यशोदा अधिकारी
कालो बादल दौडिरहने
आकाशमुनिको सहरभित्र
घाम पनि शिथिल भएर उदाउँछ अचेल
नदीहरु मात्र आँसुु बगाउँछन्
चराहरु गाउँदैनन् स्वतन्त्रताको गीत ।
तिम्रो बस्तीबाट उडेको धुलाका कणसँगै
उड्दै उड्दै जाने नौजवान सपनाहरु
विश्रामको राजनीति फुटाएर
जोड्दै छन् नरनारीसँग
स्वच्छताको सम्बन्ध ।
शोकका धुनहरु त यहाँ कति बजे कति ?
हिसाब गर्नै नसक्ने भएकी छ धरा
हरियाली पोखिदिने
जङ्गलका मुुटुहरु चुडालेर
मान्छे के गर्न चाहन्छ हँ ?
आफ्नै करेसाबारीमा धमिलो भल आउँदा
घट्दै जान्छन् नानीहरुका दृष्टिहरु
बाध्यता खराब भएर उल्टो हिँडेपछि
महँगो झोला बोकेर नहिँडी
सुखै नहुने त्यो समय
आँखामा भविष्य नदेखेर
भोगिरहन्छ एउटा सग्लो शरीर ।
ढलेको आकाश हत्केलाले थामेको
भ्रम बोकेर मान्छेहरु
ओरालो झर्दा पनि गौरव गर्छन् भने
मेरो भन्नु केही छैन महोदय !
नदी रातै भएर पनि बग्न सक्छ !


