नेपाली सांस्कृतिक चाड गाईजात्रा वर्षको एकपटक आउँछ । विशेषतः आफन्त जनको निधनमा शोकलाई बिर्सने प्रयोजनका लागि यो पर्व मनाइन थालिएको भनाइ प्रचलनमा छ । यस दिन विविध खाले मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शन गर्ने र बेढङ्गी लवाइ, हाँसउठ्दो शृङ्गार एवम् गतिविधि प्रदर्शन गरेर शोकको गहिरो कुवामा रूमल्लिरहेकालाई त्यहाँबाट निकाल्न हाँसो प्रस्फुटन गराउने प्रयत्न गरिन्छ ।
जाने त गइगयो, बाँच्नेले गएका आफन्त जनको शोक मात्र सधैँ मनाएर बस्न सक्ने अवस्था रहन्न । गएकाहरुभन्दा पछाडि पनि थुप्रै बाँकी रहन्छन् र हुन्छन् । तिनले सधैँ शोकको सागरमा पौडिएर बाँकी जीवन सहजतापूर्वक अगाडि बढ्न सम्भव हुन्न । यसको अर्थ यो होइन कि बितेर गएका आफन्त जनलाई चटक्कै बिर्सने । उनीहरु सदा स्मरणीय रहन्छन् । यसैले बितेर गएका पूर्वजलाई प्रातः स्मरणीय भन्ने गरिन्छ । उनीहरुको सत्कर्मको सम्झना सदा जीवन्त रहिरहन्छ । तर बाँकीले बाँकी कर्म गर्नुपर्ने अनिवार्यता रहन्छ । यही कारण अग्रजको स्मरणलाई सदा ताजा राख्दै जीवनका सङ्घर्षमय कर्मक्षेत्रमा प्रवेश गर्नु अपरिहार्य हुन्छ । यसका लागि सर्वप्रथमतः शोकमग्न हृदय परिवर्तन पहिलो सर्त हुन्छ । यसो हुन नसक्दा आफन्त जनको वियोगको गर्तमा परेकालाई त्यसबाट बाहिर निकाल्न सम्भव हुन्न । यही हृदय परिवर्तन गर्ने मनसायले गाईजात्रा मनाइने गरिएको इतिहास छ । यो इतिहासको निरन्तरता वर्षको एकपटक हुन्छ नै हुन्छ ।
यही अवसरमा शोकलाई हास्यमा परिणत गर्ने प्रयत्न हुन्छ । यसका लागि सदा दिनको सहज, औपचारिक र सामान्य लाग्ने क्रियाकलाप प्रस्तुत गरिन्न । यसका विपरीत असहज, अनौपचारिक र असामान्य विधिव्यवहारहरु प्रदर्शन गरेर जस्तै नहाँस्नेलाई पनि हाँस्न बाध्य पार्ने खालका दृश्य गतिविधि र अभिनय प्रस्तुत गरिन्छ ता कि शोकको भुमरीमा रूमल्लिरहेकाहरुलाई त्यसबाट बाहिर निस्किन सक्दो उत्प्रेरणा प्राप्त होस् । यस्ता प्रदर्शनहरु व्यक्तिगत हुन्नन् । सामूहिक हुन्छन् । सार्वजनिक हुन्छन् । खुल्लमखुल्ला सबैका अगाडि देखाइने यस्ता सार्वजनिक र सामूहिक गतिविधिका कारण मृत्युजस्ता आफन्त वियोगका घटना एउटाका लागि मात्र नभई अरु र सबैका लागि घटित हुँदो रहेछ भन्ने अनुभूति हुन्छ । यसले गर्दा आफन्तवियोगको घटना सबैमा घटित हुँदो रहेछ भन्ने बोध हुन्छ र यसले पीडालाई सामान्यीकरण गर्दै सहज र सह्य बनाउन मद्दत गर्छ । यो नै यस पर्वको विशेष पक्ष हो । यसरी शोकलाई जीवनको एउटा क्षणिक अंशका रुपमा प्रस्तुत गरेर मानिसलाई सामान्य जीवनमा फर्किन गाईजात्राले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ ।
संस्कृति जीवनका लागि हो । संस्कृतिले जीवनलाई रोकिन होइन अगाडि बढ्न प्रेरणा दिइरहन्छ । यो नै यस जीवनको निरन्तरताका लागि आवश्यक हुन्छ । जीवहरु आउँछन् जान्छन् । हामी सबै आउँछौँ जान्छौँ । कोही पनि सदा कालका लागि आएका थिएनन् हुन्नन् । आउने जाने क्रम सदियौँदेखि चलिरहेछ । सृष्टि रहुन्जेल चलिरहन्छ । यही चलिरहनुलाई निरन्तरता दिन यस्ता सांस्कृतिक पर्व विशेष, विशेष रुपमा सार्थक छन् र हुन्छन् । यिनले कम्तीमा मानिस रुपी हामी जीवलाई बाँच्ने प्रेरणा दिइरहोस् । हामी जो जति छौँ जति दिन रहन्छौँ, रहुन्जेल बाँच्ने प्रेरणा प्राप्त भइरहोस् । हामी कसैले कसैलाई जीवन दिन सक्तैनौँ भने जीवन लिने दुष्चेष्टा पनि नहोस् । यसो भयो भने यो धरती हामी जीवरुपी मानिसका साथै अरुहरुका लागि कति सुन्दर भूमि हुने थियो । आशा गरौँ यस्तै होस् ।
प्रधान सम्पादक

