साउन १७, काठमाडौं । शनिबार साइनो वाङमय चौतारी, नेपालले वार्षिकोत्सव सम्पन्न गर्‍याे । डा.सीता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. रमेशप्रसाद भट्टराई हुनुहुन्थ्यो । प्रमुख अतिथि भट्टराईले वरिष्ठ साहित्यकार माेहन दुवाल, युवाकवि प्रकाश समीर तथा कवि कमला भण्डारी ढकाललाई दाेसल्ला र सम्मान पत्रले सम्मान गर्दै साइनो कवितामा रहेको मौलिक नेपालीपनकाे प्रशंसा गर्नुभयो । केएमसि स्कुलकाे सभाहलमा भएको उक्त कार्यक्रममा भट्टराईले कविता विधा सङ्कटमा परेको बेला आएको लघुकविता साइनोले व्यञ्जना शब्दशक्तिको सहयाेग लिएर पाठकलाई साहित्यिक स्वाद दिन सक्नुपर्ने सुझाव दिनुभयो ।

सम्मानित स्रष्टा वरिष्ठ साहित्यकार माेहन दुवालले साहित्यकारहरूले समाजलाई नैतिक मूल्यसहित सही बाटाे देखाउन सक्नुपर्ने सुझाव दिँदै सम्मान गर्ने साइनो वाङमय चौतारी नेपाललाई धन्यवाद दिनुभयाे । अर्काे सम्मानित स्रष्टा प्रकाश समीरले साइनो नवीन शिल्पशैलीकाे कविता हाे तर यसले परिष्कृत भई कवित्व ग्रहण गर्न सक्नुपर्छ ,शब्द मात्र साइनो हाेइन यसमा बिम्बप्रतीकले चाेटिलाे बनाउनु आवश्यक छ भन्नुभयाे । समालोचक अमृता शर्माले साइनो नेपाली वाङमयप्रेमीकाे साझा सम्पदा भएकोले यसकाे विकासमा ध्यान दिनुपर्ने जिम्मेवारी हामी सबैको भएको तर्क गर्नुभयाे ।

छ साइनो कविताका प्रवर्तक डा. छायादत्त न्यौपानेले साइनो कविता लेखन मैले सुरु गरेकाे भए पनि यसकाे प्रचार प्रसारमा केशव ज्ञवाली, बालकुमार क्षेत्री ,खेमलाल पाेखरेल, डां सीता सुवेदी, धातानन्द शर्मा , शेखर अर्याल ,सुरेन्द्र शाही , महानन्द ढकाल, डा.टङ्क पन्थ, कमला भण्डारी , माेहन दुवाल, प्रवीण जाेसी, आशाकुमारी तिम्सिना, शान्तिराम भट्टराई समेत धेरै स्रष्टाहरूकाे संयुक्त याेगदान रहेकाे छ भन्नुभयाे । उहाँले आरम्भ भएको छाेटाे समयमा साइनो कविता विश्वका २५-२६ देशका सर्जकमाझ लाेकप्रिय भइसकेको जानकारी गराउनुभाे ।

केशव ज्ञवाली, आशा तिम्सिना, सुरेन्द्र शाही, शान्तिराम भट्टराई, घन थापासमेत १० जना स्रष्टाले शृङ्खला मासिक पत्रिका साइनो कविता विशेषबाट रचना वाचन गर्नुभएकाे थियाे ।

यसै गरी संस्था तथ कार्यक्रमकी अध्यक्ष डा.सीता सुवेदी पन्थीले उपस्थित सबैलाई धन्यवाद दिँदै साइनोले विश्व साहित्यमा उपस्थिति जनाउन सफल भएको कुरा गर्नुभयाे । संस्थाका ्उपाध्यक्ष बालकुमार क्षेत्रीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संस्थाका सचिव शेखर अर्यालकाे कुशल सञ्चालनमा सम्पन्न भएको थियाे ।

Facebook Comments Box

Similar Posts