असार १७, काठमाडौं । नागार्जुनस्थित ओशो तपोवनमा बुधबार आयोजित विशेष समारोहमा साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिको औपचारिक लोकार्पण गरिएको छ। अध्यात्म तथा अद्वैत वेदान्त दर्शनमा आधारित उक्त कृति साझा प्रकाशनबाट प्रकाशित भएको हो।
ओशो तपोवनको आयोजनामा सम्पन्न कार्यक्रममा दीप प्रज्ज्वलन तथा स्वस्तिवाचनसँगै कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रमको सञ्चालन स्वामी अर्हतले गर्नुभएको थियो भने बोधिसत्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी तथा अनुसिर्जक सुमी लोहनीले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो।
समारोहका प्रमुख वक्ता स्वामी आनन्द अरुणले अष्टावक्र गीतालाई विश्वकै दुर्लभ तथा विलक्षण आध्यात्मिक ग्रन्थमध्ये एक भएको उल्लेख गर्दै यस ग्रन्थको उत्पत्ति जनकपुरको भूमिसँग जोडिएको हुनाले यसको संरक्षण, अध्ययन र प्रवर्द्धनमा नेपाली समाज विशेष रूपमा संवेदनशील हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार ओशोले सन् १९७४ मा आफ्ना निकटस्थ अठार साधकका बीच अष्टावक्र गीतामाथि विस्तृत प्रवचन दिनुभएको थियो, जसका आधारमा छवटा महत्त्वपूर्ण ग्रन्थ तयार भएका छन्। जम्मा २९८ श्लोक रहेको यस ग्रन्थका प्रारम्भिक २० श्लोकमै राजा जनकमा आत्मबोध र वैराग्यको चेतना जागृत गराउने असाधारण शक्ति रहेको उहाँले उल्लेख गर्नुभयो। साथै, जनकपुरमा अष्टावक्र मन्दिर निर्माण तथा अष्टावक्र गीतालाई राष्ट्रिय कृतिका रूपमा घोषणा गराउने अभियानमा आफू निरन्तर सक्रिय रहेको जानकारी पनि दिनुभयो।
अनुसिर्जक सुमी लोहनीले कृतिको रचनापृष्ठभूमिबारे प्रकाश पार्दै कोभिड–१९ महामारीको समयमा अष्टावक्र महागीता अध्ययन गर्दा प्राप्त आध्यात्मिक अनुभूति र आत्मबोधलाई आमपाठकमाझ सरल तथा सहज रूपमा प्रस्तुत गर्ने उद्देश्यले उक्त कृतिको अनुसिर्जन गरिएको बताउनुभयो।
साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले अष्टावक्र गीताको दार्शनिक महत्त्व तथा नेपाली भाषामा यस्ता कृतिको प्रकाशनले आध्यात्मिक साहित्यको समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कृतिको समीक्षात्मक मन्तव्य राख्दै डा. रमा भट्टराईले अष्टावक्र महागीतामृत आत्मबोध, दर्शन र आध्यात्मिक चिन्तनमा रुचि राख्ने पाठकका लागि उपयोगी कृति भएको उल्लेख गर्नुभयो। उहाँले महिला स्रष्टाद्वारा सिर्जित कृतिलाई पूर्वाग्रहविना मूल्याङ्कन गरिनुपर्ने आवश्यकता औँल्याउँदै यस कृतिले पाठकलाई आत्मचिन्तनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा सुमी लोहनीका शिष्य डा. अनन्त अर्यालले अष्टावक्र महागीतालाई केवल बौद्धिक अध्ययनको विषय नभई ध्यान, साधना र सेवाभावका साथ अध्ययन गरे मात्र यसको वास्तविक मर्म आत्मसात् गर्न सकिने धारणा राख्नुभयो। उहाँले आध्यात्मिक गुरु स्वामी रवि शङ्करले समेत अष्टावक्र गीताको महत्त्वबारे सकारात्मक टिप्पणी गरेको प्रसङ्ग स्मरण गर्नुभयो।
साझा प्रकाशनबाट प्रकाशित अष्टावक्र महागीतामृत ११२ पृष्ठको रहेको छ भने यसको मूल्य रु. २४० निर्धारण गरिएको छ।


