भदौ १, काठमाडौं । कृष्ण ढुंगेलको संस्मरणात्मक निबन्धसंग्रह ‘समयको नक्साबाहिर’को विमोचन भएको छ। कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमबिच कृति लोकार्पण गरिएको हो।
लेखक ढुंगेलसहित मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तक विमोचन गरेका हुन्।
कृतिका विषयमा साेधिएका प्रश्वनकाे उत्तर दिँदै प्रमुख अतिथि डा. लम्सालले संस्मरणलाई लघुउपन्यासै भने पनि हुने बताए। उनले भने, ‘ढुंगेलको पुस्तकमा मैले आफ्नै ढुकढुकी पाएँ । यसमा हरेक युवाले भोगेको गाउँको कुरा छ, समाजको कुरा छ । पुस्तकमा कथाको स्वाद पाइन्छ र यसलाई लघुउपन्यास भन्न सकिन्छ।’
लेखक तथा समीक्षक अनिता पन्थीले मानवीय संवेदनालाई छोएर लेखिएको यस पुस्तकमा बालमनोविज्ञान पाइने बताइन्। उनले भनिन्, ‘ढुंगेलले बाल्यकालमा अनुभूति मात्र गर्नुभएका बालमनोविज्ञानका कुराहरूलाई अर्थ लगाएर अहिले लेख्नुभएको छ। समय, परिवेश र परिस्थिति नै यस पुस्तकको विशेषता हो । यसले दिदी, आमा, फुपूदिदीहरूको नारी संवेदनालाई पनि पक्रिन सकेको छ।’
युवा पुस्ताका राजनीतिकर्मी तथा लेकक गणेश कार्कीको धारणा भने अलिकति फरक थियो । उनले विज्ञान, खेल र सिकाइलाई यो पुस्तक मीठोसँग प्रस्तुत गरिएको प्रसंग कोट्याए। उनले भने, ‘लेखकले गुच्चा तथा फुटबलका माध्यमबाट पृथ्वी गोलो भएकोमा आफू विश्वस्त भएको बताउँछन् । उनले कमिला फुटबलमा सजिलै हिँडेकोबाट त्यसरी नै पृथ्वीमा मानिस हिँडेको कल्पना गर्छन् । पहिलेको पुस्ताका बालबालिका धर्तीसँग रमाएको कुरा यस संग्रहमा पाइन्छ। पुस्तकमा पर्यावरणीय चेत पनि प्रशस्तै छ।’
लेखक ढुंगेलले झुटो लेख्न नजानेको परिणाममा यो पुस्तक आएको बताए। उनले भने, ‘मसँग अर्को कुनै लेख्न विषय थिएन र आफैँलाई लेखेँ । आफैँलाई झल्न नसकिँदो रहेछ, र जे थियो त्यही लेखेँ । बाल्यकाल र सम्बन्धहरू छ्यालब्याल बनाएर लेखेँ।’