भदौ २८, काठमाडौं । अग्रज साहित्यकार योगेन्द्र तिमिल्सिनाका दुई कृति  कथासङ्ग्रह ‘आश्मा र अरू कथाहरू’ र कवितासङ्ग्रह ‘अनन्त इच्छाका गीतहरू’ को विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । राजधानीको पुतलीसडक स्थित ग्रीनलिभ्स रेस्टुराँमा आयोजित कृति विमर्श कार्यक्रमलाई  साहित्यकार डा. तुलसी भट्टराईले  सभापतित्व गर्नु भएको थियो ।

कार्यक्रममा समालोचक डा. तुलसी गौतमले तिमिल्सिनाका कवितासंग्रह ‘अनन्त इच्छाका गीतहरू’ माथि आफ्नो धारणा राख्नु भएको थियो । “तिमल्सिनाका कविताहरु सरल तर सुन्दर काव्य शिल्पी र शक्तिशाली भावमा पाइन्छ”, उहाँले बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले साहित्यकार योगेन्द्र तिमिल्सिनालाई विराटनगरदेखि नै चिनेको बताउदै र तिमिल्सिना र डा. तुलसी भट्टराई मिलेर २०३३ सालमा संयुक्त कथासङ्ग्रह ‘तीनधारा’ प्रकाशित गरेको स्मरण गराउनु भयो ।

कार्यक्रममा डा. कुमारप्रसाद कोइरालाले तिमिल्सिनाका कथाहरु सरल शैलीमा लेखिएकाले पाठकहरुमा सहज ढंगले सम्प्रेषित हुनसक्ने बताउनु भयो । तिमिल्सिनाका कथाहरुमा समसामयिक नेपाली समाजका समस्याहरु समेटिएको छन्, उहाँले थप्नुभयो ।

कार्यक्रमका अर्का वक्ता प्रा. बालकृष्ण माबुहाङले नेपाली साहित्य लेखन शिल्प र विम्बहरुमा बढी रुमलिएकाले वास्तवमा उठान गर्नुपर्ने बिषय र मुद्धाहरु अपेक्षित आउन नसककेको हो कि भनेर प्रश्न गर्नु भयो । विश्व साहित्यका प्रसंगहरु जोड्दै नेपाली साहित्यले सामाजिक समस्याको गहिराईमा पुगेर यथार्थ कुरालाई उजागर गर्न उपयुक्त हुने सुझाव पास्तुत गर्नुभयो ।

सिक्किमका साहित्यकार राजेन्द्रचन्द्र सिवाकोटीले लेखकलाई शुभकामना दिनु भयो भने उपस्थित मध्येबाटै डा. विष्णु एस. राईले “मलाई भुइँतलामै बस्नदेऊ, पछि बाहिर निकाल्न सजिलो होला” शिर्षकको कविता वाचन गरेर सुनाउनु भयो ।

कार्यक्रममा स्रष्टा योगेन्द्र तिमिल्सिनाले आफूले २० को दशक देखि नै कथा लेखन शुरुको स्मरण गराउदै प्रारम्भमा सामाजिक समस्याहरुलाई समेटेर कथाहरु लेख्ने गरेको भएता पनि पछिल्लो समय आफ्ना कथाहरुमा समसामयिक  घटना, पात्र र प्रवृतिहरु नै प्रधान रहने बताउनु भयो । उहाँले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

तिमिल्सिनाका कथासंग्रह ‘आश्मा र अरू कथाहरू’ माथि प्रा. डा. अञ्जना वस्ती भट्टराई, नारायणप्रसाद शर्मा, प्रा. ध्रुव भट्टराईले समेत  बोल्नुभएको थियो । उहाँहरुले तिमिल्सिनाका कथाहरुमा सामाजिक यथार्थता, समसामयिक घटनाहरुलाई कलात्मक र यथार्थपरक शैलीमा प्रस्तुत गरिएको धारणा राख्नुभयो ।

प्रकाशक ओरिएन्टल पब्लिकेशनका हरि गौतमको उद्घोषणमा सञ्चालित कार्यक्रममा नेपाली साहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, अन्य क्षेत्रका बौद्धिक व्यक्तित्वहरु साथै साहित्यअनुरागीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Similar Posts