१ मा डिगबोईबाट उच्च शिक्षा हासिल गरे । सन् १९६२ देखि उनी नेपाली माध्यमको पूर्वाञ्चल विद्यालयमा शिक्षक पेसामा लागे । सोही विद्यालयमा उननचालिस वर्ष शिक्षा दान गरेर सन् २००२ मा सेवा निवृत भए ।
अल्पसङ्ख्यक नेपालीभाषी भएको स्थानमा नेपाली भाषासाहित्यको उद्यापन गर्नु लरतरो काम होइन तर राणाले उक्त काममा तनमन लगाई आफूलाई नेपाली भाषा, साहित्य, कला, सङ्गीतको विकासपथमा समर्पित गरी विभिन्न विधामा कलम चलाएर कलाउद्यानमा मलजल गरी साहित्यिक माली बने । उनले सन् १६६५ देखि नै साहित्यमा प्रवेश गरेका हुन् । कथा कविता र नाटकमा कलम चलाएका उनका युगरेखा, उषा, हाम्रो ध्वनि, ज्वाला, रत्नश्री आदि कृति हुन् । यीबाहेक पत्रपत्रिकामा पनि उनका सृजना प्रकाशित छन् ।
चिहान नपाएका तक्माहरु (लामो कविता) ले राणालाई कविका रुपमा प्रतिष्ठित गराएको छ । सन् १९७६ देखि असममा सुरू भएको ‘विदेशी नागरिक हटाऔँ’ आन्दोलनले असममा युगौँदेखि बसोबास गर्दै आएका रैथने नेपालीको घडेरी हल्लियो । उनीहरुको अनुहारमा पीडा र त्रासको भाव छर्लङ्ग देखियो । यसरी आफ्नो परिवारको दयनीय स्थिति देखेर राणाको कविसत्ता जाग्यो अनि उनले कलमको हतियार उठाए ।
उनले चिहान नपाएका तक्माहरु तयार गरे । त्यसका केही पङ्क्ति यहाँ जस्ताको त्यस्तै:
हामीले मान थपाई अपमान पायौँ
ज्यान लडाई बदनाम पायौँ
जित्दा जित्दै हार खायौँ मार खायौँ
हाम्रो आत्म बलिदानको
ठुलो उपहार पायौँ ।
प्रस्तुत कविताका हरफमा वैयक्तिक अनुभूतिका प्रवाह छन् । भावनाका उच्छाल कहिले अङ्कुशका मुट्ठीबाट केही कण त छुट्छ नै । फुस्कोस् वा बाँधियोस्– कवि लेखनमा मुक्त छन् । यस्ता बलिया कविताले पाठकको हृदयलाई आवश्य छुन्छ नै । कविता अनेक विधिका हुन्छन् । कति वाक्यका कविता हुन्छन् कति तर्कका कविता हुन्छन् कति हावामा मृदु मुस्कानका कविता हुन्छन् । आआफ्ना रीति र थितिले कविता लेखिन्छन् र मन पराइन्छन् । कवि राणाले सरल कुराकानीभित्र हठात् गम्भीर वैचारिकता पस्किन्छन् । उनका कवितामा व्यङ्ग्य र आक्रोश पाइन्छ । युगका अभिव्यञ्जनाको अभिव्यक्तिका साथ अनुभव, विचार, दर्शन र राष्ट्रिय चेतना उनका कवितामा छन् । सुन्दर भाव र शैलीले कविता संरचित छ । उनका कविता पठनीय र मननीय छन् । आफ्ना सृजनामार्फत नेपाली भाषासाहित्यमा गच्छेअनुसार निरन्तर सक्रिय रही योगदान पुर्याउने बहुप्रतिभाका धनी हुन् राणा ।
सन् १९५२ तिर दुई कक्षाको छात्र छँदा बालकलाकारका रुपमा राणालाई नाटकको मञ्चमा उभ्याउने व्यक्ति थिए डिगबोईका कलाकार स्व. लीलाराम राणा । सोही समयमा गुरूआमा पुष्प शाहीको निर्देशनमा उनले हास्य कलाकारका रुपमा आत्मप्रकाश गर्ने मौका पाए । सन् १९५८ तिरदेखि डिगबोई टोपला बस्तीको विष्णु मन्दिरको रङ्गमञ्चमा विभिन्न उपलक्ष्यमा नाटक खेलिन्थ्यो । ती नाटकमा राणा कहिले नायक कहिले खलनायक त कहिले हास्य अभिनय गरेर दर्शकलाई मोहित पार्थे । उनी कुशल अभिनेताका रुपमा प्रतिष्ठित छन् । उनी हरिभक्त कटुवाल र भविलाल लामिछानेका नाटकहरु लीलाराम राणा र पुष्पा शाहीको प्रेरणामा अभिनय गर्थे ।
ललित कलामा पनि राणाको रूचि कलिलो उमेरदेखि नै थियो । उनी रूखका ठुटा, हाँगा, जरा आदि काटेर, ताछेर विभिन्न प्रकारका आकृति बनाउँथे । यसरी नै माटा र सिमेन्टका मूर्ति बनाउन पनि उनी सिपालु थिए । चित्रकला र काष्ठकलामा निरन्तर साधनाको फलस्वरुप उनले केही अमर सृष्टि सृजना गरे । डिगबोई, दुलियाजान, रामपुर पाठगाउँ, काठमाडौँ आदि ठाउँमा राणाले ललितकला प्रदर्शन गरेर प्रशंसा कमाएका छन् । सन् १९६६ मा काष्ठकला प्रतियोगितामा राणा असमभित्र प्रथम भए ।
२६.०६.२००२ मा डिगबोई विष्णु मन्दिर परिसरमा भानुभक्त आचार्यको पूर्णाङ्ग शालिक अनावरण समारोह सम्पन्न भयो । यो कार्य सम्पन्न गराउनुभयो साहित्य अकादमीका उपसचिव डा. रणजीत शाहले । युद्धवीर राणाद्वारा निर्मित यो शालिक असमवासी नेपालीको अस्मिताको प्रतीक बनेको छ भने यसले कलाकार राणाको अद्भूत कलाकारिता इतिहासमा दृष्टिकर्मका हिसाबले साक्षी बनेर रहने छ । यस्ता बहुआयामिक प्रतिभाका धनी व्यक्तित्व साहित्यकार, कलाकार, मूर्तिकार, नाटककार राणा साँचो अर्थमा साहित्यका अनन्य साधक हुन्, अथक उपासक हुन् ।