भरखरै हामीले प्रा. राजेन्द्र सुवेदीको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर ‘राजेन्द्र सुवेदी स्मृति अङ्क’ प्रकाशित गर्नुका साथै यस अङ्क र उनकै पद्य कविताहरुको सङ्ग्रह अन्तःसंवेदनालगायतको सार्वजनिकीकरण कार्यव्रmम सम्पन्न गर्यौं । यसबाट हामीले प्रा. सुवेदीलाई साङ्गोपाङ्ग रुपमा चिनाउने प्रयत्न गरेका थियौँ । यद्यपि उनले नेपाली साहित्यमा प्रदान गरेको जुन योगदान छ त्यसलाई रेखाङ्कन मात्र गर्न सकेको भए पनि हामीले हाम्रो प्रयासलाई सफल भएको मान्न सक्ने छौँ । त्यो हाम्रो शिशु प्रयास थियो । त्यसलाई यहाँहरुले समुचित मूल्याङ्कन गर्नु हुने नै छ भन्ने हामीले आशा गरेका छौँ । यहाँहरुको मार्गदर्शन नै हाम्रा लागि भविष्यका हिँड्नुपर्ने बाटाहरु हुने छन् । यसको प्रतीक्षामा हामी सदा काल प्रतीक्षारत रहने छौँ ।
सूचना र सञ्चारको सुगमता रहेको यस समयमा भरमग्दुर प्रयास गर्दागर्दै पनि हामीले उक्त अङ्कमा समावेश गर्नुपर्ने स्वनामधन्य नामहरुसम्म पहुँच पुर्याउन असमर्थ रह्यौँ । हामीले जतिसुकै प्रयास गरे पनि त्यो अधुरो नै रहने हुँदो रहेछ । यस कुरोको बोध त्यति बेला भयो जति बेला सम्पादनलगायतका काम सकिएर उक्त अङ्क छापिनका लागि प्रेसमा गइसकेको थियो । ‘बेलैमा थाहा पाएको भए हामी पनि लेख्ने थियौँ नि !’ भनेर कतिपय विद्वानले खोजखबर गर्न थाल्नुभएपछि हाम्रो आँखा खुल्यो । हाम्रो सम्पर्क र सूचना संयन्त्र कमजोर रहेछ भन्ने कुरोको बोध गर्यौं । यसर्थ फेरि पनि हामीले उक्त अङ्कमा समावेश गर्न नसकेका महङ्खवपूर्ण विद्वान् र उहाँका लेखहरुलाई सङ्ग्रह गरेर प्रकाशित गर्ने जमर्को गरेका छौँ । यसमा सदाझैँ यहाँहरुको साथ र सहयोग कायम रहने छ भन्ने हामीले आशा गरेका छौँ । यसर्थ हाम्रो अनुरोधलाई स्वीकार गरी स्वयम्सेवी रुपमा यहाँहरुका अमूल्य लेखरचना उपलब्ध गराइदिनुहुने छ भन्ने हामीलाई लागेको छ । अथवा कसैसम्म पहुँच पुर्याउन यहाँहरुले आवश्यक देख्नुभयो भने त्यसको जानकारी प्रदान गर्नुभए पनि हामीले हाम्रो प्रयासलाई त्यसतर्फ केन्द्रित गर्ने छौँ ।
प्रा. राजेन्द्र सुवेदीका प्रकाशित कृतिहरुमध्ये अधिकांशको उपलब्धता सहज देखिए पनि उनका लेखनका प्रारम्भिक कालीन केही रचना एवम् कृतिको उपलब्धता कठिन रहेको तथ्य थाहा हुन आएको छ । ती अनुपलब्ध कृति उपलब्ध हुन सके अथवा उपलब्ध हुन सक्ने स्रोतका बारेमा जानकारी प्राप्त हुन सके नेपाली साहित्यले गुमेको भनिएको कृति पाउने थियो । यस्ता कृतिहरुमा उनका लेखनका प्रारम्भिक कालीन उपन्यासहरु पर्छन् । यसै गरी उनका अप्रकाशित कृतिहरुको फेहरिस्त पनि लामै रहेको देखा पर्दै छ । तिनीहरुको प्रकाशन र समुचित व्यवस्थापनको आवश्यकता टड्कारो रुपमा देखा परेको छ । यसका लागि उनका परिवार जनको भूमिका मुख्य रहनेमा हाम्रो विश्वास छ । यसका साथै विद्वत् जनको चिन्ता र चासो पनि समीचीन नै रहने छ । सबैको संयुक्त प्रयासले एउटा स्रष्टाको सिर्जना सम्पूर्णतः फेला पर्न सके र तिनको अध्ययन हुन सके यो नै लक्ष्यको सगरमाथा चुम्ने प्रयास हुने छ । स्रष्टाप्रतिको न्याय पनि यसैबाट नै हुने छ भन्ने हामीलाई लागेको छ । यसतर्फ सम्बद्ध सबैको दृष्टि पुग्ने नै छ भन्नेमा हामी विश्वस्त छौँ । हामी नयाँ स्रष्टा जन्माइरहेका छौँ भने हामीलाई छाडेर गएका स्रष्टा र उनको सिर्जनालाई पनि गुम्न नदिऔँ । बस् यत्ति ।
प्रधान सम्पादक