भदौ २, काठमाडौं । पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक भएको छ। यसअघि उत्कृष्ट १५ पुस्तकको सूची निकालेको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दोस्रो चरणको सूची सार्वजनिक गरेको हो।
दोस्रो चरणको छोटो सूचीमा डा नवराज केसीको शून्यको मूल्य, विवेक ओझाको ऐँठन, सुबिन भट्टराईको इजोरिया, प्रदीप रोदनको मफलर र डा देवीप्रसाद सुवेदीको मनु पुस्तक परेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए। प्रतिष्ठानले वि.सं. २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्डबमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची सार्वजनिक भएको थियो।