१४ फागुन, काठमाडौँ । शब्दाङ्कुर साहित्यप्रधान मासिकले आयोजना गरेको कथा प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ ।
शब्दाङ्कुर साहित्यप्रधान मासिकले २२ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित उक्त प्रतियोगितामा धोबीघाट, ललितपुरका प्रा. डा. अजय रिसालको ‘मोबाइलको घण्टी’ कथाले प्रथम स्थान, बेलका-२ उदयपुरका नन्दलाल आचार्यको ‘केटो’ले द्वितीय र गोकर्णेश्वर-३ काठमाडौँका अज्ञात युवकको ‘दुर्व्यवहार’ले तृतीय स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुने कथाकारलाई १० हजार रुपैयाँ, द्वितीय हुने कथाकारलाई ६ हजार रुपैयाँ र तृतीय हुने कथाकारलाई पाँच हजार नगद र प्रमाणपत्र दिइनेछ।
प्रतियोगितामा सहभागी सबै कथाबाट कथाकारको नाम, थर, ठेगाना हटाई कुनै पनि तरिकाले चिह्नित हुन नसक्ने गरी कोडिङ गरेर निर्णायकलाई निर्णयका लागि उपलब्ध गराइएको कथाहरूको प्रारम्भिक छनोट सम्पादकहरू भोगेन्द्र लिङ्देन, गोविन्द घिमिरे र टेकेन्द्र चेम्जोङले गरेका थिए। अन्तिम छनोटकर्तामा डा. गणेशप्रसाद भट्टराई, सुदीप पोखरेल र गायत्री बिष्ट थिए ।
पत्रिकाका प्रधान सम्पादक धीरकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा प्राप्त कथामध्ये उत्कृष्ट दस कथालाई निकट भविष्यमा र बाँकी कथालाई क्रमशः प्रकाशन गरिनेछ। २०५८ सालदेखि निरन्तर प्रकाशित हुँदै आएको शब्दाङ्कुरको व्यवस्थापक तुलसी कन्दङ्वा हुन्।