काठमाण्डाै । कवि एवं गीतकार सागर फुयाल द्वारा लिखित कविता र गीतसंग्रह ‘अँजुलीमा थाप्न पाए’ को विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. श्रीकृष्ण श्रेष्ठ, पूर्वराजदूतहरू निरन्जनमान सिंह बस्नेत, अरुण धिताल, बलबहादुर कुँवर, समालोचक नेत्र न्यौपाने, साहित्यकारहरू धीरकुमार श्रेष्ठ तथा कृसु क्षेत्री, समाजसेवी मुरारी आचार्य एवम् लेखककी आमा तथा प्रकाशक मैया फुयालले ‘अँजुलीमा थाप्न पाए’ कृतिको संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।

विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले भन्नुभयो-“साहित्य सिर्जना विशिष्ट कला हो । त्यो कला लेखकमा पाएको छु ।”
उहाँले कृतिकार सागरलाई आफ्नो शिष्य समेत रहेको बताउदै सागरबाट महासागर बन्ने यात्रामा अघि बढ्न शुभकामना समेत दिनुभयो ।

३३ वटा कविता र ६४ वटा गीतहरु समावेश गरिएको सो संग्रह माथि तीनजना टिप्पणीकारहरुले समिक्षात्मक धारणा राख्नु भएको थियो । समालोचक नेत्र न्यौपानेले कृतिभित्रका रचनाहरु लेखकका जीवनका वास्तविक भोगाइहरुको प्रतिबिम्ब भएको बताउनु भयो । “उहाँका कविताहरुमा पिडा, आक्रोश र जीवन प्रतिको निराशाका भावहरु बढि भेटिन्छन । तर उनका गीतहरुमा भने प्रेम, आशा, उत्साहका भाव पाइन्छन ।” उहाँले लेखकका अधिकांश रचनाहरु मुलत आफ्ना पिताप्रति समर्पित भएको बताउनु भयो । कार्यक्रमका अर्का टिप्पणीकार लेखक तथा साहित्यकार धीरकुमार श्रेष्ठले भन्नुभयो-“उहाँको सिर्जना सरल र सहज छन ।” “उहाँका सिर्जनाहरु जीवन, समाज र राष्ट्रका गलत सोच र प्रवृति विरुद्ध लप्का बनेर बलेको प्रतित हुन्छन ।” श्रेष्ठले थप्नुभयो । उहाँले कृति भित्र संग्रहित रचनाहरुमा निष्ठा र इमान्दारिता सबल रुपमा भएका प्रकट भएको समेत बताउनु भयो । अर्का टिप्पणीकार साहित्यकार कृशु क्षेत्रीले लेखकसँगका अन्तरंग प्रशंग र भोगाइहरुलाई प्रस्तुत गर्दै फुयाल परिस्थितिले जन्माएको एक कवि तथा गीतकार हुन भन्नुभयो । लेखकसँग नजिकबाट परिचित क्षेत्रीले कृतिकार फुयालले जीवनमा भोगेका तितामिठा भोगाइहरुलाई मर्मस्पर्शी ढंगले राख्नुभएको थियो । कार्यक्रममा समाजसेवी मुरारी आचार्यले समेत आफ्नो धारणा राख्नु भएको थियो भने कृतिकार फुयालले संक्षिप्त लेखकीय विचार राख्नु भएको थियो ।

राजधानीको नयाँ बानेश्वर स्थित अर्पण ब्याङकेटमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता लेखककी आमा मैया फुयालको गर्नु भएको थियो भने आगन्तुकहरूका लागि स्वागत मन्तव्य शब्दाङ्कुर मासिकका सम्पादक गोविन्द घिमिरेको रहेको थियो ।

Facebook Comments Box

Similar Posts