बैशाख १८, काठमाडौं । “श्रम जहाँ हुन्छ, त्यहीँ सृजनाको बीउ रोपिन्छ” भन्ने भावनासहित अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा वर्तमान कविता समूहले ‘श्रम, श्रमिक विशेष कविता वाचन’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । काठमाडौंको मण्डिखाटारस्थित यूरेसिया स्कुलको सभाहल कविताको गुञ्जनले भरिएको थियो ।
कार्यक्रममा वाचन गरिएका कविताहरू श्रमिकहरूको कठिन यात्रा, श्रमको गरिमा, अधिकारको आवाज, न्यायको प्यास र समानताको सपना जस्ता विषयमा केन्द्रित थिए । प्रस्तुत कविताहरूले श्रमिक वर्गका भावनालाई कलात्मक भाषामा अभिव्यक्त गर्दै समाजलाई श्रमप्रतिको दृष्टिकोण फेरबदल गर्न प्रेरित गरे ।
वाचन गर्ने स्रष्टाहरूमा केशव सिलवाल, अभय श्रेष्ठ, विश्व सिग्देल, चन्द्रबहादुर लामा, सञ्जय सुमन, रमी प्रिया, तीर्थराज भट्ट, दिलकुमारी डङ्गोल, नमराज घिमिरे, ईश्वर थोकर, धीरकुमार श्रेष्ठ, सुरेश गाउँले लगायतका चर्चित र नवप्रतिभाशाली कविहरू थिए । कार्यक्रममा उद्घोषकका रूपमा कवि धीरकुमार श्रेष्ठले श्रमिक वर्गको कथा र चेतनालाई साहित्यमा उतार्नु आजको आवश्यकताको मनन गराउदै आकर्षक तरिकाले कार्यक्रम सन्चालन गरेका थिए ।
‘श्रमले संसार सुन्दर बनाउँछ’ भन्ने सन्देश बोकेको यो कविता कार्यक्रमले न केवल सृजनशीलताको उचाइ देखायो, बरु श्रमिक दिवसको सार्थकता पनि अझ प्रगाढ बनायो।
विगतमा ‘हरित कविता’, ‘भुइँ मान्छेका कविता’, ‘छोटा कविता’, ‘प्रेम कविता विशेष’ जस्ता सामाजिक चेतनायुक्त काव्य गोष्ठीहरू आयोजना गरिसकेको वर्तमान कविता समूहले ती कविताहरूको अंग्रेजी अनुवादमार्फत नेपाली कविताको अन्तर्राष्ट्रिय पहुँच समेत विस्तार गर्दै आएको छ।
यस पटकको ‘श्रम विशेष’ काव्य वाचनले साहित्यिक सन्देशमार्फत श्रमिक वर्गप्रति सम्मानको भावना जन–मनमा अझ गहिरो बनाएको छ।