महेशराज खरेल

जीवन बाँच्ने भनेको
शरीरलाई आवश्यक खान
थाकेका बेला मिठो निद्रा निदाउन
एउटा छाप्रो छानो
हुरी बतास पानी झरीबाट जोगाउन
अलिकति ओैषधीमुलो
बिरामी परेका बेला निको बनाउन
यससँगै सामर्थ्य  जोडेर आफ्नो
सकिन्छ भविष्य सुन्दर सजाउन
यति भए पुग्दछ
एउटा सजीव मानिसलाई
जिन्दगी सहज बाँच्न

जीवन बाँच्ने भनेको
आफ्नै मिहिनेत र पसिनामा
शिर ठाडो पारेर मुस्कान छर्दै
स्वाभिमान बोकेर गौरव गर्दै
देश निर्माणको झन्डा उठाउन सक्नुपर्छ
जिउन सकिन्छ खुसीसाथ
आफ्नो जीवन
चहार्नु पर्दैन बैरीका दैला दैलामा
निगाहा बक्स होस् भन्दै
पराइका सामु हात पसारेर चिहाउँदै

केवल बाँच्ने बहानामा
शिर झुकाएर
निहुरमुन्टी न बन्दै
आफ्नो स्वत्व गुमाएर
अनावश्यक ख्वाब पालेर मनमा
घुँडा टेकेर फिरङ्गीका अगाडि
नबेचौँ स्वाधीनता राष्ट्रको

हेरौँ ! बुझौँ धैर्य गरौँ
राष्ट्र सग्लो रहे
हामी जित्ने छौ संसार फेरि
सम्पूर्ण गुमेका छैनौँ हामी
बिउ थोरै हुन्छ सिर्जना उमार्न
हामीसित बिउ छ मूल्यको
बाँच्नलाई पुग्ने
सामथ्र्य हामी आफैसँग छ
प्रकृतिले उपहार दिएकी छन्
उर्वर भूमि हामीलाई
पर्दैन कान लत्र्याएर
अरुका अगाडि गिड्गिडाउन

बरू हामी यसो गर्न सक्छौँ
ज्ञान प्रज्वलित गरौँ सबैमा
आफ्नै सभ्यताको
उर्वर धरतीमा उत्पादन बढाउन
हातमा ठेला उठाएर पसिना बगाउँदै
अस्तित्व फलाउन सिकाऊँ स्वाधीनताको
हामीले देख्न पाउने छौ
त्यहाँ एकत्व जोडिने छ
विभाजन भत्किने छ
लहलहाउँदो फसल फल्ने छ
अनि माला उनिने छ आत्मगौरवको

ढाँटेर स्वजनलाई दिग्भ्रमित गर्यौँ भने
फल्दैन समृद्धिको फल राष्ट्र बाँझो रहे
देश बिग्रन्छ अनाडी खेलबाडले
राष्ट्रिय भावनालाई चिरा बनाउँदै गए
त्यसैले
हामीले बुझ्ने बेला आएको छ
हेरौँ त !
सबै प्राणीले जीवन बाँच्न
आआफ्नै पाराले जानेका छन्
बुझेका छन्
भनदिऊँ अब त हामी पनि तिनलाई
भो पर्दैन नसिकाऊ हामीलाई
हामी आफै जानकार छौँ
सर्पले पनि आफ्नो समयमा
आफै काचुली फेर्दछ
छेपारोले झैँ रङ फेर्दैन उसले
तिमी रङ फेर्दै छेपारोझैँ नआऊ यता
पिपलपाते बनेर हावाको गतिसितै
दिशा बदल्ने ज्ञान नसिकाऊ अब

हाम्रो लक्ष्य
स्वाधीन अस्तित्व पहिचानको द्योतक हो
त्यो भनेको जडता होइन
गतिशीलता हो
गतिको निमित्त अरुमा बोकिएर
दौडिनु भनेको होइन
आफ्नै सामर्थ्यमा हिँड्नु हो

जिन्दगी एउटा समय सीमाको
कुरा मात्र पनि त होइन
यो त निरन्तर अभियान हो
एउटा गल्छेडो उक्लिन
नबेचौँ हामी उर्वर फाँट राष्ट्रको

हेरौँ ! सम्झौँ अनि बुझौँ
जीवन बाँच्न त
भोक लागेका बेला
अलिकति खान
निद्रा लागेका बेला
अलिकति निदाउन
एउटा सानो छानो जीवनको
घामपानी असिना झरीबाट जोगाउन
अलिकति ओैषधीमुलो
रोगव्याधीबाट बचाउन
आवश्यक हुने न हो
मातृभूमिमाथि अत्याचार गरेर
बन्दैन समृद्ध जीवन सन्ततिको
आमाको रक्षा गर्नु नै
हाम्रो पहिलो परम् कर्तव्य हो ।

Facebook Comments Box

Similar Posts