समय सत्य हो वा भ्रम ? सत्य हो भने यो कहाँ छ ? कहीँ त देखिनुपर्ने अथवा हुनुपर्ने । कहीँ त यसको हुनुको बोध हुनुपर्ने । बोध हुनुको नाममा हामीले केवल यसलाई छ भन्ने नाममा स्विकारिरहेका छौँ । मानिरहेका छौँ । अनुभव गरिरहेका छौँ । हुनु र छ भन्ने नाममा हामीबिच समय निरन्तर छ । अथवा निरन्तरको अनवरतताका बिचमा हामी केवल केही क्षणका लागि छौँ ? हामीजस्ता कति आए कति आउने छन् तिनको लेखाजोखा छैन तर हामी हुँदा र नहुँदा पनि निरन्तरता त छ र रहन्छ नै । यसको निरन्ततामा कुनै असर परेको छैन र भविष्यमा कुनै रुपमा पर्नेवाला पनि छैन । हामी हुनु र नहुनुसँग निरन्तरताको गोरू बेचेको साइनो पनि छैन । यद्यपि समय छ कि छैन वा हो अथवा होइन ? यसरी खोज्ने चेष्टा गरेका छौँ ? समय सत्य होइन भने किन यसलाई स्विकारिरहेका छौँ ? केवल हुनुको भ्रमलाई सत्य मानिरहेका त होइनौँ ? सत्य हो भनुँ भने यसमा कुनै उतारचढाव देखिन्न । जहिल्यै केवल एकनास छ । निरन्तरता छ । भिन्नता छैन । फरक छैन । अभिन्नता र अफरकपनमा यो निरन्तर छ । सत्य र भ्रम नै पनि दुई विपरीत ध्रुवीय मानक हुन् या यिनका बिचमा विपरीतता नै छैन ? केवल हामीले हाम्रा सजिलाका लागि सत्य र भ्रमको अवस्था सिर्जना गरेका त होइनौ ? यिनका बिचमा विपरीतता निर्माण गरेका त होइनौँ ? यी दुई विपरीत हुन्थे भने किन दुई विपरीततालाई एउटै समयमा खोजिरहेका छौँ । एउटैमा भिन्नताको खोजी समयका सन्दर्भमा सान्दर्भिक हो अथवा होइन पनि । यसलाई कसरी बुझ्ने ? भौतिक वस्तु र पदार्थमा त विपरीतता हुन्छ नै । यो हामीलाई थाहा छ । यही कारण भौतिक वस्तुको गुणवत्ताको मूल्याङ्कन मूल्याङ्कित हुने अवस्थाको सिर्जना हुन्छ । उसो त विपरीतता नहुने हो भने मूल्याङ्कित हुने अवस्था नै सिर्जना नहुन सक्छ । यस कारण भौतिक वस्तु र पदार्थमा विपरीतताको विद्यमानता अनिवार्यतः आवश्यक हुन्छ । तर के समयका लागि पनि यही नियम लागु हुन्छ । यसमा पनि फरक गुणको खोजी समीचीन हुन्छ ? वैपरीत्य हुँदो हो भने यो किन सदा एकनासले निरन्तर रहन्छ ? कतै विपरीतताको खोजी केवल हाम्रा मानसिक भ्रम त होइनन् ? हाम्रा मनोबिम्बले सिर्जना गरेका दुई फरक भिन्नता त होइनन् ? कि यो साँच्चै छ र समयका हकमा पनि यो लागु हुन्छ ? यसरी हेर्दा विपरीतता त केवल हाम्रो अनुभव र अनुभूतिमा देखिन्छ, समयमा होइन । हामीले हाम्रा अनुभव र अनुभूतिलाई प्रकट गर्ने नाममा केवल समयको फेरो समातेर अभिव्यक्त गर्न सजिलो पारेका मात्र हौँ । यो हाम्रा लागि हामीले निर्माण गरेको सहजता मात्र हो । वास्तवमा समय नै विपरीत ध्रुवीय विन्दुमा उभिएको भने होइन र छैन । यो सत्यमा सत्याङ्कन हुने अवस्थामा पनि छैन र भ्रममा भ्रमाङ्कन हुने अवस्थामा पनि छैन । केवल हामीले हाम्रो सहजताका लागि यसको सत्यता र भ्रमतालाई खोजेका मात्र हौँ । न यो सत्यमा सत्याङ्कित हुन सक्ने अवस्थामा छ न यो भ्रममा भ्रमाङ्कित हुन सक्ने अवस्थामा छ । सत्य र भ्रमको नापोले नाप्न सकिने दुवै अवस्थामा यो छैन । यसैले यसलाई खोज्ने कर्म पनि कतै मुख्र्याइँ त होइन ? जे छ त्यसलाई स्विकार्नुको विकल्प नभएपछि र अस्वीकार गर्न सक्ने ल्याकत नभएपछि यसको खोजी गरिरहनु कतै सत्यमा भ्रमको पर्दा हालेर यस्तो हो भन्ने र आफूलाई साखुल्ले तुल्याउने अनि पानीमाथिको ओभानो सिद्ध गर्ने सार्वभौम मानवीय स्वभावको स्पष्ट प्रस्टोक्ति त होइन ?
प्रधान सम्पादक