साउन २३, काठमाडौं । साहित्यकार प्रा. राजेन्द्र सुवेदीको ८४औँ जन्मजयन्तीका अवसरमा राजेन्द्र सुवेदी साहित्य पुरस्कार तथा राजेन्द्र सुवेदी कला पुरस्कार समर्पण गरिएको छ। काठमाडौंस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा पुरस्कार समर्पण गरिएको हो।
यस वर्षको राजेन्द्र सुवेदी साहित्य पुरस्कार समालोचना विधामा योगदान पुर्याएका प्रा. डा. चूडामणि बन्धुलाई र राजेन्द्र सुवेदी कला पुरस्कार प्रख्यात कलाकार शकुन्तला गुरुङलाई प्रदान गरिएको छ। दुवै पुरस्कार प्रमुख अतिथि प्रा. डा. त्रिपाठीले प्रदान गरेका थिए ।
समालोचना विधातर्फ पुरस्कृत बन्धुको व्यक्तित्व तथा योगदानबारे डा. हरिप्रसाद सिलवालले मन्तव्य राखेका थिए भने कला विधातर्फकी पुरस्कृत गुरुङको योगदानबारे सावित्री मल्ल कक्षपतिले चर्चा गरेकी थिइन्। पुरस्कृत व्यक्तित्वद्वय बन्धु र गुरुङले पनि कार्यक्रममा आफ्ना अनुभव तथा धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा डा. रमेश शुभेच्छुले प्रा. राजेन्द्र सुवेदीको व्यक्तित्व, कृतित्व र नेपाली साहित्यमा उहाँले पुर्याएको योगदानबारे चर्चा गरेका थिए। सोही अवसरमा सुवेदीकृत समालोचना सङ्ग्रह ‘छरिएका सामग्री’ लोकार्पण गरिएको थियो। विमोचित कृतिमाथि नारायण गड्तौलाले टिप्पणी गरेका थिए।
कार्यक्रमको सभापतित्व प्रा. डा. जीवेन्द्रदेव गिरीले गर्नु भएको थियो । साझा प्रकाशनका हरिहर खनाल र केन्द्रीय नेपाली विभागका अध्यक्ष प्रा. डा. कृष्ण न्यौपानेले पनि शुभकामना मन्तव्य राखेका थिए। सिता सुवेदीले स्वागत मन्तव्य दिएको कार्यक्रममा श्वेत सदन माध्यमिक विद्यालयका छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए।


