नवराज न्यौपाने ‘मौन’
दुःखमा बित्यो जवानी मेरो रमाउन सकिनँ
रोएर बस्छिन् पियारी मेरी हँसाउन सकिनँ
विदेश भूमि गर्मी छ अति काममा जोतिन्छु
ती बाबाआमा बाल र बच्चा सम्झेर घोरिन्छु
साहुको ऋण तिर्नु छ तर कमाउन सकिनँ
दुःखमा बित्यो…
देशको लागि युवाको खाँचो नारा त लाग्दछ
नपाई काम यो मेरो मन विदेश ताक्दछ
देशमा मैले इलम राम्रो समाउन सकिनँ
दुःखमा बित्यो…
खेलेको गाउँ हुर्केको ठाउँ बिरानो पारेर
म आएँ टाढा सम्झना गाढा मुटुमा सारेर
खेत र बारी बाँझो नै रह्यो फलाउन सकिनँ
दुःखमा बित्यो…


