मंसिर ३०, काठमाडौं । सुसेली साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष सुशान्त केसी ‘अभिशान्त’ को गजलसङ्ग्रह ‘अवशेष’ लाेकार्पण भएको छ ।
दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती डङ्गोल, साहित्यकार किशोर पहाडी, शिक्षा प्रमुख एवम् निमित्त प्रशासकीय अधिकृत जनार्दन रिजाल, समीक्षक डा. रमेश शुभेच्छुक, समीक्षक उत्तम भेटवाल, कृतिकारकी माता सिमला केसी, दक्षिणकाली नगरपालिका वडा ४ का वडाध्यक्ष पुष्कार खड्का, दक्षिणकाली नगरपालिका शिक्षक महासङ्घका अध्यक्ष राजुभाइ थापा र कृतिकार सुशान्त केसीले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका थिए।
प्रतिष्ठानका उपाध्यक्ष रजनी खत्रीको स्वागत मन्तव्यबाट सुरुआत भएको उक्त कार्यक्रममा नगर प्रमुख मोहन बस्नेतले दक्षिणकाली नगरमा साहित्यिक कार्यक्रम गर्दै आएको सुसेलीले साहित्यबाट नगरको गौरव साहित्यकार किशोर पहाडीबाट सुरु भएको बताउँदै त्यसमा सुशान्तको कृतिले थप अगाडि बढाएको बताए।
नगर उपप्रमुख वसन्ती डङ्गोलले प्रतिष्ठानको गतिविधिप्रति नगर अनुगृहीत भएको बताउँदै प्रतिष्ठानको गुणगान मात्र नभई नगरको अङ्ग बनेको कुरा बताइन्।
साहित्यकार किशोर पहाडीले सुशान्तको गजलले नेपाली पाठकमा प्रभाव पार्ने बताउँदै नगरको साहित्यिक क्षेत्र उज्यालो दिशातिर लागेको खुसी पाेखे।
शिक्षा प्रमुख एवम् निमित्त प्रशासकीय अधिकृत जनार्दन रिजालले प्रतिष्ठानका कार्यक्रमको अवलोकन आफूले गरिरहेको अनुभव गर्दै सुशान्तको गजलले आफूलाई प्रभाव पारेको कुरा व्यक्त गरे।
उत्तम भेटवाल र डा. रमेश शुभेच्छुकले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। समीक्षक भेटवालले गजलको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै सङ्ग्रहका गजल बहरमा नभए पनि सैद्धान्तिक मान्यताभित्र परेको बताए।
त्यस्तै अर्का समीक्षक डा. रमेश शुभेच्छुकले सुशान्तका गजलले सामाजिक, राजनीतिक विकृति प्रस्तुत गर्नुका साथै विसङ्गतिवाद र अस्तित्ववाद पनि प्रकट भएको बताए। शालीन प्रेम समेत प्रकट भएका अवशेषका गजलहरूले पाठकको मन आकर्षित गर्ने बताए।
प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा बिरेन मालाकार, विनोद केसी (आकाश), सरिता बलामी, जुमन किरण, पुष्कर खड्का र किरण नेपालीले सङ्ग्रहका गजल वाचन गरेका थिए।
खोकना जन माविका प्रधानाध्यापक कमल खड्का र सेतीदेवी माविका प्रधानाध्यापक रामकुमार बस्नेत, पूर्व शिक्षक रामकाजी बस्नेत, बद्री कार्की, राजुभाइ थापा आदिले शुभकामना व्यक्त गरेका थिए।
समालाेचक एवम् साहित्यिक अभियन्ता डा. शेखरकुमार श्रेष्ठका अनुसार दीपश्री क्रियटिभ मेडियाका सञ्चालक दीपक लामिछानेको सुमधुर उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा रामकुमार बस्नेत, रामराजा केसी, केदार आचार्य, शशि शर्मा अर्याल, निरोज श्रेष्ठ, चन्द्रलाल तामाङ, सरिता केसी, अप्सरा भुर्तेल, कृष्णकुमार श्रेष्ठ, रमेश बलामी, रीता बलामी लगायत असी साहित्यकार एवम् साहित्यप्रेमीको उपस्थिति थियो।